शुक्रबार , मंग्सिर २३, २०७९

कालीगण्डकी नदीको सभ्यता र यसको पहिचानमा आएको संकट

कुनै एक क्षेत्रको विकास र समृद्धिका लागि भनेर शुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजनाले अरु क्षेत्रका सामाजिक, सांस्कृतिक, जैविक विविधता तथा पर्यावरणमा नकारात्मक असर पुग्ने र एउटा सभ्यता नै विनास हुने देखिन्छ ।

image

हिमालय पर्वत शृंखला अफगानस्तानदेखि म्यानमारसम्म फैलिएको छ । यही शृंखलामा नेपाल अवस्थित छ । हिमालय पर्वत शृंखला बन्ने क्रममा अनेकौँ नदीहरुको पनि उत्पत्ति भयो । त्यसमध्येको एउटा कालीगण्डकी नदी पनि हो ।

कालीगण्डकी नदीको उद्गम मुस्ताङ जिल्लाको उत्तर पूर्वी कुनामा नेपाल तिब्बत सीमामा रहेको न्हुबिने हिमाल (६, २६८ मिटर) र त्यसको हिमनदी हो । छौमा नामले उद्गमस्थलबाट केही दुरी दक्षिणमा बगेपछि उत्तर–पश्चिममा रहेको लो–मान्थाङ क्षेत्रको न्हेचुङ खोला आएर यसमा मिसिएपछि यो मुस्ताङ खोलाका नामले चिनिन्छ । हिन्दू धमावलम्बीहरूले निकै आस्थाको दृष्टीले हेर्ने उपल्लो मुस्ताङ स्थित दामोदरकुण्ड (४,८०० मिटर) बाट आउने खोला पनि मुस्ताङ खोलामा द्ये नजिक आएर मिसिन्छ । मुस्ताङ खोला झण्डै ६० किलोमिटर बगेर कागबेनीसम्म आइपुगेपछि मुक्तिनाथबाट आउने झोङ/काग (कृष्णा) नदीसँग संगम हुन्छ र सो नदी कृष्णागण्डकी नदीका नामले चिनिन्छ । कालीगण्डकीमा धेरैजसो समय कालो जल प्रवाहित हुने भएकाले यो नदीलाई कालीगण्डकी (कृष्णगण्डकी) भनिएको भन्ने भनाइ रहेको छ ।

कागबेनीमा काग खोला र मुस्ताङ खोलाको संगम

कालीगण्डकी नदी मुस्ताङ पार गर्दै अन्धगल्छीबाट निस्केपछि गलेश्वरमा राहुघाट खोला, बेनीमा म्याग्दी खोला, कुश्मा नजीकै मोदी खोला, गल्याङमा आँधीखोला आदि मिसिन्छन्, जहाँबाट काली गण्डकी पश्चिमतर्फ मोडिन्छ । रिडिमा पुग्दासम्म रूद्रबेनीमा बडीगाड र रिडीमा रिडी खोला मिसिन्छन् । रिडीमा पुगेको काली गण्डकी त्यहाँबाट फेरी पूर्व मोडिन्छ र राम्दीघाट पार गरेर ठूला ठूला उपत्यकामा नागवेली आकारमा बग्दै देवघाटमा पुगेर त्रिशुली नदीसँग मिसिएर दक्षिणतर्फ बग्न थाल्दछ । देवघाटमा त्रिशुली नदीसँग मिसिएपछि उक्त नदीलाई नारायणी वा ‘सप्तगण्डकीका’ भनिन्छ ।

विश्वमा धेरैजसो मानव सभ्यताको विकासक्रम ठूलाठूला नदीहरुको किनारबाट नै भएको पाइन्छ । हामीले धेरैजसो सुन्दै आएका सिन्धु घाँटीको सभ्यता, चीनको सभ्यता, मिश्रको सभ्यता आदि ठूला नदीको तटीय क्षेत्रमा नै विकसित भएका हुन् । आर्य संस्कृतिसँग जोडिएको वैदिक सभ्यता गङ्गा नदी क्षेत्रमा विकसित भएको विश्वास गरिन्छ । नेपालमा पनि कालीगण्डकी सभ्यता निकै पुरानो मानिन्छ ।

कालीगण्डकी नदीको कुल लम्बाइ ८१४ किलोमिटर मध्ये झण्डै ५ सय किलोमिटर भाग नेपालमा बग्दछ भने ३ सय किलोमिटर भाग भारतमा बग्दै गंगा नदीमा समाहित भएर बंगालको खाडीमा पुग्दछ । कालीगण्डकीको तटीय इलाका तथा प्रसवण क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, धाम, घाट र मानवबस्तीलाई विचार गर्दा यसको सभ्यता पनि वैदिककालसँग जोडिएको विश्वास गरिन्छ । कालीगण्डकी नदीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्व छ । कालीगण्डकी किनारको धेरै ठाउँमा घना मानव बस्ती, व्यापारिक केन्द्र र विभिन्न पुराणहरुमा वर्णन गरिए अनुसारका धार्मिक क्षेत्रहरु रहेको हुनाले कालीगण्डकीको सभ्यता निकै पुरानो सभ्यता मानिन्छ ।

मुस्ताङस्थित कालीगण्डकी

दामोदरकुण्ड, मुक्तिनाथ, कागबेनी (पीतृतीर्थ), गलेश्वरधाम, कालञ्जर (मृगतीर्थ), मोदीबेनी, जैमिनीघाट, रुद्रवेणी, सेतीवेणी, रुरुक्षेत्र, रामदी, केलादी, अर्सदीघाट, हुँगीघाट, गौरीघाट, रामघाट, केलादीघाट, घुमारघाट, देवघाट, त्रिवेणी जस्ता तीर्थ कालीगण्डकीकै तटमा रहेकाले विशाल मानव सभ्यता र संस्कृतिसँग यसको नजिकको सम्बन्ध रहेको सहजै बुझ्न सकिन्छ । विश्वभरका हिन्दूले कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलालाई भगवान् विष्णुको रूपमा पुज्दै आएका छन् । यो नदीलाई हिन्दू र बौद्धधर्मावलम्बी सबैले पवित्र नदीका रुपमा लिने गर्दछन् । कालीगण्डकीको शिर मुक्तिनाथलाई हिन्दू र बौद्धमार्गी दुबैले पवित्र र अलौकिक क्षेत्र मान्दछन् । त्यसैगरी कालीगण्डकीको अर्को शिर दामोदर कुण्डलाई पनि निकै आस्थाले पुज्ने गरिन्छ ।

कालीगण्डकीको जलाधार क्षेत्रमा ८ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालय पर्वत शृङ्खला धवलागिरी, अन्नपूर्ण, र मनास्लु रहेका छन् भने ८ हजार देखि ६ हजार मिटर सम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर रहेका छन् । कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी १० जिल्ला रहेका छन् । सप्तगण्डकी नदी प्रणालीका कालीगण्डकी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती र दरौँदी गरी सात वटा मुख्य सहायक नदीहरु रहेका छन् ।

गण्डकी नदी प्रणालीका जलाधार क्षेत्रमा १,०२५ हिमनदी र ३०० तालतलैया रहेका छन् । एक अध्ययनअनुसार कालीगण्डकी नदीको प्रसवण क्षेत्र २५ प्रजातिका किराहरु, १८ प्रजातिका पुतलीहरु, ११ प्रजातिका उभयचर प्राणीहरु, १ सय ५ जातिका चरा, २९ प्रजातिका स्तनधारी जीव जन्तुहरुको आश्रयस्थल हो । कालीगण्डकी नदीका किनारमा लोमान्थाङ, जोमसोम, बेनी, बाग्लुङ, कुश्मा, फलेवास, पूर्तीघाट, सेतीबेनी, मिर्मी, रुद्रबेनी, रिडी, चापाकोट, रामपुर, डेढगाउँ, देवघाट, नारायणघाट, त्रिवेणी लगायतका मुख्य बस्तीहरु रहेका छन् ।

मुस्ताङको घाँसा नजिकको कालीगण्डकी

कालीगण्डकीको तटमा रहेका विभिन्न वेणी र घाटहरु प्राचीनकालदेखि नै व्यापारिक केन्द्रका रुपमा स्थापित थिए । भारत लगायत नेपालका दक्षिणी भेगबाट मुक्तिनाथ र दामोदरकुण्डको दर्शनका लागि जाने तीर्थयात्रीहरुले प्राचिनकालमा कालीगण्डकीको किनारको पदमार्गको प्रयोग गर्ने गर्दथे । मुस्ताङ, बागलुङ, म्याग्दी र पर्वत जिल्लाका अधिकांश गाउँका बासिन्दाले ‘खस्यौलीको व्यापार’का लागि यही मार्गको प्रयोग गर्ने गर्दथे । भोट जाने प्रसिद्ध पाँच वटा मार्ग मध्ये यो पनि एक रहेकाले व्यापार र धार्मिक दृष्टिले यो क्षेत्र प्राचीन कालदेखि नै महत्वपूर्ण थियो । यही पदमार्गको अवधारणालाई पछ्याउँदै नेपाल सरकारले कालीगण्डकी कोरिडोर र लोकमार्गको निर्माण गरिरहेको छ । भारतको सुनौलीदेखि चीनको कोरला नाका जोड्ने ४३५ किलोमिटर लामो कालीगण्डकी करिडोर दक्षिणी र उत्तरी छिमेकीलाई जोड्ने प्रमुख व्यापारिक मार्ग मानिन्छ ।

प्राचीन समयमा कालीगण्डकीको पानी पवित्र र शुद्ध थियो तर आजकल बढ्दो जनसङ्ख्या, अव्यवस्थित शहरीकरण जस्ता कारणले मानवजन्य फोहोरहरु नदीमा मिसाउने कुसंस्कारले गर्दा नदी प्रदुषित बन्दै गइरहेको र यहाँको पानी पिउनका लागि योग्य रहेको छैन । कालीगण्डकीको पौराणिक र धार्मिक महत्व मात्र होइन कि यसको बहाव क्षेत्रको वरपरका गाउँवासीका लागि यो नदी जीविकोपार्जनको स्रोत समेत रहेको छ । यही नदीमा माछा मारेर, नदी किनारको बालुवा चाली सुन निकालेर, ढुङ्गा तथा बालुवा बेचेर आफ्नो जीवननिर्वाह गर्ने माझी तथा बोटे लगायतका जाति छन् ।

पौराणिक, धार्मिक, सांस्कृतिक एवम् आर्थिक महत्व रहेको पवित्र कालीगण्डकी नदीको व्यापक प्रचार–प्रसार गर्ने सकेमा गण्डकी प्रदेशका लागि मात्र नभइ सिङ्गो राष्ट्रका लागि नै कालीगण्डकीले धार्मिक र साहसिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुर्याउन सक्ने देखिन्छ । कालीगण्डकीमा निर्माण भएका अग्ला र लामा झोलुङ्गेपुलहरु, यान्त्रिकपुल, बञ्जीपुल, जीपलाइन केवल आदिजस्ता पर्यटकीय वस्तुहरुका कारण आन्तरिक तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । जलयात्राका लागि विश्वमै चर्चित नदीका रुपमा कालीगण्डकीलाई लिने गरिएको छ । कुश्मा नगरपालिकाको वडा नं. २ नयाँपुलबाट शुरु भइ मोदीवेणी, सेतीवेणी हुँदै कालीगण्डकी जलविद्युत आयोजनाको ड्यामसाइड मिर्मिसम्म करीब ८० कि. मि. लामो कालीगण्डकीको जलयात्रा विश्वमै प्रसिद्ध छ । संसारकै उत्कृष्ट पदयात्रा गन्तव्य मानिने अन्नपूर्ण संरक्षण क्षेत्रको एक हिस्सा र दुर्लभ एकसिङे गैँडाको वासस्थानका रूपमा प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्ज पनि कालीगण्डकीकै प्रवाह क्षेत्रमा पर्दछन् ।

म्याग्दीमा रहेको गलेश्वरधाम

वनजङ्गल, पानी तथा खनिज साधनलाई प्राकृतिक सम्पदाका रुपमा लिने गरिन्छ । समग्र मुलुकको आर्थिक विकासका लागि यस किसिमका प्राकृतिक सम्पदाहरुको दीगो विकास, वातावरण तथा पर्यावरणीय सन्तुलन र परिस्थितिकीय प्रणालीको अुनकुलन हुने गरी सकेसम्म बढी उपयोग गरिनुपर्दछ । तर यी प्राकृतिक सम्पदाहरु हाम्रा लागि मात्र नभएर भावी पुस्ताका लागि पनि हुन् भन्ने सोच नराखिकन मनलाग्दी दोहनले गर्दा कालीगण्डकी नदीको सौन्दर्य मात्र बिग्रेको छैन, यस नदी सेरोफेरोको वातावरणीय चक्र र पारिस्थितिक प्रणालीमा नै गडबडी हुने संकट देखिएको छ ।

वर्तमान समयमा मानव सभ्यता र जैविक विविधताको अस्तित्वसँग गाँसिएको कालीगण्डकी नदीबाट गिटी, ढुङ्गा, बालुवा उपयोगका नाममा एकोहोरो दोहन भइरहेको हुनाले नदी गहिरो बन्दै गएको र यसको जलाधार झनै तल गएर नदी तटीय भागमा बाढी र कटानको समस्या सिर्जना भइरहेको छ । कालीगण्डकी किनारमा जथाभावी सञ्चालित क्रसर उद्योग र नदीजन्य पदार्थको उत्खननका कारणले गर्दा शालिग्रामको अस्तित्व सङ्कटमा पर्दै गएको देखिन्छ ।

नदीको जथाभावी दोहन गरिएको बाहेक नेपाल सरकारले स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. १ मालुङ्गा र पाल्पा जिल्लाको रम्भा गाउँपालिकाको रम्भास्थित पिपलडाँडामा बाँध बाँधेर कालीगण्डकीको पानीलाई २७ किलोमिटर लामो सुरुङबाट दोभानस्थित तिनाउ नदीमा खसाउने र त्यहाँबाट पुनः ७ किलोमिटर लामो सुरुङबाट बुटवलको बेलवाससम्म पुर्याउने गरी विस्तृत डिजाईन रिपोर्ट तयार गरेको छ । त्यसरी कालीगण्डकी प्रसवण क्षेत्रको प्राचीन धार र मार्गलाई बदल्दा झनै ठूला वातावरणीय चुनौतीहरु थपिन सक्ने देखिएको छ । यसले कालीगण्डकी प्रसवण क्षेत्रको सामाजिक जीवन, परम्परा र वातावरणमाथि थप नकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ ।

मानव र जैविक विविधताको अस्तित्वसँग गाँसिएका नदी तथा खोलाबाट नदीजन्य पदार्थहरु उपयोगका नाममा अत्यधिक दोहन भइरहँदा भविष्यमा कालीगण्डकी तटीय क्षेत्रमा आउन सक्ने बाढी र वातावरणीय विनाश आंकलन गर्न नसकिने हुन सक्छ । कुनै एक क्षेत्रको विकास र समृद्धिका लागि भनेर शुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजनाले अरु क्षेत्रका सामाजिक, सांस्कृतिक, जैविक विविधता तथा पर्यावरणमा नकारात्मक असर पुग्ने र एउटा सभ्यता नै विनास हुने देखिन्छ ।

तनहुँ र नवलपरासी बीचको कालीगण्डकी उपत्यका

भनिन्छ- ‘नदीहरू पृथ्वीका धमनी हुन्, नसा हुन् ।’ हिमाल, ताल, पहाडबाट शुरु भएर बग्ने यी नदीले जीवनदान गर्ने पोषणीय पदार्थ र पानी बोकेर बग्ने गर्दछन् । तिनै पोषणीय पदार्थ र जलबाट सिञ्चित विशाल जंगल, बिरुवाहरूले कार्बनलाई प्रशोधित गर्दै वायुमण्डल जोगाएका छन् । घना जंगलका रूख विरुवाहरूले अक्सिजन उत्पादनका लागि मद्दत गर्ने गर्दछन् ।

सयौँ प्रकारका वनस्पति कालीगण्डकीको जलप्रवाहकै कारण जीवित छन् । कालीगण्डकी क्षेत्रको आफ्नै धार्मिक, सांस्कृतिक र पारिस्थितिक प्रणाली छ । त्यस प्रणालीलाई बिथोलियो भने पनि हाम्रो जीवन संकटमा पर्न सक्छ ।

कालीगण्डकीको जुन किसिमको पौराणिक महिमा र मानवीय सभ्यतासँग जोडिएको गौरवशाली इतिहासलाई नास हुने तरिकाले जथाभावी दोहन गर्ने र यसको प्राकृतिक मार्गलाई डाइभर्ट गर्ने जस्ता गतिविधिलाई राज्यले नियन्त्रण गर्नु पर्ने देखिन्छ । कालीगण्डकी तीर्थको दर्शन र स्नान गर्न बर्सेनि लाखौंको संख्यामा धार्मिक पर्यटक भित्रिने गरेका हुनाले यसलाई तीर्थ पर्यटनका रुपमा विकास गरिनु र यस अन्तर्गतका जैविक विविधताको संरक्षण गरिनु धार्मिक, सांस्कृतिक, पर्यटकीय र मानवीय हिसाबले अत्यन्तै जरुरी छ । त्यसैले धार्मिक र सांस्कृतिक आस्थासँग जोडिएको तथा प्रशस्त पर्यटकीय सम्भावना बोकेको कालीगण्डकीको सभ्यता र पहिचान जोगाउनु हरेक तप्काको कर्तव्य हुन आउँछ ।

नोट: यस आलेखमा प्रयुक्त शब्दहरु, जानकारी तथा तस्बिरहरु विभिन्न माध्यमबाट साभार गरिएका हुन् ।

सम्बन्धित समाचार