बुधबार , भाद्र १०, २०८३

खौमा टोलको साँढे भैरवको हो कि महादेवको ?

साँढेको मूर्ति जहिल्यै पनि महादेवको मन्दिरको पश्चिम दिशामा राखिने परम्परा रहिआएको अवस्थामा खौमा टोलमा पूर्व दिशामा अवस्थित यस साँढेको मूर्तिमाथि बेलाबेला प्रश्नचिह्न उठ्ने गरेको छ ।

image

काठमाडौँ । भक्तपुरको वडा नं ३ मा  ‘खौमा’ नामको एक टोल छ । टोलको बिचमा अवस्थित साँढेको मूर्ति बेलाबेला बहसको विषय बन्ने गरेको छ ।

‘ख:मा’ शब्दबाट अप्रभंश हुँदै ‘खौमा’ शब्द बनेको हो । नेपाल भाषाका दुई शब्दहरू “ख:” र “मा” मिलेर ‘ख:मा’ बनेको हो । “ख:” को अर्थ भैलख: अर्थात् भैरवको रथ भन्ने हुन्छ भने “मा” को अर्थ नमुना भन्ने अर्थ लाग्दछ । तसर्थ, ‘खःमा’को अर्थ ‘भैरवको रथको नमुना’ हुन जान्छ ।

खौमा टोलस्थित साँढेको चर्चित मूर्ति

यही खःमा भन्दाभन्दै हाल ‘खौमा’ भन्न थालिएको यस टोलको मध्यभाग अर्थात् टोलमा अवस्थित ल्वहंहिटिको पूर्वतर्फ एउटा साँढेको मूर्ति देख्न सकिन्छ । साँढेको मूर्ति जहिल्यै पनि महादेवको मन्दिरको पश्चिम दिशामा राखिने परम्परा रहिआएको अवस्थामा खौमा टोलमा पूर्व दिशामा अवस्थित यस साँढेको मूर्तिमाथि बेलाबेला प्रश्नचिह्न उठ्ने गरेको छ । किन यस टोलमा साँढेको मूर्ति मध्यभागमा, ल्वहंहिटिको पूर्वमा राखिएको भन्ने विषयमाथि बहस हुने गरेको छ । आखिर खौमा टोलको त्यस साँढे भैरवको हो या महादेवको भन्ने विषयमाथि अनुसन्धान नै समेत हुन थाल्यो ।

अनुसन्धानकै क्रममा यस स्थानमा पहिले महादेवको मन्दिर थियो जसको संरचनात्मक स्वरूप भने बिस्का जात्रामा तान्ने  गरिएको भैरवनाथको रथसँग हुबहु मिल्ने गर्थ्यो भन्ने जनश्रुति रहेको पाइएको छ । यस मन्दिर भैरवनाथको रथको नमुना भएकै कारण टोलको नाम पनि ‘खःमा’ राखिएको जनविश्वास रहेको छ । यसरी, महादेवको मन्दिरको रूपमा निर्माण गरिएको भैरवनाथको उक्त रथलाई साँढेले तान्ने हुँदा साँढेको मूर्तिलाई टोलको मध्यभागमा राखिएको जनविश्वास पाइएको छ । तसर्थ, खौमा टोलको मध्यभागमा राखिएको उक्त साँढेको मूर्ति भैरव र महादेव दुवैसँग बराबर जोडिएको विश्वास राख्ने गरिन्छ ।

खौमा टोल यहाँ अवस्थित खौमा ध्वाका (ढोका)का कारण समेत विश्व प्रख्यात छ । यसका साथै ईन्द्रायणी पिठ, ईन्द्रायणी द्य:छें, उमा महेश्वर मन्दिर, अनन्तलिङ्गेश्वर महादेव मन्दिर, मठ, ढुङ्गेधाराका कारण धार्मिक हिसाबले पनि खौमा टोलको धार्मिक-ऐतिहासिक महत्त्व रहेको छ ।

खौमा टोलस्थित विश्वप्रख्यात ‘खौमा ध्वाका’

(स्रोतः जि.आर. रञ्जित , मधु शर्मा)

सम्बन्धित समाचार