शनिबार , साउन १६, २०८३

चौहत्तर वर्षका बुवा, चौवालिस वर्षमा खुवा !

केही नौलो गर्ने उनको एउटा हुटहुटीले नजानिँदो गरी कृषिमा एक किसिमको क्रान्ति नै ल्यायो ।

image

हेटौँडाको चुच्चेखोलामा दर्जनौँ पसलहरूले हामीलाई झुक्याइरहेका छन् । त्यहाँका पसलहरूमा र्याईं-र्याईं दूध घोटेर खुवा बनाइरहेको दृश्यको सुवास लिन सकिन्छ । हो ! दृश्यको सुवास । चुच्चेखोलाका दर्जनौँ खुवा पसलहरू हाम्रा इन्द्रियलाई भ्रमित पार्न कसरत गरिरहेका हुन्छन् । मन्त्रमुग्ध पार्न मिहिनेत गरिरहेका हुन्छन् । दूध घोटिरहेका दृश्य नै स्वादिष्ट लाग्छ ।

खुवा तयार पार्न कराहीमा दूध घोट्ने प्रक्रिया

तिनै दर्जनौँ पसलमध्ये एक पसलमा कृष्ण प्रसाद सापकोटा, उनका छोरा-बुहारी र कर्मचारीमध्ये कोही न कोही कराहीमा र्याईं-र्याईं पारेर दूधिलो वातावरणलाई खुवामय बनाउन तल्लिन भेटिन्छन् । ‘श्री कृष्ण खुवा बिक्री भण्डार’ नामक उक्त खुवा पसलको लहरो तान्दा एउटा कथाको पहरो खस्यो । त्यही पहरो म यहाँ बिसाउन गइरहेको छु ।

वि.सं. २०२४ सालमा आफ्नो जन्मस्थल काभ्रे छोडेर कृष्ण प्रसाद हिँडे । वाक्क भएर, आजित भएर, झ्याउ लागेर उनी जीवनको उद्देश्य खोज्न निस्किए । यात्रा सजिलो थिएन किनभने कहाँ जाने भन्ने थाहा थिएन । दूध घोटिँदा-घोटिँदा मिठो खुवा बनेझैँ सायद घोटिनु थियो उनले पनि । समयको कराहीमा कृष्ण प्रसादका दिन-हप्ता-महिना-वर्षहरू घोटेर नियतिलाई सायद एउटा मिठो जीवन पकाउनु थियो । उनीसँग यस्तै, सायदैसायद मात्र थिए, घरबाट निस्किँदा ।

कलकत्तादेखि काठमाडौँसम्म

हिँड्दा-हिँड्दै उनी छिमेकीकहाँ पुगे । नेपाल छोडेर भारत पसे । कलकत्तालगायत भारतका विभिन्न स्थानमा रुमलिए । त्यहाँ ४/५ वर्ष बिताइसक्दा पनि केही महत्त्वपूर्ण हात नलागेको उनलाई लाग्यो । त्यतिबेला उनलाई लाग्यो उनी घर र स्वदेश छोडेर सन्तुष्टि खोज्न हिँडेका रहेछन् जुन सन्तुष्टि परदेशमा पनि फेला परेन । तब उनी आफ्नै देश फर्किए । के उनी घर फर्किए ? होइन, त्यहाँ आफूले खोजेको कुरा नपाएरै उनी निस्किएका थिए । उनी घर फर्किएनन् ।

समयको डुङ्गामा उमेरको बहना खियाउँदै अनिश्चितताको समुद्रमा उनले आखिर के खोजिरहेका थिए ? उनलाई कुन गन्तव्यमा, के चिजले पर्खिरहेको थियो ? उनलाई तब पनि थाहा थिएन । तर, एकपटक राजधानीको पानीमा डुबुल्की मार्ने उनले हठात निर्णय गरे । उनलाई पर्खिरहेको कुरा सायद काठमाडौँमा पो कतै लुकेको थियो कि ?

‘सपनाको शहर काठमाडौँ ’, ‘राजाको गाउँ काठमाडौँ’ यस्तै धेरैले भनेको उनले सुनेका थिए । आफैले नचिनेको आफ्नै सपना यही सपनाको शहरमा पो राज गरी बसेको छ कि ? तिनै सपनाहरूको भिडमा उनलाई पनि आफ्नो भागको सपना खोज्नु थियो । भेट्ने-नभेट्ने निश्चित त थिएन नै, रै पनि खोतल्नै थियो राजधानीले बोकेको सपनाको झोला । सपना खोज्ने मेसोमा आफ्नो जीवनको करिब ५ वर्ष उनले काठमाडौँलाई दिए । उनले त्यहाँ एकजना साहुकोमा पापडीको काम गरे । पाँचौँ वर्षपछि हठात एकदिन उनलाई पापडीको काम चाकडीभन्दा बढी केही लागेन । उनी पापडी साहुलाई यसरी सम्झिन्छन्, ‘हामीले काम सुरु गर्दा ऊ धेरै ऋणमा थियो । हाम्रो मिहिनेतबाट उसले राम्रो पैसा कमायो ।’

एकदिनको कुरा हो, काम गर्ने क्रममा ४/५ सय रुपैयाँ बराबरको क्षति भयो । साहुले गाली मात्र गरेनन्, निकै नमिठो वचन पनि लगाए । त्यसपछि उनी झस्किए । अर्काको काम गरेर नहुनेरहेछ ! यति बुझ्न उनलाई एक दशक लाग्यो ।

आफूजस्ता कामदारको मिहिनेतले राशि र रबाफ दुवै कमाएको साहु तब मैमत्त भयो । उतिबेला साहु मैमत्त भइदिएकोमा उनी यतिबेला धन्य छन् ।  हिजोको दिनमा नराम्रो मान्थे तर अहिले उनी पापडी साहुलाई राम्रो मान्छन् । मैमत्त साहुलाई कृष्ण प्रसाद गुरू ठान्छन् । साहुकै नमिठो वचनले कृष्ण प्रसादलाई थाहा भयो ‘जहाँ नहुनुपर्थ्यो म त्यहीँ छु’ । त्यसैले, आज उनी जहाँ हुनुपर्ने त्यहाँ छन् । उनी स्वीकार्छन्, साहुको नमिठो वचनले आफूलाई मिठो वर्तमानसम्म डोहोर्‍याएकै हो ।

साहुको वचन ! यही बहानामा उनले जिन्दगीमा अबउपरान्त अरूको काम नगर्ने दृढ सङ्कल्प गरे । ‘नोकरी भनेको जिन्दगीमा गर्दिनँ भनेर कान समाएँ ।’, यो भनिरहँदा उनको आवाज खाली मुखबाट मात्र होइन, भित्रैबाट आएझैँ सुनिन्छ । सायद काठमाडौँको पानीमा तैरिरहेको डुङ्गाले अब उनलाई आवाज दियो । अब बहना खियाउँदै नयाँ गन्तव्यतर्फ लाग्ने समय आइपुग्यो । उता बहनाले बोलायो, यता बहानाले ढकेल्यो । काठमाडौँलाई उनले बिदाइको हात हल्लाए ।

पापडीको चाकडी छोडेपछि

पापडीको चाकडी छोडेपछि उनी अन्योलमा परे । समयको डुङ्गामा बसेर उनी टोलाए अब कता ? मानिसलाई मिठो खुवा खुवाउने उनी मनको तितो यसरी पोख्छन्, ‘अलि लेखी पढ्या गरेको भए ‘सर्खारी’ जागिर हुन्थ्यो होला, केही हुन्थ्यो होला । लेखापढी पनि थिएन ।’ जीवनको सबैभन्दा अप्ठ्यारो प्रश्न उनको अघि तेर्सियो ‘अब के गर्ने त ?’

घर बस्न मन थिएन । भन्छन्, ‘७/८ जना दाजुभाइ थियौँ । केही गर्नैपर्ने जिम्मेवारी थियो । तर,  सल्लाह दिने मान्छे कोही थिएन, पैसा पनि पर्याप्त थिएन ।’ गोजी छामछाम छुमछुम गर्दा ४ सय रुपैयाँ फेला पर्‍यो । यद्यपि, कता जाने ? के गर्ने ?  अन्योल थियो, अनिश्चय थियो । केही नजानेको अबोध बालकझैँ भए उनी । तब उनले झट्ट मामाघर सम्झिए । समयको डुङ्गाले उनलाई मकवानपुर, हेटौँडास्थित आफ्नो मामाघर पुर्यायो ।

हेटौँडा मामाघर पुगेका उनी केही दिन यसै बसे तर आरामले होइन, अब के गर्ने भन्ने छटपटाहटमा । त्यतिबेला वरपर झुप्रा घर मात्र थिए । अहिलेजस्तो ठूलो शहर थिएन हेटौँडा । पाँच वर्ष कलकत्ता र पाँच वर्ष काठमाडौँको संगत गरेर पुगेका उनलाई हेटौँडा अझै गाउँ नै लाग्यो । गाउँमा गाउँकै खेती गर्नुपर्छ भन्ने उनलाई लाग्यो । नोकरी गर्नु थिएन । आफ्नो कारोबारको चाबी आफ्नै हातमा उनलाई चाहिएको थियो ।

सपनाको खोजी व्यर्थ रहेछ भन्ने काठमाडौँले उनलाई बुझाइसकेको थियो । उनलाई अब सपना खोज्नु थिएन । अब उनी अवसरको खोजीमा निस्किए । मामाघर घुम्ने चक्करमा उनी गाउँका गल्लीगल्लीमा अवसर खोज्दै भौँतारिए । एकदिन मामागाउँको गल्लीमा उनी घरगाउँका मान्छेसँग ठोक्किए ।

काभ्रेका ती मान्छेले कृष्ण प्रसादका सारा वृत्तान्त अन्तसम्म विस्तारमा सुने । त्यसपछि ती मान्छेले आफूले हेटौँडामा गरिरहेको चिया पसल कृष्ण प्रसादलाई सुम्पिदिए । तिनले उनलाई जिम्मा मात्र होइन केही सल्लाह पनि दिए । उनको दैनिकीले अब जग पाएको थियो । तर, त्यो जगमा उनको चित्त भने अडिन मानिरहेको थिएन । कारोबारको चाबी आफ्नो हातमा थियो । कमाइरहेका पनि थिए । तर, आत्मसन्तुष्टि मिलेको थिएन । आत्मसन्तुष्टिका लागि पाउनु मात्र पर्याप्त नहुँदोरहेछ । चिया पसलबाट उनले सिकेको कुरा यही थियो ।  करिब ८ महिनाभन्दा बढी उनी त्यसमा बाँधिन सकेनन् ।

अनि हिँडे उनी ‘खुवा मान्छे’ बन्न…

उनलाई केही नौलो काम गर्नु थियो । समाजलाई केही नयाँ, केही फरक कुरा दिने हुटहुटीले उनले मान्छेहरूलाई चिया खुवाइरहन सकेननन् । समाजलाई केही नौलो स्वाद चखाउने हुटहुटी थियो उनीभित्र । त्यो हुटहुटीलाई उनी यसरी ओकल्छन्, ‘अरूले नगरेको कुनै भिन्दै या भनौँ फरक किसिमको काम थाल्नु थियो । अरूले गरेकै काम गर्दा देखासिकी जस्तो हुने थियो ।’ उनलाई ‘कमन म्यान’ हुन मञ्जुर भएन । धेरै समय आफैसँग अन्तरसंवाद गरेपछि उनले अन्ततः ‘खुवाको व्यापार’ गर्ने निर्णय लिए ।

उनले तब गाउँका गल्ली होइन गाउँका पसल चहारे । त्यस ठाउँ वरपर कसैले पनि खुवाको व्यापार गरेका पाएनन् ।सम्भवतः मकवानपुर जिल्लाभरि नै त्यसबेला कसैको खुवाको व्यापार नभएको दाबी गर्छन् कृष्ण प्रसाद । सानैमा गाउँतिर बेलामौकामा खुवा बनाएको उनले देखेका थिए । त्यसबेला उनलाई थाहा थिएन भविष्यमा उनी आफूले पनि त्यसैगरी खुवा बनाउनेछन् । खुवामै आफ्नो व्यवसाय र आत्मसन्तुष्टि खोज्ने काम उनले जिन्दगीको आधा-उधीतिर मात्र सोच्न थाले । कतिबेला कुन कुराले जिन्दगीमा कत्रो अर्थ राख्छ भन्ने समय नआई थाहा नहुनेरहेछ । यसका लागि धैर्य चाहिनेरहेछ । ठिक समय आएपछि अर्थको गाँठो फुक्नेरहेछ ।

खुवाको व्यापार गर्ने अठोट त उनले लिए तर, त्यो समयमा हेटौँडा वरपर दूध पाउन समस्या थियो । त्यहाँका मानिसहरू  पशुपालन उति गर्दैन थिए । उनी आफै भैँसी पाल्न पनि सक्ने थिएनन् । भैँसी स्याहार्ने कि दूध घोट्ने ? यद्यपि, यो योजनालाई अभ्यासमा जसै उतार्न थियो उनलाई । खुवाजस्तै मिठो बोल्न जानेका उनले आफ्नै गाउँका एकजनालाई भैँसी किन्नलाई खुवा लगाए । उनी ‘मखन चोर कृष्ण’ नभएर ‘खुवा व्यापारी कृष्ण’ भएकाले ‘मखन लाउनु’लाई ‘खुवा लाउनु’ भन्न उनी रुचाउँदा रहेछन् । काभ्रेका ती मान्छेलाई खुवा लगाएको सम्झिँदै उनी भन्छन्,

‘मैले उनलाई भने ‘तपाई भैँसी किन्नू, म कराही किन्छु र खुवाको व्यवसाय थालौँ ।’

उनको खुवाले काम गर्यो, काभ्रेलीले भैँसी किने, उनले कराही ! इच्छाशक्ति भए जे पनि हुनेरहेछ । मान्छेको जिब्रोलाई लत बसिसकेको चिया बेच्न छोडेर उनले त्यहाँ कसैले नजानेको ‘खुवा’ बेच्ने जोखिम मोले । व्यवसाय सुरु भयो । दुईवटा भैँसीबाट बिहान-बेलुका दूध निकाली घोटेर खुवा बनाई कचौरामा प्रदर्शन गर्न थाले । तर, उनको ‘खुवा’लाई कसैले चिनेनन् ।  त्यहाँका स्थानीयले त्यतिञ्जेल ‘कुराउनी’ चिनेका थिएनन् । ‘खुवा’ त परको कुरा थियो । उनले व्यवसाय त सुरु गरे । उत्पादन गरेर बेच्न राख्दैमा उनको ‘खुवा’ बिकेन । ‘खुवा यात्रा’ त्यति सहज हुने लक्षण उनले देखेनन् । अक्सर मानिसहरू यस्तै अफ्ठ्यारोमा हतोत्साहित हुन्छन् । उनलाई भने यही अफ्ठ्यारोले उत्साहित बनायो । उनले चुनौतीको सामना गरे ।  चुनौतीमा खरो उत्रिन सक्दा आत्मसन्तुष्टि मिल्नेरहेछ । खुवा व्यवसायले उनलाई यो कुरा सिकायो ।

त्यतिबेला उनको पसल रहेको स्थानअघि हिँड्ने बाटो थियो । तर, गाडीहरू भने गुड्दैन थिए । मान्छेहरूले उक्त स्थानलाई थकाई मेट्ने/बिसाउने सङ्गम बनाए । जसले गर्दा चिया नास्ता र खानाको राम्रो व्यापार हुन थाल्यो । तर, खुवा नचिनेकाले उनको खुवालाई कसैले सोधेनन् । उनले अब घाटाको जोखिम मोलेरै मान्छेहरूलाई खुवा चखाउन थाले । उनको तर्क छ, ‘नबिके पनि घाटा त हुन्थ्यो नै । सित्तैमा चखाउँदा नाफा हुने एउटा सम्भावना त हुन्थ्यो । खुवा यो रहेछ भनेर पहिले मान्छेलाई चिनाउन मैले एक-एक चम्चा खुवा सित्तैमा खुवाउन थालेँ ।’

नभन्दै, एक-एक चम्चा चाख्दाचाख्दै मानिसहरू खुवाप्रति आकर्षित हुन थाले । अब उनीहरूलाई चम्चामा खुवा खाएर पुगेन । खुवा उनीहरूको नयाँ लत बन्यो । उनी भन्छन्, ‘हात्तीको पाइलाजस्तै बिस्तारै खुवाको स्वादको चर्चा-परिचर्चा परपरसम्म पुग्न थाल्यो ।’

त्यसपछि त, मानिसहरूले खुवा खान मात्र होइन अरूलाई खुवाउन पनि थाले । मान्छेहरूले कोसेली लैजान पनि अब ‘खुवा’ नै रोज्न थाले । आफ्नो खुवा कर्मप्रति गर्व गर्दै उनी भन्छन्, ‘ एकपटक खाइसकेपछि त सबैले मिठो मानिहाल्छन् नि । एक चम्चामै स्वाद थाहा भइहाल्छ ।’ एक रुपैयाँमा पनि किनेर खान सकिने खुवा उतिबेला १५ रुपैयाँ किलो पर्थ्यो ।

मुखमा राख्नासाथ बिलाइजाने कृष्ण प्रसादको खुवा वास्तवमै मिठो थियो । आँखाले चाख्दा आकर्षण र जिब्रोले चाख्दा तृप्ति मिल्ने ! बिस्तारै उनको खुवाले काठमाडौँसम्म चर्चा कमायो । वरपरका जिल्लामा पनि खुवाको कुरा हुन थाल्यो । उनको खुवा व्यापार दिन दुगुणा, रात चौगुणा बढ्न थाल्यो ।

कृष्णको खुवाले ल्याएको कृषि क्रान्ति

उनी भर्खरै पुग्दा हेटौँडामा गाउँलेहरूले पशुपालन गर्दैन थिए । एकादुई बाहेक दूधको व्यवसाय नै थिएन भन्दा पनि हुन्छ । तर, उनले खुवा पसल सञ्चालन गरेपछि कृषकहरूले दूध नियमित बेच्न सकिने स्थान भेट्टाए । ‘खुवा बेच्ने ठाउँमा दूध दिने’ भन्दै पशुपालन गर्न थाले । हेटौँडामा तब व्यवसायिक रूपमा पशुपालन भित्रियो । त्यसैले उनको व्यवसाय मात्र बढेन, कृषकहरूले बजार र बेरोजगारले रोजगारी पाउन थाले ।

एउटा मान्छेले जोखिम मोलेर बाटो खन्दा सिङ्गो गाउँलाई अगाडि हिँड्न सहज भयो । कृष्ण प्रसादको खुवा बेच्ने फरक सोचले चुच्चेखोला र बिस्तारै हेटौँडा र मकवानपुमै रोजगारी सिर्जना गर्‍यो । कृषकहरूको सङ्ख्या बढ्यो, व्यापारीहरू पनि बढे । डेरी, चिया पसल, खुवा पसल थपिए । केही नौलो गर्ने उनको एउटा हुटहुटीले नजानिँदो गरी कृषिमा एक किसिमको क्रान्ति नै ल्यायो ।

उनको पसलमा अहिले ३०० लिटर दूध खपत हुन्छ । जसको परिपूर्ति गर्न किसानहरूले बिहान-बेलुका पसलमा दूध पुर्‍याउने गर्छन् । व्यवसाय फस्टाउँदै जाँदा उनको काममा हात बटाउन अहिले उनको परिवार पनि छ । उनकी बुहारी अनिता तिमल्सिना भन्छिन्, ‘बिहान ल्याएको दूध साँझ ५ बजेसम्म सकिन्छ र बेलुका ल्याएको दूध पनि बिहानको ९ बजेसम्म सक्किसक्छ ।’

इच्छाशक्ति, संघर्ष, बिँडो र शाखा विस्तार

अहिले कृष्ण प्रसादको बिँडो माहिला छोरा-बुहारीले थामेका छन् । सो पसल छोरा-बुहारी मिलेर सम्हालेपछि सोही नाम गरेको त्यसैको शाखा हेटौँडा बजारमा पनि खुलेको छ । चुच्चेखोलाको पसल अहिले ४३ वर्ष कटेर ४४ वर्षमा हिँड्दैछ । ३६ सालदेखि थालिएको उक्त पसलको शाखा खोलेकै पनि २२ वर्ष जति भइसकेको छ । हेटौँडा बजारमा खुलेको शाखा सङ्गम चोक, ज्ञानोदय बोर्डिङअगाडि रहेको छ । जीवनको पूर्वार्धमा दःख-कष्ट, उकाला-ओरालाहरूसँग संघर्ष गरेपनि कृष्ण प्रसादले जीवनको उत्तरार्धमा गरेको एउटै सही निर्णयले उनका विगतका सबै गुनासाहरू बिलाएका छन् । अहिले फर्किएर हेर्दा ७४ वर्षीय उनी आफूले सन्तुष्टिका साथ जीवन बिताएको सम्झिन्छन् ।

व्यापारको सुरुवाती दिन सम्झिँदा उनी त्यस समयमा खुवाको व्यापारबाट दैनिक एक हजार रुपैयाँ पुर्याउन समेत मुस्किल भएको अनुभव सुनाउँछन् । एक डेढ किलो खुवा मात्र बिक्री हुन्थ्यो । सुरु-सुरुमा पसल नचल्दा यो पेसाले पार नलागे एक हल गोरु किनेर जीविकोपार्जन गर्ने विचार पनि उनलाई नआएको होइन रहेछ । तर, आफ्नो परिश्रममा विश्वास राख्ने र मिहिनेतमा भरोसा गर्नेले एकदिन अवश्य सुख पाउने रहेछन् । उनले आफ्नो बुवाको सम्पत्ति पनि लिएनन् र लिने चाहना पनि कहिल्यै राखेनन् । छोराहरूलाई पनि आफ्नो पसिनामा विश्वास दिलाउन, आफ्नो पाखुरा चलाउन सिकाउन उनले छोराहरूको लागि समेत सम्पत्ति जोडिदिएका छैनन् । १३ जना सदस्य रहेको परिवारलाई उनी दसैँमा टीका लगाइदिन्छन् र परिश्रम गर्ने आशिष दिन्छन् ।

७४ वर्षको उमेरमा पनि खुवा घोट्दै गरेका कृष्ण प्रसाद सापकोटा

कृष्ण प्रसादले भेटे आफूभित्रका कृष्ण

छोराबुहारीले खुवा राम्रो बनाउने कि तपाईंले भनी सोध्दा उनी, ‘नेपालमा वृद्धभत्ताको सुरुवात मनमोहन अधिकारीले गरे ।मैले यसको सुरुवात गरेँ । यसको सदुपयोग उनीहरूले गरुन् ।’ भन्छन् । हुन पनि कसले मिठो बनाउँछ भन्दा महत्त्वपूर्ण प्रश्न कसले सुरुवात गर्यो भन्ने नै हो । सुरुवात भए परिष्कार त हुँदै जान्छ नै । तर, सुरुवात नै नभए ? भइगो, यसरी पनि के सोच्नु ! कृष्ण प्रसाद बुवासँगको केही क्षणको बसाइँले मात्र पनि सोचाइमा समेत ऊर्जा खोज्ने बनाइसकेछ ।

खुवाबाटै आफूलाई, आफ्नो वरिपरिका कृषकहरूलाई राम्रो भएको देख्दा कृष्ण प्रसाद सन्तुष्ट छन् । उनले कृषकलाई भैँसी किन्नका लागि सहुलियतमा ऋण उपलब्ध गराउने समेत गर्छन् । उनले पसल थापेर राम्रो व्यवसाय गरेपछि अन्य पसलहरू पनि थपिए । सरल व्यवहारका उनले कसैको कुभलो चिताउँदैनन् ।  ‘मलाई कसैको नराम्रो सोच्न आउँदैन । मानिसभित्रै भगवान र राक्षस हुन्छन्, आफूले कसलाई हाबी हुन दिने भन्ने प्रमुख कुरा हो ।’ सायद, कृष्ण प्रसादले आफूभित्रका कृष्ण भेटे ।

जन्मथलोदेखि कर्मथलोसम्म

उनी कलकत्तामै रुमलिएको भए पनि यो कथा अर्कै हुनेथियो ।  काठमाडौँमै रोकिएको भए नलेखिएका लाखौँ कथामाझ उनको जीवनकथा पनि पापड बेलिएझैँ बेलिने थियो । तर, हेटौँडाले बोलाएको उनले बेलैमा सुने । कुँजिएर नबस्नु र यात्रा गर्नुले उनले आफूले खोजेको मार्ग भेट्टाए । आखिर यात्रा गर्नेहरूले नै त आफ्नो बाटो पहिल्याउने हुन् । आफ्नो जीवनको उदेश्य भेट्न जीवन जिउनैपर्छ । र जीवन एउटा यात्रा हो ।

तपाईं पनि आफू बसिरहेको स्थानमा आफूले खोजेको कुरा भेटिरहनुभएको छैन भने, भएन भनेर गुनासो गर्नुभन्दा यात्रामा निस्किनुहोस् । के थाहा तपाईंलाई कुन शहरले पर्खिरहेको छ । कुन गाउँले बोलाइरहेको छ  । कहिलेकाहीँ कृष्ण प्रसादको जस्तै जन्मथलो एउटा र कर्मथलो अर्को हुन लेखेको पनि हुनसक्छ । तर, लेखेको कुरा यसै पाइँदैन । जन्मथलो पाउन तपाईंले जन्मिदिए पुग्छ तर, कर्मथलो पाउन तपाईंले कर्म गर्नैपर्छ । जन्मिएकै ठाउँलाई पनि कर्मथलो बनाउन तपाईंले कर्म त गर्नैपर्छ ।

अन्त्यमा,
कृष्ण प्रसादले खुवाको कर्ममा आफूलाई भेट्टाए । हेटौँडामा खुवा भित्र्याउने उनी ‘खुवा मानव’ बने । तपाईं कहाँ पुगेर कुन कर्ममा आफूलाई भेट्टाउनुहुनेछ ? त्यसका लागि समयको कराहीमा घोट्टिनै पर्छ । पोखिएमा संगाल्नै नमिल्ने दूध घोट्टिएरै बाक्लो र स्वादिलो खुवा बन्ने न हो ।

एउटा मान्छेको फरक सोचले वास्तवमै क्रान्ति ल्याउन सक्छ भन्ने उदाहरण हुन् कृष्ण प्रसाद । यस्ता कृष्णप्रसाद हाम्रै वरिपरि अरू पनि छन् । कृष्ण प्रसादहरूको माझमा बसेर हामी अझैपनि आफैलाई झुक्याएर भनिरहन्छौँ, ‘म एक्लैले गरेर के हुन्छ र ?’

सम्बन्धित समाचार