नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।
काठमाडौं । बडादशैंको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई ‘माना’ हो भने भ्वयको अर्थ ‘भोज’ हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । यसका लागि बिहान सबैले घरघरमा दशैँको मासु भित्र्याएका छन् ।
बाह्रथरी ल्वसाघासा (परिकार): कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ । त्यसैगरी यसमा फलफूल (खयपिचयपि) मा अम्बा र केरा अनिर्वाय मानिन्छ ।
दुई माना चिउरा राखेर खाने भएकोले यस भोजको नाम कुछी भ्वय् रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को थरी संस्कृतीकर्मीहरुले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अप्रभंस भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ ।
माटोको सानो घैँटोमा जाँड अथवा रक्सी र त्यसमाथि सलिँमा (माटोको सानो भाँडा) एक टुक्रा राँगाको मासु राख्नुलाई ‘थापिँचा स्वनेगु’ भनिन्छ । दशमीको दिनमा ‘स्वाँ क्वकायेगु’ अथवा ‘चालँ क्वकायेगु’ गरेर त्यही थापिँचाको जाँड र मासु पोलेर प्रसादको रूपमा खान दिइन्छ । त्यो खाएमा पेटको विकार निको हुन्छ भन्ने विश्वास रहेको संस्कृतविद ओम धौभडेल बताउँछन् ।
स्याक्वत्याक्व: नेवार समुदायले नवमीको दिनलाई ‘स्याक्वत्याक्व’ को नामले मनाउने गर्दछन् । स्याक्वत्याक्वलाई बलि दिने दिनको रूपमा पनि लिइन्छ । यस दिन आफूले मानिआएका देवदेवीको पूजाआराधना गरिन्छ र बलि चढाइन्छ । यसै दिन कुछि भ्वय्को दिनमा आगम घरमा स्थापना गरिएको ‘थापिँचा’लाई पनि विधिपूर्वक पूजा गरिन्छ र तान्त्रिक विधिअनुसार मोहनी सिन्हः (कालो टीका) पनि तयार गरिन्छ । यही मोहनी सिन्हःकै नाउँमा यो चाडको नाउँ नै मोहनी नखः भएको मानिन्छ ।
मोहनी सिन्हः मोहनीको मुख्य दिन चाहिँ दशमी हो । यो दिनमा ‘स्वाँ क्वकायेगु’ अथवा ‘चालँ क्वकायेगु’ गरिन्छ । नवमीको दिनमा पूजा गरिएका विभिन्न किसिमका औजार तथा ज्यावललाई पुनः पूजा गरी पूजाकोठाबाट झिक्नुलाई चालँ क्वकायेगु भनिन्छ । यस क्रममा कुलमा सबैभन्दा ज्येष्ठ सदस्यले अरू सबै सदस्यलाई निधारमा भुइसिन्हः (सिन्दुरे टीका) र त्योभन्दा माथि मोहनी सिन्हः (कालो टीका) लगाइदिएर नलः स्वाँ र प्रसाद बाँड्ने चलन छ । गलामा ‘क्वखा’ अर्थात् रातो र सेतो कपडाको धरो पनि बाँध्ने चलन छ । अनि थापिँचाको जाँड र पोलेको मासुसहित्को समय्बजि खाने चलन छ ।
चतुर्दशीको दिनमा पूजाकोठामा राखिएको नलाः स्वाँ, उखु र अदुवाको बोट आदिदेखि त्यहाँ राखिएका अन्य चिजबिजलाई पनि बाहिर निकालेर पिखालखु (घरको मूलदैलो) मा राखिन्छ । आगमघरमा बलि दिएको पशु वा पन्छीको एक टुक्रा मासु सुकाएर तिहारसम्मका लागि राखिन्छ । त्यसलाई राखेर लक्ष्मीपूजा गरेपछि मोहनी नखः विधिवत सम्पन्न भएको मानिन्छ ।
हिन्दूहरूले घरघरमा जमरा राखेर घटस्थापना गरेजस्तै हिन्दू र गैरहिन्दू अर्थात् बौद्धमार्गी नेवारले पनि आश्विन प्रतिपदा अर्थात कौलाथ्व (पारु)कै दिन आगम घरमा ‘नलाः स्वनेगु’ अर्थात् जमरा राख्ने गर्छन् । पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि फूलपातीको प्रचलन नेपाल मण्डलमा शुरु भएको हो ।