बिहिबार , मंग्सिर २१, २०८०

‘सांस्कृतिक पितृसत्ता’ काे भागीदारमा कुमारी प्रथा

कुमारी प्रथा आजको आवश्यकताको विषय हाे कि होइन भन्ने जान्नको निम्ति  पनि कुमारी अवस्थाबारे थाहा हुन जरूरी देखिन्छ ।

image

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी कालभैरव मन्दिरको अगाडि इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै इन्द्रजात्रा (यें या:) सुरु हुन्छ । यस वर्ष भाद्र २४ र २५ गते तल्लो टोल र माथिल्लो टोलमा कुमारी जात्रा देखाइनेछ भने २९ गते नानिचा यात्राको क्रममा कुमारी देखाइनेछ ।

नेपाल लगायतका दक्षीण एसियाली देशहरूमा यौवन अवस्था पूर्वका केटीहरूलाई कुमारी या कुमारी देवीको रूपमा पूजा गर्ने परम्परा रहेको छ । काठमाडौँका शाक्य कुलमा जन्मेकी कन्यालाई नेपाल राष्ट्रको जीवित कुमारी छानेर जात्रा गर्ने चलन छ, जसलाई कुमारी जात्रा भनिन्छ ।

‘इन्द्रजात्रा कि कुमारी जात्रा ?’ यो विवाद टुङ्गोमा पुगेको छैन ।

वर्तमान समयमा इन्द्रजात्राको मुख्य अंग बनेको ‘कुमारी जात्रा’ सुरुदेखि नै प्रचलित थियो वा पछी थपिएको हो भन्ने कुराको टुङ्गो लागिसकेको छैन । इन्द्रजात्रा इन्द्रसँग सम्बन्धित भएको र कुमारी जात्रा कुमारीसँग सम्बन्धित भएको बताउनेहरूले यी दुई जात्रा एकापासमा किन मिसिन आइपुगे भनेर प्रमाणीकरण गर्न सकेका छैनन् ।

यसैगरी, इन्द्रजात्रा जस्तै कुमारी जात्रा पनि कहिलेदेखि सुरु भयो भन्ने कुरामा पनि विवाद बाँकी नै छ । प्राय:ले अन्तिम मल्ल राजा जयप्रकाशले चलाएको भन्ने गर्दछन् भने केहिले लिच्छवीकालीन समयदेखिको सांस्कृतिक विरासत मान्ने गर्दछन् ।

लिच्छवीकालीन आधार- देवी नाच

कुमारी जात्रा लिच्छविकालदेखि सुरु भएको र देवगणले समेत आएर हेर्ने भनिएको पाइन्छ । इन्द्र देवताले आएर कुमारी जात्रा हेरेको स्थान ‘इन्द्रचोक’ र उनले जात्रा हेरेको हुनाले ‘इन्द्रजात्रा’ भनिएको भनेर पूर्वकुमार समेत रहेका इन्द्रबहादुर शाक्यले गोरखापत्रमा लेखेका छन् । उनले इन्द्रजात्रा नभई कुमारी जात्रा भन्नुपर्ने समेत बताएका छन् । लिच्छवी राजा गुणकामदेवले कान्तिपुर नगर निर्माण गरेपछि नगरको रक्षा गर्न श्री कुमारीलाई नगर परिक्रमा गराउने थिति बसालेको कथन पनि भेटिएकाले शाक्यसँग सहमत हुने आधार तय हुन्छ ।

कुमारीले रक्षा गर्ने भाव अभिव्यक्त गर्न एक प्रकारको नाच पनि देखाउने गरिन्छ (इन्द्रध्वजोत्थानको दिन), जसलाई देवी नाच भनिन्छ । इन्द्रध्वजोत्थानको दिनलाई इन्द्रजात्राको पहिलो दिन भनिन्छ । यो नाचमा जम्मा सातजना पात्र छन् । तीमध्ये देवी कुमारी प्रमुख हुन् भने भैरव, चण्डी, दैत्य, कवं (अस्थिपंजर), बेताः र ख्याक अरु पात्र हुन् ।  इन्द्रजात्रा सुरु हुनुभन्दा करिब डेढ महिना अघिदेखि नै यस नाचको तयारी सुरु हुने गर्दछ ।

कुमारी घर वसन्तपुर

देवी नाचको सवालमा पनि एउटा कथा जोडिएको छ । कथनअनुसार, एउटा दैत्य नगरमा आक्रमण गर्न आइपुग्छन् । उनलाई भगाउन भैरव अघि सर्छन् । तर, दैत्यले भैरवलाई परास्त गर्छन् । त्यसपछि कुमारी आइपुग्छन् । कुमारी र दैत्यबीच युद्ध चल्छ । कुमारीले दैत्यलाई ढालेर राज्य बचाउँछन् । यहि कथनको परिमार्जित भर्सनले कुमारी र दैत्यको प्रेम भएको र कुमारीले ‘आफ्नो प्रेम (दैत्य) र राज्य (कान्तिपुर) रोज्नुपर्दा राज्य रोजेकी’ बताउँछ । कुमारीले राज्य रोजेकी हुनाले उनलाई ‘राज्यको देवी’ भनियो, यद्यपि पनि भनिँदै आइएको छ ।

देवी नाचलाई आधार मान्ने हो भने पनि कुमारी जात्रा लिच्छविकालीन हो भनेर मान्न करै लाग्छ । तत्कालीन मातृप्रधान समाजको संकेत पनि यसबाट पाइन्छ ।

मल्लकालीन आधार- जयप्रकाश मल्ल

करिब ३०० वर्षअघि जयप्रकाश मल्लले कुमारी जात्रा सुरु गरेको र त्यहिदेखि कुमारी जात्रा सुरु भएको बताउने इतिहासविद् एवम् संस्कृतविद्हरूको बाहुल्यता रहेको पाइन्छ ।

जयप्रकाश मल्ल दोस्रोपटक राजा भए लगत्तैको रात सपनामा उनले तलेजु भवानीलाई देखे । भवानीले सपनामा मल्ललाई भनिन्, ‘तिमी आफ्नो खलकको अन्तिम राजा हौ । त्यसैले तिम्रो शासन अवधि धेरै छैन  । यदि तिम्रो शासनलाई १२ वर्षभन्दा बढी टिकाउने हो भने शाक्य थरकी बालिकालाई मेरो प्रतिरूप कुमारी बनाएर मन्दिरमा स्थापित गरी पूजा गर्न थाल ।’ त्यसपछि उनले सपनाकै आधारमा कुमारी प्रथाको चलन चलाए भन्ने कथन बेसी प्रचलित छ ।

जयप्रकाश तलेजु भवानीसँग जुवा खेल्ने गर्दथे । जुवा खेल्ने क्रममा देवी र मल्लको बीचको कालो च्याँदर टांगिएको हुने गर्थ्यो । देवीको हात मात्रै राजाले देख्न पाउँथे । देवीका हात सुस्जीत हुने भई नै हाले । ‘हात त यति राम्रा छन् भने देवी कति राम्री होलिन्’ भनेर जयप्रकाशमा काम भावना जाग्यो । च्याँदर हटाउन खोज्दा देवी अलप भइदिइन् । आफ्नो गल्ति स्वीकारेर अलप भएकी देवीसँग जयप्रकाशले पश्चतापस्वरूप माफी मागे । राजाप्रति दयाभाव देखाई देवी सपनामा आइन् र शाक्यको छोरीमा आफू आई बस्ने बताइन् । यसप्रकार कुमारीलाई ‘तलेजु’को प्रतिमूर्ति समेत मान्ने गरिन्छ ।

जुवा खेलेको कथासँग जोडेर शाक्यको छोरीलाई मन्दिरमा चडाउने काम गरेको भएर कुमारी प्रथाको चलन शुरु भयो भन्ने यस मान्यता  सर्वप्रचलित मान्यता हो ।

विवादको निष्कर्ष : जयप्रकाशले कुमारी घर बनाइदिएको एवम कुमारीलाई पाङ्ग्रासहितको रथमा बसाउने प्रबन्ध मिलाएको ऐतिहासिक प्रमाणहरू चाहिँ ‘मल्लकालीन नेपाल’ नामक पुस्तकले उपलब्ध गराएको छ । तर ‘कुमारी यात्रा’ सम्बन्धमा जयप्रकाशको शिलालेख चाहिँ उपलब्ध छैन । जयप्रकाशका अन्य शिलालेख भेटिनु तर कुमारी जात्रा सम्बन्धमा शिलालेख नभेटिनुले पनि उनीभन्दा अघिदेखि नै प्रचलनमा थियो कि भन्न सकिन्छ । यसैगरी, कुमारी जात्रा इन्द्रजात्राको अवसरमा मात्र नहुने भएकाले जयप्रकाशभन्दा अघि देखि चलेको हुनुपर्ने अनुमान भने गर्न सकिन्छ । सेतो मछिन्द्रनाथको स्नान गराउँदा पनि खटमा कुमारी राख्ने प्रचलन देखिएकाले कमसेकम सेतो मछिन्द्रनाथको रथयात्रा जहिलेदेखि चलेको हो, तहिलेदेखि कुमारी जात्रा चलेको हो भन्न सकियो तर, विडम्बना के छ भन्दा सेतोमछिन्द्रनाथको रथयात्राको सुरुवाती मिति पनि किटान गर्न सकिएको छैन् । भोटो देखाउने रातो मछिन्द्रनाथको जात्रामा पनि कुमारीको उपस्थिति हुनुले पनि कुमारी जात्रा जयप्रकाश भन्दा प्राचीन हो भन्न करै लाग्छ ।

तान्त्रिक देवताहरूमा कुमारी देवीलाई एक ठूलो शक्तिशाली मातृका देवीको रूपमा मानिएको हुन्छ । तान्त्रिक पूजाहरूमा कुमारी पूजा अनिवार्य हुन्छ । यसैगरी इन्द्रलाई पनि आर्यहरूको वैदिक देवता मानिएको र इन्द्रका सम्बन्धमा वेदले धेरै नै व्याख्या गरेको पाइनले ‘इन्द्र फस्ट कि कुमारी फस्ट’ को विवाद व्यर्थैमा गरियो कि भन्ने पनि लाग्छ । यी दुवैको एकमुष्टता नै इन्द्रजात्रा भएकाले यसैमा सांस्कृतिक गौरव गर्दा कसैलाई हानी छैन ।

कुमारीको छनोट र पुजा ?

नटी कपालनीवैश्या रजनी नापिताङ्कमा ।
ब्राह्मणी शुद्र कन्या च तथा गोपाल कन्यका ।।
माला कारस्य कना च नव कन्या प्रकर्तिता ।।।

हँसिलो चेहरा भएकी, मुखमा ३२ वटा दाँत भएकी, भविष्यमा चरित्र राम्रो देखिने, लक्षणयुक्त भएकी, जीउमा कुनै खत नभएकी, नाच्ने कार्यमा सबै लोकबाट प्रतिष्ठा कमाइसकेकी, आमाकी छोरी, धोबिनीका बालिका, नाउनीका बालिका, गोपालकी बालिका, वैश्यकी बालिका, इमान्दार व्यापारीकी बालिका, मालिनीकी बालिका, ब्राह्मणकी बालिका, औषधि उपचार गराई हिंड्नेकी बालिका, इमान्दारीसाथ चरित्र नबिगारी यताउति हिँडिरहेका आमाबुबाकी बालिका, जहाँतहीं बसोबास गरेकी भए पनि सज्जन आमाकी बालिका आदि उपयुक्त व्यक्ति र जातित्वका व्यक्तिहरूबाट पैदा भएका बालिकालाई कुमारी छानेर पूजा गर्न सकिन्छ भनेर रुद्रायामत तन्त्रको सातौं अध्यायमा उल्लेख गरिएको छ ।

कुमारी निहिरा बज्राचार्य

यस्ता कन्या कुमारीलाई पूजा गर्नु जगत्ले मानेकी जगत्ले पूजा गरेकी जगत्ले बन्दना गरेकी सर्वशक्ति रूप जगत् की माता भगवती देवीलाई पूजा गर्नु बराबर हुन् भनी धेरैजसो तन्त्रमा समेत उल्लेखित छ । यी लगायत कतिपय भन्छन्, ‘देश र जीवनको रक्षाका लागि कुमारी पूजाको प्रचलन शुरु भएको हो । कुमारी पूजा गर्दा अनिष्ट हुन पाउँदैन ।’

‘काम, क्रोध, लोभ र मोह नभएकी अबोध बालिकाको पूजा गर्नु भनेको सत्य र निश्चलताको कामना गर्नु हो । समाजमा देखिने व्यभिचारी प्रवृत्तिलाई निस्तेज गर्नु हो । कुमारीलाई पूजा गर्नु भनेको कुमारित्वप्रति सम्मान गर्नु हो’ भनि कतिपय नेवार समुदाय भित्रका व्यक्तिहरू भन्ने गर्दछन् । अझ उनीहरूको त हरेक शुभकार्य शुरु गर्नु अघि कुमारी पूजा गर्ने चलन रहेछ । काठमाडौं र पाटनका कुमारीलाई इन्द्रजात्रा, दशैं, गाईजात्रा, घोडेजात्राजस्ता विशेष १३ पर्वमा शहरका निश्चित क्षेत्र परिक्रमा गराई पूजा गर्ने प्रचलन समेत रहेको छ ।

काठमाडौं भक्तपुर र ललितपुरमा कुमारीको अवस्था

जीवित कुमारी राख्ने परम्पराबारे भक्तपुर तलेजु मन्दिरका मूल नायक नरेन्द्र जोशी भन्छन्, ‘मल्ल राजाको पालामा उपत्यकाका तीन जिल्लामा कुमारी राख्ने परम्परा एउटै थियो तर अहिले आएर फरक बनेको छ ।’ उनका अनुसार नेपाल संवत ६११ मा भक्तपुरका राजा राय मल्लले भक्तपुरबाट कुमारी राख्ने प्रथा सुरु गरेका थिए । पछि आएर राजा जगतज्योति मल्लले जीवित कुमारीको परम्परालाई व्यवस्थित गर्दै काठमाडौं र ललितपुरमा कुमारी राख्ने परम्परा सुरु गरेका थिए ।

काठमाडौंकी कुमारीको सेवा र सुविधा तथा परम्परा अन्य जिल्लाको भन्दा फरक छ । उनले अहिले ५० हजार तलब पाउँछिन् । उनको यो तलब तीनै सहरमध्येकै सबैभन्दा बढी हो । काठमाडौंमा शाक्य वंशको परिवारबाट कुमारी रहने चलन छ । यहाँ १८ वटा शाक्य टोल छन् । तीनै टोलमध्येबाट कुमारी छान्दा जन्मकुण्डली, उमेर, पारिवारिक अवस्था, कुमारीको गुण लगायतलाई हेर्ने चलन छ भने कुमारीको उमेर सात वर्षभन्दा कम हुनुपर्छ मन्ने मान्यता छ  ।

भक्तपुरमा कुमारीको जीवन सामान्य हुन्छ । छनोट प्रक्रिया पनि सामान्य नै हुन्छ । नयाँ कुमारीको आवश्यकता परेपछि बडागुरु कुमारीका लागि योग्य बालिका भएको घरमै पुग्छन् । उपयुक्त गुण र व्यवहार भएका बालिकाको शिरमा फूल राखिदिन्छन् र उनैलाई कुमारी मानेर पुजिने चलन रहेको छ । काठमाडौं र ललितपुरमा भन्दा भक्तपुरकी कुमारी स्वतन्त्र हुने भएकाले उनले पाउने मासिक तलब पनि थोरै रहेको छ  ।

ललितपुरमा कुमारी बाहिर निस्कन मिल्दैन । उनलाई स्याहारसुहार आफ्नै बाबुले गर्नुपर्ने र शिक्षा पनि कुमारीघरबाटै दिनुपर्ने परम्परा रहेको छ । नयाँ कुमारी नियुक्ति हुँदा पुरानै सम्प्रदायबाट छान्ने गरिन्छ । ललितपुरको ऐतिहासिक रातो मछिन्द्रनाथको भोटो देखाउँदा कुमारीलाई पनि सोही स्थानमा लगेर भोटो देखाउने परम्परा रहेको छ । ललिलतपुरकी कुमारीको तलब मासिक आठ हजार रुपैयाँ छ भने ललितपुरमा शाक्य र बज्राचार्य समुदायबाट कुमारी राख्ने चलन रहेको पाइन्छ ।

आजीवन कुमारी

धनकुमारी बज्राचार्य

पाटनकी धनकुमारी बज्राचार्य ७४ वर्षकी भइन् । उनलाई आजीवन कुमारीको रूपमा चिनिने गरिन्छ । उनी दुई वर्षकी हुँदा ०११ सालमा कुमारी छनोट भएकी थिइन् । त्यसपछि उनलाई महिनावारी भएको छैन । तर, ०४७ सालमा भोटो जात्राका क्रममा तत्कालीन युवराज दीपेन्द्रले उनलाई देखेर भनेका थिए, ‘यति ठूली केटी पनि कुमारी हुन्छ र ?’ त्यसपछि उनले छानविन गर्न लगाएका थिए अरे । छानविनका क्रममा कुमारी नै रहेको प्रमाणित भए पनि दीपेन्द्र धनकुमारीलाई कुमारीको पदमा राखिरहन तयार नभएको पनि बताइने गरिन्छ । तर हाल उनी कुमारीका रूपमा आफ्नै घरमा बसिरहेकी छिन् भने उनले कुमारीले पालना गर्ने सबै नियम पालना गरिरहेकी छिन् ।

कुमारीको दैनिकी

काठमाडौंकी कुमारीका लागि छुट्टै कुमारी घरको व्यवस्था गरिएको छ । उनलाई वसन्तपुरस्थित कुमारी घरमा रेखदेख गर्न सहयोगीको व्यवस्था पनि गरिएको छ । उनलाई हरेक बिहान नित्यपूजामा सहभागी गराइन्छ भने नित्यपूजाको बेलामा कुमारी पहिरन र शृंगारसहित आसनमा बस्नुपर्छ । नौ बजेपछि उनको खानाको समय हुन्छ । त्यसपछि १२ बजेसम्म सर्वसाधारणले दर्शन गर्न पाउँछन्  । काठमाडौं र पाटनका कुमारीलाई पर्वको बेला मात्र घरबाट बाहिर निकालिन्छ । पाटनमा कुमारी विहारको घरमा उनको परिवार सहित बस्ने व्यवस्था मिलाइएको छ । भक्तपुरकी कुमारीलाई भने बाहिर निस्किने र विद्यालय जाने स्वतन्त्रता छ । उनीहरूलाई खानामा विशेष ध्यान दिइन्छ भने उनीहरूलाई कुखुराको मासु वा अण्डा खान निषेध  पनि गरिन्छ ।

 कुमारी र विवाह :

कुमारी भइसकेपछि बिहे गर्न नपाइने परम्परा रहेपनि हीरामैया शाक्यदेखि अहिलेकी तीन वर्षिय मतिना शाक्यसम्म आइपुग्दा मतिनाबाहेक जम्मा चार जना कुमारीहरुले मात्रै विवाह गरेका छैनन् । अरु सबै कुमारीको भने विवाह भइसकेको बुझिएको बताएका छन । देशकाल र समयको माग अनरुप विद्यमान व्यवस्थामाथि क्रमभङग गर्दै कुमारी बिहेको परम्परागत सुरुवात गरिएको थियो ।

यस बीचमा कुमारी विवाह परम्परामा हुँदै आएको बन्देजको विरोध गर्दै कुमारीले पनि स्वतन्त्र जीवन जिउन पाउनुपर्ने माग सहित अधिकारकर्मीहरुले आवाज उठाएकै कारण अहिले कुमारीलाई बिहे गर्न छुट दिइएको बुझिएको छ । यसै क्रममा विभिन्न अधिकारकर्मीहरूले कुमारी प्रथा माथि हुँदै आइरहेका परम्परा माथि बन्देज भएको भन्दै आवाज उठाएका थिए । उनीहरूले आवाज उठाएकै कारण अहिले कुमारीहरूले बिहे गर्ने गरेको भनिन्छ ।

यो मात्र नभएर नेपाल सरकारले काठमाडौकी कुमारीलाई निवृत्तभरण वापत मासिक भत्ता रु.३००/-, बेल विवाहको लागि रु.१,०००/- र विवाह खर्चको लागि रु.१०,०००/- प्रदान गर्दछ भने भक्तपुरकी कुमारीलाई कुमारी रहेको अवस्थामा मासिक रु.४५०/- र कुमारीबाट अवकाश भएपश्चात् विवाह हुनुपूर्वसम्म मासिक रु.१००/- भत्ता प्रदान गर्दछ र ललितपुरकी कुमारीलाई मासिक रु.१५००/- का दरले सुविधा प्रदान गर्दछ ।

सबै स्थानको कुमारीहरु निवृत्त भएपछि उनीहरुको वैवाहिक जीवन लगायत सामाजिकीकरणको प्रकृयामा अन्य खास समस्या नभए पनि वसन्तपुर र मुबहालको निवृत्त कुमारीहरुको विवाह हुन सहज नभएको भन्ने देखिन्छ । अन्य स्थानहरुमा पनि कुमारीलाई विवाह गर्न हुँदैन भन्ने सामाजिक मान्यता भए पनि विवाह गर्नमै बन्देज भने देखिएको छैन  ।

विचारणीय र महत्वपूर्ण के छ भने कुमारीहरूमाथि शिक्षा प्राप्त गर्ने हक, पारिवारिक जीवन सम्बन्धी हक, हिंडडुल र आवतजावत सम्बन्धी हक, मनोरञ्जन सम्बन्धी हक, स्वास्थ्योपचार सम्बन्धी हक, वैवाहिक जीवन सम्बन्धी हक, पहिरन सम्बन्धी स्वतन्त्रता लगायत अन्य सम्पूर्ण कुराहरुमा लगाइएको बन्देजका बारेमा ताम्रपत्र, शिलापत्र, सनद, सवाल लगायत कुनै लिखत/प्रमाण भेटिएको छैन । परम्परा, मान्यता, प्रचलन, समाजिक व्यवहार र रीतिरिवाजले निर्देशित भई कुमारी हक कुण्ठित गर्ने कार्यले निरन्तरता पाएको देखिन्छ । ‘अध्ययन गर्नै नहुने, स्कूल जानै नहुने, बिरामी भएमा स्वास्थ्योपचार गर्नै नहुने, परिवारलाई त्यागेर एक्लै बस्नुपर्ने आदि जस्ता खासगरी Right to Life सँग सम्बन्धित हकहरुमा बन्देज लगाउने कुनै कानून वा ‘Force Of Law’ हुने खालको लिखत भई त्यस्तो लिखतको आधारमा कुमारी प्रथा सञ्चालन भएको देखिदैन’ भनेर नेपाल कानून पत्रिकाले उल्लेख गरेको छ ।

कुमारी प्रथाबारे उठाइएका प्रश्नहरू र उनीहरूको आवश्यकता

पछिल्लो समय महिलाहिँसा, बालबालिका बलात्कारका घटनाहरूमा वृद्धि भइरहेकाले राष्ट्रिय देवीको उपामा पाएकी ‘कुमारी’को बारेमा केहि कुरा गर्नु सान्दर्भिक ठहर्छ । कुमारी पनि एक बालिका नै हुन् ।  उनी रजस्वला भएपश्चात् अयोग्य ठहरिन्छन् र प्रतिस्थापित गरिन्छन् । राष्ट्रिय देवीले जीवनभर बिहे गर्न नपाउनु (यौन कुण्ठा व्यहोर्नु ?) या आफ्नो स्वतन्त्रता उपभोग गर्न नपाउनु (नदिइनु)लाई समयसापेक्ष भई प्रश्न गर्नु मुनासिव नै हुन्छ । एकातिर बालबालिकामाथि बलात्कार हुनु र अर्कोतर्फ समानन्तर रुपमा कुमारीहरूले विवाह (यौनजन्य अधिकार उपभोग) गर्न नपाउनुलाई कसरी हेर्ने ? यी दुवै कुरामा समान्तर रूपमा वर्तमान समाजमा देखिनुमा ‘सांस्कृतिक पितृसत्ता’ कत्तिको भागीदार छ ?

सँगसँगै, कुमारी संस्कृतिको उत्थान र कुमारी हुने बालिकाको हकअधिकारको संरक्षण हुनुपर्ने कुरामा सरोकारवालाहरू कत्तिको गम्भीर छन् होला त ? कुमारी नामक प्रथाले देशको धर्म, संस्कृति र समाजलाई कस्तो प्रभाव परिरहेको छ ? यसको यथास्थितिको निरन्तरतामा समसामयिक सुधार र परिवर्तन गर्नु आवश्यक छ कि छैन होला ? यी प्रश्नहरू स्वभाविक रूपमा उठाउन सकिन्छ ।

इन्द्रजात्रा

माथि पनि उल्लेख गरिएको यो कथन- ‘भैरव र भद्रकालीकी छोरी कुमारी हुन्छिन्  । उनलाई शक्तिशाली दैत्यले मोहनी लगाएर वशमा पार्छ र आफ्नो राज्यमा लैजान्छ  । छोरीलाई दैत्यको मोहनीबाट मुक्त पार्न भैरव र भद्रकालीले निकै संघर्ष गर्नुपर्छ । जब कुमारी मोहनीबाट मुक्त हुन्छिन्, त्यतिबेला दैत्यको नियत थाहा पाउँछिन् । त्यसैले उनले दैत्यलाई मारिदिन्छिन्  र आफू आजीवन कुमारी रहने घोषणा गर्छिन् ।’

कुमारी र कुमारी विवाहबारे प्रचलित लोककथामध्ये एक हो यो  । तात्कालिन समयअनुसार कुमारीको त्यस निर्णय ‘सहि’ भएता पनि आजको समय सहि हो कि होइन ? यस्ता कथाहरूलाई आधार मानेर कुमारीहरूसँग विवाह गर्नु हुँदैन भन्ने कथ्य कत्तिको समय सान्दर्भिक होला ? कुमारीको विवाह नहुनु र समाजमा दिनदिनै महिला हिंसा र यौनजन्य अपराधहरू बढिरहनुबीच ‘कुमारी’ परम्पराको यथास्थितिवादी निरन्तरता कत्तिको जिम्मेवार घटक हो ? यसबारेमा प्रश्न उठ्नुपर्दछ ।

हालसालै पूर्वकुमारी चनिराबारे न्यूयोर्क टाइम्समा एक आर्टिकल प्रकाशित भएको थियो, जहाँ चनिराले आफू कुमारी परम्पराको कट्टर समर्थक रहेको उल्लेख गरेकी छन् । उनी आफूले बिताएको असामान्य बाल्यकालप्रति खुसी व्यक्त गर्दै आफ्नो मानवअधिकार हनन् भएको धारणालाई खण्डन गरेकी छिन् । ‘देवीका रुपमा कुमारीको जीवन एकदम एक्लो हुने, अरुसँग बोल्न नपाउने, खेल्ने समय नुहने, यहाँसम्मकि म हाँस्न पनि पाउँदिन भन्ने हल्ला व्यापक छ । यी मिथकहरू सुन्दासुन्दा कहिलेकाहीँ त मलाई दिक्क लाग्छ’, उनले भनेकी छिन् ।

यदि उनले भनेका यी वाक्यहरू गलत हुन् भने किन आजसम्म कुनै कुमारीले यसको विपक्षमा आवाज उठाएका छैनन् ? यो प्रश्न सोचनीय छ । यी बाहेक पनि अन्य कुमारीहरूले कुमारी अवस्थाको आफ्नो भोगाई कमै सार्वजनिक गरिरहेका छन् । यसको पछाडीको कारण खुल्नु जरूरी देखिन्छ ।  कुमारी प्रथा आजको आवश्यकताको विषय हाे कि होइन भन्ने जान्नको निम्ति  पनि कुमारी अवस्थाबारे थाहा हुन जरूरी देखिन्छ ।

कुमारीको दैनिक स्याहार सुसार र हेरचाहका लागि स्पष्ट कार्यविधि बनाउनु आवश्यक देखिन्छ । कुमारीले पाउने भत्ता एवं अन्य सुविधा समयानुकूल उचित र पारदर्शी हुनुपर्दछ । कुमारीको शारीरिक एवं मनोवैज्ञानिक स्वास्थ्यको रक्षा हुनुपर्दछ । गुणात्मक शिक्षा प्रदान गर्न योग्य शिक्षकहरुको नियुक्ति हुनुपर्दछ । कुमारीको मनोरञ्जनका लागि उचित व्यवस्था हुनुपर्दछ । उनीहरुको गुणात्मक र स्तरीय औपचारिक शिक्षामा कमी हुनुहुँदैन । कुमारीहरु बस्ने घरको आवश्यक व्यवस्था नेपाल सरकारबाट हुनु जरुरी देखिन्छ ।

कुमारी प्रथासंग सम्बन्धित भौतिक सम्पत्ति, गरगहना, जग्गा, भेटिघाटी इत्यादिको आधुनिक लागत राख्ननु पर्दछ । कुमारी संस्कृतिको जगेर्नाका लागि विद्यालय स्तरीय पाठ्यक्रममा यसलाई समावेश गरिनु पर्दछ । कुमारी संस्कृतिको प्रचार प्रसार एवं थप अध्ययन अनुसन्धान सरकारले गर्नु गराउनु पर्दछ । कुमारी प्रथा व्यवस्थापनका लागि संस्कृतिविद् एवं पूर्व कुमारीहरु सहितको एउटा छुट्टै समिति गठन गरिनु लगायतका विविध विषय आजको कुमारी प्रथाको सँग सम्बन्धित आजको आवश्यकता हो ।

सन्दर्भ सूचि :

  • कुमारी जात्रा नै इन्द्रजात्रा, गोरखापत्र (आश्विन ३, २०७८ आइतबार)
  • तन्त्रमा कुमारी प्रभाव
  • अन्नपूर्ण टुडे राष्ट्रिय दैनिक (कुमारी प्रथा)
  • रातोपाटी (७०० वर्ष पुरानो ‘कुमारी’ प्रथा सुधारकी प्रतीक)
  • नेपाल कानून पत्रीका
  • (सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री तपबहादुर मगर सम्बत् २०६२ सालको रिट नं. ३५८१ अन्तर्गत निर्णय नं.७९८१  ने.का.प. २०६५ अङ्क ६ मा उल्लेख गरिएको छ ।)

 

 

सम्बन्धित समाचार