स्वयम्भु महाचैत्यका लामा बुद्धाचार्यका अनुसार स्वयम्भू क्षेत्रमा पानीको अभाव रहने हुँदा सर्वसाधारण उक्त पोखरीमा आइ नुहाउने, कपडा धुने गर्थे ।
हामीले यात्राका दौरान कहिलेकाहीँ मान्छेहरूले नदी या खोलामा सिक्का फ्याँकेको देख्ने गरेका छौँ । कुनै मन्दिरमा रहेको कुण्डमा मान्छेहरूले विभिन्न मनोकामना राखेर सिक्का फ्याँक्ने गरेको कुराको हामी साक्षी हौँ । कतिपय ठाउँमा त सम्बन्धित ठाउँमा सिक्का अडियो भने मनोकामना पुरा हुन्छ भन्नेसम्म सुनिन्छ । स्वयम्भूमा महाचैत्य नपुग्दै तल एक कुण्डको बिचमा बुद्धको मूर्ति रहेको छ, त्यहाँ आउने श्रद्धालुहरूले उक्त कुण्डमा सिक्का फ्याँकेर विभिन्न मनोकामना पूर्णताको वर माग्ने गर्छन् ।
पोखराको डेभिज फल प्राङ्गणमा पनि यस्तै किसिमको एक कुण्ड रहेको छ, जहाँ मान्छेहरूले सिक्का हालेर मनोकामना पूर्णताको वर माग्ने गर्छन् । त्यसैगरि पशुपतिनाथ परिसरको विजेश्वरी मन्दिर प्राङ्गणमा समेत एउटा सानो कुण्ड रहेको छ, जहाँ कुनै समय सिक्का फ्यालिन्थ्यो भन्ने जनश्रुति छ । नेपाल, भारत लगायत युरोपका देशहरूमा पनि हामी यी कुरा देख्न सक्छौँ ।

‘नेवार समुदायका कोहि मान्छे आफ्नो जन्मदिनका दिन नदी पार गरेर कतै जान पाउँदैनन् । यदि जानैपर्ने अवस्था आए नदीमा सिक्का फ्याँकेर, नदिसँग क्षमा मागेर पार गर्नुपर्ने धार्मिक मान्यता रहेको छ ।’
यस्ता छन् मिथकीय विश्वास :
कुण्ड तथा नदीमा सिक्का फ्याँक्नाले आफूले चिताएको पुग्ने हिन्दु धर्मावलम्बीको जनविश्वास रहेको छ । त्यसैगरि यस कार्यबाट जीवनमा आइपर्ने समस्या समाधान हुने विश्वास समेत राखिएका छन् । प्राचीन समयमा पनि झरनामा भूत-पिशाचहरू बस्ने विश्वासमा उनीहरूलाई सतर्क गराउन सिक्का फ्याल्ने गरिएको कथ्यहरू पाइन्छन् । कालान्तरमा पोखरी, तालतलैया हुँदै यसले वाटर फाउन्टेनसम्मको यात्रा गर्यो । वाटर फाउन्टेनलाई कृत्रिम झरना पनि भन्न सकियो ।
एउटा जनविश्वास अनुसार, तलाउ-कुण्डको बिचमा रहेको मौलोलाई समर्पित गरेर उक्त सिक्का चढाइने गरिएको हो । नदीलाई आमाको दर्जा दिएका हिन्दु धर्मावलम्बीहरूले कागजको नोट भन्दा सिक्का फ्याँक्दा सिक्का गहिराइसम्म पुगेर नदीले स्वीकारेको या प्राप्त गरेको भन्ने अर्थ बुझ्न थाले, कालक्रममा यो बहुल जातीय, बहुधार्मिक संस्कृति बनिदियो ।
स्वयम्भू महाचैत्यका लामा अशोक बुद्धाचार्यका अनुसार नेवार समुदायका कोही मान्छे आफ्नो जन्मदिनका दिन नदी पार गरेर कतै जान पाउँदैनन् । यदि जानैपर्ने अवस्था आए नदीमा सिक्का फ्याँकेर, नदीसँग क्षमा मागेर पार गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । यसो गर्नाले सो दिन सम्भावित रूपमा आउन सक्ने बिघ्नबाधा टर्ने जनविश्वास रहेको छ ।
यसबाहेक एउटा अर्को कुरा पनि छ, तामाको भाँडामा राखिएको पानी पिउनु स्वास्थ्यको लागि लाभदायक सिद्ध भइसकेकै छ । रातभर तामाको भाँडामा पानी राख्ने र बिहान उठेपछि ठाडो घाँटी लगाएर तनतनी पिउने चलन गतार्थ भएको हिजोअस्ति नै हो । आज पनि मन्दिरका पूजासामाग्रीहरू तामाकै हुने गर्दछन् । तामाको भाँडामा भण्डारण गरिएको पानी (ताम्रजल) ले शरीरको केही दोष शान्त पार्ने एवम् शरीरको विषाक्त पदार्थ निकाल्ने ब्यहोरा आयुर्वेददेखि चिकित्सा विज्ञानले समेत उद्घोष गरिसकेका हुन् । मुख्य कुरा के भने- हालको स्टेनलिस स्टिलका सिक्काहरू प्रचलनमा आउनुपूर्व तामाको सिक्काहरू प्रचलित थियो, पछि सुनको सिक्काहरू देखिए । तामाको भाँडाहरू अप्राप्य हुँदै जाँदा तामाको सिक्काहरू पानीको स्रोतमा खसाल्नु व्यवहारतः सही देखिन पनि आउँछ किनभने प्राचीन सभ्यताहरू नदी/तलाउ किनारमै अंकुराएका एवम् हुर्किएका हुन् ।
नदीमा सिक्का फ्याँकिनुको कारण बगेको पानी जसकोमा पुगे पनि उसले उक्त धातुको लाभ लिन सकोस् भन्ने हो । ती तामाका सिक्का पानीमा वर्षौँसम्म रहन्थे जसले हाम्रो पानीलाई शुद्ध गर्ने काम गर्थे । पछिल्लो एक अनुसन्धानका अनुसार तामामा ९९ प्रतिशत इन्फेक्सन नास गर्ने क्षमता हुन्छ । यानिकी जसै कुनै इन्फेक्सन तामाको सम्पर्कमा आउँछ, छोटो समयमै त्यसको दुर्गुण कम हुन जान्छ । त्यसैले अहिले धेरै देशमा तामालाई सर्वसाधारणको पहुँच हुने ठाउँ (सार्वजनिक यातायातको ह्यान्डल) आदिमा प्रयोग गर्न थालिएको छ । कुण्ड पनि सर्वसाधारणको पानीको स्रोत भएकाले यसलाई धर्मसँग जोडिएको हो । ताकी मान्छेहरूले स्वच्छ पानी पिएर स्वास्थ्य लाभ लिन सकुन् । तर अहिले हामीले नदी/कुण्डमा फ्याँक्ने गरेको स्टिलको सिक्काले भने कुनै लाभ दिँदैन, यो परम्पराको निरन्तरता मात्र हो ।
‘कुण्डमा फ्याँकिएका सिक्काहरूले मनोकामना पुरा भएपनि/नभए पनि त्यसले रोजगारी भने सिर्जना गरेको छ । त्यहाँ जम्मा भएका सिक्का समितिले निकालेर केही सहुलियतमा कुण्ड वरिपरि बसी सिक्का बेचेर जीविकोपार्जन गरिरहेका व्यापारीलाई दिन्छ ।’

स्वयम्भू प्राङ्गणमा रहेको कुण्डमा सिक्का फ्याँक्दै हुनुहुन्छ ? एकछिन है !
स्वयम्भू महाचैत्यका लामा बुद्धाचार्यका अनुसार स्वयम्भू क्षेत्रमा पानीको अभाव रहने हुँदा सर्वसाधारण उक्त पोखरीमा आइ नुहाउने, कपडा धुने गर्थे । ५० सालमा महासमिति स्थापना भएपछि सोही पोखरीलाई व्यवस्थित गरिएको हो । बर्खामा डाँडाहरूबाट बगेर आएको पानी त्यहाँ जम्मा हुने गर्थ्यो र सोही पानी सर्वसाधारणले उपभोग गर्ने गर्थे । ५३ सालतिर एकजनाको सल्लाह बमोजिम उक्त पोखरीमा हाल रहेको बुद्धको मूर्ति स्थापना गरिएको हो । स्वयम्भू क्षेत्र पर्यटकीय स्थल भएकाले यसको प्राङ्गणलाई थप शृङ्गार गर्नका हेतु नै उक्त पोखरी/कुण्डलाई व्यवस्थित गरिएको हो ।
संसारमा शान्ति फैलियोस् भन्ने उद्देश्यले तलपट्टि पृथ्वीको ढाँचामाथी बुद्धको हातबाट पानी अर्पण भइरहेको डिजाइनमा उक्त मूर्ति तयार गरिएको हो । तर, मूर्ति राखेपश्चात् कुण्डमा भगवान् देखेर एक दुई जनाले सिक्का फ्याँक्न थाले र यसको देखासिकी गर्दै अरूले पनि यसलाई निरन्तरता दिन थाले ।
कुण्डमा फ्याँकिएका सिक्काहरूले मनोकामना पुरा भएपनि/नभए पनि त्यसले रोजगारी भने सिर्जना गरेको छ । त्यहाँ जम्मा भएका सिक्का समितिले निकालेर केही सहुलियतमा कुण्ड वरिपरि बसी सिक्का बेचेर जीविकोपार्जन गरिरहेका व्यापारीलाई दिन्छ । नाम नखुलाउने सर्तमा एक सिक्का व्यापारीले सिक्काको व्यापारबाटै दैनिक ९०० सम्म कमाउने गरेको सुनाए । समितिका अनुसार पहिला हातमा विभिन्न सरसामान बोकेर पर्यटकलाई बेच्न उनीहरूको पछि लाग्ने, उनीहरूलाई दुःख दिने मानिसहरू अहिले व्यवस्थित रूपमा सिक्का व्यापारी बनेका छन् ।

केही स्थानीय मानिसहरूले पहिला उक्त पोखरी बाँदरको पानी पिउने, पौडिने स्थान रहेको समेत बताउँछन्। जुन अहिले आएर व्यवस्थित भएसँगै ‘मनोकामना पूर्ण कुण्ड’को रूपमा लोकप्रिय भइरहेको छ ।
सकसपूर्ण कुरा के छ भने विभिन्न मनोकामना बोकेर फ्याँकिएका ती सिक्काले बुद्धको शरिरभरि चोट लागिरहेको छ । केही समयअघिसम्म मनोकामना पूर्ण गर्ने बुद्धको अनुहारमा समेत चोटैचोट थिए । यो कुराले चिन्तित भएर समितिले बुद्धको मूर्तिलाई अग्ल्याउने काम गर्यो तर अझै सिक्काको प्रहार भने कम भएको छैन ।