बुधबार , साउन ९, २०८१

भूमिसुधारले बन्द गराइदिएको तान्त्रिक नाच ‘लायकू भैलः’ हेर्न पुगे उपराष्ट्रपति

सापारु (गाईजात्रा) अन्त्यसँगै मध्यपुर थिमीमा विभिन्न नाचहरु प्रदर्शनमा आएका छन् । थिमी, बोडे, नगदेशमा नाच प्रदर्शनमा आएका हुन् । हजुरहरूले यी नाचहरू हेर्न छुटाउनुहोला है !

image

भक्तपुर ।  उपराष्ट्रपति नन्दबहादुर पुनले भक्तपुरको मध्यपुर थिमीस्थित भैरव नाच अवलोकन गरेका छन् । शनिबार बेलुका थिमीको बालकुमारी मन्दिर पुगेका उपराष्ट्रपति पुन नाच हेर्नका लागि एक घन्टा उतै रोकिएका थिए  ।

मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा उनी बालकुमारी पुगेका थिए । ऐतिहासिक र धार्मिक महत्व बोकेको भैरव नाच प्रत्यक्ष अवलोकन गर्ने उपराष्ट्रपति पुन नेपाल सरकारको हालसम्मकै उच्च पदस्थ अधिकारी हुन् ।

लायकू भैलः (भैरव नाच)सँगै यो वर्ष दिगु टोलमा महाकाली, बोडेमा निलबाराही, इन्द्रअप्सरा, भस्मासुर र अष्टमातृका गण नाच प्रदर्शन भइरहेको छ । सापारु (गाईजात्रा)को भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा नाच प्रदर्शन गर्ने परम्परा छ । शनिबारदेखि सुरु भएको नाच राति करिब ८ः३० बजेदेखि सुरु हुन्छ ।

यी ऐतिहासिक नाचलाई प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास र प्रवर्द्धन फोरम समेत गठन गरिएको छ । फोरमले संस्कृति, पर्यटन तथा नागरिक उद्दयनमन्त्री, वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री, सामान्य प्रशासनमन्त्रीदेखि गुठी संस्थानका प्रमुखलाई नाच अवलोकन गर्न औपचारिक रुपमा निम्तो पठाएको छ । यो वर्ष नाच अवलोकनको लागि आउने पर्यटकहरुका लागि होटल तथा लजको व्यवस्थासमेत गरिएको छ ।

ब्युतिएको मल्लकालीन तान्त्रिक नाच

मध्यकालदेखिको इतिहास बोकेको लायकू भैलःलाई राजकीय सम्मान दिइएको छ । ने.सं ६३३ सालमा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले नवदुर्गा गण नाच, बोडेको निलबाराही तथा थिमिको लायकु भैलः र महाकाली नाच सुरुआत गरेको बताइन्छ । थिमिमा भूतप्रेत, दैत्य र दानवहरुले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीकै आज्ञा बमोजिम नाच सुरु गरिएको किंवदन्ती छ ।

नेपालभाषामा लायकूको अर्थ दरबार र भैलः को अर्थ भैरव भन्ने हुन्छ । ४७ वर्ष रोकिएको सो नाच स्थानीयको सक्रियतामा केही वर्ष यतादेखि पुन: सञ्चालनमा आएको हो । दुई वर्षअघि यहाँको युवाको सक्रियतामा पुनः संचालनमा आएको यो नाच गत दुई वर्ष कोरोना भाइरस संक्रमण महामारीका कारण संचालन हुन सकेको थिएन । यस नाच प्रदर्शनका लागि देवगणहरुलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि तान्त्रिक विधिको प्रयोग गरी प्रशिक्षण दिइएको थियो ।

यस नाचमा दुई जना भैलः, दाःगिं (कुमारी) दुई जना र ज्यापुग एक गरी पाँच देवगण सहभागी हुने गर्छन् । भैल:ले खड्ग, कुमारीले डमरु र ज्यापुँगःले कपासको बियाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो, हातमा लिएर बाजाको तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गर्छन् । नाचका क्रममा भैलः र दागिंले क्रोधित मुद्रा प्रस्तुत हुने गर्छन् । त्यसपछि ज्यापुँगःले ताय् ले हानेर उनीहरूलाई शान्त बनाइन्छ ।

नाचका लागि १२ जनाले दागः खिँ, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने गरिन्छ । दागःखिँ बजाउने १२, प्वंगा बजाउने आठ, भुस्याय् बजाउने आठ जना र म्वाहाली (सहनाई) बनाउने चारजना वाद्यवादक आवश्यक पर्छ । यी चार वटा वाद्यवादनको विभिन्न ३२ प्रकारका तालमा यो नाच नाचिन्छ ।

भूमिसुधारका कारण रोकिएको नाच भुइँचालो पश्चात् ब्युँतियो

यस नाच २०२५ सालमा रोकिएको हो । नापीको आधारमा २०२४ सालमा भूमिसुधारले लायकू भैल: का गुठियारहरूको जग्गा रैतानी गरेका कारण यस नृत्य रोकिन पुग्यो । गुठीको जग्गा यसप्रकार मासिएपश्चात् भैल: नाचका पःमा (प्रधान नाइके) लगायतका आयस्ता खोसियो ।  रोक्न हुँदै नहुने भनिएको नाच पनि रकम अभावका कारण रोकिन पुग्यो ।

४७ सालसम्म नाच रोकिएसँगै नाच सिकाउने, बाजा बजाउने र बाजा बजाउन सिकाउने गुरुहरू रहेनन्। जिउँदो रहेकाहरूलाई पनि नाचबारे कम मात्रै ज्ञान थियो । नाचमा लगाउने ख्वापा (मुकुन्डो), गरगहना, पोसाक केही नष्ट भए केही हराए । फलस्वरूप नृत्य नै लोप प्रायः भइसकेको थियो ।

मध्यपुर थिमी नगरपालिकाको नृत्य ब्युताउन सहयोग रहने आश्वासन प्राप्त भए पनि स्थानीयले नाचबारे आवश्यक ज्ञान बटुल्न सकेका थिएनन् । अन्तत: भैल: नृत्यबारे एउटा अत्यन्त दुर्लभ र लुकाइएको पुस्तक  भेटियो । पुस्तकमा लायकू भैरव नृत्यबारे आवश्यक सबै जानकारी उल्लेख गरिएको थियो । नृत्यविधि, नाच्नेले लगाउने मखुन्डो बनाउने विधि, कलाकारका पोसाक र गरगहनासम्बन्धमा विस्तृत जानकारी पुस्तकमा उल्लेख थियो ।

०७२ सालमा प्रथमपटक पुस्तकमा आधारित रहेर नृत्य प्रदर्शन गरियो । ०७४ सम्म दुई वर्ष नाच देखाइयो । ०७५ सालमा थिमीका प्रजापति समुदायले पनि भैल: नृत्य प्रस्तुत गर्ने भएपछि लायकू भैल नृत्य त्यस वर्ष देखाइएन । गत दुई वर्ष कोरोना भाइरस संक्रमण महामारीका कारण यस नाच संचालन हुन नसकेको नाच संचालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुन श्रेष्ठले जानकारी दिए ।

 सापारु (गाईजात्रा) अन्त्यसँगै मध्यपुर थिमीमा विभिन्न नाचहरु प्रदर्शनमा आएका छन् । थिमी, बोडे, नगदेशमा नाच प्रदर्शनमा आएका हुन् । हजुरहरूले यी नाचहरू हेर्न छुटाउनुहोला है !

लायकू भैल नाचबारे जानकारी दिँदै नाच संयोजक अर्जुन श्रेष्ठ । र, लायकू भैल नाचमा सहभागी हुने भैरव । फोटो : ईश्वरकाजी खाइजू/अन्नपूर्ण

(राससको ‘इन्पुट’ सहित तयार पारिएको)
तस्वीर : रत्न श्रेष्ठ, रासस

सम्बन्धित समाचार