बैतडीको डिलाशैनी गाउँपालिकामा प्रहरीले माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र राना ‘शीतल’लाई हिरासतमा लिएको छ ।
काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकामा प्रहरीले माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र राना ‘शीतल’लाई हिरासतमा लिएको छ । सोमबार राना र उनका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचार गरेको भन्दै कुटपिट गरेको बताइएको छ । राना गठबन्धनबाट डिलाशैनीका साझा उम्मेदवार रहेका छन् ।
डिलाशैनी गाउँपालिका–५ बिनाबस्तीका रामदत्त जोशीलाई राना र उनका कार्यकर्ताले कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । रामदत्त जोशी पुर्चौंडी बहुमुखी क्याम्पसका सहप्राध्यापक हुन् । हाल गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जोशीको घुँडामा चोट लागेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घट्नामा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबिच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको छ ।