आइतबार , फागुण १३, २०८०

कालजयी पाँच प्रेम कविताहरू !

image

मेरो मायाको नयाँ संस्करण / बैरागी काइँला

धेरै अघि मेरो हजुर–
ताराको पथमा डुलाउँला
सपनाझैँ स्वर्गमा लैजाउँला
अमृतका कणकण पिलाएर
अमर इतिहासमा बनाउँला..

…यी प्रतिज्ञा मैले गरेको थिएँ ।

ती सब भूल थिए कि
मेनाकाको यौवन दिलाउँला भनेको थिएँ!

तर, अब त यति ढुक्क हुन सक्छुः
कि म यस धरतीको मानिस
यहाँको गुलाबमा फुलेको मानिस,

हजुरलाई……….
सारी किनिदिनु सक्छु,
होटल लगी खुवाउनु सक्छु
चौरास्ताको बाटो ठुलाउँन सक्छु,
सत्यवान भइदिन सक्छु, चरित्रवान् भइदिन सक्छु,
म हजुरलाई……..
बाँचुञ्जेलसम्म माया गर्न सक्छु,

स्वर्गको उडानमा मैले
घरकै सिढी उक्लन बिर्सिएछु!
अमरत्वको भरममा मैले
झण्डै बाँच्न नै बिर्सिएछु!

मेरो धरतीलाई धेरै रुवाएछु !
मैले मानिसको हृदयको अपमान गरेछु
तर अब त यति ढुक्क भई भन्न सक्छुः

कि म यस धरतीको मानिस
यहाँको गुलाबमा फुलेको मानिस

हजुरलाई………
कालिदासको शकुन्तला बनाउन सक्छु,
भरतझैँ विभूतिको आमा बनाउन सक्छु,

पराजय पनि स्वीकार गर्ने मानिस
माया पनि गर्ने मानिस
मानिस हुँ भइदिन सक्छु !
म हजुरलाई……….
बाँचुञ्जेलसम्म रक्षा गर्न सक्छु!

यसरी
पहिलेका भूल संशोधन गरी
मेरो कविताको भर्खरै प्रकाशित कितापजस्तो
यो हजुरको टेबलको फूलदानमा
बिहानै फेरेर राखेको नयाँ फूलजस्तो

मेरो मायाको नयाँ संस्करण
यी दुई आँखाका
ट्रेमा लिएर आएको छु !

जहाँ हजुरले मलाई
र मैले हजुरलाई
सधैँ–सधैँ पाएको छु !


प्रेम गर्दा हावालाई दुख्छ / अभि सुवेदी

प्रेममा परेपछि सुमेरुवरिपरि घुम्ने
हावालाई दुख्छ
कट्कटी खुट्टा दुख्छन् उसका
एक स्थिर चट्टानको
एकलवृत्तवरिपरि घुम्दा
उसको ढाड दुख्छ
उसको एक फुइँकी सास बढ्छ
पहाड अविचलित,
आफ्नै स्वाभिमानको पत्थरवृत्तमा
कस्सिएर उभिइरहन्छ एकल चरित्र
पत्रैपत्र बनिएको आदर्शको पत्थरशीला
सुमेरु पर्वत, कुनै अचल घटना।
हावा थाक्छ, सुमेरुमा थकान छैन
अस्ताउँन लागेको घाम दुख्छ
गोधृ्लिको मलिन उज्यालो
पहाडमाथि चढ्दा दुख्छ
पहाड चल्दैन, ऊ आदर्श
जो उसको वरिपरि घुम्छ
त्यो अस्थिर, सनकी अनि
चञ्चल, त्यो थाक्छ
ऊ दुख्छ, साँझ दुख्छ
क्षितिज अचल थाक्तैन,
म हावाजस्तो सुमेरुवरिपरि
म मलिन उज्यालो
म खोलाको पानीको
फनक्क घुमेको तरङ्ग
पत्थरमाथि थाक्छु, पत्थर थाक्तैन
हार्मोनी, सितार र सारङ्गीका लय दुख्छन्
थाक्छन् जब आकासमा उठ्छन्
तर बाजा स्थिर ती थाक्तैनन्
ती सुमेरु गीतका ध्वनि हावा,
क्यानभास स्थिर, अचल
उसमाथि रङ्गहरु दुख्छन्
यसै यसै कुचीका प्रहारले उठ्छन्
तल र माथि बेगिन्छन्
बग्छन् र सुक्छन् रङ्गहरु
ती दुख्छन्, ती अचलमाथि बर्सिन्छन्,
मैले तिम्रोवरिपरि शव्दका सुस्केरा
कि त आक्रोश र विद्रोह
चित्कार र भक्कानोहरु सबै बोलें
तिम्रो सुमेरुलाई केही हल्लाएन
जो चल्छ त्यो दुख्छ
जसमाथि चलिन्छ त्यो दुख्तैन
जो गल्दैन पुग्दैन।
म ल्ेाख्छु, प्रेम गर्छु, गल्छु
शव्दहरु थाकेर सुस्केरा हाल्छन्
केही हुदैन केही चल्दैन कागतभरि
तर जब अक्षर पस्छन्, चलिरहन्छन्
दुख्छन् अनि घुमिरहन्छन्,
कागतका सुमेरुहरु स्थिर छन्।
यस्तै हुनेरहेछ नजिकै
पहाड उभियो भने उसमाथि
अकिञ्चन उडिने रहेछ थाकेर,
क्यानभास अगाडि ठडियो भने
घुमिनेरहेछ बेस्सरी दुखेर,
दाउरा जलेर उठेको ज्वाला
दाउरा पनि होइन रहेछ
आकास पनि होइन रहेछ
धरती पनि होइन रहेछ
त्यो ज्वालामात्र एक चिन्ता
थकान, एउटा गति
जो स्थिर पत्थरमाथि
फृ्ल्ने कोपिला समान छ,
त्यसकोवरिपरि कुदिरहनेलाई
कुद्नै पुग्ने रहेछ
मलाई झन थाहा भएको छ
जङ्गलमाथि एकैचोटी खस्ने
उज्यालो पानीको तरङ्गमा उठेको इन्द्रेनी
मात्र रहेछ प्रेमको वृत्तमा घुम्नु।

सुमेरुवरिपरि अनाहक प्रेम बोकेर घुम्ने
हावा थाक्छ, पर्वत अचल
आफ्नै खुसीको परिवेशमा
ठडिएर चञ्चल
प्रेमातुर उपासकको मुर्खतामाथि
विजुलीका ओठ खोलेर
फिस्स फिस्स हाँस्छ
चल्ने हावा थाक्ने रहेछ
अहो म त थाकेको रहेछु  !
यत्ति पनि अचल पत्थरशीलामाथि बसेर
भन्नु पर्ने रहेछ
थाके पनि दुखे पनि
त्यस्तो अचल, अविचलितवरिपरि उड्नु
जीवनकै एक मात्र लय रहेछ
तिमीलाई प्रेम गर्नुको कथा यत्ति रहेछ।


एउटा प्रेम–गीत / ईश्वरवल्लभ

अब म अलिकति आराम गर्नेछु
बिहानपखका शून्यता र साँझको आकाशसित मेरो कुनै सम्बन्ध रहनेछैन,
तृष्णारहित तिनीहरुका सबै जीवनलाई वास्ता हुनेछैन,
केही क्षोभका र केही विश्वासका समर्पणलाई सच्याएर
केही बिग्रेका जस्ता रेखाहरुलाई पनि सच्याएर
कति युगदेखि थकाइ लागेको छ ।

हिँडिरहेका र गइरहेका यात्राको कुरा थाहा छ
अनुभूतिका अवयव जस्तै तिनीहरु जतातता छरिएका छन्
कति त घाउ पनि हुन् कति त आगोका फिलुङ्गा
तर, मेरी प्रियाले मलाई भनेकी छ—
आगो र घाउका कुरा नगर्नू— उसलाई मन पर्दैन,
त्यसैले अब म चुप लाग्ने गर्नेछु ।

घाउलाई फूल भन्नेछु
आगोलाई आस्था भन्नेछु
बाटोलाई जीवन भन्नेछु
मेरा संसर्गमा आएका यी खोलाका किनारहरुलाई
मैले राम्ररी सुम्सुम्याउन पाएको भए पनि हुन्थ्यो,
ऊ त, त्यही नौलो आकाश जस्तो हुन्थ्यो,
पश्चातापहीन, स्वप्नहीन
जुनैपनि मैले हिँडेर कजाएको गोरेटोलाई
मेरो स्पर्शको आभास हुनुपर्ने,
उसले भन्दैन
ऊ जान्दैन
ऊ अनुभव गर्दैन,
पहिलो दिनको रमाइलो भेट कति दिनपछि
न उसलाई सम्झना हुन्छ, न मलाई पनि,
पवित्रताको कथाहरुलाई किताबका बाहेक मैले कहीँ पढेको होइन,
हरेक धार्मिक किताबको पहिलो पन्नामा नै पवित्रताको पाठ छ,
बाघको आँखाले हेरेको जस्तो
तर्साउने भएर मसम्म अघि सर्छ, त्यो आँखा,
छेक्न खोज्छ सबै दिक् र दिशालाई,
मैले चाहेको सबै इच्छालाई उसले जाँच्छ,
अहिलेसम्म म धेरै नै परिक्षा गरिएको छु,
एउटा खुलेको मैदान जत्तिकै सबैले टेकिएको छ,
एउटा उत्तानो परेको नक्सा जत्तिकै सबैले हेरिएको छु,
एउटा खाली पन्ना जत्तिकै सबैले लेखिएको छु,
त्यो बाघको आँखा हो,
त्यसले हेरिरहेकोलाई फिलुङ्गा भन्नुहुँदैन,
त्यसमा पानी छ, मृत्यु छैन,
आगो छ भनेर पनि भन्नुहुँदैन,
(मेरी प्रियालाई त्यो मन पर्दैन)
मेरो सबै स्पर्शलाई सेलाउन लाउनेछु,
त्यो तातो हुन्जेल म उसलाई छुन पाउँदिनँ
बालुवाको बगरले वैशाखमा पोलेको जस्तो पोल्नेछ
पैताला र जीउहरु
तर यो आगोलाई, समुद्रमा फ्याँकिदिनेछु
एकान्तको सट्टा महान् कोलाहल
बनिरहेको स्वरको सट्टा भत्किरहेको कोलाहल,
बजिरहेको धूनको सट्टा आवाजैआवाजको कोलाहल
घाइते शहरको कोलाहल ।

म यी सबैको विरुद्ध एउटा क्रान्ति गर्न चाहन्छु
म शायद धोका दिन चाहनेछु तिमीलाई
र, अब त अलिकति आराम गर्नेछु ।


लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र / पारिजात

१. जीवनसाथी!
धेरै-धेरै प्यार
मलाई लाग्छ, यी स्वतन्त्र उड्ने मलेवाहरूका घाँटीमा
एउटा ह्दय उनेर पठाऊँ
एउटा ह्दय जडेर पठाऊँ
एउटा प्रेमपत्र झुन्ड्याएर पठाऊँ
एकपल्ट दोहोर्याझऊँ
शताब्दीअघिको प्रेमको भावुकता
तर आजको सीमारेखा
कुन स्वतन्त्र चराले उड्न पायो र ?
यो कुँजिएको अस्तित्व
कुन सुस्केराले विश्वको हावामा बिसाउन पायो र ?

२. प्रिय!
हेर्नै नपाई आँखाबाट ओझेल भएका तिमीलाई
बोल्नै नपाई टाढा भएका तिमीलाई
मस्तिष्कमा उभ्याउने यथेष्ट साधन नै छैन
रकेटको उडानले कल्पनालाई ढिलो बनाइसकेछ क्यार
मानचित्र राखेर उड्दाउड्दै पनि
दुर्घटनामा परिदिन्छ मेरो आतुरता
अब म… अब म
सात समुद्र पार गरेर आउँदिनँ
तिमीलाई यहीँ म मेरै चौतारीमा हेर्छु
किनभने शरीरसँगै मेरो मस्तिष्क पनि सीमित भएको छ
ढुङ्गामा परिणिता गौतमीजस्तै

३. प्रिय!
प्रेम एक मृगतृष्णा
प्रेम एक चखेवाको लोभ
मेरा निम्ति प्रेम एक निर्जीव सत्य
मानौँ काकाकुलको तिर्खा
मानौँ घामलाई प्रेम गर्दागर्दै सूर्यास्तमा जाम परेको क्लिसो
यो नश्वर शरीर
यो अनन्त चाहना
तर, प्रेम दुई शरीरको मिलन
तिम्रो अँगालाभित्र म
मृत्युलाई छेकबार हालिरहेछ इच्छाको ताँती
प्रत्येक रात-
आह, म मेरा मीठा सपनाहरूलाई हेर्दै पोल्दै गर्दै छु ।

४. प्रिय!
तिमीले लेखेका थियौ
म तिम्रो वालेटको तस्बिरमा मुस्कुराउँछु रे
तिमी मलाई पाएर हराउन चाहन्नौ रे
मेरो सम्झनापत्रले तिमीलाई ‘फिनिक्स’ ले झैँ बिउँझाउँछ रे
मेरो माया तिमीलाई वटवृक्षको मायालु छाया रे
आह! यी सब इतिहासबद्ध भइसके
कसरी मैले बाँचेको थाहै नपाई
एक लामो अवधि बिताइसकेछु
अब तिमी अवश्य पाउनेछौ मलाई
‘फिनिक्स’ लाई झैँ आफ्नै खरानीमा जुनी फेरेको होइन
तर भन्नै नपाई मनको कुरा
सधैँ-सधैँका निम्ति सुतेको निद्रामा ।

५. प्रिय!
म मरिसकेँ
तिम्रो प्रेमलाई आफूसँग जलाइसकेँ, गाडिसकेँ
म सुतिसकेँ
सुत्नका निम्ति छँदैछ चिरनिद्रा
तर बाँच्ने तिमी त भोलि बिउँझन्छौ नयाँ घामसँगै
तिमी नरुनू सङ्घर्षलाई व्यङ्ग्य गर्दै
तिमी मान्छौ ?
कति बलियो थियो मेरो अन्त्य
जसले अनन्तको एक हिस्सा चोइट्याएर लग्यो
कति बलियो मेरो मृत्यु
जो अमरत्वलाई नै अधमरो बनाएर गयो
प्रेम मर्दैन तर यसलाई मार्नुपर्छ
मेरो अन्त्यजस्तै तिम्रो आरम्भ पनि बलियो हुनुपर्छ
अब यहाँ आउँछ यस पत्रको शेष
मेरो पत्रको शेष
तिम्रो ‘फिनिक्स’ को शेष
जीवनसाथी तिमीलाई
मेरो सबै प्यारको अवशेष ।


एउटा प्रेमपत्र / वासु शशी

तिमीकहाँ आउने कुराको रूखको टुप्पोमा चढेर
एउटा बाँदरजस्तै मेरो मन टुक्रुक्क बसिरहेछ
परपरसम्म चियाएर ।
मेरा हातहरू छन्— मबाट उम्केर
तिमीलाई छुन आउन चाहन्छन्
छाउराले घर फर्केका मालिकको खुट्टा चाटेझैँ गरेर ।
अवश्य मेरो मन र हातको— मबाट अलग— तिमीसँग
एउटा अर्कै सम्बन्ध छ,
नरिवलभित्रको तरलजस्तो सम्बन्ध ।

वास्तवमा नदीका तीरैतीर लखेटालखेट गर्न जाने हौ भने
यही घाममै हो।
वास्तवमा तिमीलाई छुन जाने हो भने
यही जाडोमै हो।
(साँच्चै, मान्छेलाई छुनुजति सुखद
अरू क्यैहुन सक्दैन हगि ?)
तिमी पत्याउँछौ भने म पनि समयहरूको इनार–पिँधबाट
माथि उक्लिरहेछु—
एउटा समययुक्त स्थिति अर्थात् तिमीसँगको भेटसम्म पुग्न ।
एउटा लहर पानीबाट उत्रिन खोजिरहेछ
किनारैकिनार भागेर जान ।
तिमीले ठीक भनेका थियौ—
मानिस सबभन्दा बढ्ता मानिसकहीँ पुग्न चाहन्छ,
कसैकहाँ पुग्न नपर्ने भएको दिन
खुट्टा भाँचिनैपर्दैन तर हिँड्न नसकिने हुन्छ

तिमी पनि त पर्खिरहेकी हौली
त्यसैले जुन तारा जहाँ हुनुपर्ने हो त्यो त्यहीँ छ ।
एउटा बिरुवाले वसन्तलाई कुरेजस्तै कुरिरहेकी हौली
ठिङ्ग उभिएर, चारैतिर आफ्नो पहुँच फिँजाएर ।
तिमीले बताएकी थियौ—

मेरो छायाबाहेक तिमीमाथि पर्ने अरू कुनै छाया छैन,
मेरो साथबाहेक तिमीले बस्ने ठाउँ अरू कहीँ छैन ।
यो कल्पनाले मुग्ध भएर म ऐना हेर्छु—
अहो। लौ हेर, यसमा त तिम्रो अनुहार देखा परिरहेछ ।
यसमा मेरा म्वाइँको लाली लगाएका
मुस्कानजस्ता ओठहरू फरफराइरहेछन्,
मेरो दर्शनको गाजल लाएका आँखाहरू हाँसिरहेछन्।

मलाई सम्झना छ तिमीले गाएकी थियौ—
…सुगा वनमा बस्दा–बस्दा वनजस्तै हरियो भएछ,
…यो नदीबाट जति पानी झिकेपनि यसले आफूमा घाउ हुन दिँदैन,
…मानिस अन्धो हुन्छ— आँखा फुटेर होइन, अँध्यारोभएर होइन, सपना देख्न छोडेर,
…मानिस चिसो हुन्छ— आगो नपाएर होइन, सूर्य नभएर होइन, मानिसको न्यानोनपाएर,
…अरूलाई माया मार्नुजस्तो कुरूपता संसारमा अरू क्यै हुन सक्दैन

तिम्रो स्नेह आउनेछ, तिम्रोस्नेह आउनेछ तिमीकहाँ
त्यसरी नै जसरी मेरो देशका पर्वतहरूबाट हिउँ
पग्ली–पग्लीकन हामीकहाँसम्म आइपुग्छ ।
भएभरका फूलहरू बगैँचालाई फर्काएर,
आकाशको चन्द्रमा आकाशैलाई सुम्पेर
तिम्रो सम्पन्नता आउनेछ तिमीकहाँ हंसहरू एक बथान
पोखरीमा आएजस्तै।
र हामी फेरि कुदाकुद गर्नेछौँ अनकन्टार एकान्तहरूमा ।
र हामी फेरि तिर्खाले चुरचुर भएपछि
एकअर्काका अधर र जिब्रो चुस्नेछौँ।
तिमीकहाँ पुग्ने कुरा मेरो प्रत्येक पहिलो पाइलानजिकै बसिरहेछ
एउटा पाखामा घामनजिकै छायाजस्तै।
(जब–जब कसैको माया पाउँछु म
तब–तब मलाई बढ्ता बाँच्ने इच्छा लाग्न थाल्दछ ।)
फेरि हामी भन्नेछौँ—
मानिसले मानिसलाई मन पराउनुजस्तो सुन्दर अरू केही छैन,
मानिस र मानिसको सम्बन्धजस्तो मधुर
अरू केही हुन सक्दैन

Tags:

सम्बन्धित समाचार