आइतबार , अषोज २५, २०८३

पुसमा पकाई माघमा खाने पर्व : माघे सङ्क्रान्ति

माघे सङ्क्रान्तिमा पुस मसान्तमै पकाएर राखी भोलिपल्ट माघको पहिलो दिनमा खाने चलन सबै भूगोल र समुदायबिच साझा रहेको छ ।

image

अनिता र निताले
सुनितालाई डाके
तिल्को लड्डु, पिँडालु,
शखरखण्ड चाखे

आज पुसको रातिमा
सुत्न जाने रे !
भोलि माघ लागेसी
टन्न खाने रे !

भन्नुभयो आमाले –
‘पुसको पाके माघमा खाके’

रमेश चन्द्र अधिकारीको ‘पुसको पाके माघमा खाके’ बालकविताको यो कवितांशले  पुसको अन्तिम दिनमा पकाएर राखिएको कन्दमूल आदि माघमा खाने नेपालको सांस्कृतिक प्रचलनबारे वर्णन गरेको छ । कतिपयले यसलाई ‘पुसमा पाके, माघमा जाके’ समेत भन्ने गरेका छन् । जसको अर्थ पनि माथि उल्लेख भए अनुसार नै हो ।

माघे सङ्क्रान्तिका दिन खाइने खाद्य परिकारका विशेषता

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकारका साथै माटोमुनि फलेका तरुल, सखरखण्ड, इस्कुसको जरा, पिँडालुसँगै खिचडी आदि खाने चलन नेपाली समाजमा रहेको छ । परापूर्वकालदेखि नै मौसमअनुसार हाम्रो शरीरले माग गर्ने खाद्य पदार्थ पनि निर्धारण गरिएको छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने माघ महिनामा यस्ता परिकार खाने गरिएको हो । यी खाद्य परिकारले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसँग लड्ने क्षमताको विकास गर्न मद्दत गर्नुका साथै शरीरमा शक्ति प्रदान गर्छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने जनविश्वास रहेको छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

छाला तथा श्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो मानिने तरुल आदि कन्दमूलमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि समेत उपयुक्त मानिन्छ । तरुलमा भिटामिन बी प्रशस्त मात्रामा पाइन्छ, जसले मुटु सम्बन्धी समस्या हुनबाट जोगाउँछ । यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।

तरुल खानाले मस्तिष्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ । यसमा पर्याप्त मात्रामा पाइने कार्बोहाइड्रेट कारण यसलाई शक्तिको प्रमुख स्रोतका रूपमा लिने गरिन्छ । त्यसैले तरुलको महत्त्व माघीमा मात्र नभई अरू वेला पनि खानु स्वास्थ्यको लागि अचुक औषधि प्रमाणित भएको छ ।

त्यसैगरी तिलका परिकारले पाचन प्रक्रियालाई मजबुत बनाउनुका साथै शरीरमा प्रशस्त मात्रामा भिटामिन ‘ई’ को प्रवाह गराउँछ । तिलमा प्रशस्त मात्रामा खनिज पदार्थ हुने भएकोले यसले रोगसित लड्न पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । तिलको लड्डु सख्खरको मिश्रणले बनाइने भएकाले यी दुईको सेवनले शरीरको मेटाबोलिजम बढाएर तौल कम गर्न सहयोग गर्दछ । तिलमा पाइने फाइबर र म्याग्नेसियम तत्त्वले इन्सुलिन र ग्लुकोज लेबल नियन्त्रण गर्न मद्दत गर्दछ, जसले रगतमा भएको सुगर लेबललाई बिग्रिन नदिई सुगर रोग लाग्ने खतराबाट बचाउने गर्दछ। तिलको सेवनले गिजालाई बलियो बनाउनुका साथै मुखमा प्लेग जम्ने समस्या निर्मूल गर्दछ। त्यसैगरी, तिलको सेवनले मुखबाट आउने दुर्गन्ध, गिजाबाट रगत आउने समस्या र दाँतलाई स्वस्थ राख्न मद्दत गर्दछ।

कति भित्रिए कालीमाटीमा कन्दमूल

कालीमाटी तरकारी तथा फलफूल बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार पुस महिनाको आगमन हेर्दा तरुल १२५९ टन भित्रिएका छन् भने पछिल्लो हप्ता मात्र ८२० टन भित्रिएको छ ।

सखरखण्ड पछिल्लो हप्ता ११९ टन र पुस महिनाभरि २१४ टन भित्रिएको छ । पिँडालु पछिल्लो हप्ता १०२ टन र पुस महिनामा समग्र २६२ टन भित्रिएको पाइएको छ । एग्रिगेटमा यो महिना भरिमा १७३६ टन कन्दमूल भित्रिएको पाइन्छ ।

यी कन्दमूलहरू उपत्यकाका नजिकका जिल्ला तथा तराईका विभिन्न स्थानबाट आउने गरेको श्रेष्ठले जानकारी दिए । जसमा सर्लाहीबाट मात्रै ४५ देखि ५० प्रतिशत कन्दमूल आउने गरेका छन् । त्यसैगरि भारतबाट ८ प्रतिशत जति कन्दमूल भित्रिएको उनले बताए ।

अघिल्लो वर्ष पुस महिनाभरि तरुल १३२६ टन, पिँडालु २९८ टन, सखरखण्ड २२७ टन र एग्रिगेटमा कन्दमूल १८५२ टन भित्रिएको थियो । यसपटक पनि केही दिन बाँकी नै रहेकाले सोही हाराहारी भित्रिने उनले बताए । तराईको तरुलको मूल्य लेख तयार गर्दासम्म ७०-८० रुपैयाँ, सखरखण्ड ६०-७० रुपैयाँ, पिँडालु ४०-५० रुपैयाँसम्म बिक्री भइरहेको उनले जानकारी दिए ।

माघेसङ्क्रान्ति

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता रहेको पाइन्छ । उत्तरायण सुरु हुने दिन स्नान, जप, तप, ध्यान साधना, दान आदि गर्नाले पुण्य मिल्छ भन्ने मान्यता हिन्दु धर्मावलम्बीमा रहेको छ । सोहीकारण माघे सङ्क्रान्तिका दिन देशभरिका विभिन्न जलाशयमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्दछ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु शय्यामा पुगेका भीष्मपितामहले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए ।

विविध जाति, समुदाय र सम्प्रदायको बाहुल्यता रहेको हाम्रो देशमा यो पर्व अधिकांशले मनाउने गरेका छन् । यो पर्वलाई ठाउँ अनुसार विभिन्न नाम दिइएको छ । तराईका जिल्लाहरूमा माघेसंक्रान्तिलाई तिला संक्रान्ति पर्वका रूपमा मनाउने गरिन्छ । तराईमा यसदिन खिचडी, तिललगायतका परिकार बनाएर खाने गरिन्छ । माघी थारुहरूको समेत मौलिक संस्कृति पर्व रूपमा चिनिन्छ ।

यसैगरी, मगर जातिले यस पर्वलाई तीन दिनसम्म विशेष धूमधामका साथ मनाउँछन् । माघे सङ्क्रान्ति नेपालमा बसोबास गर्ने अधिकांश जाति समुदायको साझा पर्वको रूपमा रहेको छ । थारु, मगर, किराँत आदि समुदायले माघ १ गतेलाई आ-आफ्नो परम्पराअनुसार धूमधामका मनाउने गरेका छन् ।

पूर्वको माघेसंक्रान्ति

माघे सङ्क्रान्तिका दिन इलाम जिल्लाको माइबेनीमा मेला लाग्ने गर्दछ । सदरमुकामबाट तीन किलोमिटर पूर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा चीन र भारतका व्यापारीहरूले समेत मेलामा पसल राख्ने हुनाले मेलाको विशेष व्यापारिक महत्त्व छ । उक्त मेलामा धान नाच, चण्डी नाच, बालन, सङ्गिनी, मारुनी नाच जस्ता परम्परागत नृत्य हेर्न पाइन्छ ।

त्यसैगरी, माघे सङ्क्रान्तिका दिन झापा जिल्लाको कन्काई नदीमा नेपालको पूर्वी क्षेत्र तथा भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रका नेपालीभाषी भारतीय पनि आएर मकर स्नान गरी पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाल्ने गर्छन् ।

साथै, सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल वराहक्षेत्रमा यस दिन हजारौँ हिन्दु धर्मावलम्बी स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्न पुग्ने गर्छन् ।

मिथिलाञ्चलको माघेसंक्रान्ति

तराईका जिल्लाहरूमा मैथिली समुदायले माघे सङ्क्रान्तिलाई तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । यस पर्वमा परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने बचन लिने गर्छन् । साथै, यस दिन खिचडी, तिल, मुरी (मुरइ/भुजा) र चिउराका लड्डु आदि बनाएर खाने गरिन्छ । घरका देवदेवीलाई चढाएपछि मात्र यी परिकार सेवन गरिन्छ ।

तिला सङ्क्रान्तिलाई मैथिल महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्छन् । यसै दिनदेखि कन्याहरू सुयोग्य वर प्राप्तिको कामनाले ‘तुसारी पर्व’ मनाउन सुरु गर्छन् । त्यसैगरी, विवाहित महिला ‘पृथ्वी पर्व’ मनाउने गर्छन् । यस पर्वमा नवविवाहित दुलहाको घरबाट दुलहीको माइतमा तिल वा चिउराको कोसेली र जाडोमा लगाउने लुगा पठाइदिने परम्परा पनि छ । जसलाई मैथिलीमा ‘जडाउर’ भनिन्छ । मिथिलाञ्चलमा माघ महिनाभर एकाबिहानै नुहाएर घिउखिचडी खाने गरिन्छ ।

यस पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई खिचडी पर्व तथा तिल तथा चिउराको प्रयोग अत्यधिक हुने भएकाले तिलवाच्युरा समेत भन्ने गरिन्छ ।

उपत्यकाको माघेसंक्रान्ति

उपत्यकामा नेपालका सबै स्थानका जनताको बसोबास रहे तापनि यहाँका रैथाने नेवार समुदायका मानिसहरू हुन् । नेवार समुदायमा विशेष किसिमको एउटा खाद्यवस्तुको नामबाट यस पर्वको नामकरण गरिएको छ । नेवारहरू यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्दछन् ।

उनीहरू यस दिन चाकुमा तिल मिसाएर लड्डु बनाई खाने तथा दान गने गर्दछन् । बिहान उठेर स्नान आदि गरी घरको सरसफाइ, देवी देवताको पूजा गरी विभिन्न परिकारहरू तयार पारेपछि घरपरिवारका सम्पूर्ण मानिस भेला भई रमाउने गर्दछन् ।

उपत्यका नजिकैको पनौतीमा माघेसंक्रान्तिको दिन विशेष मकर मेला लाग्ने गरेको छ । लिच्छविकालीन राजा मानदेवको पालादेखि नै सुरु भएको अनुमान गरिएको यो मेलामा ठुलो मानव सागर देख्न सकिन्छ ।

पश्चिमको माघेसंक्रान्ति

पश्चिम नेपालका अधिकांश जिल्लाहरूमा यो पर्व बेग्लै तरिकाले मनाउने । यस क्षेत्रमा मकर सङ्क्रान्तिलाई ‘चेलीत्यार’ भनिन्छ । जसको अर्थ चेलीको तिहार भन्ने बुझिन्छ ।

यस क्षेत्रमा पुस मसान्तका दिनमा तरुल खनेर ल्याइ बेलुका तरुल, बाबर (सेलरोटी), पकाइन्छ । तयार भएको खाद्य परिकार कागको लागि छुटाएपछि मात्र घरपरिवारले खाने गर्छन् । सोही राति पानीको मुहान अथवा पँधेरो नजिकै मुढा बाली मानिसहरू आगो ताप्न भेला हुने गर्छन् । जहाँ रात भर कसैले देउडा लगायत विभिन्न नाचगान गर्छन् भने कसैले गाउँ खाने कथा, दन्त्यकथा भन्दै रात बिताउँछन् ।

बिहान भएपछि नुहाएर सबै भन्दा पहिले कागलाई बोलाएर खाना दिइन्छ । कागलाई बोलाउँदा केटाकेटीहरू ‘कौवा का का, बाबर खा खा’ भनेर बोलाउँछन् । त्यसपछि सेलरोटी र तरुलका पोका बनाएर चेलीहरूलाई बाँडिन्छ । माइतमा बसेका चेलीहरूलाई गाउँमै पोका बाँडेर भागी विवाह गरेर गएका चेलीहरूलाई पनि पोका पुगाउन जाने चलन छ ।

भारतको कुमाउँमा यस पर्वलाई घुघुतीको त्यार भनिन्छ । घुघुती भनेको एक प्रकारको परिकार हो । गहुँको पिठोलाई गुडको पानीमा मुछेर घुघुती बनाएर घाममा सुकाइन्छ । राति घुघुतीलाई तेलमा तलेर पकाइन्छ । यहाँ पनि पश्चिम नेपाल जस्तै बिहान कागलाई बोलाएर घुघुती खान दिने चलन छ ।

थारु समुदायको माघ पर्व

थारु समुदायले माघे सङ्क्रान्तिलाई माघ पर्व वा माघ तिवारका नामले मनाउँछन् । यतिबेला भने माघ पर्वलाई माघी भन्ने चलन फैलिएको छ । माघीलाई विशेष चाडको रूपमा लिने गर्छन् । उत्साहका साथ मनाइने माघी पर्वमा थारु समुदायले मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन रहेको छ ।

माघे सङ्क्रान्तिको अघिल्लो दिन यानिकी पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक विशेष परिकार), माछा आदि परिकारका साथमा रातभर नाचगान गरी रमाइलो गर्ने गरिन्छ । माघीमा विशेष गीत ‘ढमार’ समेत गाइन्छ । त्यसैगरी, माघीमा विशेष नाच ‘मघौटा नाच’ पनि नाच्ने चलन रहेको पाइन्छ ।

माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । जसलाई ‘माघ लहान’ भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठुलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको हुँदा यो दिनलाई ‘खिचरहवा’ समेत भनिन्छ ।

केही ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्ने गरिन्छ । सहमति नहुने स्थानमा भने निर्वाचन गरिन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । यस प्रथालाई माघी देवानी भनिन्छ ।

सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मुलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ ।

मगर समुदायको माघेसंक्रान्ति

मगर समुदायले पनि माघे सङ्क्रान्तिलाई विशेष पर्वको रूपमा मनाउने गरेका छन् । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बिचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको पाइन्छ ।

माघे सङ्क्रान्तिलाई मगर जातिले तीन दिनसम्म धूमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । वन-तरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइ-भाइ जिरेल(जङ्गल)तिर लाग्छन् । घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घर-तरुल खनेर तयारी गर्छन् । अबेर वन-तरुल लिएर फर्केकाहरू रात भरर तरुल पकाउने र पुरी आदि पकवान तयार गर्नतिर लाग्छन् ।

कतिपय ठाउँमा माघे सङ्क्रान्तिमा धनुष वाण समेत खेल्ने गरिन्छ । आजकाल केही स्थानमा धनुष वाणको साटो बन्दुकले तारो हान्ने गरिएको छ ।

किराँतहरूको माघेसंक्रान्ति

किराँतहरूले माघेसंक्रान्तिलाई नयाँ वर्ष तथा ‘तरुल उत्सव’को रूपमा मनाउने गरेका छन् । यसपाली पनि किराँतहरू माघेसंक्रान्तिलाई ‘यले सम्वत्-५०८३’ तथा ‘तरुल उत्सव’को रूपमा मनाउने तयारीमा रहेका छन् । एकथरी किराँतले भिन्दै यले सम्वत् समेत मान्ने गरेको पाइएको छ ।

माघ महिनाको पहिलो दिन गाउँघरमा नदीको दोभानमा गएर जात्रा भर्ने चलन र घर तरुल, बन तरुल, सिम्बल तरुल, सुठुनीजस्ता कन्दमूल खाएर माघेसंक्रान्ति मान्ने गरिन्छ ।

महोत्सव तथा मेलाको महिना

माघेसङ्क्रान्तिको अवसरमा देशका विभिन्न स्थानमा महोत्सव समेत आयोजना गरिन्छ । जहाँ स्थानीय संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, स्थानीय मौलिक खानाका परिकार एवम् सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ ।

टुँडिखेलमा मगर समुदाय तथा थारु समुदायको विशेष महोत्सव हुँदैछ भने तारेभिर, म्याग्दीको बेनी, तारुका, बनेपा, कोहलपुर नगरपालिकाको भरैया, बरहाक्षेत्र, कन्काई आदि विभिन्न स्थानमा महोत्सव तथा मेला आयोजना हुने गरेको छ ।

अन्त्यमा,

माघे सङ्क्रान्तिलाई देशभरिका नेपालीहरूले आ-आफ्नो भूगोल र संस्कृतिअनुसार फरकफरक तरिकाले मनाए पनि सबैको साझा संस्कृति भने कन्दमुल र मिठाई खानु रहेको पाइन्छ । कन्दमुलमा पनि विशेषगरी, तरुल र मिठाईमा पनि विशेषगरी तिलको लड्डुलाई हरेक समुदाय र भुगोलका नेपालीले माघे सङ्क्रान्तिको मुख्य परिकारका रूपमा खाने तथा खुवाउने गरेको पाइन्छ ।

र त्योभन्दा पनि माघे सङ्क्रान्तिमा पुस मसान्तमै पकाएर राखी भोलिपल्ट माघको पहिलो दिनमा खाने चलन सबै भूगोल र समुदायबिच साझा रहेको छ । यसर्थमा, माघे सङ्क्रान्तिलाई मौसम परिवर्तन भएकोमा, जाडो सकिँदै जान थालेको खुशियालीमा मनाइने पर्वका रूपमा लिने गरिएको छ ।

(सन्दर्भ सामग्री : पत्रपत्रिका तथा इन्टरनेट)

सम्बन्धित समाचार