मंगलबार , अषोज ६, २०८३

थारू समुदायले टुँडिखेलमा दुई दिन ‘माघी पर्व’ मनाउने

image

काठमाडौं । आदिवासी थारू समुदायले काठमाडाैंकाे टुँडिखेलमा माघी पर्व मनाउने भएका छन् । यहि पाैष ३० र माघ १ गते ‘माघी महाेत्सव २०७९’ मनाउन लागिएकाे बुधबार नेपाल पर्यटन बाेर्डकाे सभाहलमा पत्रकार सम्मेलन गर्दै आयाेजकले जानकारी दिएका छन् ।

‘थारु राष्ट्रिय माघी महोत्सव २०७९ मूल आयोजक समिति काठमाडौं’को आयोजना, थारू कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिको संयोजन तथा विभिन्न २५ वटा थारू संघ संस्थाको सहसंयोजनमा महाेत्सव हुन लागिएकाे जनाएकाे छ ।

महोत्सवमा खानाका विभिन्न परिकारसहित करिब एक सय वटा स्टल रहने आयोजकले जनाएको छ । महाेत्सवकाे उद्घाटनकाे अवसरमा थारू समुदायकाे संस्कृति, भेषभुषा तथा जीवनशैली झल्काउने सांस्कृतिक झाँकीकाे प्रदर्शनी समेत गरिने जनाएकाे छ ।

दुई दिनसम्म चल्ने महाेत्सवमा थारू समुदायका अगुवाहरूकाे उपस्थिति हुने र  समुदायकाे सामाजिक, राजनीतिक, शैक्षिक एवम् आर्थिक अवस्था, आगामी कार्ययाेजना लगायत विषयमा वहस हुने आयाेजकले जनाएकाे छ ।

“महोत्सवमा हामी (थारु)हरूको कला, संस्कृति, भेषभुषाको प्रदर्शन त हुने छ नै, समुदायको राजनीतिक मागमुद्दा सम्बोधनका लागि खवरदारी पनि गर्नेछौँ” आयाेजक टिमका एक जना सदस्यले भने ।

महोत्सवमा थारू हस्तकला, थारू खानाका परिकार, थारु पत्रपत्रिका तथा जर्नल, थारु नृत्य प्रदर्शन हुनेछ । महोत्सवमा करिब एक लाख दर्शक आइपुग्ने अनुमान आयोजकले गरेको छ । साथै विभिन्न राष्ट्रिय स्तरका कलाकारहरूकाे पनि प्रस्तुति रहने जनाएकाे छ ।

मकरसङ्क्रान्ती/माघे सङ्क्रान्तीलाई महत्त्वपूर्ण पर्वकाे रूपमा मनाउने थारू समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएको छ । 

यस वर्षकाे महाेत्सवमा करिब पन्ध्र लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयाेजकले जनाएकाे छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे उपस्थितिमा महाेत्सवकाे उद्घाटन गरिने आयाेजकले जनाएकाे छ । 

Tags:

सम्बन्धित समाचार