शनिबार , फागुण १९, २०८०

माघी : पर्व एक, प्रचलन अनेक

थारु समुदायमा माघी पर्व मनोरञ्जन गरेर तथा मिष्ठान्न भोजन गरेर मात्र मनाइने चाड होइन । थारु समुदायमा आजकै दिन दाजुभाइहरूबिच अशंबण्डा गर्नुपर्ने भएमा अशंबण्डा गर्नेजस्ता कार्यहरू पनि सबैको उपस्थितिमा गर्ने गरिन्छ ।

image

माघीपर्व नेपालभरिका सबैजसो जिल्लामा उत्साहका साथ भौगोलिक क्षेत्रअनुसार फरक–फरक नाम र आफ्नो सामाजिक तथा सांस्कृतिक परिवेशअनुसार भिन्नभिन्न रूपमा मनाइने गरिन्छ । माघी पर्वका अवसरमा नेपाल तथा भारतका विभिन्न ठाउँमा धार्मिक र सांस्कृतिक मेलाहरू लाग्ने गर्दछन् । माघी पर्वले जसरी सांस्कृतिक रूपमा महत्त्व राख्दछ त्यसरी नै धार्मिक र सामाजिक रूपमा पनि महत्त्व राख्दै आएको छ ।

माघी पर्वलाई ठाउँअनुसार विभिन्न नाम र तरिकाअनुसार मनाउने भए तापनि विशेष गरेर थारुहरूको बाहुल्यता रहेको क्षेत्रमा यस पर्वलाई धुमधामसँग मनाउने गरिन्छ । त्यसैले, माघीलाई थारु मसुदायको महान चाडको रूपमा लिइँदै आइएको छ । यद्यपि, थारुहरूले माघीलाई जसरी धुमधामसँग मनाउँदै आएका छन्, अन्य समुदायमा पनि माघी पर्वलाई उत्तिकै महत्त्व दिएर मानिने गरेको हामी देख्नसक्छौँ । आज यहाँ विशेषरूपमा थाारु समुदायमा प्रचलित माघी पर्व र पश्चिम नेपालमा धुमधामका साथ मनाइने माघी पर्वको चर्चा गर्न गइरहेको छु ।

१. थारु समुदायको महान पर्व माघी

थारुहरूको बाहुल्य क्षेत्रका तराई र भित्रि मधेशका जिल्लामा रहेका थारुहरूले माघी पर्वलाई महिनाभरि नै धुमधामका साथ मनाएर आफ्नो वर्षभरिको परिश्रमबाट थकित ज्यानलाई आराम गर्ने तथा मिष्ठान्न भोजन गरी विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू गरेर माघी पर्व मनाउने गर्दछन् । माघी पर्वमा थारुहरूले आफ्ना घर-आँगन सफा गर्ने तथा घरहरू रङ्ग्याएर, विभिन्न परिकारका परम्परागत मिष्ठान्न भोजन पकाएर परिवारका सबै सदस्यहरू एकैठाउँमा भेला भएर विभिन्न परिकारहरूको रसास्वादन गर्ने गर्दछन् । यस अवसरमा थारु समुदायमा महिनाभरि नै नाचगान गर्ने, विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरू गर्ने, आफन्तहरूसँग भेटघाट गर्ने गर्दछन् ।

माघीको महत्व मनोरञ्जन र भोजनभन्दा माथि 

थारु समुदायमा माघी पर्व मनोरञ्जन गरेर तथा मिष्ठान्न भोजन गरेर मात्र मनाइने चाड होइन । थारु समुदायमा आजकै दिन दाजुभाइहरूबिच अशंबण्डा गर्नुपर्ने भएमा अशंबण्डा गर्नेजस्ता कार्यहरू पनि सबैको उपस्थितिमा गर्ने गरिन्छ । यस चाडका अवसरमा थारुहरूले आफ्नो समुदायभित्र परम्परागत रूपमा निरन्तरता दिँदै आएका विभिन्न प्रजातान्त्रिक अभ्यासहरू गरेर समाजमा रहेका सामाजिक तथा पारिवारिक पदहरूको समेत हेरफेर गर्ने गर्दछन् । समाज सञ्चालनका लागि आवश्यक नीति-नियम र कानुनहरूको निर्माण गर्ने कार्यहरू पनि आजको दिन सबैजना एकैठाउँ भेला भई गर्ने गर्दछन् ।

माघीको अवसर पारेर घर र समाजको मुलीको छनोट गर्ने, छोरीलाई उपहारस्वरूप सम्पत्ति दान गर्ने, छोरा तथा छोरीको लागि वरबधु छनोट गर्ने लगायतका सामाजिक कामहरूलाई समेत एकैपटक गर्ने प्रचलन थारु समुदायमा विद्यमान रहेको छ । थारु समुदायभित्र रहेका विभिन्न चालचलन र धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको माघी पर्वको महिमा उजागर गर्न तथा थारु समुदाय र माघी पर्व मान्ने सबै समुदायको सांस्कृतिक महत्त्वलाई ध्यानमा राखेर सरकारले हरेक वर्ष माघ १ गते सार्वजनिक बिदा समेत दिने गरेको छ ।

केही वर्ष पहिलेसम्म थारु समुदायले माघी पर्वको अवसरमा रुढिवादी परम्पराको रूपमा मानिएको र सरकारद्वारा हाल कानुनी रूपमा नै प्रचलनमा रोक लगाइएका कमलरी प्रथा र कमैया अर्थात् हलिया प्रथाको निरन्तरताको रूपमा दुवै पक्षबिच माघ १ गते सम्झौता गर्ने गरिन्थ्यो । माघीकै अवसरमा कमैया, हलिया तथा कमलरी बस्न चाहनेहरू र राख्न चाहनेहरूबिच सहमति पनि हुने गर्दथ्यो ।

माघी पर्वलाई महिनाभरि नै मनाउने थारु समुदायले पुषको अन्तिम दिनमा अर्थात् माघीको अघिल्लो दिन तिलको लड्डु, चाकु र खिचडी बनाउँछन् । सक्नेले बलिको रूपमा सुंगुर काट्छन् र नसक्नेले सुंगुरको मासु र विभिन्न मिष्ठान्न परिकारहरू पकाएर रातभरि जाड–रक्सि खाएर नाचगान गर्ने गर्दछन् । भोलिपल्ट बिहानै अर्थात् माघ १ गते नुहाइधुवाइ गरी सकेकाले नयाँ लुगा लगाएर तथा नसक्नेले चोखो लुगा (धोएको लुगा ) लगाएर चिरीचट्ट परी आफ्ना ईष्ट देवताहरू अर्थात् आफूले मान्ने र पुज्दै आएका देवीदेवताहरूको पूजाआजा गरी परिवारमा टीका लगाएर मिष्ठान्न भोजन गरेर माघी पर्व मनाउँछन् ।

थारु समुदायले माघ १ गतेलाई आफ्नो नयाँ वर्षका रूपमा पनि मनाउँदै आएका छन् ।

२. पश्चिम नेपालमा मनाइने माघी पर्व

माघीलाई थारु समुदायको चाड भनिँदै गर्दा विभिन्न जातजाति बसोबास गर्ने पश्चिम नेपालमा पनि माघी पर्वलाई विशेष रूपमा मनाउने गरिन्छ । थारु समुदायभन्दा केही भिन्न तर थारु समुदायजत्तिकै उत्साहका साथ पश्चिम नेपालमा पनि माघी मनाउने गरिन्छ । पश्चिम नेपालका केही ठाउँमा माघी पर्वलाई माघे संक्रान्ति र केही ठाउँमा भने ‘चेली तिहार’ नामले  धुमधामका साथ मनाउने गरिन्छ ।

“पुषमा पाक्य, माघमा खाक्य”

माघी पर्वमा खाइने विभिन्न परिकारहरूको महत्त्व दर्शाउने शब्दका रूपमा पश्चिम नेपालमा “पुषमा पाक्य, माघमा खाक्य” भन्ने उखानले माघी वरपर निकै चर्चा पाउने गरेको छ । सेलरोटी, खट्या (चाकु), सखरखण्ड र तरुल लगायतका परिकारहरू पुषको अन्तिम दिनमा पकाएर माघको पहिलो दिनमा खाइने हुँदा यस्तो उखान प्रचलनमा आएको बुढापाकाहरूको मान्यता छ ।

कार्तिक लागेसँगै बढ्न सुरु गरेको चिसो फाल्ने पर्वको रूपमा पनि पश्चिम नेपालमा माघीलाई लिने गरिन्छ । माघे संक्रान्ति नजिकिएसँगै मानिसका मानसपटलमा अब चिसो हट्दैछ भन्ने विचारले जग्गा लिन थाल्दछ । जब पुषका अन्तिम दिनहरू नजिकिँदै जान्छन् तब सुरु हुन्छ माघी पर्वको चहलपहल । आइमाईहरू माघीमा पकाउने सेलरोटीको लागि चामल र गहुँलाई घाममा सुकाएर घट्ट अथवा मिलमा लगेर पिस्ने वा पिसाउने गर्दछन् । युवायुवती र केटाकेटीहरू उत्साहका साथ आफ्ना बाबुआमा र दाइभाइसँग बारीमा लगाइएका तरुल र सखरखण्ड कोर्न लाग्छन् । आफ्नो घरमा तरुल र सखरखण्ड नहुनेहरू काँधमा कोदालो हालेर जंगलतिर लाग्छन् । अनि जगंलमा रहेका वन तरुलका झाल खोज्दै तरुलहरू कोर्न थाल्छन् । कसैगरी पनि तरुलको जोहो गर्न नसकेकाहरू वरपर छिमेकी तथा बजारबाट तरुल र सखरखण्ड किनेर पनि तयार पार्दछन् । पश्चिम नेपालमा पनि माघीका अवसरमा तरुलको जोहो भने जसैगरी पनि गर्ने प्रचलन छ ।

पुषको अन्तिम दिन सबै युवाहरू जम्मा भएर आँसि (हसियाँ) र बन्चरा लिएर नजिकैको जंगलमा गएर हरियो रूख काटेर गाउँ अथवा बस्तीलाई केन्द्र पारेर मुढा जम्मा गर्दछन् । साँझको खाना खाइसकेपछि चामललाई भुटेर मह र घ्युमा मुछेर खट्या अथार्त् चाकु तयार गरी आइमाईहरू आगोमा तेलाखो (तेल हालिएको भाँडो) लगाएर सेलरोटी हाल्न थाल्दछन् भने केटाकेटी, युवा र बुढापाकाहरू दिउँसो जम्मा गरिएका मुढामा सल्काएर आगो ताप्न थाल्दछन् । यसरी गाउँको बिचमा बालिएको मुढा ताप्यो भने चिसो भाग्छ भन्ने मान्यता छ । घर–घरमा पाक्दै गरेका सेलरोटी र सखरखण्ड तथा तरुलको बास्नाले सम्पूर्ण गाउँ नै मगमगाइरहेको त्यो साँझ निकै नै उत्साहपूर्ण देखिन्छ ।

मुढाको धुनी र माघ स्नान

गाउँको बिचमा बालिएको मुढाको धुनी वरिपरि बसिरहेका केटाकेटी, युवायुवती तथा बुढापाकाहरू आ–आफ्ना दौतरीसँगका गफगाफ र भलाकुसारीहरूमा मस्त भएका हुन्छन् । कोही कथा भनिरहेका, कोही चुट्किला भनिरहेका, कोही आफ्ना बालापन, बैँसपनका यादहरू बाँडिरहेका र कोही इतिहास तथा कथा सुनाइरहेका अनि कोही आफ्ना साथीहरूसँग जिस्किरहेको त्यो साँझ साच्चै नै एउटा रङ्गमञ्च प्रतित हुन्छ । घरमा सेलरोटी र सखरखण्ड अनि तरुल पकाइसकेपछि सबै आइमाईहरू पनि मुढा ताप्न मुढा बालिएको स्थानमा जान्छन् ।

पुषको मसान्तको चिसो रातभरि तात्ताता तरुल, सखरखण्ड र सेलरोटी खाँदै मुढाको तापमा सम्पूर्ण जीवनको सम्झना गर्दै आगोको न्यानोमा गफ्फिरहेका केटाकेटीदेखि बुढापाकासम्म भोलिपल्ट बिहानै चिसो पानीमा माघ स्नान गर्छन् । माघको पहिलो भोरमै लेकको चिसो हिउँ पग्लिएर आएको चिमोट्ने पानीमा आफूलाई बिनाभय डुबाइदिन्छन् । रातभरि मुढा तापेर माघको बिहानै स्नान गर्याे भने चिसो नहुने मान्यताले सबैजना उत्साहका साथ रत्तिभरपनि चिसो नमानेझैँ चिमोट्ने पानीमा स्नान गरेर आफूलाई शुद्ध तुल्याउँछन् । नुहाइवरि चोखो लुगा लगाएर सबैजना फेरि एकपटक रातभरि बलेर अँगार भएको आगाको रापमा सेकिएर घर–घर फर्किन्छन् ।

घामको पहिलो झुल्कोसँगै सबै परिवार जम्मा भएर रातो अक्षता टीका लगाएर आमाहरूले छोरी चेलीलाई दक्षिणा दिन्छन् । अनि अघिल्लो दिन बनाइराखेका खट्या (चाकु), सेलरोटी, सखरखण्ड र तरुल खाइन्छ । यसरी टीका लगाएर आफूले विभिन्न परिकारहरू खानुभन्दा पहिले आगाको फिल्को, पकवान फल, चाकु र सेलरोटीका साना टुक्राहरू कागलाई भनेर छुट्याइन्छ । कागलाई खाना खान बोलाउने जिम्मा भने आमाहरूले आफ्ना छोराछोरीहरूलाई सुम्पिन्छन् ।  गाउँभरि हरेक घरका केटाकेटीहरू पनि रमाइलो मानेर ‘काँ काँ……..’ गर्दै काग बोलाउने आ-आफ्नो जिम्मेवारी निभाउँछन् । त्यसपछि वल्लोपल्लो घरमा आफ्नो घरमा पाकेको पकवान बाँड्ने तथा छोरीबहिनीकोमा पकवान पुर्याउने अथवा घरमा बोलाएर खुवाउने गरिन्छ ।

अन्त्यमा,

यसरी मधेशका थारुहरू र पश्चिम नेपालका विभिन्न जातजातिहरूले एउटै पर्व माघी आ-आफ्ना अनेक प्रचलन अनुसार मनाउने गर्छन् । विभिन्न भूगोलमा विभिन्न तरिकाले, विभिन्न नाम दिएर मनाउने गरेपनि माघीमा सबैले कन्दमुल, घ्यु, मिठाई खाएर मनाउने प्रचलन भने आजको दिनसम्म आइपुग्दा साझा परम्पराजस्तो बनिसकेको छ । कन्दमुलमा पनि विशेषगरी तरुल, मिठाईमा विशेष गरेर चाकु र तिलको लड्डु खाएर माघी मनाउने परम्परा भने सबै भूगोल र समुदायको साझा परम्परा रहेको छ ।

-महेन्द्र रावल

सम्बन्धित समाचार