नेपालले कार्यान्वन गर्न खोजेको संघीयता र विश्वका अन्य मुलुकले कार्यान्वन गर्दै आएको संघीयता बीच ठूलो अन्तर छ ।
सामान्य अर्थमा संघीयता भन्नाले राज्यको शासन संचालनलाई सरल, सहज र मितव्ययी बनाई शासन संचालनमा सबै बर्ग, लिङ्ग, सम्प्रदाय र सबै क्षेत्रको समान सहभागिता र प्रतिनिधित्व गरी जनताको घरदैलोमा नै सरकारको उपस्थित गराई समानुपातिक क्षेत्रीय विकास गराउने उद्देश्यले देशको शासन तथा प्रशासनलाई विभिन्न एकाईमा विभाजन गरी शासन तथा प्रशासन संचालन गर्नुलाई बुझिन्छ । यही अवधारणा र सिद्धान्तलाई नै संघीयताको आधार मानिन्छ ।हामीले संघीयताका आधार तथा अवधारणा जे, जसरी पढ्दै आएपनि, संघीयतालाई जसरी व्याख्या विश्लेषण र सैद्धान्तिक मार्गदर्शन गरेपनि संघीयताको विकासक्रम र संघीयता कार्यान्वयनको वास्तविक धरातल बुझ्न हामीले संघीयता कार्यान्वन गरेका मुलुकले संघीयता कार्यान्वन गर्नुका कारणहरू केलाउन आवश्यक हुन्छ ।
नेपालले कार्यान्वन गर्न खोजेको संघीयता र विश्वका अन्य मुलुकले कार्यान्वन गर्दै आएको संघीयता बीच ठूलो अन्तर छ । यसरी नेपालमा लागु गरिएको संघीयता र बाहिय मुलुकको संघीयता बीच कुनै समानता र मेल छैन भन्दा कसरी छैन त भन्ने प्रश्न पनि आउन सक्छ । म ठोकेर भन्न सक्छु नेपालले अवलम्बन गरेको संघीयता हल्लैहल्लाको भरमा आएको तथा हाम्रा देशका नेताहरू अर्थात् शासकहरूको मन्द बुद्धि करामतले ल्याएकाे संघीयता हो ।
संघीयता एउटा राम्रो शासन व्यवस्था हो । यसले क्षेत्रीय तथा प्रादेशिक विकासमा उल्लेखनिय र महत्वपूर्ण भूमिका खेल्दछ । यो मान्न म तयार छु तर नेपालमा कार्यान्वन गरिएको संघीयता नेपालको भूगोल विपरित, देशको मर्म विपरित अयोग्य र वैदेशिक छहारीमा हुर्किएका शासकहरूको अदुरदर्शिता र मुलत: वैदेशिक चाहमा आएको, ल्याएको र ल्याईएको संघीयता हो । नेपाल सानो तथा कठीन भूगोल भएको मुलुक हो । यो त्यसै पनि वैदेशिक हस्तक्षप उच्च भएको तथा विश्वका दुई विशाल र शक्ति सम्पन्न मुलुकहरूको बीचमा रहेको मुलुक हो त्यसैले यहाँ संघीयताको कुनै खाँचो थिएन ।
संघीयतालाई जसरी विकासको धोतक तथा कुशल शासन संचालनको आधार तथा मार्गदर्शक भनिए पनि संघीयताको मुख्य आधार भनेको राष्ट्रियता, देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय सुरक्षा नै हुन् । संघीयताको जन्म पनि यिनै विषयलाई मजबुत बनाउन भएको हो । संघीयताको इतिहास हेर्दा कि त विभिन्न स्वतन्त्र राज्यहरू एकिकरण गरी संयुक्त राज्य संचालन गर्दा पुर्ववर्ति स्वतन्त्र राज्यलाई शासन संचालनमा सहभागि गराई एकिकृत राज्य पुन: खण्डित नहोस् भनेर संघीयताको कार्यान्वन भएको छ, कि त भौगोलिक रूपमा विशाल र शासन तथा प्रशासन संचालनका दृष्टिले कठीन मुलुकले देशको सुरक्षालाई आधार बनाएर संघीयता लागु गरेका छन् । हामीले ति चत्तुर वैदेशिक राष्ट्रको सिको गर्दै अनावश्यक सानो देशलाई सात टुक्रामा विभाजित गरी वैदेशिक राष्ट्रको चलखेललाई अझ सहज र सरल बनाई दिएका छौँ ।जसले गर्दा हाम्रो भौगोलिक अखण्डता, क्षेत्रीय तिक्तता, आन्तरीक र जातीय द्वन्द्वमा नुन चुक छर्ने काम गर्नुका साथै राष्ट्र र राष्ट्रियता माथि नै प्रश्न चिन्ह खडा भएको छ ।
अमेरिका लगायत केही देशले विभिन्न स्वतन्त्र राष्ट्रहरू एकिकृत गरेर संघीयता लागु गरे, भारत, चीन, पाकिस्तान लगायत देशले पनि देशको भूगोल र राष्ट्रिय सुरक्षालाई मध्यनजर गरेर संघीयता लागु गरे । तर, हामीले के लाई दृष्टिगत गरेर संघीयता लागु गर्यौ ? हामीलाई संघीयताले कसरी फाईदा पुर्याउछ ? के कसैले भन्न सक्छ ? संघीयताको विषयमा धारणा व्यक्त गर्ने विज्ञ, विशेषज्ञ र संघीयताका जानकारहरूले विभिन्न भाषण तथा मन्तव्यमा नेपालको संघीयतालाई संघीयता लागु गरेका नेपाल भन्दा पनि साना मुलुकहरूलाई उदारणार्थ प्रस्तुत गरेर व्याख्या एवम् विश्लेषण गरेको पाईन्छ । मुख्यत: नेपालको संघीयतालाई विश्लेषण गर्दा स्विजरल्याण्को संघीयतालाई उदारणार्थ प्रस्तुत गरिन्छ । म उहाँहरूलाई के सोध्न चाहन्छु भने के स्विजरल्याण्डको संघीयता र नेपालको संघीयता एउटै छ ? के यिनिहरूको जन्मको आधार एउटै थियो ? के स्विजरल्याण्डमा आवश्यक भएको संघीयता नेपालमा आवश्यक थियो ? के अन्य मुलुकले आवश्यक ठहर्याएको संघीयता र नेपालले अपनाएको संघीयतामा कुनै फरक छैन ? के नेपालको संघीयता भारत, चिन, अमेरिका पाकिस्तान, स्विजरल्याण्ड लगायत अरु मुलुकहरूले अपनाएको संघीयता सँग मेल खान्छ ?
विश्वका संघीयता अपनाएका सबैजसो मुलुकले अपनाएको संघीयताले ति देशहरूको राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता तथा क्षेत्रीय विकासको स्वार्थ बोकेको छ । कुनै न कुनै रूपमा ति देशले स्वार्थ बोकेका छन् । तर, हाम्रो देशको संघीयताले वैदेशिक स्वार्थ नबोके पनि राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डता तथा आन्तरिक रूपमा विचलन भने पैदा गरेको छ । नेपाललाई विदेशी दलाल र स्वदेशी माफियाहरूले निर्धक्क साथ खेल्ने अखडा बनाएका छन् । नेपालमा कार्यान्वयनमा रहेको संघीयता अनावश्यक, अर्थविहीन र राष्ट्रियहित विपरित छ भन्ने कुरा नेपालमा संघीयता लागु भएपछि आजसम्मको अवधी राम्रो सँग नियाल्दा प्रष्ट भइन्छ । केही वर्षको संघीयताको कार्यान्वयन अवस्था हेरेर यसरी मुल्याङ्कन गर्नु उचित होइन जस्तो लाग्छ होला तर यो सत्य हो कि नेपालमा संघीयताले अहिलेको भूगोलमा सफलता प्राप्त गर्न सक्दैन । यदि नेपाल पूर्वमा टिष्टा देखि पश्चिममा किल्ला काँगडासम्म भैलिएको भए नेपालको सुरक्षाका हिसाबले संघीयता आवश्यक थियो ।
पूर्वमा टिष्टा देखि पश्चिम किल्ला काँगडासम्मको भूगोलमा पनि करीब तीन प्रदेश भए पुग्ने थियो । ८८५ किलोमिटर लम्बाई र १९३ किलोमिटर चौँडाई भएको नेपालमा संघीयता नै आवश्यक थिएन । तर, व्यक्तिगत, दलीय, जातीय र वैदेशिक स्वार्थ पुर्ति गर्न देशलाई टुक्रा-टुक्रा बनाएर ७ प्रदेशमा विभाजन गरियो । एकपटक ठण्डा मगजले सोच्नुहोस् त, के यति सानो भूगोल ८८५ किलोमिटर लम्बाई र १९३ किलोमिटर चौँडाई भएको मुलुक भित्र ७ प्रदेश सहितको संघीयता आवश्यक थियो ?