शुक्रबार , अषोज १४, २०७९

एकेडेमीमा महेशराज पन्त र संशोधन मण्डल

संशोधन मण्डलको प्रकाशनको ७० वर्ष पुरा भएको अवसरमा भारी छुटसहित पुस्तकमेला चलिरहेको छ । दिनको १२ बजेदेखि साँझ ६ बजेसम्म प्रज्ञा-प्रतिष्ठान, भानुभक्त हलमा २ दिने (आइतबार र सोमबार) पुस्तक मेला चलिरहेको हो ।

image

काठमाडौँ । संशोधन मण्डलको प्रकाशनको ७० वर्ष पुरा भएको अवसरमा भारी छुटसहित पुस्तकमेला चलिरहेको छ । दिनको १२ बजेदेखि साँझ ६ बजेसम्म प्रज्ञा-प्रतिष्ठान, भानुभक्त हलमा २ दिने (आइतबार र सोमबार) पुस्तक मेला चलिरहेको हो ।

पुस्तकमेलामा संशोधन मण्डलका प्रणेता नयराज पन्तका पुस्तक एवं उनीसँग सम्बन्धित कृतिहरू प्रदशनीमा राखिएका छन्, जसअन्तर्गत: इतिहासको खोजीमा मेरो अनुभव, को हुन् त नयराज पन्त, नयराज पन्तका गणितीय कृति, नयराज पन्तको दृष्टिमा श्री ५ पृथ्वीनारायण लगायतका किताबहरू राखिएका छन् ।

यसैगरी, प्रदर्शनीमा इतिहासप्रधान पत्रिका पूर्णिमाको १०० देखि १४५ अंकहरू देखिएका छन् । पूर्णिमाको २२-३२, ४५-४६, ४८-४९, ५१-११८ का धेरै प्रतिहरू आइतबार नै गइसकेकाले आज सीमिति प्रतिहरू प्रदशनी कक्षमा देखिएका हुन् । यसबाहेक, श्री ५ पृथ्वीनारायण शाहको उपदेश (फोटोकपी), सावधान पत्र, श्री ३ महाराज पद्मशमशेरका कुरा, संक्षिप्त वंशावली, गोरखा इतिहास (४ भाग),  गोरखाली विजययात्रा, इतिहास संशोधन (फोटोकपी), धादिङमा फेला परेका नेपाली कविता, रत्नदीप (मूल, भाग १ र २), अभिलेख संग्रह (१-१२ भाग, फोटोकपी), जनैपूर्णिमादेखि रानीपोखरीसम्म लगायत गरि ४५ शीर्षकका पुस्तकहरू प्रदशनीमा भेट्न सकिन्छ ।

संशोधन मण्डल र पूर्णिमा पत्रिका 

नेपाली इतिहासको खोजीमा विदेशीको भर पर्नुपर्ने बाध्यताको अन्त्य गर्दै २००९ असोज ५ गते घटस्थापनाको दिन पं. नयराज पन्तद्वारा सञ्चालित संस्कृत पाठशालामा पढ्ने विद्यार्थीले पहिलो ‘इतिहास–संशोधन’ प्रकाशित गरेका थिए । सो पुस्तिका जम्मा ६ पृष्ठको थियो र मूल्य ६ पैसा रहेको थियो । लिच्छविकाल, मध्यकाल, शाहकालका गरी १४३ ओटा भन्दा बढी अप्रकाशित अभिलेखहरू प्रकाशित गरिसकेको यस संस्था नेपालको इतिहास, ज्योतिष, संस्कृत–साहित्य, व्याकरण र पञ्चाङ्गसम्बन्धी विधाहरूमा अन्वेषण एवं अनुसन्धानमा सक्रिय उपस्थिति देखाउँदै आइरहेको छ ।

पन्तको निर्देशनमा २०१८ काठमाडौं मजिष्ट्रेट अफिसमा संशोधन मण्डल विधिवत् दर्ता भएको पाइन्छ । संस्थाको अध्यक्षमा भोलानाथ पौडेल, सचिवमा धनवज्र बज्राचार्य, कोषाध्यक्ष देवीप्रसाद भण्डारी र सदस्यहरूमा रामजी तेवारी, शंकरमान राजवंशी, गौतमवज्र बज्राचार्य, महेशराज पन्त, नयनाथ पौडेल र दिनेशराज पन्त राखिएका थिए । तीन वर्षसम्म (०२१ सम्म) अभिलेख–संग्रहहरूको प्रकाशन गरिसकेपछि प्राप्त अभिलेखहरूलाई आधार बनाएर अन्वेषण–सम्बन्धी नयाँ नयाँ पहेलु प्रकाश पार्ने खालका निबन्धहरूलाई समावेश गरेर २०२१ सालदेखि इतिहास–सम्बन्धी सर्वाङ्गीण पत्रिका पूर्णिमा को प्रकाशन हुन थालेको हो ।

महेशराज पन्त प्रदशनी कक्षमा उपस्थित छन् । उनी राज्यले अनपयुक्त क्षेत्रमा लगानी गरिरहेको तर इतिहास, संस्कृतिको क्षेत्रमा राज्यको उदासीनता देखेर खिन्न छन् । “एकडेमी लगायतकै यस क्षेत्रमा खासै रुची देखिदैन, अरूले गरेनन् भनेर के भन्नु ?”, उनी भन्छन् । हरेक वर्ष बजेट बनाउँदा प्रभावशाली र निकट व्यक्तिका संघसंस्थालाई छानीछानी पैसा छर्ने तर ज्ञान उत्पादनमा लगानी गर्न पटक्कै आवश्यक नठान्ने नेपाली राज्य–चरित्रको विरुद्ध पन्तको यस खिन्नताप्रति गम्भीर भएर सोच्ने बेला आएको छ ।

भुइँचालो पश्चात् पुरातात्विक चेत जागृत भएपश्चात् नेपाली इतिहास र संस्कृतिप्रति जागरुकता केहि हदसम्म बढेको देख्न पाइन्छ तर, महेशचन्द्र रेग्मीको निधनसँगै रेग्मी अनुसन्धान केन्द्र र इतिहासकार नयराज पन्तको निधनसँगै संशोधन मण्डल शिथिल बन्नुप्रति इतिहासप्रेमीहरूले चिन्ता व्यक्त गरिरहेको पाइन्छ । यस्ता प्रदर्शनीहरूले त्यस्ता चिन्ताहरूलाई चिन्तनमा बदल्न अभिप्रेरित गरिरहेको महसुस प्रदर्शनी कक्षमा किताब छान्न आइपुगेका पाठकहरू बताउँदछन् । नयराजका पुत्रद्वय महेशराज र दिनेशराजले अथक् परिश्रमले पूर्णिमा जस्ता पत्रिका जीवन्त रहिरहेको देख्न पाइन्छ, जुन खुसीको कुरा हो ।

किताबका सूचीहरू;

 

 

Tags:

सम्बन्धित समाचार