सोमबार , कार्तिक १०, २०८३

मैधीकोटको ऐतिहासिकता : पृथ्वीनारायण शाहको व्रतबन्ध गोरखामा नभएर मैधीमा किन भयो ?

'पृथ्वीनारायण शाहको व्रतबन्ध भएको स्थान' भनेर एकसुरे रटान र प्रचारप्रसार मात्रैले मैधीकोटको महत्त्व झल्कदैन । उनको व्रतबन्ध गोरखा छाडेर यहाँ किन भयो ? कुन मितिमा भयो ? उनको व्रतबन्ध यहाँ हुनुले मैधीको इतिहासमा केकति महता थप्दछ ? लगायतका प्रश्नहरू उत्तर खोज्नु आवश्यक छ ।

image

  • राजु झल्लु प्रसाद

धादिङ जिल्लामै प्रख्यात ज्वालामूखी गाउँपालिका-३ स्थित मैदीकोट (ऐतिहासिक सन्दर्भ स्रोतहरूमा मैधी/मैघी लेखिएको पाइएको) बारेमा हालसम्म कुनै पनि निकाय र व्यक्तिविशेषबाट यसको इतिहास र पुरातात्विक महताको खोजिनिधि भएको बिरलै देख्न पाइन्छ । ‘पृथ्वीनारायण शाहको व्रतबन्ध भएको स्थान’ भनेर एकसुरे रटान र प्रचारप्रसार मात्रैले मैधीकोटको महत्त्व झल्कदैन । उनको व्रतबन्ध गोरखा छाडेर यहाँ किन भयो ? कुन मितिमा भयो ? उनको व्रतबन्ध यहाँ हुनुले मैधीको इतिहासमा केकति महता थप्दछ ? उनीभन्दा निकै अगाडी गोरखाका दलु शाह केकति कारणले मैदी आई यहाँ दरबार बनाई बसे ? लगायतका विषयमा इतिहासकार एवं सरोकारवाला निकायहरूले चासो व्यक्त गरिएको पाइदैन । नेपाल राज्यका एकीकर्ता श्री ५ पृथ्वीनारायण शाहको व्रतबन्ध गरिएको स्थानीय विश्वासलाई ऐतिहासिक एवं पुरातात्त्विक खोज-अनुसन्धानबाट प्रमाणित गरि व्यापक प्रचारप्रसार गर्नु आवश्यक छ ।

यस सम्बन्धमा स्व. राजेन्द्र प्रताप शाहले खोजअनुसन्धान गरिरहिएको पाइएको थियो, तर उहाँ रहनुभएन । उहाँले यससम्बन्धमा केकति खोज गर्न भ्याउनुभएको थियो भनें सन्दर्भमा पनि पारिवारिक स्रोतबाट यथेष्ट जानकारी उपलब्ध हुन् सकेको छैन । साथै,  शाहले एक वर्षअगाडि सामाजिक सञ्जालमा लेख्नुभएको थियो- “३७-३८ सालतिर ईतिहास संशोधन मण्डलबाट प्रा. दिनेशराज पन्त र प्रा.डा. महेशराज पन्त गएका थिए । म कहाँ बसे । मैले मैदीको सबै ठाउँको ताम्रपत्र, शिलापत्र र हस्तलिखित ग्रन्थ खोजेर देखाइदिएँ । फेला पारेसम्मको सबै हस्तलिखित ग्रन्थको काठमाडौ ल्याएर स्क्यान गरेर फर्काइयो । स्क्यान गर्न दिएबापत पेज गनेर पैसा दिइएको थियो ।” इतिहासविदद्वय पन्त दाजुभाइ दुवैसँग यस विषयमा सोधीखोजी गर्ने काम भइरहेको छ । उहाँहरूको कार्यव्यस्तताका कारण तिहारपछी मात्रै स्व. शाहले उल्लेख गर्नुभएको कुराको प्रमाणीकरण हुनेछ ।

मन्दिर पुनर्निर्माणको काम सकिए पनि, देवी भित्राउन बाँकी छ ।

पृथ्वीनारायण शाहको व्रतबन्ध गोरखामा किन हुन् सकेन ?

मैधीकोटको सन्दर्भमा धेरै कुराहरू मिश्रित छन्, स्पष्ट छैन । यस्तैमा, नेपाल राज्यका एकीकर्ता शाहलाई नन्द मिश्रका सन्तान हर्ष मिश्रले मन्त्र सुनाएको गोरखा इतिहासमा इतिहासविद् दिनेशराज पन्तले उल्लेख गरेका छन्  । पन्तको कुरालाई पुष्टि गर्ने आधार इतिहासशिरोमणि बाबुराम आचार्यकृत ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’बाट प्राप्त हुन्छ, जहाँ उनले लेखका छन्;

‘इ.सं. १७३३ मा श्री ५ युवराज पृथ्वीनारायण शाहको उमेर एघार वर्ष भएको हुनाले यस वर्षभित्र उनको ब्रतबन्ध हुनु अनिवार्य थियो । रानी चन्द्रप्रभाले राजदरबारको गृहव्यवस्था ठीक राखेकी हुनाले नरभूपाल शाह राजकाजबाट पर रहे पनि व्रतबन्धको कार्यलाई हर्जा केही थिएन । तर, व्रतबन्धका निमित्त सावित्रमन्त्र सुनाउने घरानियाँ गुरुको आवश्यक थियो ।

नरभूपाल शाहलाई गोकुलविलास पाँडेले मन्त्र सुनाएका हुनाले उनका छोरा–भतिजाहरू गुरु बन्न तत्पर थिए । तर, नरभूपाल शाहदेखि माथिका युवराज र राजकुमारहरूलाई मन्त्र सुनाउने काम मिश्रघरानाले गरिआएका र राजनीतिक पेच लगाएर नरभूपाल शाहलाई गोकुलविलासले सावित्रमन्त्र सुनाएका थिए ।

गुरुवंश बदलिनाले नरभूपाल शाहको यस्तो अवस्था भएको हो भन्ने विचार गोर्खामा उठ्यो र रानी चन्द्रप्रभाले मिश्रघरानाका श्रीहर्ष मिश्रलाई बोलाएर मन्त्र सुनाउन लाउने प्रबन्ध मिलाइन् । चन्द्रप्रभाले पाँडेहरूले बाधा नदिऊन् भनेर श्री ५ पृथ्वीनारायण शाहलाई सिकारको बहाना गरी धादिङ इलाका मैदीका एक देवस्थलमा लगी व्रतबन्ध गराएर श्रीहर्ष मिश्रलाई सावित्रमन्त्र सुनाउन लगाइन् ।

गोर्खाको राजकुलमा विवाह भएपछि मात्र दीक्षामन्त्र सुनाउने अकाट्य नियम थियो । तर, गोकुलविलासले नरभूपाल शाहलाई व्रतबन्ध सकिनेबित्तिकै दीक्षामन्त्र पनि सुनाएका हुनाले श्रीहर्ष मिश्रले पनि श्री ५ पृथ्वीनारायण शाहको व्रतबन्ध सकिनेबित्तिकै उसै दिन दीक्षामन्त्र पनि सुनाए । अर्को दीक्षागुरु घुसेर राजदरबारभित्र प्रतिद्वन्द्वी खडा नहोस् भनेर गोकुलविलासले जो निरङ्कुशता देखाएका थिए त्यही श्रीहर्ष मिश्रले पनि देखाए ।

दुई पुस्तासम्म दीक्षामन्त्र सुनाउन नपाउँदा अज्र्यालवंश सदाका निमित्त गुरुको पदबाट वञ्चित भयो । तैपनि अज्र्यालहरू युवराजलाई व्रतबन्धमा वेद पढाउने, पुरोहित्याइँ, खजाञ्चीको काम र जैसीकोठाको खरिदारी पद पनि अज्र्यालहरूका भागमा बचेको हुनाले सन्तुष्ट नै थिए । श्री ५ पृथ्वीनारायण शाहलाई वेद पढाउने र पुरोहित्याइँ गर्ने कामसमेत मोक्षेश्वर जोशीले गरेका हुनाले महारानी चन्द्रप्रभाले यिनलाई धर्माधिकारी गराएकी थिइन् । राजीवलोचन पाँडे पण्डितमा बहालै रहेका हुनाले श्री ५ पृथ्वीनारायण शाहका राज्यकालमा यिनका छोरा रामहृदय पाँडे राजपण्डित भएर रहेका थिए ।.. व्रतबन्धमा परम्परागत नियमअनुसार पुरोहित मोक्षेश्वर जोशीले वेदारम्भ गरिदिएका हुनाले वेद पढ्नु आवश्यक सम्झिइन्थ्यो । तर, यस समयमा वेदका मन्त्र रट्ने काम कठिन हुनाले दुई–चार दिनमा यो रिवाज पूरा गरी संस्कृत भाषामा लेखिएका ‘सप्तशती’ आदि स्तोत्रहरू पढ्नुपर्दथ्यो ।’

आचार्यले उल्लेख गरेको देवस्थल मैधीकोट नै रहेको मान्नुपर्दछ । किनकी  शाहको व्रतबन्धमा प्रयुक्त तामाको सुरो अझै पनि मैधीकोटकै पूजारी खलक (अर्ज्याल)कै घरमा छ, तर कसकहाँ छ भनेर खुल्न आएको छैन । मैधीकोट भैरवीमा सम्पन्न हुने चैते र बडादशैंमा मात्र प्रयोगमा ल्याइने यो ऐतिहासिक सुरोको महत्ता र गरिमालाई नबुझ्नु दु:खद छ ।

उखुका लाँक्रा चोर्न हिँडेका पृथ्वीनारायण शाह:

‘एक दिन पौडी खेलेर थकाइ मारेका समयमा केही पर उखुबारीमा पाकिरहेका उखुका लाँक्रा देखेर श्री ५ युवराज पृथ्वीनारायण शाहलाई लाँक्रा चुस्ने इच्छा भयो र साथीहरूलाई समेत लिई केशवद्वारेका डिहोमा गएर एक–एक लाँक्रा भाँची चपाई यिनी सेरा बेंसीमा फर्केका थिए’ भनेर आचार्यले उल्लेख गरेको पाइएको छ । हाल मैधीकोटदेखि तल (महादेवको अँगेनो समेत भनिने) गाउँको नाम उखुबारी रहेको छ, जहाँ मिश्रित रुपमा जातिजातिहरू बसोबास गरिरहेको पाउँछौं ।

यस्तैमा, पुरातत्त्व विभागले २०३२ सालमा गरेको रिसर्चको पूर्ण प्रतिवेदन (प्राचीन नेपाल) यहाँ सारेको छु, यसकारण यसलाई त्यतिबेलैको मितिलाई ध्यानमा राखी हेर्न आग्रह गर्दछु । पुरातत्वले उल्लेख गरेका यस जानकारीबाट हाल लोप भइसकेका विविध समाग्री र इतिहासको खोजी एवं चासो भएका व्यक्तिहरूलाई यो उपयुक्त स्रोत-सन्दर्भ हुन् सक्दछ । त्यतिबेला धादिङ र रसुवाको १ महिने भ्रमणको क्रममा देवीप्रसाद लम्साल, बलराम चित्रकार, राधेश्याम भट्टराई मैधीकोट आइपुगेका थिए, सो क्रममा उनीहरूलाई स्था निर्णय चौ. प्रेमजङ्ग र डोरजङ्ग शाहले मैधीकोट घुमाएको हामी चाल पाउँछौँ  ।

पुरातत्व विभागले २०३२ सालमा जे लेखेको छ;

‘मैधी कोटमा भैरवीको मन्दिर छ । यस मन्दिरमा अष्ट भूजा भैरवीको सुन्दर मूर्ति छ- ढुङ्गामा कुँदिएको । ३०*२१ सेमी । उक्त मूर्तिको पादपृष्ठमा र वरिपरि अरू देवीहरूका मूर्ति छन् । दुई तले छत्र शैलीको मन्दिरको जीर्णोद्धार र यही वर्ष अघि गरिएको भएतापनि तल्लो छाना छाउन बाँकी नै छ, ढुङ्गा राख्न बाँकी नै छ ।

पूजा र गूठ:- कोट भैरवीको बिहान-बेलुका नित्य पूजा गरिन्छ । यहाँ बडा दशैं र चैतेदशैंमा सरकारी तवरबाट विशेष पूजा हुन्छ । यी दुवै दशैंमा काटिने राँगा, बोका, भेंडा, कुखुरा आदि भोग्य जन्तु र पूजाआजाको सरसामान लिएर बाजा-गाजा सहित दमाईहरू अघिलाई पुरोहित चौतरियाहरू पछि लागि गोरखा चलाएको अभिनय गर्दै केही पर पुगी घुमाउरो बाटोबाट फर्काइ कोट-भैरवी लागि कोटकै मौलोमा भोग दिने चलन छ । यसका अतिरिक्त यहाँ पन्चबलि पनि हुन्छ । पूजा संक्षिप्त रूपमा गोरखाको जस्तै गरिन्छ । कोट भैरवीका पुजारी मगर छन् । पुरोहितहरू भने अर्ज्याल ब्राह्मण ।

श्री ५ महाराजाधिराज सरकारबाट पूजाको सुप्रबन्धका लागि गूठको उचित व्यवस्था गरिबक्सेको छ । गूठको जग्गा कमोट गर्ने मोहीले हरसाल ८४ चौरासी मुरी धान दिने व्यवस्था गरिएको छ । यहाँका सम्पूर्ण गूठको तैनाथ चौतरिया श्री प्रेमजङ्ग शाहबाट हुन्छ । पुजारी, पुरोहित र दमाईहरूलाई दिएर बचेको आयस्ताले मन्दिरको संरक्षण जीर्णोद्धार गरिन्छ भन्ने चौतरियाको भनाई छ ।

फूलबारी : भैरवीको पूजाको निमित्त मन्दिरको पूर्व-पश्चिम दुवैपट्टि फूलबारीको राम्रो प्रबन्ध गरिएको थियो तर १५-२० वर्ष यता आबाद गरी निजी जग्गा बनाइएको छ, बगैँचाको अस्तित्व समाप्त गरिएको छ ।

शिवालय : पहिले फूलबारी रहेको र अहिले व्यक्तिगत जग्गाका रूपमा परिणत भएको मन्दिर पूर्वपट्टिको बारीमा एक प्राचीन शिवालय छ । उदाङ्ग आकाश देखिने ढुङ्गे गाह्राको लम्बाई एक मिटर र चौडाइ ७७ से. मिटर छ ।

पुरातत्व विभागले २०३२ सालमा उल्लेख गरेबमोजिम नै शिवालय रहेको प्रतित हुन्छ

यसका अतिरिक्त यस मैधी गाउँमा अरू तीन महत्त्वपूर्ण कुरा पनि भएका छन् । जसले गर्दा मैधीलाई महिमाशाली तुल्याएको छ । हामी जुन तीनवटा गौरवयुक्त प्राप्तिको चर्चा गर्न थालेका छौँ तिनीहरूको स्था निर्णय चौ. प्रेमजङ्ग र डोरजङ्ग शाहहरूमा अनुभव र अनुमानमा आधारित छ । उहाँहरूको अनुसार मैधीकोटमा दलुशाहको दरबार थियो, यसै दरबारमा श्री ५ बडा महाराजाधिराजको व्रतबन्ध भएको थियो र कोट भैरवीमा रहेको पुराना तामाको सुरो श्री ५ वडा महाराजाधिराजको व्रतबन्धमा प्रयोग गरिएको थियो । यी ऐतिहासिक महत्त्वका तीनै चीजहरूको केही उल्लेख गर्नु प्रासङ्गिक नै हुनेछ ।

  • दलुशाहको दरबार

गोरखामा युवराज वीरभद्र शाहको स्वर्गे भएपछि राज्यको उत्तराधिकारीमा खिचोला मच्चिएको थियो । राजा पृथ्वीपति शाहका छोराहरू दलुशाह र उद्योतशाह गोरखाको राजा हुने प्रयत्न हुने गर्दथे तर युवराज वीरभद्र शाहका छोरा नरभूपाल शाहको घोषणा भएपछि दलु र उद्योत शाह गोरखाबाट निकालिएका हुँदा मैधीमा आएर (बस्न थाले) । यिनै दलुशाहको दरबार हाल मैधी कोटमा थियो भनिन्छ । अहिले कायम रहेको भैरवीको मन्दिर दलुशाहको दरबारभित्र पर्छ ।

स्थानीय चौतरियाहरूका अनुसार अहिले मैधीकोटमै दलुशाहको दरबार थियो । ठुलो भुइँघर थियो, गोलाकार थियो । ढुङ्गाको गाह्रो, खरको छानो भएको त्यो दरबार जन्मवृक्षको एउटा खाँबो कायम गरी निर्माण गरिएको थियो । अर्थात् एउटा सालको रुख नढालीकनै त्यसलाई मूल ठाम तुल्याइएको त्यो दरबारको पूर्व, पश्चिम र उत्तरपट्टि एकएक प्रवेशद्वार थिए । प्रत्यक्षदर्शीहरूका अनुसार दरबार ठुलो थियो, थुप्रै कोठा थियो । भगवती भैरवीको स्थाने उता कोठामै थियो । भैरवी रहेको कोठामा एउटा झ्याल पनि देखेको कुरा स्थानीय बुढापाका बताउँदछन् । तर, भुँइतले दरबारमा अरू कुनै मालसामान वा  चिजबिज भने कसैले देखेका छैनन् । गाउँलेहरू यसको संरक्षण गर्दै थिए, छुने काम गदै थिए तर दरबार भत्कन थाल्यो । दरबारको घुमाउरो छाना मन्दिराकार, गजूराकार थियो । सुरक्षाकै अभावमा सं २००६ सालतिर त्यो दरबार भताभुङ्ग भयो । अनि सरकारी सहयोगले कोट भैरवीको मन्दिर बनाइयो । त्यो पनि नासिएपछि गाउँलेहरूले जीर्णोद्धार गरेर वर्तमान मन्दिरको रूप दिएका छन् ।

यो दरबार दलुशाहको दरबार हो भने यहाँ कोट भैरवी दलुशाहको इष्टदेवी हुनु धेरै सम्भाव्य हुन् जान्छ । दलुशाहको दरबारको डायमिटर २५ मिटर छ । कोटमा एउटा ढुङ्गाको डुँड छ, जसको आकार १६१*५२ से. मिटर छ ।

कोटबाट निकै तल पर्ने वैष्णवीस्थानको आसपासमा देखिने इँटहरूको प्राचीनताले त्यस क्षेत्रमा पनि प्राचीन दरबार हुन् सक्ने भग्नावशेषको सङ्केत नदिने होइनन् ।

  • श्री ५ वडा महाराजाधिराजको व्रतबन्ध 

चौतारियाद्वयका अनुसार विशाल नेपाल राज्यका एकीकर्ता श्री ५ वडा महाराजाधिराज पृथ्वीनारायण शाहको शुभ व्रतबन्ध मैधीकोटस्थित दलुशाहकै दरबारमा सम्पन्न भएको थियो । पृथ्वीनारायण शाहको व्रतबन्ध दरबारमै हुनु औचित्यको कुरा हो ।

तर, यहाँका कुनै-कुनै बासिदा भने बतासे र सातदोबाटोको बीचमा पर्ने मजकोट चैनपुर भन्ने ठाउँको एक चौतारीमा राष्ट्रनिर्माताको व्रतबन्ध भएको कुरा बताउँदछन् । यस चौतारीको समीपमै वैष्णवीको स्थान छ र मन्दिरको वरिपरि पुरानो इँटहरू पाइन्छन् । यही दलुशाहको दरबार भएको भए यस चौतारोमा हुन् पनि असम्भव छैन ।

  • ऐतिहासिक तामाको सुरो :

मैधीकोटमा तामाको एउटा ऐतिहासिक सुरो पाइएको छ । यो एउटा तामाको सुरोमात्रै नभएर नेपाली इतिहासको ओजस्वी प्रतापी पुरुषसँग सम्बन्ध जोर्नु पुग्छ । लम्बाई ३२ से.मी., मोटाइ १.८ से.मी. र चार पाटे सुरोको पुरै मोटाइको घेरा ६ से.मी. छ । भनिन्छ, यो सुरो श्री ५ वडा महाराजाधिराज सरकारको व्रतबन्धमा प्रयोग गरिएको थियो । राष्ट्रनिर्माता श्री ५ वडा महाराजाधिराज पृथ्वीनारायण शाहको व्रतबन्धमा प्रयुक्त तामाको सुरो परापूर्वकालदेखि नै मूल पुरोहित (मैधीकोट भैरवीका) कहाँ सुरक्षित हुँदै आएको छ । मैधीकोट भैरवीमा सम्पन्न हुने चैते र बडादशैंमा मात्र प्रयोगमा ल्याइने यो सुरो अरू गाउँलेहरूका यज्ञयज्ञादीमा प्रयोग हुन् सक्दैन । यस ऐतिहासिक सुरोको काम वर्षको दुईपल्ट मात्रै पर्छ । यो चलन कहिलेदेखि चलेको हो यकिन भन्न सकिँदैन । तापनि विशाल नेपाल राष्ट्रको निर्माताको जीवनको महत्त्वपूर्ण कर्मसँग सम्बन्धित हुनाले यसको महत्ता र गरिमाको उचाईं कति छ भनेर नापी रहनु भन्दा नेपालको इतिहासका लागि यसको उपलब्धि औधी हर्षको सिद्ध हुन्छ भन्नु नै वीर पुरुषको गाथा र वीरताको प्रशंसा गरेको ठहरिने छ । आयन्दा लेखिने नेपाली इतिहासको पानाको निम्ति यो ऐतिहासिक सुरो एउटा नवीनतम सामाग्री हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

मैधीमा प्राप्त ऐतिहासिक पत्रहरू तल लेखिएबमोजिम छन्;

१.सं. १८६६ को ताम्रपत्र
२. सं. १९३० को जङ्गबहादुरको रुक्का
३. सं. १९३१ को जङ्गबहादुरको रुक्का
४. सं. १९३१ को पत्र
५. सं. १९५५ को पत्या विषयक पत्र

यस क्षेत्रको काम सकिएपछि हामी धादिङकोट पुग्छौँ ।..’

हटियास्थित भीमसेनस्थानबाट देखिएको मैधीकोट, भीमसेनस्थान मैधीकोट सरह नै पुरातात्त्विक महत्त्वको स्थल हो ।

पृथ्वीनारायण शाहको व्रतबन्धमा प्रयुक्त तामाको सुरो कोसँग छ भन्ने कुरा पत्ता लाग्न सकेको छैन । मैधीकोटमै रहेको ऐतिहासिक खड्गको पनि खोजिनिधि बाँकी नै छ । यहाँ हुने जात्रा-पर्वहरू, ८४ चौरासी मुरी धान दिने गुठिको जग्गा, शिवालय, ढुङ्गाको डुँड, चोरी हुन् पुगेको अष्टभूजा भैरवीको सुन्दर मूर्ति आदिको विषयमा सोधीखोजी र प्रमाणिकरण बाँकी नै छ । यसबारेमा यथासक्य छिटो प्रकाश पार्नेछु । गुठि विभागसँग मैधी/मौधि नाम गरि ४ वटा गुठिको नाम रहेकोमा तीन गुठिको नाम र जग्गा केकति छ भन्ने कुराको पुष्टि भएको छ, बाँकी एउटाको काम बाँकी छ । जसअनुसार,  मैदीकोट भैरवी गुठि (५३ रोपनी १२ आना), मैदीकोट भीमसेन गुठि (४ रोपनी), मैदीकोट भैरव चतुराली गुठि (१ रोपनी आठ आना) जग्गा देखिएको छ । (क्रमश :…)


 ब्यानरमा प्रयोग गरिएको फोटो राई ओझाले खिचेका हुन् – सम्पादक । 

सम्बन्धित समाचार