मंगलबार , असार २, २०८३

मन्दिरमा बाँदर ! समस्या कि शोभा ?

भक्तजनहरू बाट खोसिएको प्रसाद यत्रतत्र छिरलिएको हुन्छ । बाँदरले मन्दिरमा जहाँ पायो त्यहीँ दिसापिसाब गर्ने होलान् । त्यसले पनि फोहोर बढ्ने होला । मैले यस्तै सोच्थेँ ।

image

अक्सर म मन्दिर जाँदा बाँदर सँग डराउँछु । सरिताको घटना याद आउँछ । एक पटक ऊ र म स्वयम्भू जाँदा बाँदरले उसको ब्याग खोसेर भागेको थियो । उसलाई पिछा गर्दा उल्टै झम्टन खोज्थ्यो । अलिबेर पछि ब्यागमा भएको बिस्कुट झिकेर ब्याग फालिदियो । ब्यागको गोजीमा भएको मोबाइल गोजी खुलै हुनाले झाडीमा झरेछ । खोज्दा-खोज्दै पूरै दिन बित्यो । फेला त पर्यो तर स्क्रीन फुटेको हालतमा । मेरा हातमा मैले खाँदै गरेको काँक्राको चिरा थियो । त्यो अर्को बाँदरले खोसेको थियो ।

नजीकैकी पसल्नी दिदीले कुनै कुनै बाँदरले त चिथोर्छन्, जोगिनुपर्छ भनेर सिकाउँदै थिइन् । बाँदरले टोक्यो अथवा चिथर्यो भने रेबिजको सुई लगाउनुपर्छ भन्दा रछन् । त्यसैले मन्दिरमा जान त मन लाग्छ तर मन्दिर जाँदा बाँदर सँग डर पनि उत्तिकै लाग्छ ।

काठमाण्डौंका सबैजसो मन्दिरमा बाँदर देख्न पाइन्छ । भक्तजनहरूले भगवान्लाई चढाउन ल्याएको प्रसाद खोसेर खाने उनीहरूको दिनचर्या नै बनेको छ । खोस्न खोज्दा अवरोध गरियो भने अथवा खोस्न दिइएन भने चिथर्ने र टोक्ने सम्भावना पनि हुन्छ । कतिपय महिलाहरूका त दुपट्टै लिएर भागेका घटना पनि थुप्रै छन् । त्यसरी प्रसाद खोस्दा भुइँभरि पोखिने हुँदा मन्दिर फोहोर हुने भयो । फेरि ती बाँदरहरूले जहाँ पायो त्यहीँ दिसापिसाब गर्ने होलान् । त्यसले पनि मन्दिरलाई दुर्गन्धित बनाएको हुन्छ । त्यसैले पनि मलाई मन्दिरहरूमा बाँदर खासै मन पर्दैनन् ।

के बाँदरले मन्दिरमा फोहोर गर्छन् ?

सरसर्ति हेर्दा बाँदरले मन्दिरमा फोहोर गर्छन् भन्ने देखिन्छ । भक्तजनहरू बाट खोसिएको प्रसाद यत्रतत्र छिरलिएको हुन्छ । बाँदरले मन्दिरमा जहाँ पायो त्यहीँ दिसापिसाब गर्ने होलान् । त्यसले पनि फोहोर बढ्ने होला । मैले यस्तै सोच्थेँ । बेलाबेलामा मन्दिर गइरहने हुनाले मलाई यसै विषयमा खोजी गर्न मन लाग्यो । जहाँ पायो उहीँ दिसापिसाब नगर्ने प्रायः बाँदरको स्वभाव हुँदो रहेछ ।

भक्तजनहरूबाट प्रसाद खोस्दा छित्रिएका खाने कुरा एउटा पनि बाँकी नराखी टिप्ने रहेछन् । कसैले खानेकुरा फालेर फोहोर गरिहाल्यो भने पनि त्यो टिप्ने काम बाँदरकै रहेछ । मन्दिरमा चढाएका फलप्रसाद पनि बाँदरले नै खाने रहेछन् । नत्र त्यसरी चढाएका कतिपय फलप्रसादलाई फोहोरो ठानेर मान्छेले नखाने र मन्दिर अरू दुर्गन्धित हुने समस्या बढ्ने सम्भावना हुँदो रहेछ ।

यस हिसाबले हेर्दा मन्दिरमा हुने फोहोरको दोष बाँदरलाई दिनु न्यायोचित नहुने देखिन्छ । बरु त्यसका मुख्य दोषी भक्तजनहरू नै हुन् जसले जहाँ पायो त्यहीँ फूलप्रसाद चढाउँदै हिँड्छन् । शुरुमा सुन्दर र दुर्गन्धरहित राता अक्षता चढाएका ठाउँमा कुहुँदै जाँदा दिसा जस्तै गन्हाउन थाल्छन् ।

बाँदरलाई हनुमान् ठानेर पूजा गर्ने चलन छ बाँदरलाई हनुमान् कै अवतार ठानेर श्रद्धा गर्ने भक्तजनहरूको पनि कमी छैन । कतिपय स-साना नानीहरूका लागि मन्दिरका बाँदर आकर्षणका विषय बनेका छन् । विदेशी पर्यटक पनि मन्दिरमा बाँदर देख्नासाथ क्यामरा तेर्स्याइहाल्छन् । विकासवादको सिद्धान्त अनुसार बाँदरलाई मानिसका पुर्खा मानिन्छ । यस हिसाबले हेर्दा बाँदरलाई त मानिसले पुर्खा मानेर माया गर्नुपर्ने होइन र ?

पशुपति क्षेत्रमा रहेको भाइरल बाँदर, के छ त त्यसको पछाडीको अन्धविश्वास ?

पौराणिक कालमा भगवान् रामले हनुमानलाई भक्त बनाए या हनुमान नै भक्त बने आखिर त्यहाँ सम्बन्ध बन्यो त्यसकारणले पनि रामले हनुमानको क्षमता र भक्तिलाई सम्मान गरेका छन् ।  सीताको खोजीमा चातुर्यताको कला प्रदर्शन गर्नुले पनि हनुमान अर्थात् बाँदर र मान्छेको सम्बन्ध प्राचीन युगदेखि नै अटुट थियो भन्न सकिन्छ । यस बाट के पुष्टि हुन्छ भने बाँदर मानिसको साथी बन्न पनि सक्छ । बाँदर सँग त्यो क्षमता हुन्छ जुन अन्य प्राणीमा कम हुन्छ । ऊ सजीलै मानिस सँग मिल्न सक्छ ।

अहिले टिकटक लगायतका सामाजिक सन्जालमा एउटा भिडियो भाइरल छ । जसमा पशुपति मन्दिर छेउमा रहेको भीरमा सानो कटेरो छ । त्यहाँ फलामको तारजाली लगाएर बाँदरलाई राखिएको छ । बाँदरको आशीर्वाद लिनेहरु लाइनमा बस्छन् र फलामको डण्डी माथि चढेर पालैपालो बाँदरका अगाडि टाउको राख्छन् । बाँदर कहिले पिंजडाको वल्लो छेउ पुग्छ त, कहिले पल्लो छेउ । कसैको टाउकोमा हात नराख्दा, कसैलाई नमुसार्दा उसलाई आशीर्वाद लिन मन नलागेको भन्ने मान्यता राखिन्छ ।

अहिले भाइरल भइरहेको बाँदर पशुपतिमा भर्खर ल्याइएको भने होइन । त्यो बाँदर १३ वर्षदेखि त्यहीँ नै छ । जसलाई एक बाबाले भारतबाट ल्याएका थिए अरे । तर टिकटक बनाउनेहरुका कारण त्यो बाँदर अहिले भाइरल बाँदर बनेको छ ।

बाँदरले कहिले त्यहाँ पुग्ने मानिसको टाउकोमा हात राख्छ भने कहिले खुट्टा पनि राख्छ । बेलाबेला बाँदर रिसाउँछ झैं गर्छ । कहिले दाह्रा देखाउँछ । कहिले कसैलाई झम्टे जस्तो गर्छ । कसैले टाउको दिँदा कपाल तान्छ । तैपनि सर्वसाधारण उसलाई छाड्दैनन् । उसको नजीक गएर आशीर्वाद लिने,  फोटो र भिडियो खिच्ने बाहानामा हतास सर्वसाधारण न उसलाई एकछिन बस्न दिन्छन् न त उसलाई आराम गरिरहेको समयमा जिस्काउन नै छोड्छन् ।

उक्त बाँदरको आशीर्वाद लिन दौडिरहेको भीड देख्दा लाग्छ उनीहरू आशीर्वाद लिन दौडिएका नभएर सामाजिक सन्जाल माथिको आफ्नो भोक मेटाउन पो  दौडिरहेका हुन् कि ?

किन बाँदरले बढी महिलालाई आक्रमण गर्छ ?

भनिन्छ, ‘बाँदरहरु स्वभावैले जिज्ञासु हुन्छन् । बाँदरले मानिसको स्वभाव सिक्न खोज्छ ।’  पहिलो पटक झट्ट देख्दा वा बाँदरको नजिक पुग्दा बाँदर छुच्चो लाग्छ । उनीहरु मानिसका मात्र होइनन्, फेरिँदै गएको प्रकृतिबारे पनि अनुभव गरिरहेका हुन्छन् । विडम्बना ! बाँदरको जिज्ञासु स्वभावलाई नै मानिसहरु चकचके भनिदिन्छन् ।

खासमा महिलाहरूको पुरुषको तुलनामा अलिक बढी डराउने स्वभाव हुन्छ । जस्तै बाँदर नजिक पर्यो कि उनीहरू चिच्याउने, तर्सने वा ढुंगाले हान्न खोज्ने गर्छन् । यस्तो समयमा कतिपय बाँदरले झम्टिने गर्दछन् ।

बाँदरको शरीरबाट निस्कने विभिन्न रासायनिक पदार्थ थाहा पाउन र महिलाहरु वयश्क तथा रजश्वला भएको गन्ध पनि उसले थाहा पाउने गर्दछ । यो समयमा पनि उसले केही उच्छृङ्खल गतिविधि देखाउने गरेको पाइन्छ । त्यसलाई पनि हामीले आक्रमण भनेर बुझेका हुन सक्छौँ ।

राता बाँदरले मानिसका विभिन्न क्रियाकलाप छिटो सिक्ने गर्छन् । खास गरी मानिसमा आक्रमण गर्दा उनीहरूले महिला र बालबालिकालाई सजिलै आक्रमण गर्छन् । महिला र बालबालिकाले प्राय: खानेकुरा आफूसँगै लिएर हिँड्छन् । सानो बतासले उडाउने लुगा लगाउनेलाई, शरीर पूरै नढाक्ने कपडा लगाउनेलाई बाँदरले अलि बढी नै फलो गर्छ र सताउँछ ।

सम्बन्धित समाचार