बिहिबार , जेठ २१, २०८३

मनोमन्तव्य : शून्य प्रहरको साक्षी

कवि प्रणयको लागि व्याख्या गर्दैनन्, विरोधको लागि नारा लगाउँदैनन्, इतिहासको दृश्य वर्तमानमा उतार्न पात्रको सहायता लिँदैनन्, दर्शन धेरै छ कवितामा तर भारी शब्द गहन/शब्द प्रयोग नगरीकन कवि लेखिदिन्छन् ।

image

<| मन्तव्य |>

आजको पाठक प्रतिक्रिया या समिक्षामा मन्तव्य पनि अर्कै बनाउँ जस्तो लागिरहेछ । केही कुरा गरौँ लागिरा’छ ।

 कुरा केको भन्दा कविताको, अब आफूले प्रायः या भनौँ अहिलेसम्म लेखिरहेको कविता नै अब जताबाट कुरा गरेपनि आउँछ यतै कविता तिरै, बानी नि … कविता विधामा प्रयोगको हिसाबले धेरै नै प्रयोग भयो, भए, भइरहेछ, गरिरहेका छौँ अवश्यम्भावी हुने नै छ । प्रयोग सबै कविता भित्रै भयो / ढाँचा भित्र । साहित्यिक आन्दोलनसँगै फरक वादमा फरक धारको कविता, आयामेली कविताको बौद्धिक धार मोहन कोइरलाको प्रयोगवाद – झर्रो नेपाली भाषाकै आन्दोलन  साहित्यमा प्रभाव नहुने सम्भावना नै रहेन ! पहिचानवाद, सिर्जनशील अराजकता, तरलवाद अरू अरू… धेरै । नामका हिसाबले नै पनि काव्य विधा कतिकति – दाना कविता, बिम्ब कविता, हाइकु, छेस्को, गीत, गजल, अरू पनि के छन् (अरू हजुरहरूलाई जिम्मा नाम थप्ने !)

अहिले युवा जमातमा धेरै नै प्रिय / लोकप्रिय बनिरहेको छ सुक्ष्म कविता / छोटा कविता (कविता ) । कारण छन् जस्तो कि समाजिक सञ्जाल र मान्छेहरूको व्यस्तता, व्यस्तताको बाबजुद पनि साहित्य पढ्न रुचि हुनेलाई छोटा कविता सुनमा सुगन्ध भयो यो पहिलो कुरा र महत्त्वपूर्ण कुरा । अरू पनि धेरै कारण छँदैछन् हेरौँ केही : सटीक, स्वादिष्ट, सारमा धेरै भन्न सक्ने महत्त्वपूर्ण कुरा युवाहरू यसमा लागेका छन् युवाले थामेपछि / ग्रहण गरेपछि प्रायः कुराहरू लोकप्रिय हुन्छन् । (अँ सायद कारणहरू खुलाउन मैले खासै सक्न चाहिँ सकिनँ !)

तीन-चार वर्ष पहिले “शून्य प्रहरको साक्षी” सङ्ग्रह (महेश पौड्यालको) आयो । त्यसपछि उहाँकै सम्पादनमा “उज्यालोका मालीहरू” एघार कविको एक सय दस कविता प्रकाशन भयो सबै युवा कविको कविता थियो ! यसले बजारमा र युवामा सुक्ष्म कविताको ध्यानाकर्षण त गर्‍यो नै र नयाँ लहर ल्यालो भन्दा फरक नपर्ला !

दुई वर्ष अघिको कुरा लकडाउनको समयसगैँ साहित्यले पनि परिवर्तन बाटो समायो र धेरै पाठक डिजिटल भए र त्यही समय कवि रवि रोदनको ‘पोस्टर कविता’ शृङ्खलाले पनि यसले युवा र स्थापित कविहरूमा पनि धेरै फैलियो साथै कवि विप्लव ढाकालको ‘स्मार्ट पोयम’ शृङ्खला, कवि दाइ सञ्जय सुमनको ‘भित्तामा कविता’ कवि तथा चित्रकार दिदी सुनिता देवकोटाको ‘हस्ताक्षर कविता’ र अरू धेरै अनलाइन स्तम्भ र शृङ्खलाले धेरै पाठक बनायो कविताको / छोटा कविताको / सुक्ष्म कविताको यो बजार – सञ्जालको कुरा ।

अब मेरो तर्क के भने, “कविता कविता नै हो सूक्ष्म, छोटा, लामा, लघु म केही भन्दिनँ ! यस्तो आकार उस्तो आकार मलाई फरक परेन !” (मलाई नपरेर हुने केही पनि होइन ! ) तर जे गरे पनि कविलाई कविता लेख्नेलाई के गरेँ, किन गरेँ र केका लागि गरेँ भन्ने कारण आफूलाई चाहिँ थाहा हुनु पर्छ प्रश्न आए उत्तर तम्तयार तर प्रश्न नआएसम्म व्याख्या नगरौँ, बुझ्ने पाठकको जिम्मा । कविता र अकविता भन्ने पनि कहिल्यै लाग्दैन मलाई चाहिँ, कि कविता हुन्छ कि हुँदैन ! ( यहाँ कविता यस्तो-यसरी लेख्ने कुरा गर्न खोजेको होइन, गर्न आउँदैन । गर्नेहरूकाको (भनिएको) कविता कस्तो छ देखिएको छ / देखेको छु )

लामो नै भएछ, लेखिसके पछि पत्तो पाएँ !

यो भँडास / मन्तव्य / तर्क / पृष्ठभूमि जे भनौँ यसलाई यस्तै थन्क्याएर कामको कुरा तिर …

=======================

प्रिय कवि/गुरु ,

शिवले(गुरु) शनिलाई(शिष्य) बक्रदृष्टिको ज्ञान दिएपछि शनिले आग्रह गरेका थिए रे शिवमाथि त्यो दृष्टिको प्रयोग गर्न दिइयोस् भनेर । तर म चाहिँ आग्रह नि गर्दिनँ र जानकारी पनि नदिइ आफ्नो केही दृष्टि , बुझाइ र पठन अनुभव प्रयोग गर्छु र केही तपाईंबाट सिकेको, तपाईंको लेख पढेर जानेको दृष्टि प्रयोग गर्छु !

परीक्षा दुवैको…
आलोचकहरूले गर्ने सारा तर्क  ( जस्तो कि -गुरुभक्ति धेरै भो ! – गुरु प्रेम किन ? ) सुन्न तम्तयार सहित…
तपाईंको पाठक ।

=======================

अध्याय-१ (पाठकीय प्रतिक्रिया आरम्भ )

कविता सङ्ग्रह : “शून्य प्रहरको साक्षी”
कवि : महेश पौड्याल ।

“म शून्यमा शून्य सरी बिलाएँ ।”- महाकवि देवकोटा

यो काव्य उक्ति/सूक्ति नेपाली साहित्यको बुझेर या नबुझेर धेरैले प्रयोग गर्ने सूक्ति हो । दर्शनको सारंश सूक्ति झैँ छ, हो । यो ध्यानको / योगको आयामको कुरा देवकोटा त योगी थिएनन् भन्नू होला तर थिए/हुन् ।

 कविता आफैँमा ध्यान र योग हो । कवि ध्यान/योगको तेस्रो स्तरमा पुगेपछि ऊ/उ शून्यमा लय हुन्छ विलय हुन्छ । ( स्थुल , सूक्ष्म , शून्य , साक्षी, शिव) हुन त चार हो मैले पाँच बनाएँ कारण छ । शिव हुने यात्रा साक्षी भएपछि बल्ल सुरु हुन्छ, बस् यात्रा सुरु हुन्छ …

“शून्य प्रहरको साक्षी” कविता सङ्ग्रहको नाम । अब, दोष दिन मिल्छ यो देवकोटाबाट प्रभावित हो । हो ? सायद । तर नहुनु सक्छ । किनकि यो दर्शनको अर्को स्तर हो यो शून्यमा लय भएपछि त्यसको साक्षी हुनु लय पछिको चेतना “शून्य प्रहरको साक्षी” ।

यसको भौतिक अर्थ (एकान्त जस्तै अरू) तपाईंले बुझ्नु हुन्छ भनेर त्यसको जिम्मा तपाईंलाई छाडिएको स्तम्भकार जानकारी गराउँछ ।

कवि महेश आफैँ विश्व साहित्य दर्शनको अध्येता र प्राज्ञ पनि, समालोचक पनि यति भएपछि गहनता हुनु स्वाभाविक हुन्छ दर्शनको तर्क र नयाँ तर्क आउनु नै पर्‍यो । भनौँ न समालोचक हुनुको एउटा खतरा …

अध्याय -२

> स्तम्भकार दृष्टि अब कविता तिर लाउँछ <

कविले सङ्ग्रह सुरु आफ्नै व्यङ्ग्यबाट गरेका छन् र कविहरूको अझ भनौँ साहित्यकारहरूको व्यङ्ग्यबाट पहिलो कविता “कर्णाली” र दोस्रो कविता “श्रमिकको कविता” । पहिलो कविता आफ्नो व्यङ्ग्य हुन सक्छ कविको । कारण कथा सङ्ग्रह “त्यसपछि फुलेन गोदावरी” मा छ कथा : ‘कर्णाली वारि पारि ‘। श्रमिकको कविता लेख्नेले श्रमको महत्त्व बुझेको हुँदैनन् र समानता तर्क मात्र छ कविसँग व्यवहार छैन भन्ने कुरा देखाएका छन् कविले क्रमश ।

कविको फरकफरक रुप छन् । कवि कवितामा प्रेमिकालाई भन्छन् :

“प्रिया !
सिसा र शीतमा समाहित हुँदा
सुन्दर देखिने तिमी
कहिल्यै सिसा नहुनु
कहिल्यै शीत नहुनु ।” -| ‘सिसा , शीत र प्रिया’ बाट |-

सिसाले दृश्य देखाउँछ तर सक्कली ? र शीत क्षण भङ्गुर हुन्छ । कवितामा बिम्बसँग खेल्ने कविको आफ्नै कला छ हरेक कवितामा ! “बोझ” कविता जहाँ कवि बाहिरी सौन्दर्यको महत्त्व केवल दृष्टिभ्रममा छ देखाउँछन् । प्रेमीहरूको पीडा होला सायद “यादहरू” कविता । हो कि होइन?

मलाई भन्नू होला सुटुक्क कविता पढेपछि …

-| यादहरू |-

थाहा थिएन
यादहरू यति क्रुर हुन्छन् भनेर ।
विरान , चिसो अन्धकारको पर्दा चिरेर
आउँछन् मुटुसम्मै,
झक्झक्याउँछन् पटकपटक
देखाउँछन् घाउहरूको चण्डीनाच
र भन्छन्, “अझै बाँकी छ रात । “

हो कि क्या हो ? यति पढेपछि मनोविज्ञान तर्फको यसको पाटोलाई कोट्याउनु पर्दैन सायद धेरैको भोगाइ नै होला ।
– हे हे

अध्याय -३

 –) समाजको चित्र (–

समाजको मुल्य र मान्यतालाई ठूलो झापड कवि कुनै विरोध नगरी शान्त बनेरै हान्छन् यो छुट्टै कला हो कविको … हेरौँ कविता –

~ बच्चाको खेल ~

बच्चाको खेल भनेर नहियाऊ, काजी !
तिमी नदी किनारमा सत्रपटक
खेलेर पनि बिहेको खेल
कुमार रहिरहन सक्छौ ?
तिमी मध्य दिनमा, मध्य सडकमा
नाङ्गै हिँड्न सक्छौ ?

[कविता]

कसरी र कहाँकहाँ लाग्यो झापड भनिरहनु नपर्ला !

कवि पुनः समाज लेख्छन् “सहरका छिमेकी” कवितामा यसमा सहरिया समाज/सभ्यता जहाँ दृश्य त धेरै छ तर सिमित परिधिभित्र, मान्छे त छन् तर मानवपन ? कवि लेख्छन् :

सपना देख्ने आँखा बन्धकी राखेर
‘सुसंस्कृत’ सहरिया छिमेकी नजिकै
जोडेँ एउटा घडेरी ।

बागमती उत्तर बग्न थालेपछि
एक एक गर्दै छिमेकी लागे अन्यत्र
अनि पुनः म एक्लो भएँ !

यो बर्खा फेरि
‘बसाइँ ‘ पढ्ने तर्खरमा छु ।

अध्याय -४

=| कविता भूमिको आफू ।=

कविता खोज्न कविलाई टाढा पुग्नु पर्दैन आफैँमा हेरे पनि कविता बन्छन् । बस् हेर्ने दृष्टिकोण चाहिन्छ । यो तर्कको उदाहरण सङ्ग्रहमा कविताहरू छन् प्रमाणीकरणको केही नाम : “आँखा”, “बुद्ध र म”, “आँसु” आदि । अब कविता नै हेरौँ …

-| आँसु |-

आँसु
एक थोपा बगोस् या अविरल
उत्तिकै चर्कनुपर्छ मुटु
उत्तिकै पर्नुपर्छ पीर।

आँसुका थोपा जोखेर
कहाँ जोखिन्छ र हृदयको घाछ ?

केही तर्क या व्याख्या आवश्यक छ र ? हजुरहरू आफैँलाई हेर्नू आफ्नै पीडाको क्षण सम्झनुस् कुरा त हो नि ! रहेनछ त आफैँमा पनि कविता ?

अध्याय – ५

~ कविको फरक गुण र विशेषता ~

कवि प्रणयको लागि पनि व्याख्या गर्दैनन्, विरोधको लागि नारा लगाउँदैनन्, इतिहासको दृश्य वर्तमानमा उतार्न पात्रको सहायता लिँदैनन्, दर्शन धेरै छ कवितामा तर भारी शब्द गहन / शब्द प्रयोग नगरीकन कवि लेखिदिन्छन् सरल र तरल बनाएर, जटिल शब्द संयोजनमा कविता लेखिएको छैन । एउटा कठिनाइ भने छ रसास्वादन पश्चात्, पठन पश्चात्‌को  ग्रहण गर्ने कुरा पाठकको जिम्मा हो । एउटा कविताले तान्ने काव्य धारा, दर्शन धारा, भाव धारा र झङ्कार धान्ने र थाम्ने, कथाको पृष्ठभूमि बनाउने र बुझ्ने सबै कार्य साक्षी पाठक / कविता प्रेमीको !

तपाईंलाई म केही कविता तिर दृष्टि लगाउन कविता उद्धृत गर्छु सङ्ग्रहको । लाग्नेछ के हो यो ? बुझ्नेलाई बुझ्ने श्रीखण्ड नबुझ्नेलाई खूर्पाको बिँड जस्तो लाग्न सक्छ …

~ आँखा बाँडिएपछि ~

आँखा बाँडिएपछि
कृष्णले भने , “घर टुट्यो !”
आँखा बाँडिएपछि
राधाले भनिन् , “बन्धन टुट्यो !”

————————————————-

~ ब्रह्मपुत्र ~

टाढा हुँदा ब्रह्मपुत्र
तीर्थ हुँदोरहेछ
ब्रह्मपुत्र घरैभित्र पसेपछि
कथा फेरिँदो रहेछ ।

————————————————-

( मैले खासै नबुझेरै उखान प्रयोग गरेँ तर सोझो अर्थ आफू अर्थ्याएर यो कुराबाट भाग्ने तर्खरमा छु ।)

“आँखा बाँडिएपछि” कविता सम्बन्धको कविता हो, अविश्वासको कुरा हो, दुई दृष्टि र व्यक्ति सापेक्ष कुरा  समाजको पृष्ठभूमिमा ! राधाले भनेको कुरा विद्रोह छ तर लाग्दैन त्यो विद्रोह हो । ( तपाईंलाई लाग्यो कि लागेन ? ) तर हो ।

“ब्रह्मपुत्र” कवितामा आस्था र अवस्थाको एउटा छुट्टै दृष्टिकोण प्रस्तुत छ ! शब्दमा र शब्दको अर्थमा कविताको भाव , कथा छैन ! तीर्थ आस्था हो र नदी घर पस्नु (बाढी)को बिम्ब हुनसक्छ र कथा अवस्था अनुरुप फेरिन्छ ! कथा सुरु…

धेरै छन् यस्ता कविता जहाँ कविको यस्तै शिल्पको प्रयोग छ ।जस्तो कि : “पीडा” , “हुरी” , “दुई टुक्रा जुन” “सम्राट र बच्चाहरू” आदि कविताहरू…

अध्याय – ६

।। कविको फरक फरक रुप र केही समस्या ।।

<१>

कविले कवितामा उपदेश खासै दिएको देखिँदैन, सन्देश भने धेरै कवितामा छ त्यो पाठकले ग्रहण गर्नुपर्ने कुरा हो । कविताहरू जस्तै : ” तारा र उचाइ, बोझ, स्वाभिमानको बोझ, हार जीत, जमिन, अनुरोध, पुल, सियो ” आदि कविता… । सबैलाई नलाग्न सक्छ मलाई लाग्यो …

कविले राजनीतिको व्याख्या विश्लेषण समर्थन गरेको देखिँदैन तर राजनीतिक कविता भने छ ! हुन त धेरै कविता छन् तर सिधै देखिने कविताको कुरा मात्र उद्धृत गरौँ…

| सिमाना | कविता , कवि बोल्छन् कविताद्वारा मान्छेको देशको सिमाना वास्तवमा मान्छेको हृदय भाँडिएकाले हो भन्ने तर्क छ । यो मान्छेको संवेदना माथिको राजनीति नै वर्तमान दुनियाँको !

“सम्राट र बच्चाहरू” कवितामा कविले उठाएको बिम्ब इतिहास कै हो तर राजनीतिक हिसाबको छ केही हदसम्म !

<२> विज्ञानका कुरा र मनोविज्ञान

 कविता ” जूनकीरी ” छुट्टै मिठासको कविता प्रतीकात्मक अर्थ छुट्टै होला नै तर जुनकीरी देखिनँ रात पर्खनु पर्छ । यो कविताको तर्क विज्ञानको भाषाले नै हो भन्छ ।

अर्को कविता छ , “समुन्द्र” यसमा कुरा नयाँको प्रदुर्भावको हो , मनोवृत्तिको कुरा पनि हो र त्यो दृष्टि बिम्बलाई सावित विज्ञानले पनि तर्कले गरिरहेको छ ! कवितामा कविले परिभाषा लिएको भने छैन बरु नयाँ तर्क भने गरेको देखिन्छ ।

 “जल्लाद” भयानक कविता हो रसको हिसाबले मेरो दृष्टिमा । यो मनोविज्ञानको दृश्यको आधारले मलाई टक्क रोकेको कविता हो।

<३> । समस्या ।

( साँच्चै गुरु प्रेम धेरै देखाइस् भन्नू होला – हे हे )

समस्या भन्ने काम समालोचकको आफू समालोचक परीएन, यति भनेर भाग्दा हुन्छ मैले । तर केही कुरा चाहिँ भन्नू छ पाठक दृष्टिले भेटेको कुरा:

कविता लाग्ने सरल हो, आकार सानो हो । कविता त्यति मात्र हो त ? – होइन । एउटा पाठकको प्रिय भएको सङ्ग्रह सबै कविता बुझेर प्रिय भएको हुन्छ होला र ? मेरो चाहिँ धेरै नबुझेर प्रिय हुन्छ – अजिब तर वास्तव । र यो मेरो प्रिय सङ्ग्रह कारण धेरै नबुझेर !

प्रशंसा छोडेर बाटो मोडौँ ~

कविता धेरै नै अमूर्त छन् कारण बौद्धिकताको प्रदर्शनी होइन ! भाषाको क्लिष्टता पनि होइन ! शब्दकोष खोज्नु पनि पर्दैन अर्थ नबुझेर तै पनि अमूर्त छ यो भलै कविको सफलता हो शिल्पमा, शब्द चातुर्यमा तर अर्कोतर्फबाट त समस्या हो !

 पाठक लोभिन्छ तरङ्गीत हुन्छ तब जब बुझ्छ ! प्रायः कविताले त्यो ल्याकत राख्छन् तर सबै पाठकलाई त्यो नहुन सक्छ कारण त्यो वक्रोक्ति छ धेरै बुझ्न सुक्ष्म दृष्टि चाहिन्छ जुन सबैमा हुँदैन !

 दर्शनको सारभूत तत्त्वहरू छन् र छन् सूत्र र मन्त्रहरू …

“अब यो हुनु गजब हो नि समस्या भन्दैछस्” भन्नू होला ?

– कुरा सिधा भनौँ भने कविताले धेरै भार बोकेका छन् पाठकले त्यो बोकेनन्, बोक्दैनन् ! भर्खर सिक्दै गरेको म जस्तैलाई त लोभ्याउने नै छ तर बुझिने भने छैन ! सुरु नहुँदै सकिन्छ, के लेखेको हो ? हो ? भन्ने धेरैलाई हुन सक्छ । कारण त्यही तरीका, त्यही सूत्र ।

समालोचक महेश पौड्यालले कवि महेश पौड्याललाई सुक्ष्मतर स्तरको बृहत् रुपको लागि पक्कै पनि सहायता दिएकै हुनु पर्छ र कवितामा त्यो केलाइएको एकरुपता देखिएको पनि छ ! तैपनि कतै कतै कविको समस्या या छापाको समस्या जे भनौँ छ नै ! अर्को कुरा शिर्षकहरूमा एउटै शब्द धेरै ठाउँमा पटकपटक प्रयोग भएको छ ! शब्दका धनी लेखकमा यस्तो समस्या किन प्रश्न उठाउन त मिल्छ नै !

“एक्ल‍ोपन” कवितामा कवि पृथ्वी , नदी , समुन्द्र जुन र ताराहरूक‍ो बिम्ब उभ्याउँछन् र लेख्छन् :

” उफ ! एक्लोपन पनि एक सिद्धान्त रहेछ । “

गजबको छ नि कुरा त । पढेपछि आहा ! लेखेको रहेछु तर । जे गर्नु “तर”ले गर्छ … सिद्धान्त शब्दले अर्थ के बनायो ? सिद्धान्तमा विवाद हुन्छ , खण्डन हुन्छ , व्याख्यान हुन्छ सिद्धान्तले प्रकृतिको अध्ययन गर्छ । तर पृथ्वीको एकल यात्रा, घाम एक्लो हुनु, जुन एक्लो हुनु प्रकृति कि ? प्रकृतिको नियम कि प्रकृतिको सिद्धान्त ?

कवितामा सैद्धान्तिक कुरा खोतल्ने जिम्मा , विश्व साहित्यसँग दाँज्ने काम तुलनात्मक अध्ययन गर्ने समालोचकहरूको जिम्मा छोड्दै अब अन्तिम गन्तव्य तिर लागौँ …

————————————————————

प्रिय पाठक,

सङ्ग्रहको आँखा लगाउनै पर्ने कविताहरू फेसबुक तिर छन् आज धेरै पुरै कविता यता लेखिएको हुनाले सूक्ति हरफहरू तिर नलैजाने भएको छु । आरोप आउन सक्छ सबै कविता राखेपछि सङ्ग्रह पाठक प्रतिक्रियामा पढेपछि सङ्ग्रह तिर आँखा किन लाउनु ? हे हे …

आरोप लगाउँदै आरोपमुक्तिको खोज !
प्रतिक्रिया कविताले चित्त बुझाउन अनुरोध गर्दै …
तपाईंको स्तम्भकार ।

—————————————————————–

 । प्रतिक्रिया कविता ।

~| शून्य प्रहरको साक्षी |~
। शून्य – लय ।
१.१. सत्य
सृष्टिको लयमा
धुन फेरिरहन्छ सत्य समर
परिवर्तनको कथा : सत्य कथा सँगै !
१.२. लज्जा बोध
परिवर्तन प्रश्न हो !
पानी र सपना दुई अनुभूतिका एक भूगोल ।
जिन्दगीको पर्यटनमा विजेताले  धैर्यको अनुरोध गरेपछि
आजको दिन ब्रह्मपुत्रमा
अँध्यारोको बाली र जीवनका मालीहरूलाई
गहिराइसम्म ध्यानले
मानवता मरेको/मारेको स्वीकारोक्ति दिएर आएँ !
१.३. संग्राम
जुन अन्तिम युद्ध
थोपा थोपा सबुतको पहिरो थियो !
एक्लोपनको धरती भएपछि
वर्षा र प्रेम जीवनका फूल बुझेर
अभिलेखमा बुद्ध र म बाँडियौँ
सपनाको वैधानिकतामा ।
– प्रहर –
२.१. अबोध
कठै जिन्दगी !
मान्छे र पुतली सपनाको पुलले
स्वतन्त्रताको यादहरूमा छुट्टिए …
सियो हो जुनकीरी
जीवन र मृत्युको
सम्राट र बच्चाहरूको …
२.२. अभिमान
खडा छ दम्भको पर्खाल पहाड र हामी बिच !
स्मृतिको गाउँबाट पिल्पिले बत्तीको सपना
एक रस बन्थ्यो प्रकृतिको वसन्तसँगक‍ो सम्बन्ध र पर्खाइ झैँ !
२.३. खेल
पहाडको बत्ती
रहस्यको जमीनमा अनुमति बिनाको खेल हुन्थ्यो !
वृद्ध बाले सुनाउँछन् कि सुनाउँदैनन् छोरीलाई ?
आफ्नो बाल्यकाल र यी दृश्यहरू
शून्य प्रहरको साक्षी बनेर …
~ साक्षी :~
३.१. कवित्वको पतन
लागिरहेछ ,
काव्य सरोवर पनि त रहेछ कर्णाली
उसले पनि त सक्छ नयाँ सपना सजाउन आँखाहरूमा
आँसुलाई ऐना बनाउने पीडाको संविधान मात्र देखाउने
मान्छेको जात के हो ?
सिमाना जुनताराको देशमा छैन !
बर्षौँ देखि लेखाजोखा गरिरहेछ धरहरा
तानाशाहको लास र जल्लादको दृष्टिकोणको !
आँखा बाँडिएपछि जन्मिँदैन श्रमिकको कविता
सोच्छु , अझै छ अश्वत्थामासँग स्वाभिमानको बोझ ?
शरीरको भाषामा दूरीको ऐना देखाइरहेकै छ प्रेम उत्सव
दुई टुक्रा जूनमा खण्डित छ इण्डिया गेट ! मुटुहरूको ।
३.२. प्रिय कथा
“प्रिय , म तिमीलाई माया गर्छु”
प्रणय पछि साक्षी बोल्थे :
” जसरी भार छ तिमीलाई
तिहारमा सपना र भाइको पर्खाइ !
कपास श्वासको सार्थकताको प्रश्न छ यहाँ ?
घर-झगडामा हार-जीतको खेल नखेलौँ भ‍ो !
हक दाबी त हाम्रो पनि थियो भँगेरामा !
मानवता दृष्टि हो ! बुझेँ उमेरको गहिराइमा ! “
३.३. संवेदनाको सागर
आँखाको प्रेम-संवादपछि
मानस बादलको समुन्द्रमा एकै भयौ आँसु र तिमी
पटाक्षेपमै अड्किरह्यो सम्बन्ध – युद्ध र मुस्कानमा !
आँसुको रङ्गमा मुस्कानको खेती गर्ने रहर
कहाँ थियो होला र ? सहिदकी विधवालाई !
शून्य प्रहरको साक्षीले बुझ्यो कि बुझेन यथार्थ ।

~ विश्राम ~

सम्बन्धित समाचार