कवि आफू स्वयं पनि समालोचक भएकोले त्यो समालोचकिय दृष्टि पनि कवितामा छन् र कविता लेखन र छनोटमा पनि समालोचक महेश क्षितिजले कवि महेश क्षितिजलाई साथ दिएको हुनुपर्छ ।
|~ मन्तव्य ~|
विडम्बना नै भनौँ होला, नेपाली साहित्य बजारको जहाँ राम्रो साहित्य कृति कम देखिन्छ, कम बुझिन्छ, कम पढिन्छ । अहिलेको बजारको हालतको त कुरै नगरौँ । केही साहित्य रुचि हुने मित्रहरूलाई / अग्रजहरूलाई अवगत नै छ ! साहित्य साहित्यिक भिडमा होला तर वास्तविक साहित्य यो भिड भन्दा पर नै छ ।
अब यत्रो बखान किन गरेँ ? अहिले आफैँलाई प्रश्न गरिहेछु, सायद निराशा !
तपाईं यदि साहित्य पढ्न रुचाउनु हुन्छ भने लेखकहरूलाई कम नै हेर्ने गर्नुस् । यो भन्दा विरोध नहोला ! भए झनै गजब । स्पष्टवक्ता पर्ने वक्रचक्र ! यथार्थको अर्थ मोडिने खेल सिधासिधा चिन्न चाहनुहुन्छ भने आफू बलियो हौँ पहिला नत्र घृणाले अग्रजहरूप्रति भएको सम्मान गुमनाम भएको पत्तो पाउन गार्हो हुनेछ ! यो अतिशयोक्ति होइन ! न कुनै वादको कुरा !
पुन: प्रश्न सोध्छु आफूलाई, यो रोष किन ?
सायद केही गुमनाम भयो !
(के गुमनाम भयो ? यो हजुरहरूले नसोध्नुस् ल ।)
निराशा र रोषलाई मनबाट मन्तव्यमा राखेर कामको कुरातिर लागौँ …
{ प्रिय कवि / दाजु,
कविता सङ्ग्रह बजारमा ल्याउनु भयो पहिलो कविता सङ्ग्रह र बजारमा ल्याउनु भएको पहिलो कृति पनि “एक्लो महारथी ।” हजुर आफू पनि समालोचक कविलाई न्याय गर्नुस् !
यो साँच्चै हल्लैहल्लाको देश हो । तपाईंले पनि थोर बहुत हल्ला गर्नुपर्यो ।
साथै ‘एक्लो महारथी’ शीर्ष नाममा कविता लेख्नु भएन । अब मैले लेख्ने छु यसको लागि पनि साधुवाद सहित ।
तपाईंको पाठक / भाइ । }
भूपिको शब्द “यो हल्लै हल्लाको देश हो” चोरेरै लेखेँ बाध्यता नै भनौँ ! बजारमा कृति आएको एक बर्ष धेरै नै भयो होला तर हल्ला भएन ! तपाईंले खासै नाम सुन्नु भएन होला, सुनेको भए पढ्नु भएको छैन होला । अब राम्रो कृति पढ्नु पर्छ भएका समस्याहरूको कुरा गर्दै गरौँला …
कविता सङ्ग्रह : “एक्लो महारथी”
कवि : महेश कार्की क्षितिज ।
सङ्ग्रह भित्र ५२ वटा कविता छ, अझ भनौँ धेरै कवितामा धेरै कथा छन् उपन्यास छन् । तपाईंले भन्नू होला के भन्छ यो राजु कवितामा काम नपाएर कथा/ उपन्यास हुन्छ ? कसरी हुन्छ ? नपत्याए पढ्नुस् ! नमुना उदाहरण दिन्छु :
“निधारको लेकबाट नदी नबग्नु हो भने पसिनाका
असारको हरियो पहाड अडिने थिएन हत्केलामा
छातीको टारीखेतमा तराई नझुल्नु हो भने सुन बोकेर
सँगिनी खेल्न मङ्सिर आउने थिएन पहाडको आँगनसम्म
मैले उघारेको छु र न पूर्वी धराको झ्याल ढोका
सभ्यता बोकेर घाम एकाबिहानै छिर्छ राजधानी उठाउन ।”
[ “हलीको मागल” कविताबाट ]
सङ्ग्रहको अन्तिम कविता एक ग्रामीण दृश्यमा लेखिएको एउटा स्वाभिमानको कविता एक कृषकको आवाज । सशक्त कविता हो ‘हलीको मागल’ तर नि कविता बौद्धिक छ किसानले यो कविता पढे बुझ्दैन !/बुझ्दैनन् ! (यो कविताको अन्तिमतिर मलाई दिनेश अधिकारीको “हर्कबहादुर” कविताको याद पनि आएको थियो ।)
{ दुर्घटना : हामीहरूले लेखेको भुइँमान्छेको कविता भुँइमान्छेले बुझ्दैनन् यो विडम्बना हो तर ययार्थ हो । अब कविहरूले यो कुराबाट मुक्त हुन् सक्नु पर्छ , क्षितिज दाइको त एउटा कविताको कुरा भयो यो प्रायः सबै कविको समस्या हो ! }
कविको कल्पना शिल्प, बिम्ब संयोजनको कलाकारी, भाव वेगको संयमितता, धेरैलाई थोरैमा भन्न सक्ने क्षमता, फरक कोण, फरक चित्रणले सम्पन्न छ भन्दा अतिशयोक्ति न होला । कवि आफू स्वयं पनि समालोचक भएकोले त्यो समालोचकिय दृष्टि पनि कवितामा छन् र कविता लेखन र छनोटमा पनि समालोचक महेश क्षितिजले कवि महेश क्षितिजलाई साथ दिएको हुनुपर्छ ।
कविले समाजसँग संवाद गरेका छन्, समाजलाई उसको खोल देखाएका छन् (“वृद्धाश्रमको यात्रा” कवितामा ), सहरलाई उसको स्वरुप देखाएका छन् (“काठमाडौं” र “सहरका मान्छेहरू” कविताले), मान्छेलाई उसको मानसिकता, विदेशलाई देश र देशलाई विदेश देखाएका छन् (“रेगिस्तान”, “देशको अनुहार” र “सपनाको विवरण” जस्ता कविताले र कवितामा विदेश जानेहरूको दुःख यसरी लेखेका छन् मानौँ, कविको स्वयंको अनुभव हो । यो कविको कवितामा अर्को महत्त्वपूर्ण गुण हो !
“ऐना” मन परेको कविता । म बोल्दिन कविताको अंश बोलोस् …..
(त्यही दिन उसले
सम्बन्धबाटै हटाइदियो मलाई
दुःख पोखेँ मनमनै र आफैँलाई भनेँ
“सम्बन्ध रहुञ्जेल ऐनालाई सिसा नभनिदोरहेछ ।”)
[“ऐना” कविताबाट ]
सम्बन्धको अन्तर कुन्तरका कुरा ऐना कविता पछि कवि अर्को कवितामा यसरी लेख्छन् :
~ अन्तर्कथा ~
सिन्दुर हालेर सकिएपछि
प्रेमीले भन्यो,
“राजीखुसी जेल पसेँ म तिम्रो हृदयमा
बन्दी हुनु भनेको सबैभन्दा स्वतन्त्रता हुनुरहेछ ।”
प्रेमिकाले भनी,
“सबैभन्दा स्वतन्त्र र शोभायमान
काँडा सहितको बोटमा फुलेको गुलाफ छ
मैले वर्गीकृत विज्ञापनको पाना च्यातिदिएँ ।”
———————————————————————
कविताले नपत्याइँदो पाराले विद्रोह देखाएको छ । देख्नुभयो ? सम्बन्धको युद्ध कविले “युद्धविराम” कवितामा पनि देखाएका छन् ।
सङ्ग्रहको पहिलो कविता, “क्रूर गुरु” जहाँ कविको बिम्ब संयोजनको एउटा छुट्टै रुप छ कवि बोल्छन् :
” छोडिएको पाउरोटीतिर
सडक बालक यसरी तानियो
उसका लागि समय क्रूर गुरु थियो !
….………………………………
….………………………………
ऊ सोच्न थाल्यो – कुकुरले सुघेँको पाउरोटी
खाऊँ कि नखाऊँ ? ”
[ ” क्रूर गुरु ” बाट ]
एउटा भोक र संघर्षको दृश्य ! कविले अन्तिममा ऋषि मार्कण्डेयलाई बिम्बको रुपमा जोडेका छन् त्यो अवस्था र विवस्ताको समयको पौराणिक पात्र, यो शिल्पले मलाई लोभ्याएको हो । यो कवितामा पुनरावृत्ति भने भएको छ दृश्यको !
पुरै सङ्ग्रहमा आँखा लगाउँदा के देखिन्छ भन्दा कविको महाभारत र महाभारतका पात्र तिर धेरै नै झुकाव, लगाव र प्रेम देखिन्छ विशेषतः कर्ण र एकलव्य तिर । झन्डै नौ / दस कवितामा महाभारतको प्रसङ्ग , पात्र र प्रभाव देखिन्छ ! यो शिल्पले दुई युगलाई जोड्ने प्रयत्न भने गरेको छ !
“गाउँमा छन् गीतहरू” कविता सङ्ग्रहको मन परेको कविता मध्ये एक हो । कवि गाउँको सौन्दर्य र समताको समगान गर्छन् र गाउँ जाने भित्री आह्वान पनि गर्छन् ।
मलाई मन परेको कविताको सुचीपत्र लामै होला ! हेरौँ ….
“हलीको मागल”, “घाटको दर्शक “, “मोक्ष”, “ढुङ्गा”, “आफ्नै कथाको प्रतिध्वनि”, “खुसीको क्षेत्र फल”, ” बागी ठगुनी” आदि …
|< फरक दुई रुप >|
‘बागी ठगुनी’, ‘घर फर्केकी नातिनी’, ‘अँध्यारो घाम’ जस्ता कवितामा कविले नारी विद्रोह, बाध्यता र विवशता देखाएका छन् ! समानताको आह्वान छ ।
एउटा पुरै कविता हेरौँ…..
‘घर फर्केकी नातिनी’
” हरेक दशैँमा-
तिनै हातले टीका लगाइदिँदै
भाग्यमानी हुनू भन्ने आशीर्वाद दिनुभएको
याद छ तपाईंलाई हजुरबा ?
अब कुन खालको आशीर्वाद दिनुहुन्छ मलाई ?
गुमको होस् फर्काएर अस्पतालबाट
घर फर्केकी छु
तपाईंबाटै बलात्कृत
म तपाईंकै बाह्र वर्षकी नातिनी । “
अर्को कविता “रेगिस्तानमा सगरमाथा” कविता विदेशिएको पति र पत्नीको मनोविज्ञान लेखेका छन् ! दुवैमा हुने यौन चाहनालाई कविले सूक्ष्म रुपमा सभ्य भाषामा देखाएका छन् । र अचेल बढिरहेको समाजको अर्को कुरुप प्रवृत्ति पति सम्पत्ति लिएर मनचाह पुरुषसँग पुनः विवाहा गर्ने सन्तान मारेर जाने जस्तो कुरा चित्रण गरेका छन् ।
यो कविमा भएको विरोधाभाषपूर्ण रुप हो कविताको ! तर यो लेखिनु पर्ने विषयमा कविले लेखेका छन् समयसँगै छ कविता यो मुख्य कुरा हो !
“विधुर पुरुषको कथा” कवितामा कविले एकल पुरुषको पीडा छामेका छन् !
‘प्रसवकथा’ कवितामा पनि कविले कम लेखिएको कुरा लेखेका छन् :
“खबर हो अप्रिय पनि आउन सक्छ
सुनाइदिनेलाई त के छ र ?
भनिदिन्छन् सजिलै –
‘माफ गर्नुहोला हामीले बचाउनँ सकेनौँ । ‘
त्यतिबेला प्रसुतिगृह बाहिर
हत्केलाबाट खसेको आकाशमा
मर्छ धरती पुरुषको मानसिक प्रसवको भ्रुण
कहिले लेख्छ समाजले
लेख्न बाँकी पुरुषको कथा ? “
वादहरूको हावी साहित्यमा भएसँगै केन्द्रविन्दुमा धरातल छैन ! समाज छैन ! यो अहिलेको साहित्यको अवस्था हो ! भन्नू पर्ने कुरा के छ भन्दा कवि यो वादको प्रभावबाट केही हदसम्म परै रहेका छन् !
~। कवि र कविता ।~
कविताहरू पढिरहँदा लाग्छ, कविको कथा प्रेम र उपन्यास प्रेम धेरै प्रबल छ । ‘मैले हेरिरहेको नाटक’, भग्न इतिहास कवितामा देखिएको कथ्य कताकता कथाको पात्र बोले जस्तो / उपन्यासको पात्र बोले जस्तो देखिन्छ ! यो उहाँको शिल्प विधान हो । कविताप्रति सबैको आ-आफ्नो मत हुन्छ ! उहाँको पनि होला ! कविता यस्तै हुन पर्छ भनेर मैले दावी गर्न सक्दिनँ र मेरो काम पनि होइन । कथन शिल्प र मिठासको उहाँको आफ्नै शैली छ, यो सुन्दर पक्ष प्राय कवितामा छ ! बुझ्न कवितालाई खोतल्नु पर्छ यसको छुट्टै मजा लाग्छ कविता पढ्दा । *खोतल्नु परे घोत्लिनु परे कविता मीठा लाग्छन् मलाई* यो मेरो बानी हो । 🙂
“अरू समस्या छैनन् ?” भन्नू होला ।
उत्तर : “सिद्धान्तको चस्मा छैन र पो मार्यो नत्र समस्याको फेहरिस्त हुन्थे होलान् ! सिद्धान्तले आफू अनुरुपको मात्र हेर्छ रे नि त ! “
हुन त अशुद्ध छन् केही केही , यहाँयहाँ छन् भनौँ भने “सम्पादक दाजु” हाँस्नु होला । मनमनै भन्नू पनि होला , “आफूले चाहिँ कत्ति त शुद्ध लेख्ने जस्तो”
समस्या नि !
[प्रिय पाठक,
सङ्ग्रह पढ्नु भएको छ ? छ भने गजब । छैन भने ल लागौँ यात्रामा र निहालौँ केही कविता अंश । चित्र बनाउँ मस्तिष्कमा कविताहरूको , अर्थको र भाव भूमिको लागौँ है त …..
” त्यही बागी ठगुनी म
निस्किएँ त्यो घरबाट
बन्द गरेँ देख्न बिहेको सपना
र खोलेँ यो अनाथालय
अहिले म सबैकी आमा भएकी छु ।”
-। ‘बागी ठगुनी’ बाट ।-
“बुवा खोज्दै हुनुहुन्थ्यो-
निधारबाट हाम फालेको पसिनामा
खुसीको ब्रह्माण्ड ”
-। ‘सपनाको विवरण’ बाट।-
“आगो सुनामीले पोलेको पत्तै भएन
पीडाका हजार आकाश खै कतिबेला खसे ?
रेगिस्तानमा लड्यो उसको सगरमाथा । ”
-। ‘रेगिस्तानमा सगरमाथा ‘ बाट।-
“महलका मान्छेलाई
छातीमा राखेर सुनको फूल
ल्याइको थिएन घाट ।
सडकका मान्छेको छातीमा पनि
वर्जित थिएन फूलको माला ।”
-। ‘समतासूत्र’ बाट।-
हिंसाका पक्षमा लडिरहेका सेनापतिले
आफूभित्रको घमण्ड निकाल्दै भने ,
” प्रकृतिलाई जित्न नसक्ने तिमीहरू कस्ता महारथी ?
ओ कायरहरू ! फर्क रणभूमिमा
नत्र हामी जितको माला पहिरेर
तिमीहरूलाई दास बनाइदिन्छौँ । ”
-। ‘कङ्कालहरूको सन्नाटा’ बाट।-
लास बनेको – ऊ
जलेपछि ‘स्वर्गीय’ शब्दबाट सुरु हुन्छ
उसको परिचय ।
-। ‘परिचयको प्रारम्भ’ बाट।-
लाग्यो
कल्पनाको सीमातीत स्वतन्त्रताभन्दा
फरक हुँदोरहेछ यथार्थको संसार ।
-। ‘स्वतन्त्रताको विधान’ बाट।-
छातीको देश देखाएर जब म सालिकसँग रोएँ
तब सालिकहरूले भने ,
” हामीसँग रोए जसरी
सरकारको ढोकामा गएर रुने काम नगरे । ”
-। ‘आतङ्ककारीको मृत्युवरण’ बाट।-
भर्चुअल यथार्थ बाहेक बाँकी के छ सहरमा ?
-। ‘सहरका मान्छेहरू ‘ बाट।- ]
कविता सङ्ग्रहको बारेमा र कविताका कुरा सहित कविता अंश पनि सकिएको सुचना । 🙂
===============================
अब प्रतिक्रिया कविता :):
~ एक्लो महारथी ~
(युद्धको यात्रा)
क्रुर गुरु
सहरका मान्छेहरूलाई
स्वतन्त्रताको कथा भन्छ
प्रकृति र मान्छेको गीत गाएर ।
गुरु बोल्छ :
“गाउँमा छन् गीतहरू ।”
आफ्नै कथाको प्रतिध्वनि लिएर
अन्तर युद्धमा घर फर्केकी छ नातिनी !
केही प्रश्न बोकेर अस्तित्व र संस्कारको
समाजको मान्यतालाई
प्रश्न छ ,
“कुनकुन उमेरको कामबासनाबाट जल्नु पर्छ चेलीबेटी ?”
जसरी प्रश्न हो काठमाडौं सभ्यतालाई !
यो युद्धको यात्रा हो ।
सावधान !
घटनाको क्रम छैन र छैन उपक्रम
भेटिँदैन उद्गम् !
यस्तै नियति लिएर जन्मिएको छ समय !
यो युद्धको यात्रा हो !
अन्तर्कथाको भग्न अवशेषहरूमा
उसको भग्न भविष्यको चित्रको परिकल्पना छ !
खुसीको क्षेत्रफल फरक कथामा ऐना बन्छ सम्बन्धको
प्रसवकथामा सीमान्त खुसीको युद्ध बन्छ स्वतन्त्रताको विधानले
विधुर पुरुष र विद्धवा स्त्रीको कथाको परिचयको प्रारम्भमा
पत्थर हृदय , कङ्क्रिट संवेदनालाई मोक्ष दिन्छ : कङ्कालहरूको सन्नाटाले ।
यो युद्धको यात्रा हो !
(अर्को महाभारत ! )
यहाँ छन् वर्जित सपनाहरू !
र फिरादपत्रको लाम
नाङ्लो पसलसँग छ हजार सपनाको विवरण !
हलीको मागल भएरै पनि पसिनाका हजारौँ बुद्धहरू !
देशको अनुहार स्पष्ट छ वृद्धाश्रमहरूमा
सम्पन्नताका तस्वीरहरू ।
रेगिस्तानमा पल्टिन्छ !
देशको सपना , देशको चित्र
आतंककारीको मृत्युवरण गरेर ।
यो युद्ध हो
बाटो गुमेर ठेगाना खोजिरहेछ सगरमाथा रेगिस्तानमा ।
(महाभारत पछि )
कर्ण एकलव्य हो । एकलव्य अर्को कर्ण ।
जराको इतिहासबाट
पुनः नियतिले लेख्नु पर्छ अर्को युद्ध !
यो अँध्यारो घाममा ।
अर्को महाभारतको युद्धविराममा
शासकको अन्तिम यात्रा हुन् सक्छ !
र समतासूत्रले बाँधेर संस्कृति बन्छ खुलामञ्चमा पाठशाला ।
घाटका दर्शकहरूले
घाट मै पढ्नेछन् नपढेको चिठी एक्लो महारथीको
बुझ्नेछन् आशाको क्षेत्रफल र सपनाको सिमाना ।