बिहिबार , जेठ २१, २०८३

मनोमन्तव्य: वेदबारे केही कुरा

image

~ मन्तव्य ~

तपाईंलाई लाग्ला (के यसले संस्कृत बुझ्छ र ? यो राजु भन्ने मान्छेले संस्कृतको छन्द/विज्ञान जान्दछ र ? अझ वेदको सूक्तहरूमा लेख लेख्छु भन्छ, सहज छ र ? )

तपाईंलाई जानकारी गराउँ, अहिले वेद पढ्न संस्कृत भाषा बुझ्नुपर्छ भन्ने छैन । इच्छा हुनु पर्‍यो, सहजै नेपाली/अङ्ग्रेजीमा या हिन्दीमा जुन भाषामा तपाईंलाई सहज हुन्छ, त्यसैमा पढ्न सकिन्छ । बुझ्ने कुरा आफ्नो होला, हेर्ने दृष्टि फरक होला तर, बुझ्न सकिन्छ । बुझ्नु पर्छ, बुझ्न लाग्नुपर्छ ।

नेपालीको रोग नै भनौँ विदेशीले “यो हो / यस्तो हो” भनेर प्रमाणपत्र नदिएसम्म पत्याउनै गार्‍हो ! अब ऋग्वेदलाई स.रा.सले विश्व सुचीमा राखेर प्रमाण दिएको छ, त्यो पनि मानव सभ्यताको प्राचीनतम् ग्रन्थको उपमा दिएर । अब प्रमाणको लागि यसमा केही बोल्नु परेन । बोल्नेछन् त वेदको मण्डल, सूक्त , मन्त्र (ऋचा – उत्कृष्ट मन्त्र ) ।

जसरी म लेख लेख्ने छु, त्यो न धर्मको प्रचार हो, न त विद्वताको प्रदर्शनी । न पाण्डित्य, न कुनै वाद, न कुनै ऐजेण्डा । छन्दको छलफल पनि होइन । मेरो कोसिस सूक्तमा निहित दर्शन, चिन्तन र विज्ञानको बारेमा लेख्ने कोसिस हुनेछ ! अरू केही कुरा गरौँ है त (?)

वेद हुन त कुनै किताब होइन । ( जोड्को झट्का त लागेन ? )

लागेन ? यो ठिकै हो । लाग्यो ? (यो मेरो विरोधको थालनी …!)

भन्नूहोला, “वेद चार वटा त हो नि । तँलाई यत्ति पनि थाहा रहेनछ के लेख्छस् वेदका सूक्तको बारेमा ?” हे हे …

मुख्यतया वेदलाई “बोध” भनिन्छ । अझ उत्कृष्ट शब्दमा ‘अपौरुषेय !’

मान्छेको समयभन्दा पहिलाको ज्ञान । हो, मान्छेको समयभन्दा पहिलेको मानव सभ्यताभन्दा पहिले केही थिएन र ? हुनसक्छ अहिलेभन्दा धेरै थियो । पृथ्वी-सौर्यमण्डल-ब्रह्माण्ड-समान्तर ब्रह्माण्ड-अनेकन ब्रह्माण्ड-अनन्त ब्रह्माण्ड; यी यावत वैश्विक सृष्टिको कति अन्तरालपछि मान्छे जन्तुको उत्पत्ति भएको हो, जसको विकास अझै हुँदैछ (या भनौँ कि स्तर घटिरहेको छ) ? यो विज्ञानले पनि केही बोलेकै विषय हो । “यो सबै अन्तराल र कालखण्डमै सर्वप्राचीन ज्ञान र सर्व नवीन ज्ञान नै वेद हो !” यो वेदान्तको उक्ति हो मेरो होइन ।

[यो पृष्ठभूमिमा बसेर के भन्न सकिन्छ भने “संसारमा भएका सबै क्षेत्रका  कर्म, न्याय, विज्ञान, औजार-उपकरण, धर्म, निति, नियम, कला, दर्शन सम्बन्धित जेजति ज्ञान छ/बोध छ/सार छ, ती सबै वेदको एक एक खण्ड/अङ्ग/भाग हुन् र अब हुने र आउने सबै ।]

(पाण्डित्यको गन्ध आयो कि कसो ? )

वेदको बारेमा अरू केही भन्नू परे अरू शृङ्खलामा भनौँला । अब लागौँ मुख्य कुरा तिर ….

|< गर्भ प्रश्न >|

सूक्त भनको चाहिँ के ?

छोटो केही लेखौँ ?

लेखौँ है त ….

सूक्त, वेदको मण्डल भित्रको मन्त्रहरूको समूह । ऋषिले कुनै देव/देवीको उपासनाको लागि या केही कुराको वर्णनको लागि या गानको लागि रचेको मन्त्र, जसमा छन्द त हुन्छ नै कतै चिन्तन र दर्शन, कतै विज्ञान त कतै प्राकृतिक वर्णन र ग्रह-उपग्रहको भौगोलिक विवेचना काव्यिक रुपमा हुन्छ । सजिलोसँग भन्दा सूक्त भनेको “ऋषिको पुर्ण वाक्य ।”  (यत्ति भन्न कति भुमिका त हगि ?) “सूक्त” को शाब्दिक अर्थ स्पष्ट बताइएको । झनै सरल शब्द यो होला ।

ऋचा, मन्त्रहरूमा चिन्तन/दर्शन विशेष तह, छन्दको उत्कृष्टतामा आधारित उत्कृष्ट मन्त्र नै ऋचा । विशेषतः ऋचा शब्द ऋग्वेदको उत्कृष्ट मन्त्रहरूलाई भनिन्छ । अरू वेदको लागि फरक शब्द छ, आवश्यकता परेपछि चर्चा गरौँला- अरू शृङ्खलामा…=!

। ~ सूर्या-सावित्री सूक्त ~।

~ पृष्ठभूमि ~

आज ऋग्वेदको १० अ‌ौँ मण्डलको ८५ सूक्त खोतल्ने छु ।

यो सूक्त नै किन ? प्रश्न उठ्नु स्वभाविक हो । १-९ मण्डललाई छोडेर सयौं सूक्तलाई छोडेर यही नै किन ?

यो सूक्तको प्रणेता हुन् सूर्या सावित्री । सूर्या, सूर्य कि पत्नी पनि हुन् । यो सूक्तको खास वैशिष्ट्य खण्डकाव्य स्तरको छ, ४६ मन्त्रहरूको एउटा पूर्ण खण्डकाव्य । छन्दको कुरा गर्दिनँ भनेको वेदको प्रमुख कुरा नै छन्द, केही कुरा नगरी नहुने भयो ! यो सूक्त छन्दको हिसाबले, भाषाको हिसाबले, कविता दृष्टि साँध्ने हो भने कविता तत्व हो हिसाबले पनि उत्कृष्ट मानिँन्छ ।

==| सूक्त |==

प्रयोग भएको छन्द : अनुष्टुप् , त्रिष्टुप् र जगती ।

देवता : सोम सूर्या र चन्द्रमा ।

ऋषि : सूर्या सावित्री ।

सत्येनोत्तभिता भूमिः सूर्येणोत्तभिता द्यौः ।

ऋतेनादित्यास्तिष्ठन्ति दिवि सोमो अधि श्रितः ।।१।।

नेपाली अर्थ : “देवताहरूमा सत्यस्वरुप ब्रह्माले पृथ्वीलाई आकाशमा स्थापित गरे । सूर्यदेव द्युलोक अड्याउँछन् । यज्ञ आहुतिका आश्रयमा देवशक्ति रहेको हुन्छ । सोम द्युलोकभन्दा माथि हुन्छ । “

अर्थमा ख्याल त गर्नु भयो के तपाईँले ? के छ र ख्याल गर्नु पर्ने भन्नू होला ! हेर्नुस् त ब्रह्मालाई देवता अर्थात् ऊर्जा भनिएको छ ! ऊर्जा, शक्ति जसले सिर्जना गर्छ । पृथ्वी सिर्जन भएर आकाशमा स्थापित भयो । (अब हाम्रो पढाइको मान्यताले के मान्थ्यो, सम्झनुस् त ! हामी मान्थ्यौँ ,  “हाम्रा पुर्खाले पृथ्वीमा आकाश छ भन्थे” भनेर) हेर्नुस् त फरक रहेनछ त कुराको बुझाइमा या प्रचारप्रसारमा ?

अर्को वाक्य :

“सूर्यदेव द्युलोक (पृथ्वी ) अड्याउँछन् । “यहाँ के छ र ? जस्तो लाग्छ नै ! पहिलो कुरा सूर्यलाई देव सम्बोधन गरियो, कार्य गर्ने देवले भयो जो मूर्त छ / जसको आकार छ । दोस्रो कुरा, सूर्यले पृथ्वी अड्याउने कुरा सुन्दा कता-कता न्युटन अनि गुरुत्व आकर्षणको याद आएन ?

तेस्रो वाक्य :

“यज्ञ आहुतिका आश्रयमा देवशक्ति रहेको हुन्छ ।” यज्ञ भनेको तपाईंको मस्तिष्कमा ‘अग्निकुण्ड ब्राह्मणले मन्त्र पढिरहेको’ यही दृश्य चित्र आदि होला । तर, कुरा भाषाको हो संस्कृतमा एउटा शब्दको अर्थ विविध हुन्छ । यज्ञ भनेको ‘कर्म ।’ शारीरिक र मानसिक दुई कर्म हुन्छन्, यो दुवै कर्म नभए मान्छे के हुन्छ ? सोचौँ त ! आहुति – आहार, देवशक्ति (इन्द्रियहरूको शक्ति) ।

अब यज्ञ ( कर्म/काम), आहुति (आहार) र देवशक्ति ( इन्द्रियहरूको शक्ति ) मिलाएर संयोजन गर्नुस् त ? आफ्नो जीवन-जीवन जस्तो लागेन ?

अन्तिम वाक्य : 

“सोम (चन्द्र) द्युलोक (पृथ्वी)भन्दा माथि हुन्छ ।” तपाईंको बसोबास पृथ्वीमै हो, म शतप्रतिशत पक्का छु ! अब जुन सुकै कुनामा गएर हेर्नुस् चन्द्रमा कता देखिन्छ ?

माथि कि कसो ?

(अरू अर्थ पनि सोच्नुस् ल )

(यो राजु भन्ने मान्छेको लेख पढ्दापढ्दै कति काम लगाएको होला हगि ? )

२ देखि ४ सम्म मन्त्र यसरी बोल्छन् : 

“आदित्य आदि देव सोमका (चन्द्रका ) कारण बलशाली छन् । सोमले नै महिमाशाली हुन्छ । यी नक्षत्र बीचमा पनि सोम स्थापित गरिएको छ । सोमलताबाट (कच्चापदार्थ) आउने सोम (रस) मखले पिउन सकिन्छ तर, ब्रह्मनिष्ठले जानेको सोम(बोध) कुनै पनि व्यक्तिका मुखले पिउन सक्ने हुँदैन । हे दिव्य सोम ! बृहती विद्याका जानकार र गोप्य विधिले सुरक्षित छौ । ग्रावाको (अचलको)ध्वनि सुन्दछौ र पृथ्वीका प्राणी तिमीलाई सेवन गर्न सक्दैनन् ।” सोमलाई आध्यात्मिक बिम्बको रुपमा पनि प्रस्तुत गरिएको छ मन्त्रमा ।

यत्वा देवा प्रपिबन्ति तत आ प्यायसे पुनः

वायुः सोमस्य रक्षिता समानां मास आकृतिः ।५।

अर्थ : ” हे सोम देव मानिसले अ‌ौषधिका रुपमा तिमीलाई ग्रहण गरेर बारम्बार सेवन गर्दछन् । महिनाले वर्षलाई सुरक्षित गरे झैँ वायुदेव सोमलाई सुरक्षा गर्दछन् । “

विज्ञानद्वारा प्रमाणित कुरा हो कि चन्द्रमाको प्रकाशमा धेरै जडिबुटीको प्रादूर्भाव साथै विकासमा विशेष भूमिका हुने । धराको मौसम जसरी मिलेको छ यसमा चन्द्रमाको हात छ भनेर विज्ञान बोलिसकेको छ ।

वायु नभए के के हुँदैन ?

हामी ? हामी नरहे साक्षी को ?

वायुमण्डल वायु नै त हो । होइन र ?

वायुमण्डल नभए के हुन्छ ? कल्पना गर्नुस् त?

(विदित कुरामा धेरै नबोलौँ )

[६ देखि १८ सम्मका मन्त्रमा समाजिक कुरा छ- काव्यको उच्चतम् कल्पनाको, ती मन्त्रले बिवाहा प्रसङ्गको कुरा गरेका छन् र बिवाहलाई ब्रह्माण्डीय स्तर (Cosmic Plain) र भौगोलिक स्तर (Geographical plain) मा उठाएको छ । (१८ मन्त्रमा भनिएको छ, “चन्द्रले ऋतु निर्धारण गर्छन् ।” यो मुख्य कुरा माथि भनियो पनि ! ) अब यो सामाजिक र बिवाहा/कन्यादान आदिको कुरामा तपाईंहरूले लेख भन्नूहुन्छ भने अर्को शृङ्खलामा लेखौँला नत्र मैले मन्तव्यमा नै भनेँ विज्ञान आदिका कुरा मात्र समेटने छु । ]

=| जीवन-जगत् ~ चिन्तन-चित्रण |=

नवोनवो भवति जायमानोSह्नां केतुरुषसामेत्यग्रम् 

भागं देवेभ्यो वि दधात्यायन्प्र चन्द्रमास्तिरते दीर्घमायुः ।१९।

अर्थ : “चन्द्रदेव दिनहुँ उदाएर सधैँ नवीनतम् हुन्छन् । दिनका सूचक सूर्य देव प्रतिदिन नवीन रुपमा बिहान सबैका अगाडि आउँछन् । सूर्यदेव आएर देवलाई यज्ञ हविर्भाग दिने व्यवस्था गर्छन् । चन्द्रदेव आएर जीवनलाई आनन्द र चिरायु प्रदान गर्दछन् । “

चन्द्रमा आफ्नो प्रकाश त होइन तर, वैज्ञानिक नियमकै केही प्रक्रियामा उसको शीतलता र दिव्यता छ- सूर्यको मद्दतले । सूर्यमा (Nuclear Fission) प्रतिक्रिया भएर धेरै तौलमा फोटोन (Photon) घटिरहेको हुन्छ तर, त्यो सूर्यको लागि हरेक क्षणको कार्य जसै हो {यद्यपि हाम्रो लागि त्यो तौल सङ्ख्या धेरै होला !} यसरी सूर्य चन्द्र हरेक दिन अझ भनौँ क्षण नवीन हुन्छन्/नवीन छन्/नवनवीन भइरहेछन् ।

(स्मरण गर्नु होला “देव” शब्द भौतिक कुरा/मूर्त वस्तुको प्रतीक हो र सूक्तमा सबै मन्त्र र शब्द काव्यमय छ, यसको अर्थ बुझ्न तथ्य दृष्टि त चाहिन्छ नै साथै, भावक दृष्टिकोण पनि । रस, बिम्ब, अलङ्कारले भरिपूर्ण पनि छ । देव मान्छे मान्छेको रुपमा पनि प्रयोग भएको छ र पूज्य देवको रुपमा पनि ! यज्ञ/कर्म गर्न ऊर्जा चाहिन्छ र यज्ञ/कर्मले ऊर्जा प्रादुर्भाव गराउँछ या भनौँ बनाउँछ पनि  )

“हविर्भाग” सूर्यले दिने र चन्द्रले “आनन्द र चिरायु” दिने कुरा ऋग्वैदिक कालखण्डको दैनिक जीवनयापनको पृष्ठभूमिको कुरा हो र आज पनि भइरहेको कुरा हो । दिनमा काम गर्नेे र रातमा आराम गर्ने कुराको बिम्ब !

|~ शरीर विज्ञान चेतना ~|

नीललोहितं भवति कृत्यासक्तिर्व्यज्यते 

एधन्ते अस्या ज्ञातयः पर्तिर्बन्धेषु बध्यते । २८ ।

अर्थ : “रजोवती झैँ रातोनीलो वर्णकी हुँदा उनमा कृत्याशक्ति* अभिव्यक्त हुन्छ । उसै कृत्याको अनुसार तत्त्वको वृद्धि हुन्छ । त्यसको प्रभावले पति बन्धनमा बाँधिन्छन् । “

परा देहि शामुल्यं ब्रह्मोभ्यो वि भजा वसु 

कृत्यौषा पद्वती भूत्व्या जाया विशते पतिम् । २९ ।

अर्थ : “शामुल्यका रुपमा शरीरको मलविकार त्याग गर । ब्रह्मको विचार गर्ने ब्राह्मणलाई धन वा आवास प्रदान गर । यस्तै, कृत्याशक्तिले जन्म प्रदान गर्ने जायाका रुपमा पतिका साथ सहगामिनी बन्दछन् ।”

अश्रीरा तनूर्भवति रुशती पापयामुया 

पतिर्यद्वधो वाससा स्वमङ्गमभिधित्सते ।३०।

अर्थ : “उक्त कृत्याजन्य विकारका स्थितिमा स्त्री पीडादायक हुन्छन् । यस्ता स्थितिमा वधुसित संयुक्त हुनाले पतिको शरीर कान्तिरहित भएर रोग आदिले दूषित हुन्छ । “

ये वध्वश्चन्द्रं वहतुं यक्ष्मा यन्ति जनादनु 

पुनस्तान्यज्ञिया देवा नयन्तु यत आगता: ।३१।

अर्थ : “चन्द्रमा जस्तै सुन्दर वधुको रोग जन्मदाता मातापिता स्वभावतः बारम्बार आउँछ । त्यस्तो रोग यजनीय देव(ता)ले पहिलेकै स्थानतिर फिर्ता गरिदिऊन् ।”

(मन्त्र २८ देखि ३१ अर्थलाई धेरै हिसाबले केलाउन सकिन्छ । पहिला कुरा गरौँ, शब्द “कृत्याशक्ति ।” यो शब्द तन्त्र साधनाको शब्द रहेछ, खोजेर बुझिल्याउँदा । मार्नेवाली, शत्रुता गर्नेवाली, बाँध्नेवाली यस्तै रहेछ ! तर संस्कृत शब्दको अनेक अर्थ हुन्छ र मन्त्र २९ को भाव अनुसार अर्थ अर्कै हुन आउँछ । जन्मदिने क्षमताको रुपमा अर्थ झल्किन्छ । )

समग्रमा हेर्दा के बुझियो भने रजस्वला हुने प्रक्रियाले नै नारी गर्भधारण गर्ने क्षमता बनाउँछ र क्षमतावान हुन चाहिने तत्त्व वृद्धि हुन्छ । रजस्वला हुँदा शरीरमा भएको विकार नि जान्छ । ( यो विज्ञानले प्रमाणित गरेको कुरामा तर्क र प्रमाण पेस गर्नु परेन !)

यदि पति/पत्निमा महिनावारीको समयमा शारीरिक सम्बन्ध भएमा पतिको शरीर कान्ति हिन हुन्छ र रोग लाग्छ ! स्त्री शरीर आन्तरिक हिसाबमा कम्जोर हुने भएकाले बाहिरी कुरा/रोगले पनि नकारात्मक असर पर्छ *कृत्याशक्ति* शब्दको प्रयोग यो कुराको लागि पनि भएको छ ।

(हेर्नुस् त शरीर विज्ञान । हामीलाई चाहिएको रहेछ त बस् अध्ययन र दृष्टि …!)

अर्को महत्त्वपूर्ण कुरा “आमाबुबा\जन्मदातामा भएको रोग छोराछोरीमा सर्छ”, आधुनिक विज्ञानले प्रमाणित गरेको कुरा ।

यसमा खास तर्क गर्नु परेन । अब तर्क हामी हाम्रो दृष्टि / सोच र विचारसँग गर्नु पर्छ । हामीले प्रश्न हाम्रो विश्वास माथि उठाउनुपर्छ । किन ? कहिलेबाट ? केका लागि हाम्रो सभ्यता अन्धकार तिर मोडियो ? समाज किन अन्धकारमा छ ? वेदमा प्रश्न उठाउने ठाउँ होलान् ! तर हामीले पहिला हाम्रो वैचारिक(विश्वास/मान्यताको ) र दृष्टिको अन्धकारलाई हटाउनु पर्छ । क्रान्तिले दिएको दृष्टिअन्धोपनलाई ! समाजले बोकेको अन्धविश्वासलाई चिर्न सहज नहोला तर लाग्नु चाहिँ छ/पर्छ।

नत्र  ” यथा दृष्टि तथा सृष्टि ! ” :):

प्रिय भावक , 

वैदिक सूक्तको मन्त्रमा विज्ञान, दर्शन र चिन्तनको खोजको लागि हरेक महिना १/२ शृङ्खलामा आउनेछ यस्तै लेख । समस्या के भने मन्त्र अनुवादको मैले हिन्दीमा नि हेरेँ, केही मन्त्रको मदनमणि दीक्षितको अनुवादमा र माथि साभार मन्त्र अनुवाद तिलकप्रसाद लुइटेलको अनुवाद हो । सटिक छैन, अलिक लामो व्याख्या पनि छ तर मन्त्रको कुरा यथावत् रहेछ मेरो दृष्टिले यही पायो । सामाजिक पृष्ठभूमिको मन्त्रहरूको बारेमा हजुरहरूले चाहेमा लेखिनेछ । अब विचार गर्ने /चाहने / अरू के के गर्नु पर्ने हो, हजुरहरूको जिम्मामा …!

तपाईंहरूको स्तम्भकार ।

( ॐ तत् सत् ) प्रति प्रेम सहित….

~ इति-श्री ~

सम्बन्धित समाचार