शुक्रबार , साउन २२, २०८३

मन‍ोमन्तव्य : केही समिक्षा

घामको यात्रा हो जीवन आफू आफैँमा विद्रोह हो घाम परिवर्तनका एकएक खुड्किलामा बद्लिन्छ मान्छे, बद्लिन्छ कर्म, बदलिन्छ भाव ।

image

 -। मन्तव्य ।-

आजको लागि लेख कुन पाटोतिरको लेखुँ या के प्रस्तुत गरौँ, यो सोचिरहेको थिएँ मलाई ख्याल आयो  :): मनो~मन्तव्य :(: शृङ्खला र केही समिक्षा ।

रामकृष्ण शर्माले भने जस्त‍ो “समालोचनाको पनि समालोचना हुन्छ” सम्झेर समिक्षाको समीक्षा गर्न भने लागेको होइन ! त्यो आफैँले गर्ने हो भनेपनि अरूलाई थाहा नदिने तबरले गरिन्छ “आत्मसमिक्षा” ।

अँ त कुरा के भने समीक्षा / पाठक प्रतिक्रिया लेखनको अन्तिम खण्डमा कविता लेख्ने गरेको छु । त्यो यस्तो उस्तो भनेर व्याख्या गर्ने त्यो मेरो काम होइन ! त्य‍ो राजु उवरकोटी भन्ने मान्छेले मात्र गरेको पनि होइन होला ! त्यो कला खत्रा हो भन्न खोजेको पनि होइन । तर अँ त्यो कहीँ कतै व्यवस्थापनको कला भने ह‍ो ! धन्न चोरीको आरोप आइपुगेको छैन ! कमले पढ्नुको यो छुट्टै फाइदा पो हो कि !

<| व्यवस्थापन कला |>

“साहित्यको देखिने आवरण त शब्दको व्यवस्थापन मात्र न हो !” भन्दा अति सतही देखिएला यो तर कुरा यस्तै छ भन्दा साहित्यको “स्” पनि नबुझेको देखिन्छ ! “स् +अ=स” कहिले बुझ्नु ? अरू बुझ्नु त छँदैछ !

नबुझे पनि बुझेछु देखाउन विश्वास देखाइदिए काफी !

“य‍ो व्यवस्थापन सही ढङ्‌गले गर्न जानिएको खण्डमा केही भइन्छ !” मनमनै आफैँलाई भन्दै छु ।

व्यवस्थापनको कलाले तीन वटा कविता लेखेछु त्य‍ो कस्तो व्यवस्थापन हो, त्य‍ो तपाईंहरूको जिम्मामा ! (तपाईंहरूले व्यवस्थापन कला नभनेपछि आफैँ भन्दै -एक स्तम्भकार, हे हे)

अर्को एक शृङ्खलामा पनि कविता रचेछु तीन कविता जस्त‍ो व्यवस्थापन होइन फरक हो भनेर आफूले नमिल्ने ! हे हे । त्यो सहित चार कविता ।

तपाईंको लागि …

===================================

~ एक्लो महारथी ~

(युद्धको यात्रा)

क्रुर गुरु

सहरका मान्छेहरूलाई

स्वतन्त्रताको कथा भन्छ

प्रकृति र मान्छेको गीत गाएर ।

गुरु बोल्छ :

“गाउँमा छन् गीतहरू ।”

आफ्नै कथाको प्रतिध्वनि लिएर

अन्तर युद्धमा घर फर्केकी छ नातिनी !

केही प्रश्न बोकेर अस्तित्व र संस्कारको

समाजको मान्यतालाई

प्रश्न छ ,

“कुनकुन उमेरको कामबासनाबाट जल्नु पर्छ चेलीबेटी ?”

जसरी प्रश्न हो काठमाडौं सभ्यतालाई !

यो युद्धको यात्रा हो ।

सावधान !

घटनाको क्रम छैन र छैन उपक्रम

भेटिँदैन उद्गम् !

यस्तै नियति लिएर जन्मिएको छ समय !

यो युद्धको यात्रा हो !

अन्तर्कथाको भग्न अवशेषहरूमा

उसको भग्न भविष्यको चित्रको परिकल्पना छ !

खुसीको क्षेत्रफल फरक कथामा ऐना बन्छ सम्बन्धको

प्रसवकथामा सीमान्त खुसीको युद्ध बन्छ स्वतन्त्रताको विधानले

विधुर पुरुष र विद्धवा स्त्रीको कथाको परिचयको प्रारम्भमा

पत्थर हृदय !

कङ्क्रिट संवेदनालाई मोक्ष दिन्छ : कङ्कालहरूको सन्नाटाले ।

यो युद्धको यात्रा हो !

(अर्को महाभारत ! )

यहाँ छन् वर्जित सपनाहरू !

र फिरादपत्रको लाम

नाङ्लो पसलसँग छ हजार सपनाको विवरण !

हलीको मागल भएरै पनि पसिनाका हजारौँ बुद्धहरू !

देशको अनुहार स्पष्ट छ वृद्धाश्रमहरूमा

सम्पन्नताका तस्वीरहरू ।

रेगिस्तानमा पल्टिन्छ !

देशको सपना , देशको चित्र

आतंककारीको मृत्युवरण गरेर ।

यो युद्ध हो

बाटो गुमेर ठेगाना खोजिरहेछ सगरमाथा रेगिस्तानमा ।

(महाभारत पछि )

कर्ण एकलव्य हो । एकलव्य अर्को कर्ण ।

जराको इतिहासबाट

पुनः नियतिले लेख्नु पर्छ अर्को युद्ध !

यो अँध्यारो घाममा ।

अर्को महाभारतको युद्धविराममा

शासकको अन्तिम यात्रा हुन् सक्छ !

र समतासूत्रले बाँधेर संस्कृति बन्छ खुलामञ्चमा पाठशाला ।

घाटका दर्शकहरूले

घाट मै पढ्नेछन् नपढेको चिठी एक्लो महारथीको

बुझ्नेछन् आशाको क्षेत्रफल र सपनाको सिमाना ।

—————————————–

~| शून्य प्रहरको साक्षी |~

। शून्य – लय ।

१.१. सत्य

सृष्टिको लयमा

धुन फेरिरहन्छ सत्य समर

परिवर्तनको कथा : सत्य कथा सँगै !

१.२. लज्जा बोध

परिवर्तन प्रश्न हो !

पानी र सपना दुई अनुभूतिका एक भूगोल ।

जिन्दगीको पर्यटनमा विजेताले  धैर्यको अनुरोध गरेपछि

आजको दिन ब्रह्मपुत्रमा

अँध्यारोको बाली र जीवनका मालीहरूलाई

गहिराइसम्म ध्यानले

मानवता मरेको/मारेको स्वीकारोक्ति दिएर आएँ !

१.३. संग्राम

जुन अन्तिम युद्ध

थोपा थोपा सबुतको पहिरो थियो !

एक्लोपनको धरती भएपछि

वर्षा र प्रेम जीवनका फूल बुझेर

अभिलेखमा बुद्ध र म बाँडियौँ

सपनाको वैधानिकतामा ।

– प्रहर –

२.१. अबोध

कठै जिन्दगी !

मान्छे र पुतली सपनाको पुलले

स्वतन्त्रताको यादहरूमा छुट्टिए …

सियो हो जुनकीरी

जीवन र मृत्युको

सम्राट र बच्चाहरूको …

२.२. अभिमान

खडा छ दम्भको पर्खाल पहाड र हामी बिच !

स्मृतिको गाउँबाट पिल्पिले बत्तीको सपना

एक रस बन्थ्यो प्रकृतिको वसन्तसँगक‍ो सम्बन्ध र पर्खाइ झैँ !

२.३. खेल

पहाडको बत्ती

रहस्यको जमीनमा अनुमति बिनाको खेल हुन्थ्यो !

वृद्ध बाले सुनाउँछन् कि सुनाउँदैनन् छोरीलाई ?

आफ्नो बाल्यकाल र यी दृश्यहरू

शून्य प्रहरको साक्षी बनेर …

~ साक्षी :~

३.१. कवित्वको पतन

लागिरहेछ ,

काव्य सरोवर पनि त रहेछ कर्णाली

उसले पनि त सक्छ नयाँ सपना सजाउन आँखाहरूमा

आँसुलाई ऐना बनाउने पीडाको संविधान मात्र देखाउने

मान्छेको जात के हो ?

सीमाना जुनताराको देशमा छैन !

वर्षौँदेखि लेखाजोखा गरिरहेछ धरहरा

तानाशाहको लास र जल्लादको दृष्टिकोणको !

आँखा बाँडिएपछि जन्मिँदैन श्रमिकको कविता

सोच्छु, अझै छ अश्वत्थामासँग स्वाभिमानको बोझ ?

शरीरको भाषामा दूरीको ऐना देखाइरहेकै छ प्रेम उत्सव

दुई टुक्रा जूनमा खण्डित छ इण्डिया गेट ! मुटुहरूको ।

३.२. प्रिय कथा

“प्रिय , म तिमीलाई माया गर्छु”

प्रणयपछि साक्षी बोल्थे :

“जसरी भार छ तिमीलाई

तिहारमा सपना र भाइको पर्खाइ !

कपास श्वासको सार्थकताको प्रश्न छ यहाँ ?

घर-झगडामा हार-जीतको खेल नखेलौँ भ‍ो !

हक दाबी त हाम्रो पनि थियो भँगेरामा !

मानवता दृष्टि हो ! बुझेँ उमेरको गहिराइमा ! “

३.३. संवेदनाको सागर

आँखाको प्रेम-संवादपछि

मानस बादलको समुन्द्रमा एकै भयौ आँसु र तिमी

पटाक्षेपमै अड्किरह्यो सम्बन्ध – युद्ध र मुस्कानमा !

आँसुको रङ्गमा मुस्कानको खेती गर्ने रहर

कहाँ थियो होला र ? सहिदकी विधवालाई !

शून्य प्रहरको साक्षीले बुझ्यो कि बुझेन यथार्थ ।

~ साक्षीको विश्राम ~

—————————————–

~ देह उत्सव ~

घामको यात्रा हो जीवन

आफू आफैँमा विद्रोह हो घाम

परिवर्तनका एकएक खुड्किलामा

बद्लिन्छ मान्छे, बद्लिन्छ कर्म, बद्लिन्छ भाव ।

प्रेमको प्रश्नले ताराहरूको पीडा अव्यक्त रहिरहन्छ

तस्बिरमा अडिन्छ मायाको चिनो !

मनको कुटीमा मान्छे देह उत्सव मनाउँछ

एक खेलले, एक ‘काम’ले, एक वासनाले

ओझेलमा राख्छ दिवास्वप्न अन्जान बन्छ आफैँसँग !

जुठो लाग्दैन मनुवालाई आफ्नै मृत्युको निम्तोले

उसलाई बस्नु छ ओथारो लोभको, सेवक बुन्नु छ मनको

सेता फूलहरूले छोपेर लक्ष्य

श्रद्धाञ्जली दिएको छ समवेदनालाई / वात्सल्यलाई

गाड्नु छ केही दृश्य भविष्यको ! मार्नु छ याद भूतको ।

कङ्क्रिट हृदयको आफैँ विधुवा/आफैँ विदुर

अनि त्यसपछि

दुलही या दुलहा बनेर मृत्यु कुर्ने छ अन्त्यपछि उसले

मनाउने छ “देह उत्सव” ।

——————————————

:): श्रोडिङ्गर मुस्कान :(:

यो तपाईंको कथा हो !

कथा कथाको हो / कथा व्यथाको हो ।

हो तर हो एउटाको !

अर्थको व्याख्यान र व्याख्यानको अर्थमा गुम छ विचार / गुम्छ मान्छे !

रुन्चे हाँसो हाँस्छ र हाँस्दै आँसु झार्छ ।

मान्छे आफू आफैँमा मर्छ / आफू आफैँमा बाँच्छ

आफैँद्वारा अस्तित्वको सारमा ।

समय, सिमसिमे पानीमा लागिरहेको घाम हो, पानी हो

र भिजिरहेको एक मनुवा र रुझिरहेको धरा !

खुसीको मैदानमा लडाइँ हुन्छ मुस्कानको

मुस्कान मापदण्डमा मान्छे कैद !

म मान्छेले बुझिँन कि कसो ?

मुस्कान ओठको आँसु थियो !

पीडकको सूचीको आँसु सागरको माछोलाई

-मान्छे भन्नू छ !

म माछो मान्छेले कहिल्यै बुझिनँ कि कसो ?

आँसु आँखाहरूको मुस्कान थियो !

अर्थ बोझको व्यर्थता सधैँ गहनाले भिर्छन् !

मुस्कान दुःखी हुनुको थियो; खुस देखियो अरू नजरमा

आँसु खुसीको थियो; दुःख देखियो अरूको नजरमा !

दुःख दबाउन खोज्छ ! दबेर आफू दुःखमा …

मर्छ एउटा प्रेमी उनैको मुस्कानमा

टिक्छ कि? प्राण उनको उसैको मुस्कानमा ।

प्रेमील मुस्कानमा हुन्छन् के ?

को हेर्छ यथार्थ भित्रको

नक्कली / सक्कली थियोे के ?

देखेको मुस्कान

नक्कली / सक्कली थियोे त थियो के ?

मुस्कान त थियो के ?

कुराको पुनरावृत्ति ! मान्छेको तर्कको/इतिहासको प्रवृत्ति !

भिर्छ दुई थान आँखाहरूमा आँसु ।

एकै ओठहरूमा मुस्कान ।

बुझ्दैन सभ्यता ?

– थाक्छन् आँखाहरू । सुक्छन् ओठहरू ।

– सुक्छन् आँखाहरू । थाक्छन् ओठहरू ।

नजरको अन्जादहरूमा कैद छ मान्छेको चित्र । चरीत्र ।

हिसाबकिताबको एक फैसलामा अड्किन्छ जीवन यात्रा ।

यात्राको विरोधाभाषपूर्ण मुस्कानलाई मनैदेखि माया ।

मनको माया । माया ! माया ! ! ए मनमाया ।

—————————————–

ॐ । इतिस्तु । ॐ

Tags:

सम्बन्धित समाचार