|~ मन्तव्य ~|
कविता लेख्नु, कविता पढ्नु, कविता सुन्नु र कवितासँगको मौन संवाद प्रिय कर्म भएको छ । यी यावत् कुरा गर्न म कवि हुनुपर्दैन ! कवि भइरहनु पर्दैन । केही महिना भनौँ एक-डेढ वर्षदेखि दाइ/भाइ, दिदीबहिनीहरूको कविता पढिरहेको छु, प्रतिक्रिया पनि दिन्छु । प्रतिक्रिया दिनु ठूलो कुरा भएन र, होइन पनि । वैचारिक भिन्नताले बुझाइ फरक बनाउँछ र, अर्थ्याउने दृष्टि पनि । कविले लेखेको दृष्टिले बुझ्ने सायद कोही हुँदैनन् । अपवाद हुन्छन्, हुनु पर्छ; यसको मजा बेग्लै छ (यो कुरा हरेक विधामा लागू हुन्छ मेरो विचारमा) ।
यसरी हेर्दा कविता लेखनमा केही नयाँ गर्ने, गरिरहनु भएको, गर्न खोजिरहनु भएको केही अपवाद भने भटेँ, जुन भेटिनु पर्छ । निरन्तर यात्रामा नयाँ पाइला हुनु पर्छ, नयाँ पृष्ठभूमि र नयाँ दृश्य । त्यस्तै नयाँ गर्ने र नयाँ गर्न कोसिस गरिरहनु हुनेलाई सधैँ सम्मान र प्रेम ।
केही काव्य पढेँ । ‘काव्य’ विधागत हिसाबले कविता नै हो महाकाव्य, खण्डकाव्य जस्तै । संरचना केही पृथक हो कवि अनुरुप । अहिले वर्तमान समयमा यतातिर हामी युवाले पनि लेख्नुपर्छ भन्ने लाग्यो । मैले कोसिस गरेँ । लेखेँ दुई-तीन वटा काव्य । संरचना, विधान, आन्तरिक गुण, सिद्धान्त र स्वरुप अवश्यम्भावी छ तर, मलाई थाहा छैन ! शनैः शनैः सिक्दै बुझ्दै जाने नै छु !
कोसिसमा गर्व गर्न लायकको यो कोसिस हो अरू रहेछ भने हजुरहरूले अवगत गराउनु हुनेछ, विश्वस्त छु । केही प्रयोग, केही आकार र केही आफ्नो विचारलाई स्वरुप दिएर काव्य लेख्ने कोसिस गरेको छु । अग्रगहरूले /मित्रहरूले सुझाव अवश्य दिनु हुनेछ भन्दै अरू कुरा मेरो काव्यले (अब तपाईंहरूको काव्यले) बोलोस् …!
[काव्य]
|~ लोक कथाको लोकमा ~|
(परिशिष्टमा;)
विचित्रको वैचारिकतामा
बाँडिएको आफ्नो विश्वास
व्यवहारमा बिउँझेको वास्तविकतालाई ..
बालक विचारमा विश्व बनाउँदै
वयस्कको बाङ्गिएको यर्थाथ जस्तो बाटोमा
भड्किलो सोचको संसारमा सिञ्चित सृजना सृष्टि
सृष्टि सपाट कल्पनाको लोकमा आलोकित कथा ।
लोकको लोक कथा:
आदिको नादमा गुमेको
मध्यमा मलिन आधुनिकताले ग्रस्त
अन्तमा गर्भमै शङ्काको गर्तमा छट्पटी रहेको
काँहीको केही / कोहीको केही !
(लोक कथाको लोकमा …)
: -) मनु र शतरुपा (- :
कुन उपाधि खाजेर उनले ?
कहाँ राखेर अभिमान ?
कुन ज्ञानको मान खोजेर ?
कहाँ मारेर स्वः सत् प्राण?
आदिमताको के परिचय ?
कुन कथाको के सुरुवात ?
सभ्यताको जग खोजे…
जगत जग हुन्छ कि हुन्छन् मनुश ?
नामको के काम ?
इतिहासको वृतान्त अन्त
कुन स्मृतिमा टिक्छ आदिम उपन्यास ?
प्रश्न सुत्छन् । प्रश्न जाग्छन् ।
प्रश्नै प्रश्न छन् उत्तर ।
विचार जन्मिन्छ
हुन्छ एउटा विकास ।
इतिहासको मानसमा जन्म मानिसको
जन्मियो डार्विन आफ्नो विचारमा
जलाएर, मनु र शतरुपा ।
‘<|>’ अरण्य वन ‘<|>’
भेद बोधको निस्सारता यो
रतिरागको आगमा जले बन्धुबान्धव
हाय रे! पाडण्व ।
चाहको काम-‘काम’मा
रोप्छ पात्र युद्धको बिज ।
रुपरेखा बदलिए
स्वभावको रह्यो उस्तै भाव
रङ्गको मैदानमा विचार भो दास
दर्शनको भो अभाव !
दर्शनै दर्शनको जङ्गलमा खोई ! वन फूल ?
सलामी थियो तयार मानस तुनिरमा
भेट्थेँ त एकै मृगमरिचिका !
वनको बस् रुप फेरिएको छ
प्राणीको गुफा फेरिएको छ
काठ बस् कङ्क्रिटमा अनुवाद
व्यवहारमा भेदको चिहान छ ।
‘~¡~’ महामाया ‘~¡~’
विवेकको यो बुद्धि सुतेको छ आफ्नै विस्तारमा
ज्ञानको के मान ?
मस्त छन् नेत्र मेरा अज्ञानको अभिमानमा ।
भुमरीमा म ‘माया’को । खाडलमा म मोहको ।
नाचिरहेछु म आफैँ एक राजुको पहिचान भिरी
फेर्रिरहेछन् यहाँ सम्बोधन-नाता-सम्बन्ध फेरि-फेरि ।
दृष्टिको दृश्यमा द्रष्टा बनेर आफू नै
पीडा भोगिरहेछु दर्द छ यहाँ छातीमै ।
दयालाग्दो छ दुःख, दया गर्दैन आफूलाई
देख्दैन ऊ आफूलाई । ऊ देख्छ दुनियाँ ।
दर्साउँछ कुन भाव दुःखी जनलाई ?
जन छ ऊ दर्द~ओ~दुःखको !
दुनियाँ दृश्य उसैको ।
स्रष्टा स्वयं संसारको ।
भुल्यो भुल्यो भुलभुलैया
मुक्त कण्ठ स्वर उसको अन्तरमा छ कतै
मुक्ति खोज्छ ऊ मुक्त भएर, मुक्ति छ जताततै ।
आवाज दिनु छ उसले, जगाउन उसैलाई
सुतेको छ ऊ आफैँमा, जगाउनु छ आफैँलाई ।
| कलि-पुरुष |
पौराणिक भविष्यवाणीबाट चरीत्र चित्रित
अन्तिमसम्म आफ्नै रोगले थलिएको एउटा कलिको
भड्किएको अश्वत्थामा अन्धबोधको अश्व कुदाइरहेछ ।
जीवनको महाभारतमा
उसले बाइबल प्रस्फुटन गराएको छ
गीताको गीत गाएको छ
कुरानले कर्म गरेको छ
धम्पदले मानव धर्म टिकाइ
आदिग्रन्थलाई गुरु बनाएको छ ।
मुन्धुमको धुनमा नाचेर आदिम हुनु बोधले
ऊ रमेको छ ।
ऊ को हो ?
उसको सायद जन्म भएको छैन !
या भएको छ एक कल्पको कल्पनमा ?
कम्युनिस्ट मेनिफिस्टो मस्तकमा बोकी
मार्क्सको विद्रोही मसाल मुटुको धुक्धुकी
जलेको आशमा सिद्धान्त लिएर
गन्तव्यहीन बाटोमा परिवर्तनको बिगुल फुकी
इलोन मक्सको सपनालाई लालसलामी दिई
गान्धीको गन्ध गाडेर व्यवहारमा
क्युरीको जिज्ञासा भिरेर
अज्ञात मान्छेको आगमन कुरिरहेको
त्यो गोपाल रिमाल को हो ?
सपनाको उडानलाई सत्यको साथ लाउन
संघर्षरत मान्छेको कथा को सँग छ ?
बुद्ध ?
जिसस ?
महुमद ?
साइ ?
पर्शुराम ?
कृष्ण ?
संघर्षरत मान्छेको कथा को सँग छ ?
ताण्डवको त्राहि त्राहि !
नाशको नशा समयमा चडेपछि
अस्तित्वको जिवाश्म मरेको कलिमा खोज्न
गर्न आफ्नो कर्तुतको लेखाजोखा
आउने छ मङ्गलवासी ।
पृथ्वीले कहिले भन्ने छिन ?
विनाशकारीको विनाश हुन्छ, होइन विश्वको !
विश्व विनाशको सृष्टि हो ।
सृष्टि विनाशको लिला ।
यो त बस्
मिथ्याको खेल । तँ खेलको पात्र ।
कलि तँ एक पात्र । तँलाई यो पत्र ।
।। कथा ।।
” ज्योति भ्रम हो ! प्रकाश अन्धकार
विश्वास विनाश रच्छ
यो सहर हो, सहर माया हो ”
सहरको स्वागतमन्तव्य यो हुनुपर्छ ।
सहर मात्र सडक हो ,
सडकको नाटक सहरको पात्रता !
सहरको व्यस्तता व्यर्थ गहना
आफू आफैँमा दुर्गन्धित !
सहरको सभ्य मस्तिष्क सडकमा देखिन्छ
सहरको सभ्य मस्तिष्क वाग्मतीहरूमा भेटिन्छ ।
(सुचना : यो सहरको शब्द क्यानभास हो
अब सहरको कथा मर्म)
हतार छ आवाजको कोलाहलमा
कोलाहलमय जीवन भिरेर शरीर हल्लिन्छन्
कोलाहलमय बौद्धिकता बोकेर बुद्धि भड्किन्छ
कोलाहलमय शान्ति साधेर बुद्ध हराउँछन् ।
सुस्तरी श्वासप्रश्वास चलेको देख्नु भो ?
संयोग घोर-संयोग ।
अहो ! स्वप्न दृश्य चलिरहेछ विभत्स सिनेमाको
तपाईंलाई सत्यको सौगन, “यो सत्य हो नभन्नु होला”
सडक चलिरहेकै बेला / सडक हल्लिरहेकै बेला
बिच चोकमा रगतको आहाल बारिएको छ !
लम्पसार शरीर लास हुने यात्रामा छ, छट्पट छट्पट !
हैट ! एउटा कवि बडो भावुक नजरमा
विभत्स रसको कविताको सृष्टिमा डुबेको छ
र भएको छ दर्शक उसले दोष दिनु छ दुनियाँलाई !
क्यामेरा तेर्साएर बसेको छ पत्रकार
उसले खिच्नु छ रक्तमुछेल दृश्य
तात्तातो खबर सम्प्रेषण गर्नु छ
र पाउनु छ हाकिमबाट स्यावासी !
भावुक बनाउनु छ समाचार !
मृत्युको खबरको बेच्नु छ अखबार ।
केही थान दृष्टि अवाक् छन् !
केही मोबाइल तेर्सिएका छन्
र छ लाइभ प्रसारण !
चालक छ भाग्ने तर्खरमा
मान्छेहरू छन् जम्मा हुने क्रममा ।
[आश्चर्य एक्कासि :
कुकुर मान्छेको भिड देखेर भुक्यो !
एउटा पागल मान्छेहरू देखेर हाँस्यो !
ऊ को थियोे ? ]
बस् देख्नु छ एक वैरागी
जसले देखेर यो भिड / देखेर यो दृश्य
ओक्लनेछ मान्छेको मनको चित्र
देखाउनेछ वाणीमा मान्छेको सजीव चरित्र !
अरू बेवारिस छ ।
अलिअलि कता हो ? यो साइरन बजेको
स्वयंमा कि संसारमा ?
कता हो सडकमा कि सहरमा ?
लाग्छ आउँदै छ एम्बुलेन्स !
एम्बुलेन्स ?
कसलाई लिन आएको हो एम्बुलेन्स ?
दुर्घटित शरीरलाई कि मृत संवेदनालाई ?
{उपदेश : }
“एउटा निरास आशको फूल नसजाउनु
यादहरूको / यादहरूको निरस यौवनमा
आफूलाई निरन्तर रास बनाइनरहनु ”
वीरक्त प्रेमीको भावविह्वल उपदेश हो मलाई ।
(उपदेश अनुभवको कुञ्ज नभएपछि
कु हुँदोरहेछ
कलिलो कविको कवितासरी ।)
“अनुभवको उपदेशले भावको भारि भिरेकै हुन्छ”
अन्तःस्करण यसरी बोल्छ बेलाबेला ।
) उपदेश कथा (
वृद्ध बा छोरालाई जीवनको सार अर्पिन्छन्
“बाबू हो, यो मुठो छेस्का परिवार हो
यसको मजबुती हो एकता, सुख हो साथ
मुठो बनाउने डोरी हो वात्सल्य प्रेम
यो डोरोलाई बन्धन नसम्झे
नत्र भाँचिन्छन् ती छेस्का जसै !
बाबू हो ! वात्सल्य बन्धन नसम्झे “
\ लाक्ष्यागृह \
कसले जन्माएको हो शकुनि ?
यो आधुनिक शकुनि के को बदला लिन खोजिरहेछ ?
या खोजिरहेछ आफ्नो पाशमा नचाउन राजनीति ?
छलको खेल होइन यो
छलैछलको माया हो !
नीति ? नियम ? नियति ? यी पात हुन ।
वृक्ष शकुनि हो । वृक्ष शकुनि नीति !
शकुनि मैदान हो र बस् खेलाडी यी योद्धा !
बल ठूलो कि बुद्धि ? यो कस्तो प्रश्न ?
कृष्ण ठूलो शकुनि ? यो पो प्रश्न !
यो कथा हो कुनै देशको !
ढुक्क हुनु भो ?
कथा
यो हाम्रो देशको ….
शङ्का/डर ?
ढुक्ढुक …ढुक्ढुक …..
ढुक्ढुक…ढुक्ढुक ……
|ॐ| महाकालको महावाणी |ॐ|
क्रान्ति विरोध होइन
विद्रोही क्रान्तिकारी होइन ।
जलको उम्लन भकभक छ
छ ताप शून्य शून्य
यो दृश्य विज्ञानको हो । यो कलिदृश्य हो ।
/ यन्त्रमानव /
मान्छे यन्त्रले ब्रम्हाण्ड बुझ्छु भनेर लाग्यो
यन्त्रमानवले ब्रह्माण्ड यन्त्र हो भन्यो
मान्छे यन्त्र भयो ।
( प्रकृति र कवि )
प्रिय काग ,
तिम्रो प्रेम गीत नबुझ्ने कविसँग दुःख नमान्नु
उसले आफ्नै प्रेम बुझेको छैन ।
भोकको संघर्षको कविता लेखिरहने कविले
सजाएको छ चील र गिद्धलाई क्रुर कै बिम्बमा ।
के उसले भोक त बुझेको छ ?
” उपसंहार “
मायामा यो रागको रोग
गृहमा ज्योति दृष्टिलाई ग्रहण ।
चेतनामा चेतनाको मरण
मान्छे सिद्धान्तद्वारा अपहरण !
वर्तमानमा
संवेदनाका खुट्टाहरू परेका छन् एम्बुलेन्समा ।
विज्ञानलाई सोध्नु छ :
के खोजिरहेछस् ? : सत्य ? आत्मा ? चेतना ?
तोडेर यी कण-कण !
विस्फोटको लागि
कति चाहिएको छ उसलाई सहर र प्राण ?
(लोक कथाको लोकमा
यो पात्रद्वारा लोकलाई छुटकारा
कथालाई कैद
र अब सुरुवात असत्यको खोजको …)