शुक्रबार , साउन २२, २०८३

मनोमन्तव्य : देह उत्सव

भावुकता, निर्दोषपन, चिन्तन, चिन्ता र चित्रणको मीठो संयोजन हो, यो कथा सङ्ग्रह ।

image

Photo by: Himal Darpan

~ मन्तव्य ~

विडम्बना नै भनौँ होला, नेपाली साहित्य बजारको जहाँ राम्रो साहित्यिक कृति कम देखिन्छ, कम बुझिन्छ, कम पढिन्छ । अहिलेको बजारको हालतको त कुरै नगरौँ । केही साहित्य रुचि हुने मित्रहरूलाई/अग्रजहरूलाई अवगत नै छ । साहित्य साहित्यिक भीडमा होला तर वास्तविक साहित्यको यो भीडभन्दा पर नै छ । अब यत्रो बखान किन गरेँ ? अहिले आफैँलाई प्रश्न गरिरहेछु ।  अँ सायद निराशा !

तपाईँ यदि साहित्य पढ्न रुचाउनु हुन्छ भने लेखकहरूलाई कम नै हेर्ने गर्नुस् । यो भन्दा विरोध नहोला ! भए झनै गजब । स्पष्टवक्ता पर्ने वक्रचक्र ! यथार्थको अर्थ मोडिने खेल सिधासिधा चिन्न चाहनुहुन्छ भने आफू बलियो हौँ पहिला नत्र, घृणाले अग्रजहरूप्रति भएको सम्मान गुमनाम भएको पत्तो पाउन गाह्रो हुनेछ । यो अतिशयोक्ति होइन । न कुनै वादको कुरा । पुनः प्रश्न सोध्छु, ‘आफूलाई यो रोष किन ?’

अँ सायद केही गुमनाम भयो !
(के गुमनाम भयो  ? यो हजुरहरूले नसोध्नुस् ल ।)

निराशा र रोषलाई मनबाट मन्तव्यमा राखेर कामको कुरातिर लागौँ । अबबाट पाठकिय अनुभूति, दृष्टि, बुझाइ लेख्न थालेको छु । कहिलेकाहीँ केही रचना लिएर आउने छु । केही अन्तरकुन्तरका, केही वैदिक साहित्यका र केही विज्ञानका कुरा । लु है त अब यात्रालाई सुरु गरौँ ।

प्रिय लेखक/कथाकार/छिमेकी/ठुलीआमा

सम्बोधनपछि सानो मान्छेले गर्ने अनुरोध नै हो । र, यो विनम्र अनुरोध ‘देह उत्सव’ कथा सङ्ग्रहलाई बजारसम्म पुर्‍याउनु पर्‍यो । प्रकाशक खोज्नु परे खोज्नुस्,  कृति पढेर छपाउन स्वतः तयार हुनेछन् जस्तो लाग्छ । राम्रो कृति सबैको हातमा पुग्नु पर्छ ।

तपाईँको पाठक/छोरो

यो कृति हजुरहरूले कतै बजारमा पाउनु हुनेछैन । आस गरौँ, लेखकले अनुरोध स्विकार्नु हुने छ ।प्रसङ्ग परिवर्तन गरेर अब लाग्छु पठन प्रतिक्रिया तिर !

| कथा सङ्ग्रह : ‘देह उत्सव’ (पवित्रा अधिकारी) |

मैले पाएको केही दिनमै पढेर सकेको सङ्ग्रह कम छन्  । एउटै बसाइमा पढिसकेको र केही कथा दुई तीन पटक पढेकोमध्ये यो पनि एक हो । यसो हुनुमा केही त छ । छ चाहिँ के त भन्दा भाषा शिल्प सुन्दर छ, कथा वस्तु फरक फरक । कहीँ जीवन, कहीँ जीवन्तता ! कहीँ आध्यात्मिक दृष्टि, कहीँ बालकको निर्दोषपन ! कतै मनोविज्ञान, कतै वर्गीय विभेद ! कहीँ आमाको विवशता त कहीँ वृद्ध आमाको पीडा ! अब यति हुनु भनेको समाज हुनु हो  । नारी बाध्यता । माता ममता आदि आदि पनि  । कति ठाउँ छ, पढ्दा कविता झैँ लाग्छ- भाषा !

सबै कथा एउटा समय हो या त समयको साक्षी !

भावुकता, निर्दोषपन, चिन्तन, चिन्ता र चित्रणको मीठो संयोजन हो यो कथा सङ्ग्रह । चिन्तन प्रस्टरूपमा देखिँदैन तर, छ । धेरै चाहिँ छैन ! कथाकारको अध्ययन, देखाइ, अनुभव र अनुभूतिको एउटा कुण्ड हो- सङ्ग्रह ।

सङ्ग्रहको मलाई प्रिय लागेका कथाहरूको केही नाम: “देह उत्सव”, “अन्त्यपछि”, “ओथारो”, “अव्यक्त तारा”, “नचिनेको पुरुष”, “बदलिएको कर्म भाव” आदि केही नामहरू !

निःशब्द बनाएको कथा : (१) अन्त्यपछि (२)अव्यक्त तारा

दुई तीन वटा कथाको केही कुरा भनौँ-भनौँ/लेखौँ-लेखौँ लागेको छ !

कथा: “विरोध “

यो विरोधको कथा, विरोधाभासको कथा ! एक नारीको आफ्नो मनोवृत्तिसँगको सङ्घर्षको कथा । ममताको मातृत्व खोजको युद्ध । एक उनैको मान्यतासँग, अर्को उनैको मनको समाजसँग । कथा छोटो हुँदा पनि बोल्न धेरै खोजेको हो तर समस्या पात्र स्वयं र कथ्य लाग्यो मलाई किन किन ! विरोध नयाँ होइन ‘कुन्ती’ र कथा पात्रको कुरा उस्तै हो, महाभारतको आवरण हटाउने हो भने । र, यता कथाकारको अस्पष्टता हटाउने हो भने।

कथाकार हिचकिचाएको पो हो कि ? नारीमा/स्त्रीमा कामुकता हुन्छ । यति भन्न/स्पष्ट हुन कथाकारले नसक्ने होइन । किन नसकेको प्रश्न कथाकारलाई नै ? यो कुरा अरू केही कथामा नि भएको छ !

कथा : “दुधवाली “

कथाको नाम यो कथा सङ्ग्रहको धेरै घनत्व बोक्न सक्षम छ । यो कथा सायद स्वयं कथाकारको कथा पनि हो ! फरक फरक पात्रको तीन फरक परिवेशको कथा । र, कथाकारले प्रयोग गरेको तरिका मोहक लागेको हो मलाई ! दुध्वाली एउटा सुन्दर संयोजन हो कथाहरूको ।

कथाकारले कथामा कुनै समय लेखेका अक्षरहरूलाई पात्रद्वारा पढाउनु हुन्छ । माथि भनेँ पनि यो उहाँकै आफ्नै कथा हो, मेरो दृष्टिमा । हेरौँ लेखकले लेखेको लेखकको रचना भनौँ न ।

कथा भित्रको अर्को कथा, 

“- सधैँ देखिरहेको उसलाई सोधेँ
स्थिर रहेर पनि तिमी कति मग्न छौ ?
हामीमा फरक किन ?

– म एक वृक्ष राप र तापले खाएको बूढो पातलाई समय आएपछि झारिन्छु र, नयाँ मुनामा बद्लिएर देखाउँछु तर, प्राणी श्रेष्ठ भनिने तिमी मान्छे बितेका पुराना कुरालाई बटुल्छौ र सल्काएर धुवाँ धुवाँ हुन्छौँ अनि जीवनभर आँसु गीत गाइरहन्छौ ।

उसले मौन हाँसोमा जिस्क्याउँदै भन्यो, ‘म होसमा बाँच्छु , तिमी बेहोसीमा ।’

अर्को पङ्क्ति थियो :

– समुद्र , तिमी झुटो लाग्यो हर थोपा चञ्चल छन् तिमी भित्र । असीमित चञ्चलतालाई समेटेर कोही कसरी शान्त रहन सक्छ ?
– यी हर थोपाहरू तिम्रा विषय भोगहरू हुन् । जब तिमी बहु विषयहरूलाई सहजबोध गर्न सक्नेछौ तत्‌क्षण मलाई बुझ्ने छौ । ”

यो हेर्दा लेखकमा रहेको प्रकृति प्रेम झल्केको छ । जीवन र जगत् जोड्ने सुन्दर शिल्प त हो नै साथै, मीठो कल्पक्षमता पनि हो ।

लगत्तै आउँछ : “नचिनेको पुरुष” कथा

कथा भाव वेगको हिसाबले उत्कृष्ट हो । भाषा शिल्प अझै स्तरीय हुन्थ्यो भने हरेक हरफ एक कथा हुन्थ्यो सायद ! सानो अंशमा आँखा लगाऊँ : “लोग्ने-स्वास्नीको बीचमा मात्र त्यस्तो सम्बन्ध हुने भए ! सुन नानी म तिम्री हजुरआमा, आमा, काकी, फुपू, भाउजू र अझै के के भएँ के के ?”

सानो अंशले कति कथा भन्यो सोचौँ त !

कथा: “पाताल प्यास”

यो कथाले मलाई तारणीप्रसाद कोइरालाको ‘सर्पदंश’ उपन्यासको ‘कम्मु’ पात्रको याद आइरह्यो । बाल्यकालको निर्दोषपन साँच्चै कत्ति सजीव हुन्छ !

( लौ चारै कथाको पो भए छ । थाहा त पाउनु भएन ? )

प्रिय पाठक,

कथाहरूको पृष्ठभूमि भन्न/लेख्न खासै रुचि मैले राखिनँ । अवश्यमेव कथा सङ्ग्रह हात लाग्ला हजुरहरूको कुनै दिन, अहिलेलाई कथाकारले प्राण भरेका कथाको अंश पढेर कथाको भूमि कल्पिनुस् !

“उसको मातृवात्सल्यमा चीत्कार गरिरहेको त्यो अमूर्त गुञ्जन विस्तारै शमन हुँदै थियो । उसले फर्केर हेरी पुनः चिहान डाँडातिर, रुँदारुँदै निदाएको बच्चा झैँ अब त्यो चिहानघर मौन थियो । ”
[- सिमेन्टको घर- कथा ]

“जीवन केलाउन पनि त चेतना चाहिन्छ त्यो चेतना उसले गिट्टीसितै धुल्याइसकेको थियो । मानौँ, त्यही सानी नदीले बगाउँदै ल्याएको ढुङ्गाको चाङ थियो उसको जीवन, जुन टुक्रिएर गिट्टी बन्यो अनि धुलिएर हराउँदै कतै उड्दै गयो ।”
[~बदलिएको कर्मभाव~ कथा ]

“हजुरबाको तस्बिर र यश सिक्कालाई अब छुट्ट्याउन मन लागेन । त्यही तस्बिरभित्र हजुरबाको हृदय छेउ सिक्का टाँसिदिएँ अनि भित्तामा झुन्ड्याउँदै श्रद्धेय नमन गरेँ । यसरी एउटा अव्यक्त र अनौठो शाश्वत कथा अनुभव गर्दा आँसुसितै मेरा भावहरू बगिरहे । हरेक ताराहरू चम्कनका लागि मात्र हुँदैनन् । कयौँ ती शून्यतामा झरेर बिलाउँछन् । हो तिनै अव्यक्त ताराहरू अब शून्यतातिरै झरिरहेका थिए । ”
[~ अव्यक्त तारा ~ कथा]

प्रतिक्रिया कविता:

~ देह उत्सव ~

घामको यात्रा हो जीवन
आफू आफैँमा विद्रोह हो घाम
परिवर्तनका एकएक खुड्किलामा
बद्लिन्छ मान्छे, बद्लिन्छ कर्म, बद्लिन्छ भाव ।

प्रेमको प्रश्नले ताराहरूको पीडा अव्यक्त रहिरहन्छ
तस्बिरमा अडिन्छ मायाको चिनो !
मनको कुटीमा मान्छे देह उत्सव मनाउँछ
एक खेलले, एक ‘काम’ले, एक वासनाले
ओझेलमा राख्छ दिवास्वप्न अन्जान बन्छ आफैँसँग !

जुठो लाग्दैन मनुवालाई आफ्नै मृत्युको निम्तोले
उसलाई बस्नु छ ओथारो लोभको, सेवक बुन्नु छ मनको
सेता फूलहरूले छोपेर लक्ष्य
श्रद्धाञ्जली दिएको छ समवेदनालाई / वात्सल्यलाई
गाड्नु छ केही दृश्य भविष्यको ! मार्नु छ याद भूतको ।

कङ्क्रिट हृदयको आफैँ विधुवा/आफैँ विदुर
अनि त्यसपछि
दुलही या दुलहा बनेर मृत्यु कुर्ने छ अन्त्यपछि उसले
मनाउने छ “देह उत्सव” ।

|< पढ्नेलाई धन्यवादको शब्द लहरिमाला >|

Tags:

सम्बन्धित समाचार