शनिबार , बैसाख २६, २०८३

मौलाकालिका केवलकारको ७० प्रतिशत काम सम्पन्न, स्थानीयवासी उत्साहित

वनैवन बीचको करिब १ घण्टा लाग्ने ठाडो उकालो अब पाँचै मिनेटमा तय हुने भएको छ ।

image

नवलपरासी । वनैवन बीचको करिब १ घण्टा लाग्ने ठाडो उकालो अब पाँचै मिनेटमा तय हुने भएको छ ।

चराचुरुङ्गीको चिरबिर आवाज र त्रिशूली र कालीगण्कोडकी नदीको सङ्गम देवघाटधामको सुन्दर दृश्य हेर्दै फराकिलो आँगन भएको मौलाकालिका मन्दिर पुग्न सकिन्छ । मन्दिर उक्लँदै गर्दा दक्षिणतर्फ सललल बग्दै गरेको नारायणी नदीको नागबेली चाल र त्यसको पारिपट्टिको नारायणघाट बजारसहित चितवनको समथर भूभागको मनोरम दृश्य केवलकारमा बसीबसी हेर्न मिल्ने भएको हो । 

मुलुककै प्रख्यात धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक प्रक्रिया शुरु गरिएसँगै स्थानीयवासी एवम् त्यस क्षेत्रमा पर्यटकीय चहलपहल सुरु भएको देखिन्छ । स्थानीयवासी पनि हर्षित भेटिन्छन् । पूर्वी नवलपरासी गैँडाकोटस्थित सो मन्दिर क्षेत्रमा आइएमइ समूहले १ अर्ब ५० करोड लगानीमा केवलकार स्थापना गर्न लागेको हो ।

मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्याकंन (इआइए) सम्बन्ध सम्पन्न भई काम अघि बढेको आइएमइ समूहका जनसम्पर्क व्यवस्थापन विभागका प्रमुख राजु पौडेलले हिमाल दर्पणलाई बताए । बटम स्टेशन, टावर अलाइन्मेन्ट, टप स्टेशन गरि तीन तहअन्तर्गत ७० प्रतिशत काम सकिएको उनले बताए । “बटम स्टेशनको ७० प्रतिशत काम सकिएको छ भने टावर अलाइन्मेन्टतर्फ शतप्रतिशत काम सकिएको अवस्था छ । टप स्टेशनमा होटेल संरचना निर्माण गर्न अझ २ महिना लाग्छ”, उनले भने । पौडेल यस आयोजनामार्फत यस क्षेत्रको पर्यटकीय विकासमा ठुलो योगदान पुग्ने बताउँछन् ।

परियोजना प्रमुख इन्जिनियर गोकुल साउदका अनुसार गैंडाकोटको धारापानी टोलबाट मन्दिर नजिक रहेको हेलिप्याडसम्म केवलकार बन्ने छ । एक किलोमिटर १ सय ५७ मिटर लामो उक्त केवलकारमा ६ पिल्लर र १२ वटा गोन्डोला (डब्बा) रहने छन्, जसमा दुई वटा डब्बाले सामान बोक्नेछ । एउटा गोन्डोलामा आठ जना अट्छन् । फेदीबाट मौलाकालिकासम्म पुग्न ५ मिनेटको समय लाग्ने साउदले बताए । अहिले मन्दिर पुग्न करिब एक हजार ८८२ खुड्किलो उक्लिँदा ४५ मिनेट समय लाग्ने गरेको छ ।

केवलकार अपरेशन र होटेलको संरचना निर्माण सकिएपश्चात् परियोजनाले अन्तिम रूप लिने प्लान्ट इन्चार्ज सरोज चापागाईँले बताए । “बटम स्टेशनमा हामी रेडी छौँ, टप स्टेशन सकिएलगत्तै मानिसहरूको आवतजावत हुनेछ”, उनले भने । यस परियोजनामा ५१ प्रतिशत लगानी आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयवासीको रहेको छ ।  स्थानीय समेत साझेदार हुने भएपछि गैंडाकोटवासी उत्साहित भएका छन् । 

अष्ट्रियाको गोपलमेर कम्पनीको केवलकार जडान गर्न लागिएको मेकानिकल इन्जिनियर  जावेद रायले बताए । गोपलमेर कम्पनीकै सामान  चन्द्रागिरिको केवलकार समेत जडान गरिएको हो । “केवलकार सम्पूर्ण चिज आइसकेको छ । निर्माण सम्पन्न भएपश्चात् केवलकारले एक घण्टामा ६०० जनालाई सेवा दिनेछ”, रायले बताए । गोपलमेर कम्पनीको केवलकार जडान चन्द्रागिरिमा समेत जडान गरिएको छ ।

आयोजनामा काम गर्ने सहयोगी नेपाली कामदार नै रहेका छन् भने इन्स्ट्रक्सन् चाहिँ अष्ट्रीयन युगान फ्रोडल्सकीले दिँदै आइरहेका छन् । फ्रोडल्सकी विगत दुई महिनादेखि यही योजना अन्तर्गत काम गरिरहेका छन् ।

गैँडाकोट मौलाकालिका मन्दिर फेदी धारापानी टोलमा १२ कठ्ठा जमिन खरिद गरी मौलाकालिका केवलकार प्रालि दर्ता नै गरेर आइएमइ ग्रुपले केबुलकार निमार्णका लागि अन्य प्राविधिक तयारी गरिरहेको कन्स्ट्रक्सन म्यानेजर राजेश शाहले बताए । केवलकार निर्माण स्थलबाट मन्दिरसम्म जाने मार्गमा मौलाकालिका सामुदायिक वन (टावर ४ र ५) र मौलाकालिका धार्मिक वन (माथिका) पर्दछ । सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको हो ।

नेपाल सरकारको प्रचलित नियम अनुसार सो जग्गा बापतको शोधभर्नासमेत गरेर काम अगाडि बढाइएको व्यवस्थापन विभागका प्रमुख पौडेलले बताए । “सरकारी स्तरबाट सम्पूर्ण प्रक्रिया पूरा भएपछि निर्माण कार्य शुरु गरेका हौँ । सबै पेपरवर्क भइसकेको अवस्था हो”, उनले भने ।  पौडेलका अनुसार ७ सय देखि हजार रुख काटिएको छ ।

मौलाकालिका सामुदायिक वनका अध्यक्ष काशिनाथ कडेँलले केवलकार निर्माणको चरण र निर्माणपछि हुने फाहोरमैला व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए ।

गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी यस सबन्धमा आयोजनाले पालिकासँग समन्वय गर्न बाँकी रहेको बताउँछन् । “उहाँहरू परियोजना निर्माणकै क्रममा हुनुहुन्छ, संचलानमा आउनुपूर्व हामीसँग छलफल आउनुहुन्छ होला’, उनले भने । नगरभित्र रहेका ३६ वटा धार्मिक सङ्घ संस्थालाई समेटेर धार्मिक पर्यटकीय नगर विकासको योजना अघि बढेको समेत अधिकारीले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज रिजाल यस परियोजना स्वागतयोग्य रहेको बताउँछन् । “प्राइभेट कम्पनिले नगरको पर्यटकीय गतिविधि बढाउन हेतु गरिरहेकाले यो सकारात्मक कुरा हो । हामीले संरचना निर्माणका लागि स्वीकृति दिइसकेका छौँ”, उनले भने ।केवलकार स्थापनाले यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने उनी बताउँछन् ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले अहिले नै वार्षिक पाँच/सात लाख पर्यटक देवघाटधाममा आइरहेको अवस्थामा गैँडाकोटबाट मौलाकालिका र मौलाकालिकाबाट देवघाट जोड्न सके र बेनी सङ्गममा त्रिकोणात्मक पुल बनेपछि बर्सेनि २० लाख पर्यटक आउन सक्ने धारणा व्यक्त गरे ।

मन्दिर क्षेत्रमा कालिकाको मुख्य मन्दिर रहेको छ । उत्तरतर्फ भैरव मन्दिर, पश्चिममा होमनकुण्ड र चर्तुमुखी शिवालय रहेको छ । पाल्पाका राजा मणिमुकुन्द सेनको राज्यकालमा तत्कालीन सैनिक टुकडीले आफ्नो गढी (ब्यारेक) मा मौलो गाडी कालिका भगवतीको शिला स्थापना गरेर पूजाअर्चना गर्दै आएको किंवदन्ती पाइन्छ ।

 

यो पनि पढ्नुहोस्- मौलाकालिका मन्दिर : जहाँ सैनिक टुकुडीलाई शक्तिपीठका रुपमा पुजिन्छ

मन्दिर क्षेत्रमा १२५ जना अट्ने सभाहल, ३० जना क्षमताको धर्मशाला रहेको छ । सो ठाउँमा १७५ जनासम्म खान बस्नको व्यवस्था छ । मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ यहाँ तीर्थालुहरू आउने गर्दछन् । मौलाकालिका मन्दिरमा दर्शनका लागि आन्तरिक र बाह्य गरी वार्षिक करीब १० लाख पर्यटक आउने गरेको अनुमान छ । केवलकार स्थापनासँगै सो सङ्ख्यामा निकै वृद्धि हुने जनाएको छ । 

आइएमइ समूहले चन्द्रागिरिमा पनि केवलकार स्थापना गरेको छ । थानकोटबाट चन्द्रागिरि हिल्स प्रालिले सञ्चालन गरेको केबलकार चढेर दिनहुँ चन्द्रागिरिमा भालेश्वर महादेवको मन्दिरमा दर्शन गर्न पुग्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ ।

सम्बन्धित समाचार