मंगलबार , बैसाख ११, २०८१

गैससका तालिम, खान्की र खर्च

गैससका अधिकांश लेखा परीक्षकले जति तोडमोड र झुटको खेती गरेको कहीँ देखिँदैन । एक हजारको खर्चलाई दस हजारको बिल बनाउने गैसस धेरै छन् । यस्तो अवस्थामा गैससलाई आम जनताले कसरी विश्वास गर्ने ?

image

अलि अगाडि एक मिडिया क्षेत्रको विकासको निम्ति स्थापना गरिएको गैरसरकारी संस्थाबाट (गैसस) तालिमको लागि निम्तो आयो । समय, स्थान, कार्यक्रम, प्रशिक्षक र भोजनको विवरण सबै निम्तोमा उल्लेख गरिएको थियो । तालिम चारतारे हाेटलमा राखिएको थियो । म ठ्याक्कै समयमा पुगेको थिएँ । चहलपहल अलि कम थियो । आयोजक गैससका मालिकलाई नमस्कार गरेर मैले छेउमा राखिएको ब्रेकफास्ट लिएँ।

छेउमै गैससका मालिक अर्को गैससका मालिकलाई हाँस्दै भन्दै थिए, “अब पत्रकारहरूलाई हजामको कपाल काट्ने तालिम दिन मात्रै बाँकी छ, अरू सबै सिकाइयो ।” अर्को मालिक ‘होहो .. सबै भैसकेको छ, सूचनाको हक … लेखन, सम्पादन , खोज इत्यादि भइसकेका छन्’ भन्दै मज्जाले हाँसे । तालिमका आमन्त्रित आउँदै ‘नमस्कार’ गर्दै नास्ता खाँदै थिए । मालिकहरू गफिँदै थिए ।

तालिम सुरु भयो । आयोजकतर्फका कर्मचारीले डायरी र कलम सहभागीलाई दिए, हस्ताक्षर गराए । विज्ञले ल्यापटप अन गरे । पावरपाेइन्टबाट आफ्नो विज्ञता सहभागीलाई सुनाउँदै थिए । सहभागी कोही सुन्दै थिए, कोही लेख्दै थिए त कति च्याट गर्दै थिए । दुईवटा सेसन गयो । सत्य-तथ्य, निष्पक्ष, लगायतका आधारभूत पत्रकारिताका सिद्धान्त सिकाइए । बिचबिचमा जोक सुनाइए, एकछिन गललल सबै हाँसे । लन्च सुरु भयो, मासुभात लगायतका धेरै परिकारको व्यवस्था गरिएको थियो । लगभग धनाढ्यका बिहे भोजको जस्तै खान्कीको व्यवस्था थियो ।

कार्यक्रमको अन्तिममा ‘आशा छ तपाईँलाई यस एकदिने  राष्ट्रिय  तालिमले तपाईँको व्यावसायिक जीवनमा राम्रो प्रभाव पार्छ’ भन्ने वाक्य छुटेन । त्यसपश्चात्  प्रमाणपत्रसहित खाम दिँदै पुनः हस्ताक्षर गराएर बिदाइ तथा सामूहिक तस्बिरबाट तालिम समापन भयो । सहभागी सबै आआफ्नै गन्तव्यतिर लागे ।

***

वास्तवमा यस्ता गैससका तालिमले, गैससका मालिकले भनेझैँ तालिम लिएकालाई ठुलो प्रभाव पार्छ त ? एक/दुई दिनका दाताको सहयोगबाट दिइने तालिमले व्यावसायिक जीवनमा कति प्रभाव पार्ला ? हुन त अहिले व्यावसायिक पत्रकारिता गर्ने अधिकांशले पत्रकारितामा स्नातक तह वा सो-सरह उत्तीर्ण हुन्छन् । पत्रकारिता विषयमा स्नातक नगरेकाले नेपाल प्रेस इन्स्टिच्युटबाट निश्चित कोर्स पूरा गरेका हुन्छन् । पत्रकारिताका आधारभूत सिद्धान्त अवश्य जानेका हुन्छन् । तथापि यस्ता कार्यक्रम, तालिम, गैससपिच्छे आयोजना भएका हुन्छन् । पङ्क्तिकारले पनि एकै प्रकृतिका फरक-फरक संस्थाबाट तालिम लिएका छन् ।

समग्रमा गैससका तालिमले सहभागीमा कति परिवर्तन ल्याउँला ? सहभागीको सीपलाई कति निखरता प्रदान गर्ला ? तालिमपश्चात् एकअर्कामा कुरा हुँदा, बुझ्दा, अधिकांश सहभागीको उद्देश्य सिक्ने कम उपस्थित जनाउने धेरै देखियो । कारण यस्तै प्रकृतिका बर्सेनि धेरै तालिममा उनीहरूले विभिन्न गैससमार्फत सहभागिता जनाइसकेका हुन्छन् । अझ कति कुरा तालिम अगावै पढेको पनि हुन्छ । अर्कोतिर,  गैससका धेरै कार्यक्रममा नवीनता कम एकअर्कामा समानता धेरै पाइन्छ । यस्तो परिपाटीमा सहभागीले सिक्ने कम, उपस्थितिमात्र सीमित भएको देखिन्छ ।

गैससले सहभागीलाई सिकाउनु छ भने अब नयाँ तरिका अपनाउनुपर्छ । केही समय हप्ता दस दिनको तालिम तालिका निर्माण हुन आवश्यक छ । तालिममा पनि विश्व परिवेशमा प्रचलित प्रविधि र प्रक्रिया समावेश हुनुपर्छ । अनि मात्र केही प्रभाव देखिएला, अन्यथा ‘भात, भत्ता र भर्पाईमा’ सीमित हुने पक्का छ ।

गैससले यस्ता तालिमको आयोजना दाताको सहयोगबाट सञ्चालन गरेको पाइन्छ । दाताले २०-३० काे सङ्ख्यामा समावेशी तवरले उपस्थिति गराएर तालिम दिन लगाउने गरेको देखिन्छ । साे तालिम आयोजना गरेबापत निश्चित रकम गैससलाई प्रदान गरिन्छ । गैससले पनि परियोजना रकम अनुसार तारे हाेटलदेखि सामान्य हलमा तालिम आयोजना गर्छन् । सहभागीलाई गाडी भाडा तथा अन्य खर्च स्वरूप हजार, पाँच सय भत्ताको  व्यवस्था गरिएको हुन्छ । कसैकसैले आवास सहितका कार्यक्रम पनि गर्छन् । जिल्ला जिल्लाबाट हवाई टिकटको व्यवस्था गरेर सहभागीलाई निमन्त्रणा गरी तालिममा उपस्थित गराइन्छ ।

बर्सेनि अर्बौँको बजेट दाताबाट गैससलाई विभित्र शीर्षकमा कार्यक्रम सञ्चालनको निम्ति विनियोजित भएको छ । दैनिक माथि उल्लेख गरिएका जस्ता गैससका तालिम धेरै हुने गरेका छन् । संस्थाको प्रकृति अनुसारका तालिम, गोष्ठी, सेमिनार तारे हाेटलदेखि सामान्य सामुदायिक भवनमा भएको देखिन्छ । समाज कल्याण परिषद्ले २०२० मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा करिब सत्तरी हजार गैसस दर्ता भएका छन्, जसमध्ये करिब १४ हजार गैससले मात्र सक्रियरूपमा काम गरिरहेका छन् । बाँकी नवीकरण नगरेका र झोलामा सीमित  रहेको देखिन्छ ।

नेपालको पहिलो गैरसरकारी संस्था ‘गान्धी चर्खा प्रचारक गुठी’ देखि अहिलेका सक्रिय गैसस जस्तै: माइती नेपाल, तिलगंगा आँखा अस्पताल, प्रारम्भिक बाल विकास केन्द्रलगायतका गैससहरू विभिन्न सामाजिक क्षेत्रमा सक्रियताका साथ सञ्चालित छन् । अनुराधा कोइराला कार्यरत माइती नेपालले, बेचिएका चेलीबेटीको उद्धार गर्छ । विशेष गरी भारतीय कोठीहरूमा बेचिएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामा उनको संस्था क्रियाशील छ ।

त्यस्तै, विश्व प्रसिद्ध आँखा रोग विशेषज्ञ  डाक्टर सन्दुक रुइत कार्यरत  तिलगंगा आँखा अस्पतालले पनि आँखाको उपचारमा विश्व स्तरीय सेवा प्रदान गरिरहेको छ । पुष्पा बस्नेतद्वारा सञ्चालित ‘प्रारम्भिक बाल विकास केन्द्र’ले जेल परेका आमाबाबुको सन्तानको पालनपोषण र शिक्षादीक्षा दिँदै आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गर्दै आइरहेको छ ।

मार्टिन चौतारी, समता फाउन्डेसन लगायतका केही गैससले प्राज्ञिक खोज, अनुसन्धान तथा ज्ञान उत्पादन कार्यमा राम्रो छाप छोड्न सफल भएका छन् । दाताबाट प्राप्त सहयोगबाट राज्यलाई नीति निर्माणमा सल्लाह सुझाव दिने कार्य गर्दै आइरहेका छन् । यी नमुना गैससले खास तवरले गैससले गर्नुपर्ने कार्य गरेर उदाहरणीय गैससकाे रूपमा स्थापित भएका छन् । धेरैको विश्वास जितेर समाजमा सफलताको छाप बसाल्न सफल भएका छन् ।

गैसस सञ्चालनको लागि समाजकल्याण मन्त्रालय अन्तर्गतको समाजकल्याण परिषद्ले निश्चित दायरा तोकिदिएको छ ।  गैससकाे काम कर्तव्य उद्देश्यसहित आफ्नो  विधान पनि हुन्छ  । सोही विधानमा टेकेर  विभिन्न सामाजिक आर्थिक, सांस्कृतिक, प्राकृतिक, न्यायिकलगायतका क्षेत्रमा दाताको सहयोगमा काम गर्ने हो । एकतिरबाट हेर्दा गैससकाे यस्तो कार्य निकै सह्रानीय देखिन्छ । ‘समाजमा परिवर्तनको निम्ति काम गर्छु’ भन्नू राम्रो हो । ‘रूपान्तरण र सुधारको लागि अहोरात्र खटिन्छु’ भन्नू सदैव स्वागतयोग्य हुन्छ नै ।  विडम्बना तर, केही प्रभावकारी गैससका बिच धेरै यस्ता गैसस छन् , जसको मूल उद्देश्य ‘कागजमा एक, कर्ममा अनेक’ देखिएको छ । दाताले दिएको बजेटमाथि चरम हिनामिना गरिरहेका छन् । बेकामे बिलका थुप्रोले, काल्पनिक प्रतिवेदन लेखोटले, दाताको दान व्यक्तिगत स्वार्थमा खर्च गरिएको स्पष्ट देखिन्छ । सरासर हेर्दा ‘काम कुरो एकातिर दाताको रकम बोकी घरतिर’ जस्तो देखिएको छ । जसकारण केही प्रगतिशील र नागरिक अधिकारकर्मीको निशानामा गैसस भ्रष्टाचारी संस्थाको रूपमा चित्रण गरिएको छ ।

भ्रष्टाचार निराकरण परियोजना प्राप्त गरेको गैसस आफैँ भ्रष्टाचार गरिरहेका हुन्छन् । धारा २७, सूचनाको हक सम्बन्धी तालिम दिएका गैससले विभिन्न तवरले आफ्नो सूचना आर्थिक तथ्याङ्क लुकाएका हुन्छन् । ‘अनुसन्धान गर्छु’ भनी परियोजना लिएका धेरै गैसस अन्धाधुन्ध लेखिरहेको देखिन्छ । अन्ततः  सेवा भावलाई सिद्धान्त मानी स्थापना गरिएका गैसस ‘विदेशीको मेवा’ कसरी हुन्छ पचाउनमा लागिपरेका छन् । गैससका अधिकांश लेखा परीक्षण र लेखा परीक्षकले जति तोडमोड र झुटको खेती गरेको कहीँ देखिँदैन । एक हजारको खर्चलाई दस हजारको बिल बनाउने गैसस धेरै छन् । यस्तो अवस्थामा गैससलाई आम जनताले कसरी विश्वास गर्ने ?

गैससकाे स्थापना समाजसेवाको निम्ति हो तर एकाध बाहेक धेरै गैससकाे कामकारबाही सेवा नभई ‘कसरी हुन्छ खाने, खुवाउने र बाँड्ने’ भन्ने रहेको छ । गैससका मालिक अर्थात् अध्यक्ष, सिइओकाे जीवनशैलीले त्यसको छनक दिइरहेकै छ । समाजसेवा गर्छु भन्ने मानिसको वैभव र विलासिताको मेल हुनु आफैँमा बेमेल कुरा हो । तर, नेपालमा यिनै दुई विपरीत ध्रुवको खास मेल भएको देखिन्छ । फलतः चरम आर्थिक हिनामिनाले गैसस थला परेका छन् । बिरामी गैससबाट कसरी स्वास्थ्यकर परिणाम प्राप्त होस् ?

अन्तमा, नेपालमा सञ्चालित अधिकांश गैससकाे सम्बन्ध भ्रष्टाचारसँग धेरै निकट देखिएको छ । गैसस भन्ने बित्तिकै जनमानसमा राम्रो प्रभाव  देखिएको छैन । गैससकै स्वार्थ गतिविधिले गैससकाे पहिचान र परिचय दिनानुदिन धुमलिएकाे छ । खस नेपालीमा एउटा उखान छ, ‘धन तेरो चकचकी मेरो’ अर्थात् ‘धन अरू कसैको तर फुर्तिफार्ति मेरो ।’ खस नेपालीको यो उखान र नेपालमा कार्यरत अधिकांश गैससका गतिविधिसँग ठ्याक्कै मेल खान्छ । गैससकाे अहिले देखिएको फुर्ती र ‘बजेट हजम’ गर्ने प्रवृत्ति बढेर गए, ढिलो चाँडो गैससकाे बहिर्गमन निश्चित छ । त्यसकारण समग्र गैससले सत्यतथ्य निष्पक्ष तवरले काम गरेर आफ्नो धुमलिएकाे चरित्र सफेद बनाउन लागिपर्नुपर्छ । समाजमा सेवाभाव प्रस्तुत गरी गैससकाे नाम अनुसारको सार्थकता दिलाउनुपर्छ  । अनि मात्र माइती नेपालले जस्तो  विश्व जगतमा चर्चा माया र विश्वास प्राप्त हुनेछ । अन्यथा , सम्पत्ति सुदृढीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धानको तारो बन्ने मार्ग प्रशस्त कोरिनेछ ।

सम्बन्धित समाचार