बिहिबार , अषोज १, २०८३

‘हतियार र हार्मोनियम उठाउनुमा खासै अन्तर छैन’

जुन उद्देश्यका साथ क्रान्तिको झन्डाको उठायौँ, क्रान्तिकारी मोर्चामा होमियौँ, त्यो स्थिति अहिले देखिँदैन । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक बन्यो, तर युद्धकालमा कलाकारहरूलाई बाँडिएको सपनाको सानो झिल्को अहिले भेट्न मुस्किल छ ।

image

Photo by: हिमाल दर्पण

‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन
कसले भन्छ योद्धाहरूको जित हुँदैन’

एक समय सशस्त्र जनयुद्धलाई गति प्रदान गरेको यस गीत धेरैको मन-मस्तिष्क अहिलेसम्म ताजै रहेको होला । युद्धविराम भइसके तापनि रोल्पाका केही साथीहरूको गलाबाट यो गीत बेला-बेला निस्किरहने गर्दथ्यो । बेलामौकामा सुनिरहेको हुँदा गीतसँग सम्बन्धित स्रष्टालाई भेट्ने हुटहुटी बढीरहेकै थियो ।

हुटहुटी शान्त गर्न भाइ युग सर्वनामले मलाई गीतका गायक मोहित श्रेष्ठको जिम्मा लगाइदिए । यो गीत २०६१ सालमा नेकपा माओवादीको केन्द्रीय समितिको बैठकको अवसरमा गाइएको गीत हो । लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तीले रचेको यो गीतमा गायक मोहित श्रेष्ठकै सङ्गीत रहेको छ । सामना सांस्कृतिक परिवार र प्रतिरोध सांस्कृतिक परिवार मिलेर संयुक्त रूपमा गरेको कार्यक्रममा पहिलो पटक गाइएको यस गीत जनयुद्धको उत्कर्षको समयमा जनमुक्ति सेनालाई उत्साहित पार्न सिर्जना गरिएको थियो ।

mohit shrestha, jangayak

सतुंगलको एउटा कोठामा विभिन्न वाद्यवादनलाई परिवार बनाएर बसेका मोहित श्रेष्ठको गीत मात्र सुनिएन, उनको सङ्घर्षलाई पनि छामियो । देश र परिवर्तनका लागि उनले दिएको योगदान स्वरूप उनले अहिले पाएको जीवन देखेर मेरा शब्दहरू सकिए ।

२०३७ साल ज्येष्ठ ९ गते जङ्कोट-८, नाम्ली, रोल्पामा बुवा रणबहादुर श्रेष्ठ र आमा गवनकुमारी श्रेष्ठको सन्तानको रूपमा मोहित श्रेष्ठको जन्म भएको हो । जनयुद्ध सुरु हुनु भन्दा अघि ४६/४७ सालमा रोप्ला-रुकुमतिर जनमोर्चाको माहौल बनिसकेको थियो । मोहितका घरका सबै जनमोर्चामा होमिइसकेका थिए ।बुवा जनमोर्चाको वडा सदस्य, माइली दिदी जिल्लाको एक विद्यार्थी सङ्गठनको सशक्त नेता भएकी थिइन् । मोहित पनि भाइबहिनीसहित स्थानीय रूपमा हुने सांस्कृतिक कार्यक्रममा सरिक हुने गर्दथे । यसप्रकार उनको बालमनोविज्ञान क्रान्तिकारी विचारले प्रभावित बन्न पुगेको थियो ।

पढाइको सिलसिलामा रोल्पाको सदरमुकाम लिवाङ प्रवेश गरेपछि पहिलाको राजनैतिक प्रभावका कारण र वरपरको वातावरणले उनी अझ प्रभावित हुँदै गए । एसएलसीपछि विश्रामको समयमा साथीभाइहरूको सम्पर्कमा रहँदा-रहँदै उनी पनि माओवादी निकट भइसकेका थिए । २०५२ सालमा लिवाङ वरिपरि भूमिगत भएका नेताहरूसँग भेट हुने, उनीहरूलाई एक ठाउँबाट अर्को ठाउँ पुर्‍याउने गर्दा गर्दै नजानिँदो पारामा उनी माओवादीमा प्रवेश गरे ।

mohit shrestha, jangayak (1)

२०५३ सालको अन्तिमतिर जनयुद्धमा सक्रिय भएर लागेपछि उनले आफ्नो ४ वर्ष जनमुक्ति सेनाका लागि दिए । त्यसपछि पार्टीको आवश्यकताको हिसाबले उनलाई सांस्कृतिक क्षेत्रको जिम्मा दिइयो र सुरु भयो, उनको साङ्गीतिक यात्रा ।

आन्दोलनको जुन खालको स्कुलिङबाट मोहित र समूह प्रशिक्षित थियो, त्यसकै आधारमा क्रान्ति, बलिदान, मुक्ति, स्वतन्त्रता लगायतका विषयसँग सम्बन्धित रहेर गीत सिर्जना गर्नुपर्थ्यो । मोहितको साङ्गीतिक यात्रा सिक्दै, गाउँदै अघि बढ्यो । मोहितकै शब्दमा भन्दा ‘उनीहरू भुईँ फोरुवा कलाकार जस्तो आफैँ बजाउने, आफैँ गाउने, आफैँ सिक्ने र जनतालाई प्रभावित पार्न के गर्न सकिन्छ भन्ने कुरा मनन गर्दै उनीहरू अघि बढेका थिए ।’

अहिलेको समयसम्म आइपुग्दा क्रान्ति लगभग विश्रामको अवस्थामा पुगिसकेको छ, क्रान्तिको बाटो फरक दिशामा मोडिएको छ । उनी जस्ता कलाकारहरूलाई नयाँ ठाउँ, भूगोल र नयाँ किसिमको काममा एडजस्ट हुन अप्ठ्यारो छ । जनयुद्धको समयमा बिना प्रशिक्षण गरिएको काम सो समयको लागि ठिकै थियो तर, अहिले व्यावसायिक क्षेत्रमा प्रवेश गरेपछि त्यतिले नपुग्ने भयो । धेरै कुराको ज्ञानको कमी महसुस भएकाले उनी लगायत धेरै साथीहरूलाई गाह्रो छ । यद्यपि उनीहरू निरन्तर लागिरहेका छन् ।

हिजो विचारको गीत गाउने गला अहिले रोटीको लागि त्यो समयमा उनीहरूले बुर्जुवा भन्ने गीत गाउँदै छन् । समयको माग अनुसार उनी मन भए पनि नभए पनि फरक किसिमका गीतहरू रच्दैछन्, गाउँदै छन् । कुराकानीलाई केहीबेर विश्राम दिएर मैले मोहितको अर्को गीत सुन्ने जमर्को गरेँ ।

‘आऊ मायाको सागर तरौँ, अधुरो यो माया भरौँ
जीवनले खोजेको तिमी र म, जीवनभरि नै सँगै रहौँ’

mohit shrestha, jangayak

यो गीत सुनेपछि हामी फेरी कुराकानीमा फर्कियौँ । मेरो मनमा लागेका जिज्ञासाहरू मैले राख्दै गएँ, उनी आफ्नो विचार र सम्झनाका झोक्काहरूले मलाई छुँदै गए ।

उनले सुरु गरे, “हामीले फरक सोचेका थियौँ, क्रान्ति सम्पन्न गर्ने, क्रान्तिलाई विजयको बिन्दुमा पुर्‍याउने र आम नेपाली नागरिकहरूलाई एउटा उन्मुक्तिको वातावरणमा जिउन सक्ने बनाउनु पर्छ भन्ने सोच थियो । जुन उद्देश्यका साथ क्रान्तिको झन्डाको उठायौँ, क्रान्तिकारी मोर्चामा होमियौँ, त्यो स्थिति अहिले देखिंदैन । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्यो, तर युद्धकालमा कलाकारहरूलाई बाँडिएको सपनाको सानो झिल्को अहिले भेट्न मुस्किल छ । जनयुद्धमा हामीले कल्पना गरेको भन्दा धेरै अप्ठ्यारो स्थिति आत्मसात गर्नुपरेको छ ।”

जनवादी क्रान्ति नै सम्पन्न भएर उनीहरूले क्रान्तिकै गीत गाउने माहौल भइदिएको भए सायद फरक हुने थियो होला । उनको शब्दमा भन्दा ‘…तर जनवादी व्यवस्था त आएको होइन, हामी बुर्जुवा गणतन्त्रमा आइसकेपछि यहाँ एडजस्ट हुन गाह्रो भएको हो । अवसरको हिसाबले खुला अवसर छ, जसले जस्तो चाह्यो त्यो गर्न सक्ने वातावरण छ । हिजोको जस्तो माहौल छैन, जहाँ एउटा सीमा हुन्थ्यो । हाम्रो सपनासँग अहिलेको परिस्थिति मेल नखाएको जस्तो भएको हो ।’

यत्तिकैमा मैले हतियार चलाउनु र हार्मोनियम चलाउनुमा कत्तिको फरक छ ? भनेर सोधेँ । जसको जवाफमा उनले हतियार र वाद्यवादन दुवैको आआफ्नै महत्त्व भएको बताए । उनले हतियार समाउने बेलामा त्यही सहज लाग्ने गरेको र पार्टीको आवश्यकता अनुसार सांस्कृतिक क्षेत्रमा लाग्नु परेपछि वाद्यवादन चलाउन पनि त्यति गाह्रो नभएको बुझाए । त्यस्तो ठुलो फरक महसुस नहुने उनले बताए ।

युद्धविराम भइसकेपछि करिब ६६ सालसम्म मात्र उनी पार्टीको सक्रिय कार्यकर्ताको भूमिकामा रहे । उनी अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय सदस्य र कामना सांस्कृतिक परिवार केन्द्रीय टोलीको सदस्य पनि भए । शान्ति कालमा आइसकेपछि र पार्टी विभाजनको अवस्थामा पुगेपछि उनी करिब १० वर्षसम्म राजनीतिबाट टाढा रहे ।, सो समयमा उनले निजी व्यवसाय चलाए तर सङ्गीतको तिर्खाले गाह्रो बनाउँदै लगेपछि उनी पुनः सङ्गीतको मूलतिर तिर्खा मेट्न लागे । साथीहरूको सहयोगमा केही गीतहरू गाए । सो समयमा दाङ बस्ने उनी दाङबाट हिँडेरै काठमाडौँ आउने र गीत गाएर हिँडेरै फर्किने गर्थे । अन्ततः उनी आफ्नो मनका रहरहरूलाई पछ्याउँदै काठमाडौं प्रवेश गरे ।

mohit shrestha, jangayak (2)

गुमनाम बसेर हुँदैन भन्ने सोचेर उनी सङ्घर्ष गर्ने उद्देश्यले परिवारसहित काठमाडौं पसेका थिए । तर, उनी काठमाडौं प्रवेश गर्दा नगर्दै कोरोना काल सुरु भयो । जसले अन्य केही व्यापार गर्ने बाटो समेत छोडेन र अहिलेसम्म पनि त्यो अन्यौलता कायमै रहेको उनी बताउँछन् ।

हाल मोहितकी श्रीमतीले घरबेटीको पसलमा पाएको सानो ठाउँमा सिलाइ कटाई गर्ने गरेर घर चल्ने गरेको छ । गुजारा चलिरहेको छ । सङ्गीत क्षेत्रमा मोहितले कसैको सङ्गीत संयोजन गर्ने, केही गीत गाउने गरेर थोर बहुत आम्दानी गर्छन् । सामान्य भाषामा भन्दा सामान्य तरिकाले चलेकै छ जीवन ।

बेला-बेला आन्दोलनमा सँगै हास खेल गरेका साथीहरू मध्ये धेरैले क्रान्तिकारी गीत मात्र गाउनु पर्छ भन्ने गरेको र कहिले क्रान्तिकारी गीत मात्र गाएर साध्य नहुने बताउने गरेकाले उनी अलमलमा पर्छन् । अहिले आफ्नो साङ्गीतिक यात्रा दुई डुङ्गामा खुट्टा हाले जस्तो रहेको उनी बताउँछन् । क्रान्तिकारी गीतका लागि चिन्ने श्रोता/दर्शकहरूले अन्य गीत गाएको मन नपराउने र अन्य गीतका श्रोता/दर्शकहरूले क्रान्तिकारी गीत त्यति नरुचाउने भएकाले पनि उनलाई थप सकस भएको छ । रोटीका लागि अन्य किसिमको गीत गाउनु परेको उनको बाध्यतालाई ढिलो-चाँडो सबैले बुझ्नेछन् भन्ने आशा गरौँ ।

उनी भन्छन्, “हिजो एउटा वर्गका लागि हामीले गीत गाउँथ्यौँ, सिर्जना गर्थ्यौँ । युद्धले गर्दा जुन माहौल सिर्जना भएको थियो, ती श्रोताहरूको बिचमा गएर हामीले कार्यक्रमहरू गर्दा, हाम्रा गीतहरू पस्किदा फरक खालको माहौल हुन्थ्यो । श्रोताहरूले त्यसलाई सहर्ष स्विकार्थे । तर, अहिले काठमाडौं जस्तो ठाउँमा आएर साङ्गीतिक यात्रा थाल्दा एकदम गाह्रो भएको छ”, उनी अगाडी भन्छन्, “सङ्गीतको महासागरमा को हराउँछ, को तैरिन्छ थाह नहुने ! युद्धकाल र त्यसबाट बाहिर आएर गरिने काम फरक छ ।”

हिजो हामीले जुन व्यवस्था ल्याउने भनेर जनयुद्ध थालेका थियौँ, त्यो प्राप्त भयो त ? केही गुनासो छ कि ? भनेर सोध्दा उनी भन्छन्, “अप्ठ्यारो पर्दा गुनासोहरू हुन्छन्, मानवीय स्वभाव हो । पछिल्लो समय सिर्जना भएको परिस्थितिले म जस्ता धेरैलाई आफ्नो सपना पुरा नभएको गुनासो छ । तर, गुनासोहरूलाई धेरै ठाउँमा पोखेर पनि केही हुँदैन, यसलाई दबाएर सम्भावनाका बाटोहरू पहिल्याउनु नै मुख्य र ठुलो कुरा रहेछ ।”

मोहितका प्रकाशित कृतिहरू ‘सुर सङ्गीत (सङ्गीत गाइड २०६०), साक्षी (गीति एल्बम २०६४), ‘ज्यूँदो सपना (संस्मरण सङ्ग्रह २०६५) रहेका छन् भने उनले झन्डै ५ दर्जन गीतमा स्वर तथा सङ्गीत भरेका छन् । उनी जलजला महोत्सव, रोल्पा (२०६५)मा सम्मानित पनि भएका छन् । यति जानकारी लिँदा-लिँदै, उनीसँग कुरा गर्दागर्दै समय घर्की सकेको थियो । त्यसैले उनका तिता-मिठा सम्झना तथा उतार-चढाव अझ विस्तृतमा सुन्ने मन भएर पनि छुट्टिने तामझाम मिलाउन थालेँ ।

अन्त्यमा सङ्गीतकर्मी मोहित श्रेष्ठलाई आफ्नो साङ्गीतिक तथा साहित्यिक भविष्यको शुभकामना दिँदै म बिदा भएँ  ।

भिडियो

सम्बन्धित समाचार