सांसदहरूले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
Photo by: फाईल तस्बिर
काठमाडौं । सांसदहरूले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभाको विशेष र शून्य समयमा सांसदहरूले मल अभावको स्थिति अन्त्य गर्न एक स्वरमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
६० प्रतिशत जनताको रोजगारीको क्षेत्र कृषिमा बाली लगाउने बेलामा तत्काल सम्बोधन गर्न माग गरेका हुन् । बाली लगाउने बेलामा मलको चरम अभाव भएको भन्दै सत्ता पक्षकै सांसदले सरकार कहाँ छ भनेर प्रश्न गरेका छन् ।
सांसद हृदेश त्रिपाठीले सरकारले बजेटमा कृषिलाई प्राथामिकतामा राखेको निबन्ध पढे पनि प्रबन्ध भने अर्कै रहेछ भनेर व्यङ्ग्य गरे । उनले किसानलाई तत्काल मल दिन माग गर्दै सीमामा किसानमाथि भएको दमन बन्द गर्न माग गरे ।
त्रिपाठीले भने, ‘आफ्नै देशमा मल नपाएपछि सीमाका किसानले पारीबाट मल ल्याउँदा भारतका प्रहरीले मात्रै होइन, हाम्रै देशकाले समेत दुःख दिए ।’ उनले घुमुवा प्रहरीका कारण जनतालाई दुःख दिएर भ्रष्टाचारीलाई सहयोग गरेको भन्दै त्यसलाई हटाउन पनि माग गरे ।
सांसद नन्दलाल रोकाले मलको अभाव भएको जनाउँदै सरकारको ध्यानाकर्षण गराए ।
उनले भने,’ ८० प्रतिशत किसान भएको देशमा, कृषि उत्पादन बढाउने भने पनि धानको बीउ राखेर खेत रोप्ने बेलामा एक किलो मल पाउने अवस्था छैन । त्यसतर्फ ध्यान जाओस् ।
सांसद डा डिला संग्रौलाले पनि किसानलाई तत्काल मत उपलब्ध गराउन माग गरिन् । उनले बाली लगाउने बेलामा प्रत्येक वर्ष हुने मलको अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
संग्रौलाले भनिन्, ‘बाली लगाउने बेलामा मल छैन, विद्यार्थी स्कुल जाने बेलामा किताब छैन । देशमा मंहगी बढेको छ, सरकार कहाँ छ?’
यसैगरी, सांसद दिलकुमारीले किसानलाई सर्वप्रथम किसानलाई मलपानीको व्यवस्था हुनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्,’किसान भएको गर्भ छ । तर बिउ राख्ने, रोप्ने बेला भयो मल छैन । किसानलाई सबैभन्दा पहिले मलपानीको व्यवस्था गरोस् ।’
सांसद दीपकप्रकाश भट्टले महाकाली नदीमा आएको बाढीबाट पीडितले राहत नपाएको गुनासो गरे ।
‘महाकाली नदीमा आएको बाढीबाट पीडितले एक दाना राहत पाएनन्, फेरि पनि उही समस्या हुनेवाला छ । आतंकित र भयभित अवस्थामा स्थानीय छन्’, सांसद भट्टले भने ।
सांसद दुर्गा पौडेलले वर्षा सुरु भइसकेको जनाउँदै सरकारले पूर्वतयारी गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘वर्षा पहिले नै सुरु भएको छ । महाशाखाको अनुमान अनुसार वर्षाका कारण हिमताल फुट्न सक्छ । तराईमा धेरै डुबान हुन सकेपछि मात्रै उद्धार राहतको काम भएको छ । सरकारले पूर्वतयारी गर्न आवश्यक छ । सदनलाई जानकारी गराएर काम गरोस् ।’
सांसद नारायणप्रसाद खतिवडाले बञ्चरे र सिसडोलका जनतामाथि लौरो बर्सिएको बताए ।
उनले भने, ‘बञ्चरे र सिसडोलका जनतामाथि लोरो बर्सिएको छ । जनताको जायज माग सम्बोधन गरियोस् । सरकारले मल उपलब्ध गराऊ । जनताले सीमामा पुगेर ल्याइको मल पनि बाटोमै हराउने अवस्थामा छ । मलको उचित व्यवस्था होस् ।’
सांसद पद्माकुमारी अर्यालले त्रिवि पाँच महिनादेखि बन्द रहेको त्रिवि खुलाउन सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘त्रिवि पाँच महिनासम्म बन्द छ । सरकार मौन छ । केहीबेर खुलेको त्रिवि गृहमन्त्रीकोे निर्देशनमा बन्द गरियो भनिन्छ । गृहको काम बन्द गर्ने हो कि खुलाउने?’
सांसद पवित्रा निरौला खरेलले पहुँचवालाको मात्रै योजना पर्ने गुनासो गरिन् ।
उनले भनिन्, ‘बोल्न मन छैन, बोल्दै छु म । परिवर्तन केही हुन्छ कि भनेर बोल्दैछु । पहुँचवालाको मात्रै योजना पर्ने, १०० वटा पर्ने, हाम्रोमा एक(दुई खोज्न पनि मुस्किल ।’
सांसद पुष्पा भुसालले कोरोना बिमाको रकम नपाएको प्रति सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘कोराना बीमाको रकम दिने भनेर सम्झौता भयो । अर्थमन्त्रीले पटक-पटक दिन्छु भने । सर्वोच्चले पनि दिनु भन्यो, तर एक लाख ११ हजारले पाएका छैनन्। कसैले पाउने, कोहीले नपाउने किन?’
सांसद पाल्देन छपाङ गुरुले मनाङका जनताले स्वास्थ्य सेवा नपाएको गुनासो गरे ।
उनले भने,’मनाङका जनताले स्वास्थ्य सुविधा पाएनन् । जिल्लामा एक जना पनि डाक्टर छैन । अस्पताल अभावकै कारण दुई जनाको मृत्यु भएको छ ।’