संसारकै सर्वोच्च शिखरमा उनीहरू सबैभन्दा गह्रौँ भारी उचाल्छन् अनि सबैभन्दा बढी मूल्य चुकाउँछन् ।
सामान्यतया सगरमाथाका शेर्पाहरूको समुहमा मृत्यु हुँदैन । १९२२, १९७० र २०१४ को दुर्भाग्यपूर्ण सिजनलाई छोडेर उनीहरू प्राय: एक एक जना गर्दै अस्ताउने गरेको इतिहास छ । कोही भीरबाट खसेर त कोही लेक लागेर जान्छन् भने कसैलाई हिमालले यत्तिकै निलिदिन्छ ।
शेर्पाहरू यस्ता व्यथाबारे सायदै बाहिरी दुनियाँले कुनै चासो राख्छ । उनीहरूको मृत्युको लेखाजोखा भइहालेमा त्यही एक दुई थान विदेशी संचारले यसो एक दुई पंक्ति छापिदिन्छन्, बस् ! नेपालतिरका सञ्चारमाध्यमहरूले त्यो पनि गर्दैनन् । अलि अगाडी सारा संसारको ध्यान बेसक्याम्पमा भएको केही शेर्पा र विदेशी आरोहीहरूको झगडाले खिचिरहँदा सगरमाथामा छुट्टाछुट्टै दुर्घटनामा चार जना शेर्पाहरूले ज्यान गुमाएको खबर भने कतै अटाएन । अघिल्लो वर्ष पनि त्यस्तै भएर तीन जनाले ज्यान गुमाएका थिए ।
दु:खको कुरा त के भने गएको सय वर्षमा शेर्पा एवम् अन्य नेपाली पर्वतारोहीहरूको यति सिलसिलाबद्ध रुपमा मृत्यु भएको छ कि सगरमाथामा ज्यान गुमाउने कुल सङ्ख्याको ४० प्रतिशन त शेर्पाहरू मात्र छन् । यस्ता घटनामा श्रद्धाञ्जली दिइन्छ । मृतकका परिवारलाई अपर्याप्त क्षतिपूर्ति बुझाइन्छ, उनीहरूका नाममा चैत्य ठडिन्छन्, ताम्रपत्र छापिन्छन् । कसैले ब्लगसाइटतिर उनीहरूका तस्वीर टाँसिदिन्छन् अनि सबैजना पैसा उत्पादन गर्ने मेसिन सगरमाथातर्फ लाग्छन् । दुईचार पैसा हुत्याएर संसारको शिर टेक्न (चढ्न) भनी आएका विदेशीको सेवामा लम्पसार पर्छन्।
तमाम आगन्तुकहरूका लागि एक-दुई जना शेर्पाको मृत्यु हुँदा केही फरक नपर्न सक्छ तर, तपाईं जब आफूलाई पाङ्बोचेको कुनै चिया पसलमा बसिरहेको पाउनुहुनेछ तब देख्नुहुनेछ- ‘सगरमाथाको भुतले निलेको प्रत्येक प्राणको मूल्य ।’
शेर्पाहरू तिब्बतबाट खुम्बु छिरेको करिब १०० वर्षपछि लामा साँगा दोर्जेले १६१५ मा बसालेको पाङ्बोचे बस्ती अलि फरक किसिमको छ । यहाँ घरहरू एकपछि अर्को खुड्किलामा अवस्थित छन् । म त्यहाँ पहिलोपटक २०१३को मे महिनाको अन्त्यतिर अर्थात् सगरमाथा चढ्ने सिजन सकिनै लाग्दा पुगेको थिएँ । एभरेष्ट बेसक्याम्प आसपासको बाटो हिमाल चढ्ने सिजन सकेर घर फिरिरहेका शेर्पाहरूले खचाखच थियो ।

सगरमाथा, चोयु, अमादब्लम, आइल्याण्ड पिक जस्ता शिखरमा पाइला टेकेपछि गौरववान्वित मुद्रामा पर्वतारोहीहरू । बायाँतर्फबाट क्रमशः तेन्जिङ्ग दोर्जी शेर्पा, सोनम तासी शेर्पा, पासाङ्ग नुरु शेर्पा, फु तासी शेर्पा, पेम्बा शेर्पा र पेन्सा जि शेर्पा, फुनुरु शेर्पा, तेन्जिङ्ग दोर्जी शेर्पा, दानुरु शेर्पा, पानुरु शेर्पा, पेम्बा नुरु, सोनम तासी शेर्पा, तेन्जिन ग्याल्जेन शेर्पा, पासाङ्ग ल्हामु शेर्पा, फु तासी शेर्पा एवम् पानुरु शेर्पा । तस्वीर- नेशनल जोग्राफी
नेपालीहरूको वार्षिक प्रतिव्यक्ति आयभन्दा सात आठ गुना पैसा बोकेर फर्किएका उनीहरू घर पुगेर आ-आफ्ना श्रीमतीहरूलाई कामधन्दामा सघाउन आतुर थिए । उक्त एक महिनामा मात्र शेर्पाहरूले २०० बढी पर्वतारोहीहरूलाई सगरमाथा चढ्न मद्दत गरेका थिए ।
इम्जा खोला माथिका अमादब्लम लगायत अन्य विशाल शिखरहरू मनसुनको बाक्लो तुवाँलोले ढाकिएका थिए । हाम्रा गाइड मिङ्गमा ओङ्गेल शेर्पाले फोटोग्राफर एरन ह्युइ र मलाई पाङ्बोचे गुम्बाको पल्लोपट्टी रहेको चियाघरमा लिएर गए । हामी त्यहाँ १० पटक सगरमाथा चढिसकेका ४७ वर्षीय गाइड दासोना शेर्पालाई भेट्न गएका थियौँ ।
दासोनाकि श्रीमतीले हामीलाई सिसाका गिलासभरी मीठो दूध ल्याएर खान दिइन् भने दासोनाले आफ्नो सगरमाथा अनुभवबारे हामीलाई सविस्तार सुनाए । तर त्यहाँ बसेर कुराकानी गरिरहँदा हामीलाई केही अप्रियतम कुराको आभास भने भइरहेको थियो । दासोनाले जोखना हेरेझैँ टेबुलमा रहेका चार दाना चामल उता सार्दै, बाहिर खेल्दै गरेका आफ्ना नातिनीहरूलाई गहिरिएर हेरे । तीन वर्षीया केल्साङ्ग र दुई वर्षीया नवाङ्ग चियाघर र गुम्बादेखि बीचको चौरमा खेलिरहेका थिए ।
दासोनाको अझ पाँच सिजन काम गर्ने योजना थियो तर, अब दुई सिजन गएपछि नजाने विचार आएछ उनलाई । “किन ?” आफैँलाई प्रश्न गरेर उनी टक्क रोकिए अनि फेरि अघिझैँ चामलका दानालाई औँलाले चलाए ।
“गत महिना मैले क्याम्प ३ मा आफ्ना ज्वाईँ गुमाएँ”, उनले भने ।
मुटुमा परेको प्वाल
दासोनाका ज्वाईँ फोर्त्से गाउँका दारिता शेर्पा ३७ वर्षका थिए । उनकी छोरी निमाडोमासँग विवाह गर्नुअघि दारिता एक भिक्षु थिए । उनले ज्यान गुमाएको २०१३ को सिजन उनको तेस्रो सिजन थियो । फोर्त्सेमा लज खोल्ने योजना बनाएर ऋण पनि निकालिसकेका रहेछन् । त्यसैकारण अलिकति भएपनि आर्थिक सहयोग मिल्ने विचारले उनी सगरमाथा गए ।

श्रीमान गुमाउँदाको पीडा र श्रीमानको स्मृति निमाडोमाका लागि अझै ताजै छ । व्यावसायिक आरोहणमा रहेका उनका श्रीमान दारिताको लेक लागेर २०१३ को मे महिनामा सगरमाथाको क्याम्प ३ मा निधन भएको हो । उनीहरूका दुई छोरी पनि छन् ।
५ मे का दिन उनी बिहान उठे, तयार भए । नास्ता गरेर क्याम्प-२ तिर जानै लाग्दा एक्कासि रिँगटा लागेर भुइँमा थचक्क बसे । उनको सास बन्द भयो । साथीहरूले उनलाई ब्युँताउन हरसम्भव प्रयास गरे तर, केही लागेन । उनको मृत्यु कारण हृदयघातका कारण अथवा लेँक लागेर भएको हुनसक्ने निष्कर्ष डाक्टरहरूले निकाले ।
दासोना ज्वाईँको पार्थिव शरीर हेलिकप्टरमा लिएर फोर्त्से गए । त्यहिँ उनको अन्तिम संस्कार गरियो । आफ्ना बुढा भइसकेका ससुरालाई पिरैपिरको भारी बोकाएर दारिता बिदा भए ।
हामी त्यहाँ दासोनाका असह्य वेदनाबारे गन्थन गरिरहेकै बेला निमाडोमा आइपुगिन् । मिङ्गमालाई देख्नासाथ उनी अतालिँदै रुन थालिन् । त्यस्तो घटना घटेदेखि निमाडोमा बेसक्याम्पबाट झर्ने प्रत्येक शेर्पालाई देख्दा त्यस्तै गर्छिन् रे !
आफूहरूमाथि आइपरेको विपत्तिबारे केल्साङ्ग र नवाङ्ग अनभिज्ञ थिए तर, आमा रुँदै गरेको देखेर केल्साङ्गले जामाको बाउलाले आँसु पुछिदिँदै ‘आमा, नरुनुस्’ भनिन् । दुवै छोरीहरू आफ्ना खेलौना फिजाउँदै भुइँमा बसे । निमाडोमा पनि मिङ्गमातिर सहारा लिएर बसिन् । वातावरणमा शुन्यता छायो । पारी वनमा काग कराएको प्रष्टै सुन्न सकिन्थ्यो । बच्चीहरू भाँडाकुटी खेल्दै फोहोर खाएजस्तो गरिरहेका थिए । हामीले त्यही शुन्यताबीच चिया पियौँ ।
तुवाँलोबाट छायाँ निस्केसरी एकजना भिक्षु निस्किए । उनले हल्का निहुरिएर बच्चीहरूलाई केही भने अनि आफ्नो चक्र घुमाउँदै गुम्बातिर लागे । पुनः एकपटक अप्रिय शून्यताको हुस्सु लाग्यो ।

दुम्जी चाडका नामले चिनिने एक तिब्बती बौद्ध नृत्य पर्वको नेतृत्व गर्न आएका तेङ्गबोचे गुम्बाका अग्रज भिक्षुको स्वागतको तयारीमा रहेका फोर्त्सेवासी ।
पर्वतारोहण संस्कृति
शेर्पा संस्कृतिमा यो महत्त्वपूर्ण परिवर्तनको घडी हो । अझ त्यसमाथि पनि शेर्पा समुदायका आरोहिहरूका लागि त झनै विशेष । १९०७ मा एक आरोहणमा भारी बोक्ने कामका लागि आलुबारीमा काम गरिरहेका शेर्पाहरूलाई लिएर गएदेखि नै शेर्पा संस्कृतिमा पश्चिमाहरूको आरोहणप्रतिको हुटहुटिको प्रभाव देख्न सकिन्छ ।
त्यसको सय वर्ष पनि बित्न नपाउँदै शेर्पाहरू मिकारुको मानसिक अवस्थाबारे प्रश्न गर्नेदेखि आजको दिनमा आफैँ संसारका अब्बल पर्वतारोही बन्नेसम्म भएका छन् । ‘मिकारु’ शेर्पाहरूले विदेशी पर्वतारोहीहरूलाई दिएको उपनाम हो । आज शेर्पाहरू सगरमाथामा उनीहरूले प्रदर्शन गर्ने तीव्र गतिका लागि विश्वविख्यात छन् । २०१२ मा मिङ्गमा र छाङ्गदावा शेर्पाले संसारका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमाल सफलतापुर्वक चढ्ने पहिलो दाजुभाइको जोडी बनेर कीर्तिमान बनाएका थिए ।
आजको दिनबाट १९२० तिर फर्किहेर्दा त्यसताका शेर्पाहरूमा ‘शिखर’ शब्दबारे ज्ञानै थिएन भनेर सोच्दा अनौठो लाग्छ । वेड डेभिसको पुस्तक ‘इन टु द साइलेन्स : द ग्रेट वार, म्यालरी एण्ड द कन्क्वेस्ट अफ एभरेष्ट’ मा उल्लेख भएअनुसार शेर्पाहरू वास्तवमा विदेशीहरू यहाँ सुनका चौँरी खोज्न आएका हुन् भन्ने सोच्थे रे !
जब अमेरिकी आरोही चार्ल्स ह्युस्टन १९५० मा दक्षिणतिरबाट सगरमाथा चढ्ने पहिलो पश्चिमा समुहको हिस्सा बने, तब उनले ‘शेर्पा क्यापिटल’को संज्ञा पाएको नाम्चेको तस्बीर खिच्न भ्याएका थिए । उतिबेलाको नाम्चे आजभन्दा निकै सानो अनि एकलास थियो । त्यहाँका ढुंगे घरहरूमा स्लेटका छाना थिए । आजजस्तो बिजुलीबत्ती, चार तल्ले होटल, दाँतघर, नक्कली नर्थफेस पाउने दोकान अनि इन्टरनेट सुविधा भएका कफिहाउस त कल्पनाभन्दा बाहिरका विषय थिए ।
प्राय: शेर्पाहरू आफ्नै भाषामात्र बोल्दथे । बाहिरी दुनियासँग उनीहरूको सम्पर्क ज्यादै पातलो थियो । तेन्जिङ्ग र हिलारीले १९५३ मा सगरमाथामा पाइला टेकेपछि भने सबैकुरामा अलिअलि गर्दै परिवर्तन हुन सुरु भएको हो । खुम्बुको जीवनस्तर उकासिनुको श्रेय ‘शेर्पा किङ्ग’ उपनाम पाएका हिलारीलाई जान्छ । उनले त्यहाँ विद्यालय, स्वास्थ्य केन्द्र आदि बनाउन पहल गरेकाले नै यो सब सम्भव भयो ।

शेर्पाहरूले स्थापना गरेको थामसेर्कु ट्रेकिङका गाइड सोनम देंडु आइल्याण्ड पिक पनि भनिने इम्जा से हिमालमा स्पेनिश तथा फ्रेन्च पर्वतारोहण टोलीको नेतृत्व गर्दै ।
स्थिर रुपमा व्यवसायीकीकृत
पहिलो आरोहणपछि नै त्यसतर्फ सबैको चासो बढेको भएतापनि १९९० तिर आइपुग्दामात्र शेर्पाहरू चासोलाई पेसामा परिणत गर्न अग्रसर भएका हुन् । कुनैबेला भातृत्वको नाममा एकअर्काको साथ दिने आरोहीहरू अब पेसागत रुपमा पर्वतारोहणको विकास हुन थालेसँगै कसले बढी काम पाउने भन्ने होडबाजीमा मग्न हुन थाले । शारीरिक रूपले सक्षम जोकोहीले पनि यस क्षेत्रमा जागिर पाउने भनि गाइडिङ एजेन्सीहरूले पनि प्रचार गर्न थाले ।
१९९६ मा सगरमाथामा आएको हिमपहिरोमा परि अन्य पश्चिमी आरोहीहरूसँगै ज्यान गुमाउन पुगेका अमेरिकी गाइड स्कट फिशरले मृत्युअघि भनेको उक्ति निकै चर्चित बनेको थियो । उनले भनेका थिए, “वी ह्याव बिल्ट अ यलो ब्रिक रोड टु द समिट” अर्थात् “हामीले शिखरसम्म पुग्ने पहेँलो इट्टाको बाटो बनाएका छौँ ।”
एक हिसाबले सगरमाथाको व्यावसायीकरणले शेर्पाहरू सबैभन्दा बढी लाभान्वित बनेका छन् । यस क्रममा ‘शेर्पा’ शब्द जागिरकै रुपमा विकसित भएको छ । एरन र मैले गत जनवरीको एक रात ७६ वर्षीय पूर्व आरोही आङ्गदावासँग कुराकानी गर्दै बितायौँ । आङ्गदावा अहिले आफ्नो बढीजसो समय गुलेली बोकेर चौँरी बटुल्दै बिताउँछन् ।
“मेरो पहिलो हिमाल यात्रा हिलारीसँग मकालुको थियो”, आङ्गदावा सम्झिन्छन् । “हामीलाई टुप्पोसम्म पुग्ने अनुमति थिएन । हामीले लगाएका छालाका जुत्ता पानीले भिजेपछि उचालि नसक्नु हुन्थे । कमाई पनि साह्रै कम थियो । हामी प्राय: दाउरा किनेर क्याम्पफायर बनाउँदै, पिउँदै, गाउँदै, शेर्पा नाच नाँच्दै अनि रमाईलो गर्दै समय बिताउँथ्यौँ । आज शेर्पाहरूको कमाई राम्रो छ । सरसामान पनि हामीले भन्दा गुणस्तरीय नै पाउँछन तर, एउटा कुराचाहिँ के भने उनीहरू हामीले झैँ रमाइलो गर्न जान्दैनन् । मलाई केवल एउटै कुराको पछुतो छ- म सगरमाथाको टुप्पोमा कहिल्यै पुग्न सकिनँ ।”
कतिपय विदेशीहरू ‘शेर्पा’ शब्दलाई भरियाको पर्याय सम्झन्छन् तर, नेपालमा भने शेर्पाहरूलाई तीक्ष्ण बुद्धि भएका व्यवसायीका रुपमा चिनिन्छ । रिटायर भइसकेका शेर्पा पर्वतारोहीहरू आजकल भारी बोक्ने काममा अन्य समुदायकालाई लगाउँछन् । आफूचाहिँ होटल, ट्रेकिङ कम्पनी अनि अझ कोहि त एअरलाइन्ससमेत सञ्चालन गरेर बसेका छन् । खुम्बुका शेर्पाहरू आजको दिनमा नेपालका तमाम समुदायमध्येकै धनाढ्यमा पर्दछन् ।
विरोधाभासपूर्ण रुपमा, उनीहरूको धेरै सफलता शा-ङ्ग्रिलाको आभाको अनुसरण अनि आधुनिक दुनियाँको चिन्ता र कष्टहरूबाट टाढा, शान्त जीवनशैलीबाट आएको जस्तो देखिन्छ । पश्चिमाहरूले शेर्पाहरूबारे यस्तो सोच्ने गरेकाले नै हुनसक्छ, बेसक्याम्पको झगडाले उनीहरूको होस उडाएको ।

अमादब्लम हिमालको क्याम्प १ र क्याम्प २ जोड्ने लाइनमा चढ्दै अग्रज पर्वतातोही दानुरु शेर्पा । आरोहीहरूलाई अडिएर माथिसम्म पुग्न सजिलो होस भनेर शेर्पाहरूले ठाउँठाउँमा यस्ता डोरी टाँग्ने गरेका छन् ।
एक नयाँ मनोबल
२०१४ को अप्रिलमा तीन युरोपेली आरोही र केही शेर्पाहरूबीच भएको घम्साघम्सीको घटनाबारे लेख्नेहरूले धेरै लेखिसकेका छन् । युरोपेली धुरन्धरहरू शेर्पाहरूले ल्होत्से हिमालमा डोरी टाँगीरहेकै बेला त्यहाँ चढ्न थालेपछि माथिबाट बरफका ढिक्का खसेर शेर्पाहरूलाई लागेको भनिएको थियो । यसमा कति सत्यता छ, त्यो यकिन गरेर भन्न सकिन्न । हल्ला के चल्यो भने- दुवै पक्षबीच गालीगलौज भयो अनि सोहि क्रममा शेर्पाहरुले विदेशीहरूलाई घेरेर लात हान्नेदेखि ढुंगा प्रहार गर्नेसम्म गरेपछि उनीहरू मुस्किलले भागेर ज्यान जोगाउन सफल भए ।
यस्ता खतरनाक ठाउँहरूमा अक्सिजन अभावले अक्सर मान्छेलाई उत्तेजित बनाउने काम गर्दो रहेछ भन्ने कुरा उक्त मुठभेडबाट बुझ्न सकिन्छ । नयाँ पुस्ताका शेर्पा पर्वतारोहीहरूमा आधुनिक शिक्षा, मोबाइल फोन र फेसबूकको प्रभाव अनि बाहिरी दुनियाँसँगको बढ्दो घुलमिलले गर्दा एउटा नयाँ खाले मनोबलको विकास भएको पनि देखिन्छ ।
विगतमा शेर्पाहरू उनीहरूलाई काममा लगाउनेहरूको गालिगलौज र कुटाईको भागिदार हुने गर्दथे । एभरेष्टका पुराना डक्युमेन्ट्रीहरू हेर्दा पनि अक्सर मिकारुहरूले गर्न नसक्ने अप्ठ्यारा कामहरू शेर्पाहरूलाई अह्राउने गरेको देख्न सकिन्छ । नौँ-नौँ पटक सगरमाथा चढिसकेका तेन्जिङ दोर्जीले एकपटक एक दक्षिण कोरियाली आरोहीले आफू एक्लै अरूभन्दा अघि टुप्पोमा पुग्ने अडान लिँदै उनीमाथि बञ्चरो ताकेको कुरा मलाई बताएका थिए ।
“यो के गरेको ?” तेन्जिङ चिच्याए ।
“म तँलाई मार्छु”, कोरियाली आरोहीको जवाफ ।
तेन्जिङ्ग ज्यान जोगाउन भागे तर उनीहरू दुवैजना एउटै डोरीले बाँधिएका हुनाले भीरबाट सँगै खस्न पुगे । थोरै अगाडि हिउँ फाटेको भएर उनीहरू बाँच्न सफल भए । तेन्जिङ्गलाई यसपटकको आरोहणबाट कमाई हुने आश थिएन । तर उनलाई यो भन्दा बढी दु:ख यस कुराको भयो कि बेसक्याम्पमा कसैले उनको कुरा पत्याएनन् । अन्य शेर्पाहरूका यस्तै कथाहरूबाट यस कुराको पुष्टि हुन्छ कि यस पेसामा उनीहरूले एउटा पथप्रदर्शकको मात्र नभई नोकर, प्रेरकदेखि प्राण रक्षकसम्मको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
गत मे महिनामा मिङ्गमा, एरन र म गाउँ पुग्दा प्राय शेर्पाहरू बेसक्याम्पको झगडालाई लिएर लज्जित थिए । त्यसको आठ महिनापछि हामीले खुम्बु क्लाइम्बिङ्ग सेन्टरमा एक हप्ता बितायौँ । त्यहाँ शेर्पालगायत अन्य नेपाली पर्वतारोहीहरूले हिमालमा ज्यान जोगाउन आवश्यक पर्ने सीप सिक्दा रहेछन् । त्यतिबेलासम्म पनि उक्त घटना संवेदनशील विषयकै रुपमा रहेको हामीले पायौँ ।

फोर्त्से गाउँमा रहेको आफ्नो घरमा आमा दाकी शेर्पासँग रमाउँदै दानुरु शेर्पा । १६ पटक सगरमाथा चढिसकेका दानुरु आफ्नो आधा समय गाउँमा आमासँग अनि बाँकी समय काठमाडौँमा श्रीमती र सन्तानसँग बिताउँछन् । दाकीका आठ भाइ छोराहरूले हिमाली गाइडका रुपमा काम गरिसकेका छन् ।
नवयुग
अप्रिलको उक्त घटनापश्चात नयाँ युगको थालनी भएको मान्न सकिन्छ । आशा गरौँ यसले थप आतंकको सिर्जना नगरोस्, बरु वर्षौंदेखिको असमानता, अपमान र पहिचानविहिनताको चाहिँ मज्जैले भण्डाफोर गरिदियोस् ।
“मेरो विचारमा यो द्वन्द शेर्पाहरूको नयाँ रुप हो” युनिभर्सिटी अफ क्यालिफोर्नियाका मानवशास्त्री एवम् शेर्पाविद् समेत रहेका भिंक्यान एडम्स भन्छन्,”अब त अति भइसक्यो । पश्चिमाहरूले शेर्पाहरूलाई सधैँ एउटै दृष्टिकोणले हेर्छन् । शेर्पाहरूले पनि आजको दिनसम्म विदेशीले ओढाइदिएको निष्ठावान, दृढ, साहसी तथा बफादार बौद्धमार्गीको बर्को सविनय ओढ्दै आइरहेका छन् तर बेसक्याम्पको त्यस द्वन्दले शेर्पाहरूको पश्चिमाहरूले देख्न नचाहेको रुप उजागर गरिदिएको छ । पश्चिमाहरू उनीहरू अलि दृढ र अलिकति स्वार्थी भएको देखि सहँदैनन् ।”
गत हप्ताको आँधीले मच्चाएको नरसंहारलाई पहिलेझैँ शेर्पाहरू एक एक जना गरेर मर्दा गुपचुप राखेजसरी राख्न सम्भव छैन । परिस्थितिको विषमताले शेर्पाहरूको आवाजलाई सशक्त बनाइदिएको छ । उनीहरूले आरोहण अवरुद्ध गर्दै बीमा रकम बढाउने, क्षतिपुर्तिमा वृद्धि गर्ने र अनुमति शूल्कको केही प्रतिशत राहत कोषमा जम्मा गर्ने आदिजस्ता माग अघि सारेका छन् ।

खुम्बु क्लाइम्बिङ्ग सेन्टरमा प्रशिक्षार्थीहरूलाई कसरी “आइस एंकर” लगाउने भन्नेबारे सिकाउँदै मान्यताप्राप्त गाइड जाङ्गबु शेर्पा ।
जोखिम व्यवस्थापन
मृतकहरूको सम्झनामा बेसक्याम्पमा आयोजित श्रद्धाञ्जली सभापछि एलन आर्नेटले आफ्नो ब्लगमा लेखेका थिए, “शेर्पाहरूको शोकमुनि अदृश्य आगो दन्किरहेको छ । ठिक त्यस्तै आगोले गर्दा केही समयअघि बेसक्याम्पमा तनाव उत्पन्न भएको थियो ।” शेर्पाहरू आफ्नो अपमान भएको महसुस गरिरहेका थिए तर यसपटक भने उनीहरूको रिस पश्चिमाहरूतर्फ नभई नेपाल सरकारतर्फ लक्षित थियो ।
खुम्बु क्लाइम्बिङ्ग सेन्टरका सह-संस्थापक समेत रहेका सात पटक सगरमाथा आरोहण गर्ने पिट एथन्स भन्छन्,”अहिले शेर्पाहरूले जे गरिरहेका छन्, त्यो एउटा प्रहारजस्तो नभई जनमतसंग्रहजस्तो देखिनु आवश्यक छ । यो परिस्थिति उनीहरूका लागि मात्र नभई सिंगो देशकै लागि जोखिमयुक्त छ ।”
“शेर्पाहरू यदि साँच्चै यस क्षेत्रमा परिवर्तन चाहन्छन् भने उनीहरूले आफ्नो दक्षता अनि यसका लागि आवश्यक सीपको प्रदर्शन गर्न सक्नुपर्छ । केही शेर्पाहरू असाध्यै निपुण छन् तर केहीमा अझै पनि प्राविधिक क्षमताको अभाव छ,” उनले भने, “क्षमतावानहरूले थप चुनौतीसँग जुझ्नसक्ने हुन आवश्यक छ र साथमा उनीहरूले आफ्नो बोलचालीको ढंग, व्यक्तिगत आचरण र कार्य व्यवस्थापनतर्फ विशेष ध्यान दिनुपर्नेछ । अहिलेको मुल एजेण्डा भनेको नै जोखिम व्यवस्थापन कसरी गर्ने भन्ने हो ।”
खुम्बु क्लाइम्बिङ्ग सेन्टरको ट्रेनिङ्ग प्रोग्रामको सुरुवात २००३ मा जेनिफर लो-एंकर र कोनरैड एंकरले शेर्पाहरूलाई विषम परिस्थितिको सामना गर्न सक्ने बनाई उनीहरूले अकालमा ज्यान गुमाउन नपरोस भन्ने कुराको सुनिश्चितता गर्ने लक्ष्यले गरेका हुन् । सुरुवातमा सबै विदेशी प्रशिक्षकहरू रहेको उक्त तालिम केन्द्रमा अहिले कुल १७ नेपाली प्रशिक्षकहरू छन्, जसमध्ये अधिकांश शेर्पा समुदायबाटै छन् ।
तालिम केन्द्रका स्वयंसेवक निर्देशक स्टिभ मक भन्छन्, “केसिसि प्रमाणपत्र एभरेष्ट शेर्पाहरूको युनियन कार्ड नै भइसक्यो ।” म त्यहाँ पुग्दा दुई हप्ते तालिम प्रोग्रामअन्तर्गत ८२ जना प्रशिक्षार्थीहरूले भर्ना लिइसकेका थिए । तीमध्ये केही भर्खरका थिए भने केहि सगरमाथा चढिसकेका कुशल आरोही थिए । पेसाले युनिभर्सिटी अफ मोन्टाना वेस्टर्नमा रसायनशास्त्रका प्राध्यापक उनी दुईचोटि सगरमाथा चढिसकेकालाई चढ्न सिकाउंँदा अनौठो लाग्ने गरेको बताउँथे ।
तर, वास्तवमा जति नै तालिम लिएपनि सगरमाथाका जोखिम, अझ तीमध्येपनि खुम्बुको ठाडो भीरलाई जित्न सकिँदैन नै । कोनरैड एंकरले भनेअनुसार यो चढाई मानवजातिले दैनिक जीवनमा गर्ने चढाईमध्येकै सबैभन्दा जोखिमपुर्ण छ । दुर्घटनामा आफ्ना साथी आङ्गकाजी शेर्पालाई गुमाएपछि उनी फेसबुकमा यसबारे नलेखी बस्न सकेनन् । तीन छोरा र तीन छोरीका पिता ३६ वर्षीय शेर्पा केही वर्षयता केसिसिमा प्रशिक्षकका रुपमा पनि आवद्ध थिए ।
भविष्यको विचार
दासोनाको चियाघरको हाम्रो घतलाग्दो अनुभव साँच्दै मिङ्गमा, एरन र म फोर्त्से गाउँ घुम्दै हिँडिरहेका थियौँ । त्यतैका गुराँस फुल्ने पाखातिर रुमलिँदै गर्दा हाम्रो भेट निमाडोमासँग भयो । उनी श्रीमानले बनाउँदै गरेको लजबाट फर्कँदै रहिछन् । पहिलेभन्दा केही संयमित देखिन्थिन् उनी, सायद आफ्नो भविष्य अनि छोरीहरूको पर्वरिशबारे सोचेर आफुलाई सम्हालिन् होला उनले ।
उनले बोकेको टोकरीमा उनका श्रीमानका अस्तु थिए । त्यही बोकेर फोर्त्से गुम्बातिरा जाँदै थिईन् उनी, त्यहाँ भिक्षुहरूले अस्तुलाई माटोसँग मिलाएर बुद्धको प्रतिमा बनाउँछन् र त्यसलाई सगरमाथाको छायाँमा कतै चोखो ठाउँ खोजेर राखिदिनेछन् ।

अमादब्लम हिमाल को क्याम्प १ मा बादलमाथि सिग्नल भेटेपछि घरपरिवार, साथीभाइसँग फोनमा कुरा गर्दै दानुरु शेर्पा । १८,५०० फिटको उचाईमासमेत आरोहीहरू बेलाबखतमा इमेल हेर्नेदेखि अन्य कुराहरूबारे जानकारी लिनेसम्म गर्न सक्छन् ।
(नेशनल जोग्राफीमा प्रकाशित यस लेखलाई निशान अधिकारीले नेपालीमा अनुवाद गरेका हुन् ।)