बुधबार , भाद्र ३१, २०८३

आमा-बा नेपाली हामी चाहिँ कहाँको ?

image

Photo by: Himal darpan

काठमाडौं । सरकारको लापरबाहीका कारण नागरिकता नपाएको भन्दै नागरिकताविहीन नागरिक सङ्घर्ष समितिले शनिवार देखी माइतीघरमा धर्ना कार्यक्रम सुरु गरेको छ ।

नवलपरासी सुस्ता पारीका नागरिकहरूको यो चौथो चरणको आन्दोलन हो ।

उनीहरूले यसअघि २०७८ साउन २० गते पहिलो पटक, दोस्रो पटक पुस २४ गते, जेठ १५ गते तेस्रो पटक धर्ना कार्यक्रम गरेका थिए ।

‘नेपालको संविधानको भाग २ धारा ११ को उपधारा ३ र ५ को छिटो प्रयोग गर, देशको असल नागरिक पहिचान गर, आमा-बा नेपाली हामी चाहिँ कहाँको ? अनागरिक बनाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले धर्ना गरिरहेका छन् ।

आन्दोलनका संयोजक कासिम अन्सारी यो पटक आफ्ना मागहरू पुरा नभए सम्म धर्ना कार्यक्रम जारी राख्ने बताउँछन्  । ‘संविधानमा भएको चिज हामीले किन नपाउने ? नागरिकता नभएर राज्यले दिने सामान्य भन्दा सामान्य सेवा सुविधा पाएका छैनौँ । हामीहरूले उच्च शिक्षा, रोजगारी र सिम कार्ड लिनबाट समेत वञ्चित हुनुपरेको अवस्था छ ।’ नेपालको संविधान २०७२ को धारा ११ को उपधारा ३ र ५ मा आफूहरूले नेपाली नागरिकता पाउने व्यवस्था रहेको उनले बताए ।

संविधानमा के छ ?

धारा ११ – नेपालको नागरिक ठहर्ने

उपधारा ३ – यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।

उपधारा ५ – नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ । तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो नागरिकता सङ्घीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ ।

Tags:

सम्बन्धित समाचार