शुक्रबार , अषोज १४, २०७९

ऐतिहासिक सांस्कृतिक नगरी नगदेशको एक चर्चा

image

  • कृष्णकुमारी प्रजापति

बाग्मती प्रदेश भक्तपुर जिल्लाको पश्चिम भेगमा रहेको मध्यपुर थिमि न.पा. वडा नं ७ स्थितको नगदेश क्षेत्रको प्राचीन नाम ‘नागदेश’ थियो भन्ने प्रमाण बज्रयानी महायानी ग्रन्थ ‘प्रज्ञापारमिता’ रहेको छ । बज्रयानी महायानी बौद्ध धर्ममा नौ वटा ग्रन्थ रत्नमध्ये प्रमुख ग्रन्थ रत्नमा ‘प्रज्ञापारमिता’ रहेको छ । बौद्ध साहित्यमा ‘प्रज्ञापारमिता’ ग्रन्थ रत्नको छुट्टै विशिष्ठ स्थान छ ।

बज्रयानी महायानी बौद्ध सम्प्रदायका विद्वान लेखक जनश्री ज्ञान बज्राचार्यले रच्नुभएको उक्त ग्रन्थरत्नमा उल्लेख भए, गरेअनुसार यस बस्तीको दक्षिणी भेगमा रहेको बासुकी नागराजाको निवास स्थानको उत्तरी शिरानीमा बसालेको बस्ती भएकोले ‘नागबस्ती’, ‘नागदेश’ भनी नामकरण गरेको उल्लेख पाइन्छ । राष्ट्रिय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा’ पत्रिकामा प्रा.डा. राजेश गौतमले पनि प्रज्ञापारमिताकै उल्लेखित घटनाको एउटा लेख पङ्क्तिकारले अध्ययन गर्ने अवसर पाएको थियो । बौद्ध विद्वान पण्डित बद्रीरत्न बज्राचार्यले आजभन्दा साढे चार दशकअघि नै नगदेशकै ऐतिहासिक टोल बहाननीमा व्यवस्थित धार्मिक प्रवचन कार्यक्रममा बासुकी नागराजाकै निवासस्थानको शिरानैमा बसालेको बस्ती भएकोले ‘नागबस्ती’, ‘नागदेश’ नामकरण गरेको नगदेशवासी जनताले त्यति चाँडो बिर्सेका छैनन् होला ।

नेपालमा नयाँ शिक्षा लागु भइसकेको अवस्थामा त्यतिबेला क्याम्पस क्याम्पसमा प्रमाणपत्र तहमा नेपाल परिचय भनी एक विषय अध्ययन गर्नुपथ्र्यो । प्राचीन समयमा नेपाल खाल्डो पानीले भरेको विशाल तलाउ या दहको रूपमा रहेको थियो । सो दहलाई ‘कालिदह’ या ‘कालिह्रद’ भनिन्थ्यो । यही कालिदहमा सप्त मानव बुद्धमध्येकै विपस्सी बुद्ध, संस्कृत साहित्यमा ‘विपश्वी बुद्ध’ ले जामाचो, जामात्राचो भन्ने पर्वतको उच्च शिखरबाट कमलको बीउ (पिडालो) फालेको र केही महिनापछि विशाल कालिदहको गहिराइबाट विस्तारै टुसा पलाउँदै कमलको फूल प्रकट भएको थियो । बौद्ध साहित्यमा त त्यस कमलको बोटबाट एकै पटक सहस्र भुजा (हजार पातहरू) प्रकट भई सो कमलको बोटको बीचबाट ज्वाला आफसेआफ प्रकट भएकोले नै ‘स्वयम्भू’ नामकरण भएको थियो ।

यसरी अद्भूत एवम् चमत्कारीपूर्ण ढङ्गले स्वयम्भूको रूपमा ज्वालायुक्त कमलको फूल (बोट) देखापरेपछि चौतर्फी प्रचारप्रसार हुन पुगे । नेपाल मण्डलभित्रको कालिदह या कालीह्रदमा अदभूत् एवम् चमत्कारपूर्ण तवरले स्वयम्भू प्रकट भएको घटना उत्तरी छिमेकी मुलुक महाचीनमा समेत व्यापक तवरले प्रचार प्रसार हुन पुग्यो । तसर्थ, महाचीनको मञ्जु शीर्ष पर्वतमा रहनुभएका बोधिसत्व मञ्जुश्रीले उहाँको धर्म संगिनीद्वय केशिनी (वरदा) र उपकेशिनी (मोक्षदा) को साथमा नेपाल मण्डलको कालिदहमा विराजमान श्री स्वयम्भू धर्मधातु बागेश्वरीको प्रत्यक्ष दर्शन गर्न नेपाल मण्डलतर्फ पदार्पण गर्नुभएको इतिहास साक्षी छ । उहाँ बोधिसत्वले कालिदहमा विराजमान श्री स्वयम्भू धर्मधातु बागेश्वरीको दर्शन नेपाल मण्डलको पूर्वी भेगको सुडालको डाँडाबाट गर्नुभई एक रात त्यही बास बस्नुभएको थियो । उक्त स्थान हाल चाँगुनारायण नगरपालिका वडा नं ७ मा पर्दछ । उक्त धार्मिक स्थानलाई नेपालभाषामा ‘ल्हासापाँक्व’ (सःस्यूःद्यो) भनिन्छ ।

नेपाली भाषामा ‘प्रज्ञावान देवता’ भन्ने गरिन्छ । मञ्जुश्री बोधिसत्व वास्तवमा ‘सःस्यूःद्यो’, हुनुहुन्थ्यो । ‘सःस्यूःद्यो’ र ‘ससुमाजुद्यो’ भनेको आकाश र जमिन जतिकै फरक छ । लिङ्ग भेदमा ‘सःस्यूःद्यो’ भन्ने बोधसत्व पुरुष देवता हो भने ‘ससुमाजुद्यो’ भनेको सरस्वती स्त्रीलिङ्ग देवता हो । ‘सःस्यूःद्यो’ उपाधिबाट विभूषित मञ्जुश्री बोधिसत्व विराजमान भएको, गराएको मन्दिरमा स्त्रीलिङ्ग देवी सरस्वतीको मूर्ति रहनुपर्ने, राख्नुपर्ने भनी केही वर्षपहिले स्थानीय गैरनेवारहरूले विवाद गरेका थिए ।

मञ्जुश्री बोधिसत्व वर्तमान सन्दर्भबाट हेर्ने बेलामा उहाँ एकजना ब्चअजष्तभअतगचभ भ्लनष्लभभच को रूपमा अँगीकार गर्न सकिन्छ । उहाँले ल्हासापाँक्व सुडालबाट दक्षिण गिरीझँै फर्पिङबाट झरी नेपाल मण्डलमा अवस्थित कालिदहको पानी कोदुवाल, चोभारको गल्छी काटी सो दहको पानी बाहिर पठाउने कार्य बडो सुझबुझका साथ गर्नुभयो । त्यसपछि पशुपति र गुह्येश्वरीको गल्छी काट्नुभयो । अन्तमा गोकर्णको गल्छी काटी त्यस कालीदहको सम्पूर्ण पानी बाहिर पठाई नेपाल मण्डलको काठमाडौँ उपत्यकामा बस्न योग्य स्थान बनाउनुभएका कुशल प्राविधिक, आर्किटेक्ट इन्जिनियर हुनुहुन्थ्यो । उहाँले नेपाल मण्डलभित्रको कालिदहका पानी पठाउने कार्य गर्दा त्यस दहभित्रका नागराजाहरू तक्षक र भक्षक उपत्यका बाहिर पुगिसकेकाले अन्य बाँकी नागहरूको व्यवस्थापन महामञ्जुश्रीले विभिन्न स्थानहरूमा गर्नुभएको थियो । त्यसमध्ये कर्कोटक नागराजलाई हालको कीर्तिपुर न.पा. वडा नं ७ स्थितको भूर्तखेलमा ठूलो तलाउ, दह बनाई बासस्थानको व्यवस्था गरिएको थियो । जुन दहलाई ‘टौदह’ भनी लोक प्रसिद्ध छ ।

त्यसैगरी ललितपुर जिल्लाको धापाखेलको नागदहमा पनि अन्य नागहरूको बासस्थानको व्यवस्था गर्नुभयो भने ऐतिहासिक सांस्कृतिक नगरी नागदेशको दक्षिण भेगमा वासुकी नागराजाको बासस्थानको व्यवस्था गर्नुभएको थियो । ती बासुकी नागराजाको वासस्थानको उत्तरी डिलमा बसालेको बस्तीको नाम नै ‘नागबस्ती’, ‘नागदेश’ रहन गएको बारेमा उपर्उल्लेखित बज्रयानी– महायानी ‘नवग्रन्थ’ मध्येकै महत्वपूर्ण ग्रन्थ “प्रज्ञापारमिता” ग्रन्थमा उल्लेख भएको चर्चा माथि नै गरिसकेँ । सो ऐतिहासिक सांस्कृतिक नगरी नागदेश, हाल मध्यपुर थिमि नगर–७ मा पर्दछ । कालान्तरमा नागदेश शब्दबाट नगदेश, नकदेश, नरदेश, नरसेय् भनी शब्दको अप्रभंश हुन पुगेका छन् ।

नागदेश निवासी जनता नाग जातिका नेवार हुन् । दक्षिण पूर्वी एसिया जहाँ–जहाँ नागजातिको बसोबास छ, तत्तत् स्थानलाई ‘नागदेश’ भन्ने गरिन्थ्यो । महाराष्ट्र प्रान्त भारतमा महार जाति पनि नाग जाति भएको र त्यो स्थान वा बस्तीलाई ‘नागदेश’ नै भन्ने गरिन्थ्यो । मित्र राष्ट्र थाइल्यान्डमा पनि नागजाति बसोबास गर्ने स्थललाई ‘नागदेश’ नै भन्ने गरिन्थ्यो । अतः नाग जातिको गुण र स्वभावको प्रतीकार्थको रूपमा ‘नागदेश’ भन्ने गरिन्थ्यो । नेपालमा पनि ठाउँ–ठाउँमा, मिन नाग, घोरी नाग गरी विभिन्न नागहरूको बासस्थान रहेको छ । काठमाडौँ उपत्यकाभित्र बाग्मती नदीको उद्गमस्थलदेखि उपत्यकाभित्र विभिन्न दोभानमा बाह्र तीर्थ स्थलमा व्रत बस्ने भनेकै ती दोभानमा रहेको बाह्र नागहरूको गुणानुस्मरण गरी व्रत बस्नु हो ।

बज्रयान महायान बुद्ध धर्मको महत्वपूर्ण ग्रन्थ– ‘प्रज्ञापारमिता’ ग्रन्थमा उल्लेख भए, गरेबमोजिमको बासुकी नागराजाको वासस्थान एवम् नागदेशको सम्बन्ध रहेकोले त्यस्तो ऐतिहासिक तथा सांस्कृतिक वासस्थान बासुकी नागदेशमै रहनुले यी दुई स्थानको बीचमा नङ र मासुको जस्तो सम्बन्ध रहेको कुरोमा दुईमत हुनेछैन ।

Tags:

सम्बन्धित समाचार