शनिबार , जेठ १६, २०८३

ऐतिहासिक नगरालाई खण्डहरमा परिणत गराउँदै राज्य !

नगरा घरको विषयमा पुरातात्त्विक विभाग बेखबर छ । नगराकाे गरिमालाई किन अपहेलना गरियो ? राज्यको काम भनेको मुलधारकाे र शक्तिकेन्द्रमा विरासित समुदायका सम्पदाको गुणगानमात्र गाउने हाे ?

image

काठमाडौं मन्दिरको सहर । कला, सम्पदा र सांस्कृतिक धरोहरको मण्डल । यहाँका गल्लीगल्लीमा थुप्रै प्राचीन कलाकृति र सम्पदा सदियौँदेखि छरिएर बसेका छन् । यिनै कला सम्पदाहरूमध्ये काठमाडौं महानगरपालिका वडा नम्बर-२४ अवस्थित विश्व सम्पदा सूचिमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र एक प्रमुख सम्पदा मण्डल हो । यहाँभित्र हेर्न लायक धेरै ऐतिहासिक र पुरातात्त्विक सम्पदा छन् । नौ तले दरबार, गद्दी बैठक, कुमारी घर, काल भैरवको मूर्ति, तलेजु मन्दिर, कृष्ण मन्दिर, देगु तलेजु तथा अन्य धेरै ऐतिहासिक मठमन्दिर र कलाकृति छन् ।

माथि उल्लेखित अलौकिक कलाकृति र सम्पदाका बारेमा हामी धेरैलाई थाहा छ । कतिपय सम्पदा त विद्यालयका पाठ्यक्रममा समावेश गरिएका छन् । तर, यहीँ विश्व चर्चित सम्पदाबिच ऐतिहासिक  नगरा घर भने गुमनाम रहेको छ । लावारिस रहेको छ । नगरा घर काल भैरवको मूर्ति अगाडी, कृष्ण मन्दिर र पुरानो जिप्रकाकाे बिचमा सानो दुई तले घर हो । त्यो सानो घरभित्र ‘विश्वकै सबैभन्दा ठूला’ ऐतिहासिक दुई  नगरा बसेको शताब्दीयाै भएको छ । दायाँ र बायाँ रहेका यी नगरा राज्यको नजरदेखि निकै पर छन् ।

गोरखाबाट हात्तीमा राखेर ल्याइएको नगरा

विशाल दायाँबायाँ नगराकाे इतिहास नेपाल एकीकरणसँग जाेडिएकाे छ । नगरा घरका नगर्ची वासुदेव परियारका अनुसार “गाेरखाका तत्कालीन राजा क्षेत्रबहादुर शाहले लमजुङका घले राजालाई पराजित गरी लमजुङबाट नगरा बजागाजासहित गाेरखा दरबारमा भित्र्याएको भन्ने जनविश्वास छ ।

गोरखा दरबारमा कुनै सूचना दिनुपरे, जनभेला, पूजाआजा तथा उत्सव सम्बन्धी जनतालाई जानकारी दिनुपरे, गोरखाका बिसे, नगर्ची र उनको पुस्ताले नगरा बजाउने चलन थियो । पछि पृथ्वीनारायण शाहले अहिलेको काठमाडौंमाथि  विजय हासिल गरेपछि गोरखा दरबारका यी विशाल नगरा गोरखाबाट हात्तीमा राखेर चन्द्रागिरि हुँदै काठमाडौं ल्याइएका हुन् ।”

राजा छत्र शाह ठुलो नगरा सहित विजय अभियानमा सवारी हुँदै

विशाल नगरा गोरखाबाट काठमाडौं  सारिएपछि नगरालाई संस्थागत गर्न काम तात्कालिक राजा गीर्वाणयुद्ध शाहबाट भयो । उनले नगरा बजाउने व्यक्तिलाई “नगार्जी” पद दिएर, लालमोहर प्रदान गरेपछि आधिकारिक रूपमा काठमाडौंकाे हनुमानढोका अवस्थित दरबार हाताभित्र नगरा बजाउने परम्परा सुरु भएको मानिन्छ ।

नगरा बजाउनुको प्रमुख कारण भनेको नगरा घरसँगैकाे देगु तलेजु भवानीकाे नित्य पूजा , देवीको गरिमामय गाथा एवम् नेपाल राष्ट्रमा शान्ति सुशासन, जनतामा अमनचयन, स्वास्थ्यमा दीर्घायु रहोस् भनी तत्कालीन राजा माहाराजाले  बजाउन लगाएको कुरा नगरा घरका प्रमुख नगर्ची वासुदेव परियारले बताए । अहिले पनि देगु तलेजुकाे बिहानको नित्य पूजा पश्चात् ठुलो घण्ट एक सय आठ पटक बजाउनु पर्ने र सँगसँगै नगरा पनि एक सय आठ पटक  बजाउने चलन रहेको कुरा नगर्चीले जानकारी दिए  ।

विशाल नगराको पुरानो इतिहास 

नगरा जति विशाल देखिन्छन् त्यति  पुरानो इतिहास नगरा घरको रहेको छ । ऐतिहासिक  तथा धार्मिक महत्त्व हुँदाहुँदै पनि नगरा घरको पहिचान बारे नेपाली समाज अनविज्ञ जस्तो देखिन्छ । धेरै मानिसलाई नगरा दमाई समुदायको बाजा हो भन्ने गलत बुझाई रहेको देखिन्छ । भलै नगरा दमाई समुदायले बजाउने गरे पनि त्यसको गरिमा र महिमा समग्र नेपाली समाजको सम्पदाको रूपमा हेरिनुपर्ने हो । नगरा हिन्दु धार्मिक  मौलिक र संस्कृतिकसँग सम्बन्धित सम्पदा हो । तर विडम्बना नगरा घरकाे भौतिक अवस्था, नगराप्रति राज्यको उदासीनता देख्दा, नगरा विश्व सम्पदा सूचिभित्र रहेको ऐतिहासिक धरोहरको जस्तो देखिँदैन ।

नगरा घरको भौतिक अवस्था हेर्दा  हनुमानढोका दरबार हाताभित्रका अन्य संरचनाको जस्तो भव्य आकृति छैन । नगरा घर दुई तलाको छ । भुईँ तला खाली छ, भर्‍याङ साँघुरो, तारहरू लथालिङ्ग अवस्थामा राखिएको छ । माथिल्लो तलामा एउटा कोठा छ, त्यहीँ कोठामा दुईवटा दायाँबायाँ नगरा राखिएको छ । छेउमा ताम्रपत्र छ । नगरासँगै एक जाेडा गजा (बजाउने ) राखिएको छ ।

भूकम्प पछि पुनः निर्माण गरिएको नगरा घर पुरानोभन्दा केही साँघुरो रहेको नगार्जीले जानकारी दिए । पहिला ठाउँ ठूलो थियो, नगरा दायाँबायाँ मिलाएर राखिएको थियो । आवतजावत गर्ने बाटो पनि ठूलो थियो । अहिलेको ठाउँ सानो भएको, हिँड्न र नगरा दायाँबायाँ ढल्काएर राख्न समेत नमिलेको नगार्जीका छोरा सुमन परियारले बताए । पङ्क्तिकारले नगराकाे अवलोकन गर्दा, नगरा आफैँमा जीर्ण अवस्थामा छ । भलै नगरा पुनः निर्माण गरिएको हो तर, नगराकाे माथिल्लो भागमा मोडिएको छाला प्वाल परेको छ भने नगराकाे वरिपरि मोड्न प्रयोग गरिएको छाला कमसल भएको कारणले नगरा बजाउँदा आवाज राम्रो निस्किँदैन ।

माथिल्लो भागमा माेडिएकाे छाला प्वाल परेको देख्न सकिन्छ

नगर्ची वासुदेव परियारका अनुसार नगर बनाउँदा आफूहरूलाई कुनै जानकारी नदिई निर्माण गरिएको बताए । नगरा घरमा नगरा राखिसकेको पछि आफूलाई जानकारी भएको नगर्ची बताए । नगराकाे जीर्ण अवस्था बारे बारम्बार सम्बन्धित निकायमा नगरा घरकाे समस्या राख्दा, अझैसम्म कुनै प्रतिक्रिया नआएको पनि नगार्जीले  जानकारी दिए ।

विश्वका ख्यातिप्राप्त स्थान वा सम्पदाको अगाडी चलनचल्तीका भाषामा उक्त सम्पदाको ऐतिहासिक पक्षको जानकारी लेखिएको हुन्छ ।  विडम्बना नगरा घरमा केही जानकारी लेखिएको छैन । दिनहुँ विदेशी पर्यटक हनुमानढोका दरबार क्षेत्र घुम्न आउँछन् । सम्पदाको फोटो क्यामेरामा कैद गर्छन् । नगरा घरको पनि फोटो खिच्छन् अनि रनभुल्ल पर्छन् । उनीहरूको खुल्दुली कसले मेटाइदिने ?  न त्यहाँ  कुनै सूचनापत्र छ, न कुनै परिचयपाटी । विदेशीलाई नगरा अनौठो लाग्छ,  उनीहरू अभिरुचिपूर्वक हेर्छन् । तर, केही जानकारी नपाएपछि त्यसै मुख खुम्च्याएर फर्किन्छन् ।

सुमनको हजुरबुबा

भारत तामिलनाडुका पर्यटक आरके सुनदरम्ले दुखाेसाे सुनाए, “हामी यति टाढाबाट यिनै कला सम्पदा हेर्न नेपाल आएका हौँ । यहाँका पुरातात्त्विक कलाकृति देख्दा मन प्रफुल्ल हुन्छ । तर, जब उक्त कलाकृतिकाे जानकारी वा सूचना पाइँदैन तब भने खल्लो लाग्छ । खाली दृश्य हेर्दा मन बुझ्दैन”, नगरा घर देखाउँदै उनले थपे, “यहाँ केही लेखिएको छ ?”

नगर्ची वासुदेव परियारलाई किन नगराकाे इतिहास मौलिकताबारे जानकारी राख्न कन्जुस्याइँ गरेको भनेर प्रश्न गर्‍यौँ । उनले बारम्बार सम्बन्धित निकायमा नगरा घर सम्बन्धी समस्या बताए पनि बेवास्ता गरिएको बताए ।

नगरा घरको हेरचाहको लागि हनुमानढोका सम्पदा व्यवस्थापन कार्यालयले केही वर्षयता मासिक पाँच  हजार र विशेष पूजाका निम्ति बडा दसैँ र चैते (चैती) दसैँको लागि वार्षिक पैँतालिस हजार बजेट उपलब्ध गराए पनि उक्त रकमले नगरा घरको पूर्ण रेखदेखमा तथा पूजाआजामा अपुग भएको नगर्चीका छोरा सुमन परियारले बताए । वार्षिक पैँतालिस  हजार  खर्चमा नगराकाे मुल पूजा, पञ्चबली , गुठियार बोलाएर पूजाआजा तथा भोज गर्न अपुग रहेको र पैसा लिन जाँदा दिनहुँ धाउनुपर्ने उनले सुनाए ।

ताम्रपत्रमा पूजाविधि बताइएको छ

मासिक प्रदान गरिने पाँच हजार रकमले दैनिक धूप अगरबत्ती बाल्न पनि अपुग भएको परियारले दुखेसो पोखे । “हामी बाहेक नगर घरको हेरचाह कसले गर्ने?” उनले प्रश्न गरे । “हामीले हाम्रो पुर्खाले चलाउँदै आएको रीतिरिवाजको पालना जसोतसो गर्दै आएका छौँ तर, घरपरिवारलाई पनि हेर्नै पर्याे । सम्बन्धित निकायले हामीलाई नगरा घरको हेरचाहका निम्ति महँगी अनुसारको तलबभत्ता दिइयोस्”, नगर्ची पुत्र सुमनले बताए, “अनि पूर्णरूपले परिवारका सदस्यले नगर घरकाे हेरचाहमा दत्तचित्तका साथ लाग्न सक्छौँ ।”

नगराकाे छेवैमा रहेको ताम्रपत्र देखाउँदै उल्लेखित बुँदा अनुसार यी नगरा आजीवन नगर्ची परिवारले बजाउनु पर्ने सोही बापत राज्यको तर्फबाट ललितपुरको साना गाउँमा तीस रोपनी जग्गा, दोलखाको पुराना गाउँ, काटाकाेटी, डुमकाेटमा एक सय चाैरहत्तर रोपनी खेत उपलब्ध गरिएको प्रमाण नगार्जी परिवारसँग छ । तर, विगत चालिस वर्ष यता दोलखाको जग्गाबाट कुनै अन्नपात नआएको र बीस वर्ष यता ललितपुरको साना गाउँबाट कुनै अन्न बाली नआएको, अन्नपात लिन जाँदा भाका सार्ने, दुर्व्यवहार गर्ने काम मोहीले गर्ने गरेको नगार्जी जानकारी दिए ।

ताम्रपत्रमा उल्लेखित राज्यको तर्फबाट पञ्चवलि पनि आफूहरूले नपाएको, जिल्लामा अवस्थित मालपोत कार्यालयमा आफूले नगरा घरमा काम गरेबापत र ताम्रपत्रमा उल्लेखित सेवा-सुविधाबारे बेलाबेला पत्राचार गर्दा कुनै सहयोग प्राप्त नगरेको उनले सुनाए । राजा महाराजाबाट काम गरेपछि फल पाउनपर्छ भन्ने हेतुले नगार्जीलाई उक्त जग्गा प्रदान गरिएको तर अहिले, नगार्जी परिवारले काम अनुसारको तत्कालीन सेवा सुविधा समेत गुमेको बताए । यस्तो अवस्थामा इतिहास बोकेको सम्पदाको संरक्षण कसरी हुन्छ ? खाली हामीले स्वयंसेवकको जस्तो कार्य कहिलेसम्म गर्नुपर्ने हो उनले दुखेसो पोखे ।

ठुला नगरा रेखदेख गर्दै आइरहेका नगर्ची परिवार

किन नगराकाे संवर्द्धन र प्रवर्द्धनमा राज्यले उदासीनता किन देखाएको होला ? प्रश्नमा, नगार्जीले निराश हुँदै भने “सायद उनीहरूलाई नगरा दलितको बाजा होला भनेर चासो नदिएको होलान् ।” नगरा घरको भौतिक अवस्था हेर्दा हो झैँ  देखिन्छ पनि । वासुदेवले नगरा घरको अगाडि बाइक पार्किङ देखाए, आँगनमा बिछ्याइएका इट्टा देखाए  र पङ्क्तिकारलाई प्रतिप्रश्न गरे ।  “तपाई आफै भन्नुस्, कस्तो छ अवस्था !”

ऐतिहासिक नगरा घरको आँगनका इट्टा, सरसफाइ र अव्यवस्थित अवस्था देख्दा कहालीलाग्दो थियो । कुनै पनि ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको अगाडी यो किसिम लापरबाही देखिनु राज्यले आफ्नो दायित्व पूरा नगरेको पुष्टि हुन्छ । विडम्बना नगरा घरका छेउका अन्य संरचनाको अवस्था भने भव्य देखिन्छ । तुलनात्मक रूपमा नगरा घरको अवस्थामा अन्य सम्पदाको भन्दा कमजोर देखिन्छ । नगरा बजाउँदा पुरै घर कमजोरीको कारणले हल्लिन्छ । सबै पक्ष मूल्याङ्कन गर्दा राज्यको नगरा घरप्रतिकाे रवैया र दृष्टिकोण ऐतिहासिक सम्पदालाई गरिनुपर्ने न्यूनतम व्यवस्था देखिएको छैन । भलै, नगरा विश्व सम्पदा क्षेत्रभित्र छ तर अवस्था भने विश्व सम्पदा तहको जस्तो देखिँदैन ।

फोटो : हनुमानढोका ठुलो नगरा समाजबाट

नगरा घरको विषयमा पुरातात्त्विक विभाग बेखबर छ । नगराकाे गरिमालाई किन अवहेलना गरियो ? राज्यको काम भनेको मूलधारको र शक्तिकेन्द्रमा विरासित समुदायका सम्पदाको गुणगान मात्र गाउने हो ? यी प्रश्नको उत्तर राज्यले दिनुपर्ने हो । सम्पदाको सम्मान संवर्द्धन र प्रवर्द्धनमा राज्यले अग्रसरता देखाउनुपर्ने हो । तर, विडम्बना राज्य दलितको इतिहास कहाँ देख्छ र ? दलितसँग सम्बन्धित सम्पदाप्रति उदासीनता देखाउन नियोजित धर्म र स्वाभाविक जस्तो देखिएको छ । किनकि यहाँ दलितको काम कला र इतिहासको कुनै मूल्य छैन ।

राज्यले नगरा घरको उत्थानमा हालसम्म कुनै पहल गरेको देखिँदैन । तीस वर्ष अगाडी जे थियो, आज पनि त्यहीँ अवस्था छ । न कुनै अनुसन्धान गरिएको छ, न कुनै अध्ययन नै । सामान्य ढुङ्गाको पूजाआजा गर्ने समाजमा विशाल नगराकाे अवहेलना गरिनु नियोजित जस्तै देखिन्छ । जसरी दलित समुदाय आजकाे वैज्ञानिक युग पनि विभेदबाट पीडित छ, ठ्याक्कै नगर घरको अवस्था पनि त्यस्तै छ । छेवैमा रहेका मठ मन्दिरको अवस्था र नगरा घरको अवस्था मूल्याङ्कन गर्दा धेरै भिन्नता देखिन्छ । अरू सम्पदा भूकम्पपछि पुनः निर्माण गरिएकाले भव्य छन् तर, नगरा घरकाे सवालमा भने पहिलेको तुलनामा नगरा घर सानो बन्न पुगेको छ । वरपरका मन्दिरमा बर्सेनी प्रधानमन्त्री राष्ट्रपति लगायतकाले पूजापाठमा उपस्थिति हुन्छन् । लाखौँको बजेट पूजापाठको निम्ति विनियोजित हुन्छ । तर, नगरा घरमा आजसम्म पनि कुनै कार्यकारी पदको व्यक्ति पुगेर हेरचाह सोधपुछ गरेको पाइएको छैन ।

कलाकृति सांस्कृतिक तथा ऐतिहासिक सम्पदा राज्यको सम्पत्ति  हो, पहिचान हो र इतिहास हो । कसैलाई काखा र कसैलाई पाखा लगाउने काम नगर्नुपर्ने हो । प्रत्येक सम्पदाको आफ्नै पहिचान छ, विशेषता छ । सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन राज्यको समान नजर हुनुपर्ने हो । देवी देवताका मन्दिरलाई मात्र महत्त्वपूर्णका साथ हेर्ने र अन्य मौलिक कलाकृतिलाई उपेक्षा गर्नु कतिको न्यायोचित होला ? सम्पदा र कलाकृतिले राज्यको इतिहास बोकेको हुन्छ । यसको संरक्षण गर्नु सबैको पहिलो दायित्व हुन्छ न कि विभेद ।

नगरा घरप्रति सम्बन्धित निकाय संवेदनशील हुन् ढिला भइसकेको छ । नगराकाे नगराकाे सांस्कृतिक धार्मिक र ऐतिहासिक पाटोलाई संसार समक्ष चिनाउनु अत्यावश्यक छ । विश्व बाजागाजाको इतिहासमा, अध्ययन, अध्यापनको क्षेत्रमा नगरा समावेश गरिने वातावरण सृजना गर्नुपर्छ । अन्यथा हर्ष, उत्सव र जीत बज्ने नगरा सदाको लागि मौन रहने छन् ।

फोटो : राजु झल्लु प्रसाद

सम्बन्धित समाचार