शुक्रबार , अषोज १४, २०७९

जर्ज आर्वेल, चुनाव र नेपाली बुद्धिजीवी

अपराध र दुष्कर्म गरेर मरेका मान्छेका आत्मा प्रेत रूपमा भड्किरहन्छ र त्यसले पछिल्ला पुस्ताहरूलाई परोक्षरुपमा सताइरहन्छ भन्ने आदिम विश्वास आजसम्म छ र त्यो बिम्ब हाम्रो राजनीतिमा देखिरहेकै छ । शकुनी महाभारतका खलपात्र हुन् तर हरेक युगमा, हरेक सत्तामा शकुनीको नवसंस्करण देखिन्छ ।

image

जर्ज आर्वेलले भनेका थिए कि ‘कुनै विचार र सिद्धान्तहरू यति मूर्खतापूर्ण हुन्छन् कि जसलाई विद्वानहरूले मात्रै विश्वास गर्दछन् ।’
कस्तो कटुसत्य ! जुन हाम्रो समाजमा नग्नतापूर्वक प्रयोगासन्न छ ।

हो यतिबेला म उनको विचारले पग्लिएको छु, उनले लेखेका उपन्यासहरू (एनिमल फार्म र नाइन्टिन एट्टी फोर) भन्दा पनि राजनैतिक समालोचना र बलिया आलोचनाहरूबाट द्रवित छु । भारतमा जन्मेका आर्वेल; जसले सघन राजनीतिको दलदलमा नफसे पनि लण्डन बसेर जसरी समकालीन विश्व राजनीतिलाई निहारे त्यसको बिम्बिकरण म आजको नेपालमा देखिरहेको छु ।

विश्व राजनीतिमा चीन र भारतको ध्रुव अलग होला, सोभियत रुस र अमेरिकाको वैचारिक सीमारेखाहरू अलग होलान्, उत्तर कोरिया र दक्षिण कोरियाका आदर्शका लक्ष्मण रेखाहरू छोइनसक्नु फरक होलान्; त्यसैको बाछिटाले काठमाडौं सिंहदरबारदेखि कोटेश्वर र बालकोटदेखि पेरिसडाँडा गरमागरम हुन्थे । आर्वेलले भनेको त्यही समकालीन राजनीतिमा हुने मूर्खताको पराकाष्ठाका सीमान्त प्रयोगहरू नेपालका तथाकथित मूर्ख विद्वानहरूका प्रस्तुतिमा प्रकटीकरण हुन्थे, होइरहेका छन् ।

त्यसैले त अमेरिकाले अपानवायु छोड्दा बेलायत र पश्चिमाहरूलाई गन्हाउँदैन सायद । गन्हाउँछ रसिया, चिन र उत्तर कोरियालाई ।
पुटिनको वान्ता बास्नादार भइदिन्छ चिन, कोरिया र इरानलाई ।

उस्तै सिरिया र उत्तर कोरियाका मानव हताहतीमा रसियाको टाउको दुख्दैन । दुख्छ- अमेरिकाको र कोलाहल मच्चिन्छ संसारभर ।
मरेका र मारिएका श्रीलङ्का, अफगानिस्तान र इराकका निहत्थाहरूको आँसुले खै रसियाको ‘बाल’ झरेको ? खै अमेरिकी राजनैतिक मूर्खतामा मानवअधिकारको खिचडी पाकेको ?

प्रश्नहरू प्रश्नका लागि मात्र छन्, यतिबेला । किनकि विचार र सिद्धान्तका मूर्खतापूर्ण क्रियाकलापले नै तथाकथित विद्वानहरूको झुट र तिलस्मी विश्वासले दुनियाँलाई भ्रामरीको दशामा फसाइरहेको छ । मेरा प्रश्नका उत्तरहरू कहाँ खोज्नु ?

अपराध र दुष्कर्म गरेर मरेका मान्छेका आत्मा प्रेत रूपमा भड्किरहन्छ र त्यसले पछिल्ला पुस्ताहरूलाई परोक्षरुपमा सताइरहन्छ भन्ने आदिम विश्वास आजसम्म छ र त्यो बिम्ब हाम्रो राजनीतिमा देखिरहेकै छ । शकुनी महाभारतका खलपात्र हुन् तर हरेक युगमा, हरेक सत्तामा शकुनीको नवसंस्करण देखिन्छ । जस्तो- नेपालको राजनीतिमा परिवारवाद, वंशवाद, नश्लवादको रूपमा शकुनी संस्करणको जीवित अवतारहरू छन् । पदस्थहरू दुर्योधन र घेराहरू शकुनीको रूपमा चित्रित छन् चाहे श्रीमतीजीहरू हुन् वा श्रीमान्हरू, छोरा छोरीहरू हुन् वा साला, सालीहरू नै किन नहुन् ? सायद दुर्योधनको आत्माले हाम्रा सत्तासीनहरूलाई मतिभ्रम बनाइदिँदो हो र तिनका मतियारहरूकै रूपमा सल्लाहकारहरू किंवा श्रीमतीजीहरू, छोरा छोरीहरूमा शकुनी आत्मा पसेर भड्काइरहँदो हो र नै लोकतन्त्रको यो लज्जाशरणमको दुर्गति भइरहँदो हो ।

हुन त संसारमा आफूलाई हेर्ने परिभाषाले अर्कालाई देख्दो रहेनछ । त्यसैले त सियाञ्जेनमा मारिएका रोहिङ्ग्याहरुको आँसु चीनले देख्दैन तर संयुक्त राष्ट्र सङ्घले देख्छ । त्यही संस्थाले सिरियाको आहट वा आर्मेनियाको ध्वंस देख्दैन अनि ती अबोधहरूले धिक्कारिरहेछन् चीनको समृद्धिलाई र धिक्कारिरहेका छन्- भुटानबाट निकालिएका नेपाली भाषीहरूले गुलाम संयुक्त राष्टसंघको तथाकथित मानवअधिकारको घोषणापत्रलाई ।

जसरी संयुक्त राष्ट्र सङ्घका आदर्शहरूको खोलमा बेरिएर आफ्नै घरभित्र गन्हाइरहेका छन् आर्मेनियालीहरू उसैगरी घाना वा बुर्निनाफासोमा आवाज उठ्न सक्दैन- दानवीय बर्बरताको र कायरहरूको सैनिक घेराबाटै चुनौती छ मानवतालाई । त्यहाँ बोल्न सक्दैनन् मानवअधिकारका ठेकेदारहरू ।

उसो त आर्वेलले भनेका छन् कि “ विश्वव्यापी झुटको समयमा सत्य बोल्नु पनि क्रान्तिकारी कार्य हो ।”

अब झुट पनि सत्यको निकट नभएर कसको निकट भन्ने सवालहरू हुने रहेछन् । ठिक यस्तै परिदृश्य नेपाली राजनीतिको भ्रमजालमा बेरिएको छ । प्रजातन्त्रका मसिहाहरू साम्यवादका पहरेदारहरूको पोल्टामा छन् र साम्यवादका प्रवक्ताहरू घोर दक्षिणपन्थका स्पन्दनमा धड्किँदै बाँचिरहेको अनौठो इतिहास नेपाली राजनीतिको यो दशकलाई भावी पुस्ताले परिहासपूर्ण मान्ने नै छन् । चरम क्रान्तिकारिताको युद्ध खेपेर आएका साम्यवादी चेतलाई दक्षिणपन्थी र प्रजातन्त्रवादीहरुले मलजल ऊर्जा थपेर हुर्काएको स्वाथ्र्यप्रेरित र सत्तामुखी नग्नता र साम्यवादको धङधङीलाई सत्तालिप्साको उन्मत्त प्यासले दक्षिणको गोड्धुवामा चढाएको परिदृश्यले इतिहास पनि आँसु चुहाएर रुनेछ ।

समकालीन नेपाली राजनीतिक दलका कार्यकर्ताहरू आर्वेलले भनेजस्तै यति मूर्ख छन् कि जसले आफ्नो बाटो र उमेर छेकिरहेका छन्, तिनैको पछि दगुरिरहेका छन् । आजका कार्यकर्ताहरू जसले न देउवाको विकल्प देख्छन् र दिन्छन् न ओलीको नै । उस्तै विकल्पहीन बनाइरहेका छन्, प्रचण्ड र नेपाललाई पनि । पछिल्लो पुस्ताकाहरूमा समग्र युगलाई हाँक्ने र देशलाई केन्द्रीकृत नेतृत्व गर्ने दम र हैसियत देखिएन, त्यसैले म्याद गुज्रिएकाहरू परिवाद र नातावादको तुरुप चलाइरहँदा पनि चुनौती दिने हैसियतमा कोही नव पुस्ताका तथाकथितहरू भएनन् ।

आफूलाई पछिल्लो पुस्ता भन्नेहरू दौरा समाएर, किचेन क्याबिनेट चलाएर, भजनमण्डलीमा रमाएरै व्यस्त र मस्त छन् ।

उनीहरूलाई लागिरहेको छ पार्टी अध्यक्ष बन्नु भनेको पार्टी खरिद गर्नु हो र निर्वाचनमा टिकट बिक्री गरेर कम्पनी चलाउनु हो । भइरहेको छ र देखिरहेको सत्य नै यही हो । देशभर जरा फिँजिएको कम्पनीको कार्यकारी प्रमुख बनेर हाकाहाकी टिकट बिक्री गर्ने हैसियतमा पुग्न पनि त दर्बिलै हिम्मत चालिएला र छल, बल, कर सबै हतियार चलाउन सक्नुपनि पर्ने भएकाले त्यो अवस्थासम्म फेर समाएर लौरो समाएर आएकाहरूमा नहुन पनि सक्दछ , भनिएका पछिल्लो पुस्ता र उमेरले सीमा कटिसकेकाहरू आफू विकल्प बन्नुभन्दा लौरो टेकाएर पनि, झाँक्री बसाएर पनि अघिल्लै पुस्ताको गोटी र तुरुप बन्नु नै श्रेयस्कर ठानिरहेका छन् ।

यिनै प्रमाणहरूले आर्वेलको कुनै विचार र सिद्धान्तहरू यति मूर्खतापूर्ण हुन्छन् कि जसलाई विद्वानहरूले मात्रै विश्वास गर्दछन् भन्ने तर्क हाम्रो वर्तमानमा नग्न सत्य भएर साबित भएको छ । हर दलका पछिल्ला पुस्ताका पढेलेखेका भनिएका बुद्धिजीवी मानिएका कार्यकर्ताहरू हुक्के, ढोके, बैठकेको तहभन्दा माथि उक्लने साहस बटुल्दैनन् र तिनका असलियत बुद्धिजीवीको मूर्खको स्तरभन्दा पर छैन ।

प्रत्येक घर घरमा उमेर पुगेका छोराछोरीहरूको निर्णयबिना बाबाहरू कुनै कदम चाल्न सक्दैनन् । अब त तिमीहरू हुर्किएका छौ । जसो गर्नुपर्छ गर । भविष्य तिमीहरूका लागि हो मैले त धानिदिएको मात्र हो । बाबाहरूबाट सन्तानलाई प्रेमपूर्वक घरेलु सत्ता हस्तान्तरणको यो उद्गार हर घरमा सुनिन्छ । तर देशमा नाति पुस्ता सक्षम भइसक्दा पनि तीन पुस्ता अगाडिबाट तँगाराहरू तेर्स्याइनु भविष्यमा सम्भावना भएकाहरूलाई राजनीतिबाट टाढा राख्नु र वितृष्ण बनाउँदै लैजानु नै हो ।

चालिसको दशक पछाडिदेखि नेतृत्वमा विचार, चिन्तन कार्यशैलीको एकै धन्दा देखिनु र त्यस्तै पद्धतिको पुच्छर समातेर आफ्नो राजनैतिक भविष्य पर्खिरहनुभन्दा आत्महत्याकारी खतरा केही हुँदैन ।

भ्रष्टाचारका नग्न शृङ्खलाका कोलाहल यन्त्रणाबाट नै छोपछाप पारिन्छ । जसरी छोपछाप भए लाउडा,धमिजादेखि वाइडवडीसम्म । ललिता निवासदेखि एनसेलसम्म । मदन-आश्रितको हत्यादेखि दरबार हत्याकाण्डसम्म । उसै सेलाएका छन् । उसै मथ्थराएका छन् । छोपिएका छन् तर डोकाले नै हो । हितोपदेशका कथाहरूले जस्तै ।

कथाले भन्छ कि कुनै राजा निरोजस्तै सनकको थियो र संसारका अनुपम फेसन उसलाई चाहिन्थ्यो । उसको टाउकामा साना साना सिङ उम्रिएका थिए । प्रत्येक पटक कपाल कटाएपछि उसले नाइलाई सावधानीपूर्वक मारिदिने गर्दथ्यो किनकि उसले बाहिर गएर राजाको सिङ उम्रिएको छ भनेर हल्ला न नगरोस् । एकदिन ढिकी कुटिरहेका अदनाहरू छेउ पुगेर ढिकीको आवाज सुन्यो ढिकी उफ्रिएको आवाजमा भक्र्यङ ट्याङ अमूर्त आवाज आइरहेको थियो तर उसको मनमा आफूभित्र भएको सिङको गहिरो मनोविज्ञान थियो । त्यसैले उसले ती ढिकी कुट्नेहरूलाई बन्द गर्न र अब देशमा कहिल्यै ढिकी नचलाउन आदेश दिए ।

हाम्रा नेताहरू उस्तै मनोविज्ञानले ग्रस्त छन् सत्ताको ह्याङ ओभरबाट उत्रिन सकेका छैनन् । सत्ताबाट पर रहने बित्तिकै अनेकौँ काण्डहरूको पटाक्षेप हुने डर छ जसरी ती राजा जहाँ गएपनि आफूभित्रको सिङ रहेका कमजोरीसँगै लिएर जान्थे । हाम्रा नेताहरू उसैगरी सधैँ देशलाई बन्धकी बनाएर बपौती जस्तै चलाइहरन खोज्छन् जसरी तिनले देशमा ढिकी कुट्न पनि प्रतिबन्ध लगाइदिएका थिए ।

समयले यिनलाई कुनै दिन उठ्नै नसक्ने गरेर पछार्ने छ । देश र दुनियाँको अगाडि मृत्युमय यातना दिने छ । दन्त्यकथाले भन्छ कि ती राजा फेसनका भयङ्कर सौखिन थिए । नयाँ नयाँ फेसन किनेर लगाउने भएकाले जुलाहाहरू नयाँ डिजाइनका फेसनहरू लिएर गइरहन्थे । राजनीति बुझ्ने एक जुलाहा यी राजालाई पाठ सिकाउनुपर्छ भनेर दरबार गए । दरबारमा गएर राजालाई महाराज पाँच लाख रुपैयाँ पर्दछ । संसारमै कसैले नलगाएको अद्भुत सौन्दर्यपूर्ण पोशाक बनाउँछु भन्न थाल्यो । मैले कपडा बनाउने कोठाभित्र कसैलाई नपठाउनु, मैले मगाएका सामानहरू खुरुखुरु पठाइदिनु भन्ने आदेश दिएर ऊ एकान्त कोठाभित्र गयो । यो सामान लेऊ र ऊ सामान लेऊ भनेर हैरान बनायो । पन्ध्र दिन भित्र उसले दरबारबाट ठूलो मात्रामा धनराशी, सुनचाँदी हिरामोती लगिसकेको थियो । पन्धौं दिनको दिन जुलाहाले महाराज पोशाक तयार भयो,राजपटाङ्गिनीमा सबै सभासद्, भारदारहरू तथा राज कर्मचारीलाई उपस्थित गराउन आदेश दिइबक्सियोस्, सबै जनतालाई डबली डबलीबाट ताली र स्वागत गर्न भनिबक्सियोस् । स्वर्गका राजा इन्द्रले पनि लगाउन नपाउने यस्तो पातलो आँखाले पनि देख्न कठिन हुने अद्भुत पोशाक पहिरिएको दिन पैदलै वा रथमा उभिएर सहर परिक्रमा गरिबक्सियोस् भन्यो ।

अन्ततः राजा तयार भए । जुलाहाले सबैको सामु जसले सत्य बोल्दैन झुट बोल्छ, जसको मनमा पाप छ त्यसले यो पोशाक देख्दैन भनेर त्रास छरिदियो । राजाका अगाडि किस्तीमा हलुका किसिमले मलमल पोशाक राखेझैँ हात उठाएर थपक्क राख्यो । राजालाई दीव्य पोशाक पूजा गर्न भन्यो तर किस्तीमा पोशाक थिएन राजाले आफू झूट र पापी साबित हुने डरले पानी पानी भए । पोशाक छैन भन्न सकेनन् । उसले जसो जसो भन्यो त्यसै त्यसै गर्दै गए । राजाका सबै वस्त्र उतारेर नग्न बनाइयो र अद्भुत वस्त्र पहिर्याएको नाटक गरेर नाङ्गै सहर घुमाइयो । वस्त्र लगाउञ्ज्याल जुलाहा साथै थियो र सहर घुमाउन थालेपछि ऊ नगद कुम्ल्याएर फरार भयो । पापी र असत्य भइने डरले राजाको नग्नतामा कसैले बोल्ने हिम्मत गरेनन् । लोभ पाप र स्वार्थका आडमा राजालाई नङ्ग्याएर खानेहरू सबै राजाको नग्नता पनि बेचिरहे । जसरी अहिलेका नेताका भजन मण्डलीहरूले नेतृत्वका नग्न कुकर्म बेचिरहेका छन् । कथाले थप्छ – जब एक बालकको नजिक राजाको नाङ्गो घिनलाग्दो विद्रुप रूप पुग्यो आमाको पिठ्युँबाटै बालक चिच्यायो- “आमा आमा राजा किनै नाङ्गै हिँडेका ? राजा त नाङ्गै छन् त ”

त्यतिबेला मात्रै उनको होस् खुल्यो र उनी दरबार फर्किएर चुपचाप आफ्नो मूर्खतामा पश्चात्ताप गर्दै आत्महत्या गर्न पुगे ।

अहिले सिद्धान्त, विचार ,निष्ठा र आदर्श बेचेर नाङ्गै रमाएका नवमहाराजहरू देश बलियो भएको दिन र सबैले सत्य बोलेको दिन पश्चात्तापले जल्नुपर्ने छ र कामना गरौँ- आत्महत्या गर्नुपूर्व ती सबैको चेत खुलोस् । निष्ठा र आदर्श बेचेर स्वार्थ र पदका लागि नाङ्गै  भुतुङ्गै कुँदेकाहरूले आत्महत्या गर्ने दिन नआओस् ।

अहिलेलाई आर्वेलको अर्को भनाइ राखेर बिट मार्दछु- “हाम्रो समयमा राजनीतिभन्दा बाहिर रहने भन्ने कुनै चिज हुँदैन । हरेक विषयहरू राजनीतिक विषय हुन् र राजनीति आफैँमा झुट, कपट, मूर्खता घृणा अनि पागलपनको थुप्रो हो ।”

यतिबेला नेपालका मूर्ख र पाखण्ड राजनीतिज्ञहरूले राजनीतिलाई यस्तै बनाएका छन् ।

। धन्यवाद ।

Tags:

सम्बन्धित समाचार