शुक्रबार , मंग्सिर २३, २०७९

नेपालको पर्यटन: इतिहासको उत्खनन, वर्तमानको विश्लेषण र भविष्यको प्रक्षेपण

विश्व पर्यटन  दिवस मनाइरहँदा नेपालकाे पर्यटनकाे इतिहास के हाे ? नेपालकाे पर्यटन क्षेत्रकाे वर्तमान अवस्था कस्ताे छ ? नेपालमा पर्यटन सम्भावनाका मुख्य क्षेत्रहरू के-के हुन् ? र नेपालकाे पर्यटनकाे भविष्य कस्ताे छ ?  यी प्रश्नहरुकाे जवाफ स्वरूप याे लेख तयार पारिएकाे छ ।

image

आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस, विश्वभरिका पर्यटन व्यवसायीहरूले विविध कार्यक्रम गरी मनाइँदै छ । पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध सङ्घ संस्थाहरूले विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्दछन् । यस वर्ष ४३ औँ विश्व पर्यटन दिवस मनाउँदै छन् । सन् १९८० देखि संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठनले सेप्टेम्बर २७ को दिनलाई विश्व पर्यटन दिवसको रूपमा मनाउन थालिएको हो । यस वर्ष पर्यटनको लागि पुनर्विचार गरौँ (रिथिंङकीङ टुरिजम) भन्ने अभियानका साथ विश्वभर पर्यटन वर्ष २०२२ मनाउन लागिएको छ ।

विश्व पर्यटन  दिवस मनाइरहँदा नेपालकाे पर्यटनकाे इतिहास के हाे ? नेपालकाे पर्यटन क्षेत्रकाे वर्तमान अवस्था कस्ताे छ ? नेपालमा पर्यटन सम्भावनाका मुख्य क्षेत्रहरू के-के हुन् ? र नेपालकाे पर्यटनकाे भविष्य कस्ताे छ ?  यी प्रश्नहरुकाे जवाफ स्वरूप याे लेख तयार पारिएकाे छ ।

नेपालमा पर्यटनको इतिहास

नेपाल पर्यटकीय सम्भावनाले भरिएको देश हो । नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको खानी हो भन्ने थाहा हुँदाहुँदै पनि नेपालमा पर्यटन विकासको लामो इतिहास छैन । नेपाल एकीकरण हुनु पूर्व र एकीकरणको क्रममा बेहोर्नु परेको क्षति र त्यस पश्चात् लादिएको एकात्मक राजनीतिक, आर्थिक, धार्मिक व्यवस्थाले नेपालको सांस्कृतिक विविधताको विकासमा ठेस पुग्यो । त्यसपश्चात् १०४ वर्षे लामो एकतन्त्रीय शासन व्यवस्थाले केवल सत्तामा रहेका वर्गहरूको विलासिता पुरा गर्ने बाहेक पर्यटन क्षेत्रमा केही उपलब्धि हासिल गरेको देखिन्न । जहानियाँ राणा शासनकालमा नेपाल अन्तर्राष्ट्रिय समुदायबाट सम्पर्कविहीन प्राय थियो । साथै, वि।सं। २००७ सालमा प्रजातन्त्रको पुनर्बहाली पश्चात् पञ्चायत व्यवस्थामा जारी भएका आवधिक योजनाहरुमा समेत पर्यटन क्षेत्रको विकासमा बेवास्ता गरेको पाइन्छ।

सन् १९५० मा युएनको प्रतिनिधिका रूपमा नेपाल भ्रमण गर्न आएका टोनी हेगनले एक दशक भ्रमण गरी सन् १९७१ मा प्रकाशित नेपाल–द किङडम इन दि हिमालय पुस्तकमा नेपालको जनजीवन, जाति, भाषा, धर्म र भौगोलिक अवस्थाको बारेमा विस्तृत गरी अध्ययन गरेको र नेपाललाई विश्व सामु चिनाउने प्रयास गरेको देखिन्छ । त्यस्तै, २९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर उचाइमा मानवले पाइला टेकेको दिन) सफलतापूर्वक आरोहण गरेको खबर संसारभर सञ्चार भएदेखि नै संसारका आरोहीहरूका लागि नेपाल जीवनमा एकपल्ट पुग्नै पर्ने गन्तव्यको रूपमा चिनियो । त्यसपश्चात् नेपालको बारेमा अन्तर्राष्ट्रिय समुदायमा चासो बढ्न थालेको देखिन्छ ।

नेपालमा पर्यटन विकासका लागि भएका प्रयासहरू

नेपालमा विदेशी पर्यटकहरूको आवागमन सुरुवातसँग पर्यटन क्षेत्रका कार्यक्रमहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन सर्वप्रथम वि।सं। २०१६ मा पर्यटन बोर्डको स्थापना गरिएको थियो । वि।सं। २०१८ मा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन विभाग गठन गरिएको थियो । सन् १९७२ को पर्यटन गुरुयोजना र प्रशासन सुधार आयोग, २०३२ को सिफारिस समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रवर्द्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रूपमा वि।सं। २०३४ मा छुट्टै पर्यटन मन्त्रालयको स्थापना भएको हो ।

वि.सं. २०३९ मा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरियो । मुलुकले अवलम्बन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकारको भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न वि.सं. २०५५ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका दुई वटा विभागहरू हवाई विभाग र पर्यटन विभागलाई खारेज गरी क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो । वि.सं. २०५८ देखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रूपमा नामकरण गरियो ।

पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षालगायत कार्यहरू गर्न नेपाल सरकार –मन्त्रिपरिषद्को मिति २०७१ साउन २ गतेको निर्णयअनुसार मिति २०७१ भदौ महिनामा पर्यटन विभागको स्थापना गरिएको छ ।

नेपालले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएको थियो । त्यसैगरी सन् २०११ मा पर्यटन वर्ष २०११ मनायो । २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष २०२० मनाउन अन्तिम तयारी भएको बेला कोरोना महामारीले वितण्डा मच्चाएपछि नेपालको पर्यटन क्षेत्रको विकासमा अभूतपूर्व सङ्कट उत्पन्न भयो ।

नेपालमा पर्यटनको सम्भावना

नेपालमा पाइने प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विभिन्न विविधताहरूले संसारका मानिसलाई आकर्षित गरेका छन् । जसका कारणले नेपालमा पर्यटन व्यवसायको विकासको सम्भावना निकै बढिरहेको छ । नेपालको पृथक् भौगोलिक बनावट, हिउँले ढाकिएका शृङ्खलाबद्ध हिमालहरू विभिन्न किसिमका झरनाहरू, पाखा, पखेरा, टाकुरा, हरिया जङ्गल झाडी, यहाँ रहेका नागबेली नदीनालाहरू, यहाँका मानिसहरूमा भएको पाहुनाप्रतिको आतिथ्य सत्कारको भावना, सांस्कृतिक विविधता, जातजाति, भेसभुसा कला संस्कृति आदि कुराहरूले पर्यटन व्यवसायमा विकासका सम्भावनाहरू बढाएका छन् ।

अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सामाजिक विविधता एवम् ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्य स्थलको रूपमा परिचित छ । आज संसारमा रहेका १९५ देशमध्ये नेपाल दक्षिण एसियामा पर्ने आफैँमा सानो तर प्राकृतिक रूपमा विशाल राष्ट्र हो । नेपाल सुन्दर र शान्त देश हो । यसले संसारको कुल भूभागको ० दशमलव ०३ प्रतिशत र एसियाको ० दशमलव ३ प्रतिशत भाग ओगटेको छ ।

नेपालले सगरमाथा, शान्तिको अग्रदूत महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सत्य र धैर्यताको प्रतीक राजा दशरथ र माता सीताको जन्मस्थान जनकपुर र नेपालमा भएको जल सम्पदा र जडीबुटीको राम्ररी उपभोग गर्न सकेमा राष्ट्रले चाँडै कोल्टे फेर्न सक्छ । यहाँको नेतृत्वमा दृढ इच्छा, यहाँ भएका जैविक विविधता, सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्नु अति आवश्यक छ । इसाई धर्मावलम्बीहरूको लागि इजरायलको जेरुसेलम, इस्लाम धर्मावलम्बीहरूको लागि साउदी अरेबियाको मक्का मदिना जस्तै विश्वमा बौद्ध मार्गीहरूका प्रेरणाका श्रोत महामानव बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध तीर्थस्थलको रूपमा विकास गरी लाखौँ धार्मिक पर्यटकहरू पनि भित्र्याउन सकिन्छ । हुन त सम्पूर्ण नेपाल आफैमा पर्यटकीय स्थल हो । यहाँ रहेका ७७ जिल्लाहरूमा नै पर्यटकीय क्षेत्र रहेका छन् ।

विश्व सम्पदा सूचीमा नेपालका सम्पदा

नेपालका विभिन्न सम्पदाहरू युनेस्कोले विश्व सम्पदा सूचिमा सूचिकृत गरेका छन् । विश्व सम्पदा सूचिमा सूचिकृत यी सम्पदाहरू पर्यटकीय आकर्षण हुन् । नेपालमा रहेका विभिन्न राष्ट्रिय निकुञ्जहरूमध्ये चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा रहेका छन् । त्यस्तै विभिन्न धार्मिक स्थल एवम् सांस्कृतिक सम्पदाहरूमध्ये राष्ट्रदेव पशुपतिनाथको मन्दिर, चाँगुनारायणको मन्दिर, लुम्बिनी, स्वयम्भू, बौद्ध, काठमाडौँ, भक्तपुर र ललितपुर दरबार स्क्वायर विश्व सम्पदा सूचीमा पर्दछन् ।

साहसिक पर्यटन 

नेपाली पर्यटन इतिहास नै साहसिक पर्यटन हाे । नेपाल पर्वतीय पर्यटनका लागि संसारकै उत्कृष्ट गन्तव्य हो भन्दा अत्युक्ति नहोला । किनकि विश्वको सर्वोच्च शिखर सगरमाथा मात्रै नभएर। संसारभरमा रहेको चौध ओटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये आठ ओटा हिमाल नेपालमै रहेका छन् । नेपालमा भएका यी अथाह प्राकृतिक श्रोत साधन, सांस्कृतिक सम्पदाहरू, फरक भौगोलिक बनावट, रीतिरिवाज, चालचलन, सांस्कृतिक कला शैली आदिले गर्दा नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य स्थल बन्न पुगेको छ ।

हिमाल अथवा पर्वताराहण मात्र नभएर नेपालका पहाड, खाेला, नदिनाला, तालतलैया सबै साहसिक पर्यटनका लागि उत्कृष्ट छन् ।  बन्जी, र्याफ्टिङ, रक क्लाइम्बिङ, क्यानाेइङ, स्काइ साइक्लिङ, प्याराग्लाइडिङ, बाेटिङ सबै साहसिक पर्यटन हुन् ।

नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना

नेपालमा पर्यटन सम्भावनाका महत्त्वपूर्ण क्षेत्रहरूमध्ये एक सांस्कृतिक विविधता हो । विश्वभरका पर्यटकहरू केवल नेपालको प्राकृतिक सौन्दर्य हेर्नका लागि आई रहेका छन् । नेपालको प्राकृतिक विविधताका जानकार विदेशी पर्यटकहरू नेपालको सांस्कृतिक विविधताका बारेमा भने अनभिज्ञ छन् । प्राकृतिक विविधतासँगै त्यस क्षेत्रमा विकसित पृथक् मानवीय चालचलन, संस्कार, भाषा, भेसभुसा, संस्कृतिलाई घुम्न आउने पाहुनाहरूले चासोको साथ लिनु र त्यसबाट मनोरञ्जन, आनन्द लिनु तथा खोजी गर्नुलाई सांस्कृतिक पर्यटन भनिन्छ । सांस्कृतिक पर्यटनले पर्यटकहरूलाई स्थानीय अनुष्ठान र दिनचर्यामा डुबाइदिन्छ, केवल प्राकृतिक सौन्दर्यता मात्र हैन, अनौठा९नयाँ० अनुभवहरूको सम्झनाहरू पनि साझेदारी गर्दछ । त्यस्ता पर्यटकीय गन्तव्यले स्थानीय समुदायहरूलाई आफ्नो संस्कृतिको महत्त्व दर्साउँछ । आर्थिक वृद्धि र विकासमा सहयोग पुग्दछ ।

सांस्कृतिक सम्पदाको मूल्य र महत्त्वको अनुभूति दिलाउँदै संस्कृतिको संरक्षण गर्न र सांस्कृतिक विविधतालाई प्रचारप्रसारमा प्रोत्साहन दिन्छ । यसले सामूहिक पहिचान र सांस्कृतिक सम्पदामा टेवा पुग्छ । पाहुनाहरूबाट संस्कृति आदान प्रदान र सिक्ने सिकाउने अवसर प्राप्त हुन्छ । फलस्वरूप पर्यटनलाई थप आकर्षण गर्दछ र आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्नुका साथै रोजगारीका अवसरहरू सिर्जना हुन्छन् । तसर्थ, हरेक भाषा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आवश्यक छ ।

हालसम्म नेपालमा पर्यटनको मुख्य आधार प्राकृतिक सौन्दर्यता र विविधतामा सीमित हरेको छ । पर्यटन क्षेत्रलाई थप आर्थिक समृद्धिको रूपमा हासिल गर्ने हो भने, यहाँको प्राकृतिक विविधता र सांस्कृतिक विविधतालाई एकै सिक्काको दुई पाटाको रूपमा विकास गर्नु जरुरी छ ।

जातिगत विविधता अनुसार सांस्कृतिक संग्राहलय, होमस्टे, सांस्कृतिक नृत्य, परम्परागत खानपान र भेसभुसाको विकास गर्न सके नेपालमा पर्यटकीय गन्तव्यको साथै अध्ययन र अनुसन्धान गर्ने थलको रूपमा विकसित हुनेमा निश्चित छ ।

प्रकृति र संस्कृतिको वरदानको संरक्षण एवं व्यवस्थापन, सरकारको नीति, निजी र व्यवसायीहरु बिचको समन्वय, सहकार्य र मानसिकतामा व्यापक परिवर्तन हुनु पर्दछ । सांस्कृतिक, भेसभुसा, परम्परागत विविधतालाई पर्यटन प्रवर्द्धनको अवसरको रूपमा विकास गरिनु पर्दछ । सरकारी, निजी तथा व्यवसायीक कम्पनीहरूमार्फत प्रवर्द्धित पर्यटन विकासमा सम्बन्धित समुदायहरूको सहभागितामा जोड दिनु पर्दछ । प्राकृतिक सौन्दर्यतासँगै सांस्कृतिक विविधताले सुनमा सुगन्ध थप्ने निश्चित छ । तसर्थ, सांस्कृतिक भेसभुसा र जनजीवनलाई समेटी पर्यटन विकास गर्न सके मात्र ‘समृद्ध नेपाल र सुखी नेपाली’को आधार, सांस्कृतिक पर्यटन सहित विकासको पूर्वाधार सम्भव हुने देखिन्छ ।

गाउँ पर्यटन र नेपालकाे विकास

गाउँ नै गाउँले भरिएको देश हो नेपाल । यहाँ साना-ठुला गरी हजारौँ गाउँहरू छन् । नेपालको वास्तविक सुन्दरता र चित्र गाउँमा देख्न पाइन्छ ।  गाउँहरू त गहना हुन् नेपालका । यिनै गाउँहरूले सजिएकी भएर त हाेनि हामीले भन्न पाएका छाैँ, नेपाल सुन्दर छ ।

हाम्रा यी सुन्दर गाउँहरूमा पर्यटक भित्र्याउन सकिन्छ । आय आर्जन  बढाउन सकिन्छ । त्यसका लागि हामीले गाउँ गाउँमा पर्यटन प्रवर्द्धन गर्नुपर्दछ । गाउँहरूको विकास पर्यटनबाट सम्भव छ । गाउँहरूको विकास हुनु भनेको नेपालको विकास हुनु हो ।

यो देशको विकास गाउँको विकाससँग सम्बन्धित छ । अर्थात् गाउँहरूको विकास विना देश विकासको सम्भव छैन । त्यसकारण देशको विकास गर्नु भनेको गाउँको विकास गर्नु हो वा गाउँहरूको विकास भनेको देशको विकास हो । यसरी हामीले हाम्रो देशको विकासको लागि गाउँ विकास नीति अर्थात् ग्रामीण विकास नीतिको अवलम्बन गर्नुपर्दछ ।

नेपालका गाउँहरू सुन्दर छन् । तर ती निकै अविकसित र पिछडिएका छन् । अबको हाम्रो आवश्यकता भनेको ती गाउँहरूको विकास हो । हाम्रा गाउँहरूको विकासको लागि सबैभन्दा उत्तम, सजिलो र छिटो विकास गर्न सकिने भनेको ग्रामीण पर्यटन नै हो । ग्रामीण पर्यटन अर्थात् गाउँ पर्यटन । यो गाउँमा पर्यटक लैजाने र त्यसकै माध्यमबाट आयआर्जन गर्ने क्रियाकलाप हो । गाउँको सुन्दर दृश्य, खुल्ला वातावरण, स्वच्छ हावापानी, एकान्त स्थान, परम्परागत समाज र जीवनपद्धति, गाउँहरूको परम्परागत संस्कृति, सांस्कृतिक बाहुल्यता, प्राकृतिक संसाधन, गाउँलेसँगको सम्बन्ध । यी सबै गाउँ पर्यटनका पूर्वाधार हुन् । ती कुराहरूको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन, विकास र परिचालनबाट नै गाउँमा मनग्य आम्दानी हुन सक्दछ ।

गाउँ पर्यटनको लागि हाम्रा गाउँहरू तम्तयार छन् । हरेक गाउँहरूले पर्यटकको स्वागत गर्नको लागि कुरेर बसिरहेका छन् । उनीहरूको लागि अब राज्यको पर्यटन नीतिको आवश्यकता छ । राज्य तहबाट ती गाउँहरूको प्रवर्द्धन र प्रचार गरिनुपर्दछ । राज्यले धेरै लगानी र ठुलो मात्रामा पुर्वाधारको निर्माण गर्नुपर्दैन । थोरै लगानीबाट नै गाउँमा धेरै पर्यटक भित्राउन सकिन्छ । गाउँहरू आज जुन अवस्थामा छन्, त्यही अवस्थाबाट नै हामीले गाउँ पर्यटनको सुरुवात गर्नुपर्दछ ।

हाम्रा हरेक गाउँका फरक फरक चालचलन, रीतिरिवाज, धर्म संस्कृति, भेसभुसा, भाषा, चाडपर्वहरू छन् । ती सबै मौलिक प्रकृतिका छन् । यसरी हरेक गाउँको आफ्नै महत्त्व र विशेष पहिचान छ । हरेक गाउँले फरक सन्देश र फरक परिचय प्रदान गर्न सक्दछन् । त्यसकारण राज्यले ती सबै गाउँको स्थितिअनुरूपको प्रवर्द्धन योजना बनाउनुपर्दछ र सोही हिसाबले प्रचारप्रसार गर्नुपर्दछ । यो जरुरी छैन कि ती स्थानको परिवर्तन गरियोस् वा त्यहाँका चालचलनहरू नै बदलियोस् । हामीले गाउँका थोरै बानीहरूमा भने परिवर्तन गर्नुपर्छ । हरेक ठाउँमा सफा हुने बानीको मात्र विकास गर्न सक्यौँ भने अरू स्थिति आफैमा सुन्दर छ । जस्तै गाउँको सरसफाइ, हिँड्ने बाटो, बस्ने ठाउँ, घर वरपर, कोठा, सुत्ने बेड, ट्वाइलेट, प्रयोग गर्ने भाँडा यति मात्रैमा ध्यान दिइयो भने बाँकी कुरा भइरहेको स्थिति नै अद्भुत छ । त्यतिले मात्र गाउँ पर्यटनमा ठुलो परिवर्तन ल्याउन सकिन्छ । यसको लागि ठुलो लगानी र खर्चको आवश्यकता पर्दैन । राज्यको इच्छाशक्ति र पर्यटन प्रवर्द्धनकाे योजना र कार्यक्रम मात्र भए पुग्छ । त्यसलाई लागु गर्नको लागि सरकारी संयन्त्र, ग्रामीण पर्यटन विकास समितिहरू सक्रिय हुन आवश्यक छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा भनेका थिए, ‘पर्यटन एउटा त्यस्तो उद्योग हो, जहाँ एउटा चिया पसलेदेखि ठुला उद्योगहरूसम्मले फाइदा लिन सक्छन् ।’ यो पर्यटनको सन्दर्भमा निकै सान्दर्भिक भनाई हो । सानो लगानीका चिया पसल, घरेलु उत्पादनका उद्योगदेखि ठुला गार्मेन्ट उद्योगहरू, अर्ग्यानिक उत्पादनका कारखानाहरू, अन्य दैनिक उपभोग्य समानको उत्पादनदेखि हवाई उद्योगसम्म पर्यटन उद्योगमा पर्दछ । ती सबै क्षेत्रमा लगानी गर्न सकिन्छ र ग्रामीण पर्यटनलाई एउटा ठुलो उद्योगको रूपमा विकास गर्न सकिन्छ ।

आज विश्व यति धेरै व्यस्त र बोरिङ भइसकेको छ कि आफ्नो कामको लागि मान्छे दिनरात मेसिनजस्तै पिसिएको छ । तनाव र चिन्तामा मान्छे कुदिरहेको हुन्छ । यही सिलसिलामा मानिसहरू आफ्नो कार्यक्षेत्र छोडेर केही समय आफूलाई फ्रेस बनाउनको लागि अलि टाढाको अर्को ठाउँ निस्कन चाहन्छ । विश्वको लागि नेपाल र नेपालीको लागि देशभित्रको फरक भूगोल त्यो नै आनन्दको स्वर्ग हो र एउटा ‘फाइनल डेस्टिनेसन ।’ जहाँ रमाउनको लागि सयौँ कुरा छ, आनन्द लिनको लागि हजारौँ कुरा छ । हाम्रो गाउँले परिवेशले मान्छेको मनलाई रोमाञ्चित बनाउँछ, भावुक बनाउँछ र मान्छेले आफ्नो पीडा भुल्छ, आनन्द प्राप्त गर्दछ ।

होमस्टे अर्थात् घर बास । हाम्रो पुरानो चलन छ, साँझमा घरमा बास बस्न आएको बटुवालाई बास दिने । घरमा पाकेको कुरा खान दिने र कतै सुत्न दिने । अहिलेको होमस्टे त्यसकै विकसित रूप हो । पाहुना घरमा आउँछन् घरमै पाकेको खाना खान दिने ढिँडो, फापरको परिकार, गुन्द्रुक, भटमास, हरियो सागपात, सिस्नो, टिमुर, पुदिना, धनियाँ जस्ता खाना सहितको गाउँले परिकारले स्वागत गर्ने । घरको एउटा सफा कोठाको सफा बिस्तारामा सुत्न दिने । घरको परिवारको सदस्य जस्तै व्यवहार गर्ने । घरले गर्ने यत्ति हो । बाँकी कुरा आउने पर्यटकले मजा लिने हो । एउटा विदेशीले महंगा र ठुला होटलबाट गाउँको सानो घरमा त्यसरी खानु बस्नुमा बेग्लै आनन्द प्राप्त गर्दछ । त्यो घर, परिवार र समाजको संस्कारसँग परिचित हुन्छ । ऊ त्यो घरका हरेक क्रियाकलापप्रति यति धेरै आशक्त हुन्छ कि सबै कुरा र व्यवहार अनौठा र लोभलाग्दो पाउँछ । यसरी कुनै पर्यटन एक दुई दिन, कुनै एक हप्ता त कति महिनौँ दिनसम्म पनि गाउँमै बस्छन् । बसे बापतको निश्चित रकम घरले पाउँछ । यही नै हो ग्रामीण पर्यटन । यसले गाउँको विकासमा धेरै सकारात्मक परिवर्तनहरू गरिदिन्छ । पूर्वाधारको विकास हुन्छ, आफ्ना संस्कार र संस्कृतिप्रति माया र सद्भावको विकास हुन्छ, चेतना र ज्ञानको क्षेत्रमा वृद्धि हुन्छ, आर्थिक उपार्जनले स्वावलम्बी बानीहरूको निर्माण हुन्छ । यसरी ग्रामीण जनताको जीवनस्तरको परिवर्तनमा ग्रामीण पर्यटनको धेरै नै महत्त्व छ ।

ग्रामीण पर्यटनका अन्य कयौँ कार्यक्रमहरू छन् । हामीले स्थान र परिवेशअनुसार पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्दछ । गाउँमा चल्दै आएका, हामीले प्रयोग गर्दै गरेका विभिन्न क्रियाकलापहरू पर्यटनका पक्षहरू बन्न सक्दछन् । ती विषयमा अबका स्थानीय निकायहरूले सूक्ष्म अध्ययन अनुसन्धान गर्नुपर्छ । आफ्नो निकायमा सञ्चालन गर्न सकिने सम्भाव्य पर्यटन कार्यक्रमहरूको प्राथमिकताका आधारमा सञ्चालन गर्नुपर्दछ । यसको लागि राज्यले देशभरका गाउँहरूको वर्गीकरण गरी पहिचान खुलाउन सक्नुपर्छ र ती ठाउँहरूको प्रचार प्रसार र प्रवर्द्धनमा सहयोग गर्नुपर्दछ ।

हालको अवस्था

सन् २०१९ को अन्यतिर सुरु भएको विश्वव्यापी कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन हो । मानिसहरू एक ठाउँबाट अर्का ठाउँमा जान प्रतिबन्ध भएपछि पर्यटनको विकास नहुने नै भयो । व्यापार, मनोरञ्जन, अध्ययन, अनुसन्धानका लागि पर्यटकको रूपमा घुमफिर गर्ने मानिसहरू घर तथा सीमित भूगोलमा थुनिए । जसले गर्दा विश्वभरिकै पर्यटन क्षेत्र तहसनहस बन्यो ।

विगत केही वर्ष यताको तथ्याङ्क हेर्ने हो भने अध्यागमन विभागका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भ्रमणमा आएको देखिएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २५ प्रतिशतले बढी हो । सन् २०१७ मा कुल ९ लाख ४० हजार २ सय १७ पर्यटकले नेपाल भ्रमण गरेको विभागको तथ्याङ्क छ । सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपालमा आएको देखिन्छ । त्यसपश्चात् सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाउने अन्तिम तयारी हुँदै गर्दा कोरोना महामारी देखा पर्‍यो । नेपालको पर्यटन क्षेत्र ध्वस्त भयो । त्यस वर्ष नेपालमा जम्मा दुई लाख ३० हजार पर्यटक भित्रिएको तथ्याङ्क छ । यो अघिल्लो वर्षको तुलनामा ८० प्रतिशतले कम हो । त्यसैगरी सन् २०२१ मा जम्मा एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल आएको देखिनछ । सन् २०२० को तुलनामा ३५ प्रतिशतले कम हो ।

विश्वव्यापी कोभिड महामारीबाट थला परेको पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्दै गएको छ ।

सन् २०२२ सुरु भएयता पर्यटकको आगमन पनि बढेको छ । यस वर्षको पछिल्लो ८ महिनामा नेपालमा हवाई मार्गबाट ३ लाख २६ हजार पर्यटक नेपाल भित्रिएका छन् । स्थल मार्गबाट खास गरी छिमेकी भारतबाट आउने पर्यटकको यकिन तथ्याङ्क भने छैन ।

अहिले नेपालमा पर्यटनको मुख्य सिजन सुरु भएको छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई पर्यटनको मुख्य सिजन मानिन्छ । हालसम्मको पर्यटक आगमन र मुख्य सिजनको सुरुवातसँगै पर्यटन व्यवसायीहरू उत्साहित देखिन्छन् । यस वर्ष हवाई मार्गबाट करिब ६ लाख र स्थल मार्गबाट करिब १२ लाख पर्यटक भित्रिने नेपाल पर्यटन बोर्डको आङ्कलन छ ।

यस वर्षको शरद ऋतुमा हिमाल आरोहण गर्न ६३ देशका ५०० जनाले अनुमति लिएका छन् । पर्यटन विभागले सार्वजनिक गरेको सेप्टेम्बर २१ सम्मको तथ्याङ्क अनुसार नेपालका १३ वटा हिमाल आरोहण गर्न उनीहरूले अनुमति लिएका हुन् । अनुमति लिएका पाँच सय जनामध्ये तीन सय ७७ जना पुरुष र एक सय २३ जना महिला रहेका छन् । जम्मा ५६ वटा समूहले अनुमति लिएका हुन् । जसमध्ये ३८ वटा समूहले मनासलु आरोहणका लागि अनुमति लिएका छन् ।

आरोहण अनुमति शुल्क बापत चार लाख ३५ हजार एक सय २५ डलर अर्थात् पाँच करोड ५३ लाख ९५ हजार एक सय ८४ रुपैयाँ सङ्कलन भएको विभागले जनाएको छ ।

यस सिजनमा मनासलु हिमाल (८१६३ मि) आरोहण गर्न सबै भन्दा धेरै चार सय चार जनाले अनुमति लिएका छन् । जसमध्ये तीन सय सात जना पुरुष र ९७ जना महिला रहेका छन् । मनासलु आरोहण अनुमति शुल्क बापत विभागले तीन लाख ६३ हजार ६ सय डलर अर्थात् चार करोड ६२ लाख ९१ हजार पाँच सय ७६ रुपैयाँ सङ्कलन गरेको छ ।

नेपालमा पर्यटनको भविष्य

नेपाल पर्यटनको हिसाबले संसारका उत्कृष्ट गन्तव्यहरूमध्येमा पर्दछ । विश्वव्यापी कोरोना महामारी नियन्त्रण भएपछि नेपालमा पर्यटनको विकासले फड्को मार्न सक्छ । महामारीका कारण सीमित भूगोलमा थुनिएका मानिसहरू निस्फिक्री घुम्न निस्कने बेला नेपालले यस क्षेत्रलाई व्यवस्थित गर्न सक्नुपर्दछ । पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी बढाउनुपर्दछ । सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्दछ । पर्यटकका लागि विशेष योजनाहरू उनीहरूलाई आकर्षित गर्नुपर्दछ ।

नेपालका पर्यटकीय सम्भावना भएका धेरै स्थानहरू अझै चर्चामा आउन सकेका छैनन् । ती स्थल, सम्पदाहरूको खोजीनिती गरी प्रचारमा ल्याउनुपर्दछ । पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि राज्यले लगानी बढाउन आवश्यक छ ।

मुलुक सङ्घीयतामा गएसँगै स्थानीय सरकारले आ-आफ्नो भूभागमा रहेका पर्यटकीय सम्भावना भएका स्थल, धार्मिक, सांस्कृतिक सम्पदाहरूको खोजी गर्दै प्रचारमा ल्याउने कामको सुरुवात भएको पाइन्छ । यो पर्यटन विकासको राम्रो लक्षण हो । अझ स्थानीय समुदायको विशिष्ट संस्कार, संस्कृति, भाषा, भेसभुसा, सामाजिक परम्परा आदिलाई पनि प्रचारमा ल्याउन सके सांस्कृतिक पर्यटनको विकास हुने देखिन्छ ।

नेपालमा बाह्य पर्यटकलाई मात्र बढी महत्त्व दिएकोमा आन्तरिक पर्यटकहरूप्रति पनि ध्यान दिन आवश्यक छ । अब कोरोना महामारी पछिका आउँदा दिनहरूमा आन्तरिक पर्यटकहरूलाई पनि बाह्य पर्यटकहरूलाई जस्तै महत्त्व दिनुपर्छ । पर्यटनको विकासमा आन्तरिक पर्यटकले पनि निकै ठुलो टेवा पुर्‍याउन सक्छन् । नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन व्यवसायी र संसारको विभिन्न कुनामा रहेका नेपालीहरूले आफ्नो आफ्नो ठाउँबाट सक्दो पहल गरी नेपालमा पर्यटन विकासका लागि योगदान पुर्‍याउनु पर्छ । यसो गर्न सके नेपालको पर्यटन क्षेत्रको भविष्य उर्वर देखिन्छ ।

सम्बन्धित समाचार