हालसम्म कसैको पनि डीएनए निर्मलाको शरीरबाट निकालिएको स्वाबसँग मेल खाएको छैन ।
काठमाडौं । औपचारिक प्रतिक्रियामा प्रहरी अधिकारीहरु छिट्टै अनुसन्धानले सफलता पाउने दाबी गरिरहेता पनि निर्मला हत्याकाण्ड प्रकरण सम्बन्धी प्रमाण जुटाउन नसिकएकाे पनि बताइरहेका हुन्छन् ।
प्रहरी अधिकारीहरुले घटनाकाे निष्कर्षमा पुग्ने भनेर दाबी गरेको ४ वर्ष बितिसकेको छ । तर कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नको व्यक्तिकाे पहिचान भने अझै हुन सकेको छैन ।
आधा दर्जन बढी प्रहरी अधिकारीले घटनाको अनुसन्धान गरिसकेका छन् । सबैले अनुसन्धानमा केही न केही नयाँ गर्ने प्रयास त गर्छन् तर अनुसन्धानमा कुनै सफलता हासिल गर्न भने नसकेकाे दाबी पनि गर्ने गर्छन् ।
०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर २ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् । उनी त्यहाँबाट भासी जाने भन्दै निस्किएकी थिइन् । तर साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् ।
अनुसन्धान र मेडिकल रिपोर्टबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । तर पछिल्लो समय अनुसन्धानमा केही नयाँ ‘क्लु’ फेला परेका छन् । यद्यपी फेला परेको ‘क्लु’ले अपराधीसम्म पुर्याउँछ वा पुर्याउँदैन भन्न सकिने अवस्था भने छैन ।
जसबारे अहिले नै बताउन नमिल्ने प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीले अहिलेसम्म डीएनए परीक्षणलाई नै मुख्य पाटो मानेको छ । एक अधिकारीले भन्छन्,“केही छिमेकी निगरानीमा छन् । अहिले नै केही भन्न सकिन्न । काठमाडौं र कञ्चनपुरमा शंकामा रहेका व्यक्तिको सुक्ष्म निगरानी गरिरहेका छौं ।”
प्रहरीले भने ०७५ भदौमा ३९ वर्षीय दिलिपसिंह विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर निर्मलाको स्वाबसँग डीएनए नमिलेपछि उनी छुटेका थिए । अझै केही प्रहरी अधिकारीहरु निर्मला हत्यामा दिलिपकै संलग्नताको दाबी गर्छन् भने केही अधिकारीहरु प्रमाणले दिलिपको अभियोग पुष्टि गर्न नसक्ने बताउँदै आएका छन् ।
दिलीप पक्राउ परेपछि प्रहरीले निर्दोषलाई फसाउन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । सो क्रममा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा भीमदत्त–१८ का सन्नी खुनाको मृत्यु समेत भएको थियो । तर उनीमाथि प्रहरी निगरानी भने निरन्तर जारी छ । सादा पोशाकका प्रहरी, महिला प्रहरी दिलिपका गतिविधि निगरानीमा सक्रिय छ ।
निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले निर्मला हत्याकाण्डको अनुसन्धानमा फरक मत राख्ने दुवै पक्षका अधिकारीहरुबीच संवादको प्रयास गरेका थिए । तर त्यसले निरन्तरता पाउन सकेन । निर्मला हत्याकाण्डको अनुसन्धानमा सुरुदेखि नै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली सक्रिय छ । जसको नेतृत्व डीएसपीले गर्दै आएका छन् ।
प्रहरीले पछिल्लो समय निर्मलाको आउजाउ हुने गरेका स्थानमा निगरानी सुरु गरेको प्रहरीले जनाएको छ । प्रहरीले हालसम्म ६०० जनासँग सोधपुछ गरेको छ । ११० जनाको डीएनएन परीक्षण गरिसकेको छ । केहीको रिपोर्ट आउन बाँकी छ । हालसम्म कसैको पनि डीएनए निर्मलाको शरीरबाट निकालिएको स्वाबसँग मेल खाएको छैन ।