बिहिबार , जेठ ३१, २०८१

चेपाङ समुदायकाे विशेष पर्व ‘न्वागी'(छोनाम) र यसकाे इतिहास

पहिला भदौ महिनाको पूर्णिमाको दिन नयाँ बालीको नयाँ अन्न खान आफ्नै जातिको झाँक्री (पान्दे/पाण्डे)लाई घरमा बोलाएर रातभरि एकपाखे ढ्याङ्ग्रो बजाएर पान्देई घ्यासा (पितृ मन्छाउँदै) मनाउने गरिए तापनि २०६८ सालपछि यानिकी अहिलेको समयमा भदौ २२ गते मनाउने गरिन्छ ।

image

प्रत्येक वर्ष भदौ २२ गते चेपाङ समुदायले विशेष पर्व न्वागी (छोनाम) मनाउने गर्छन् । यो दिन नयाँ अन्न खाने दिन भएकाले यसलाई छोनाम भनिएको हो । प्रकृति पूजा गरेर मनाइने यो पर्वमा नयाँ बाली प्रकृतिलाई चढाएर वर्षभरि खान पुगोस् भनेर कामना गरिन्छ । चेपाङ समुदायको बाक्लो बसोबास रहेको चितवन, धादिङ, मकवानपुर, गोरखालगायतका जिल्लामा यो पर्व विशेष रूपमा मनाउने गरिन्छ । न्वागी मनाउने क्रम घट्दै गएकाले यसलाई नयाँ पुस्तामाझ जोगाइराख्न प्रत्येक वर्ष यो पर्व बेग्ला-बेग्लै ठाउँमा मनाउने गरिएको छ । नयाँ उब्जिएको अन्नबाली मकै, केरा, पिँडालु, निबुवा, घैया धानलगायत प्रकृतिलाई चढाउने गरिन्छ । चेपाङ समुदायको यस प्रमुख पर्व न्वागीमा घरमा भित्र्याएको नयाँ अन्नबाली प्रकृतिलाई चढाएपछि मात्र खाने गरिन्छ । न्वागीपछि अनिकाल सकेर सहकाल आएको मानिन्छ । नयाँ अन्न र फलफूल पितृलाई नचढाई खाएमा देउता अनिकाल लाग्ने तथा रोगब्याध लाग्ने चेपाङ समुदायको धार्मिक विश्वास रहेको छ ।

पहिला भदौ महिनाको पूर्णिमाको दिन नयाँ बालीको नयाँ अन्न खान आफ्नै जातिको झाँक्री (पान्दे/पाण्डे)लाई घरमा बोलाएर रातभरि एकपाखे ढ्याङ्ग्रो बजाएर पान्देई घ्यासा (पितृ मन्छाउँदै) मनाउने गरिए तापनि २०६८ सालपछि यानिकी अहिलेको समयमा भदौ २२ गते मनाउने गरिन्छ । यस पर्वको अवसरमा कुखुराको बलि दिने चलन समेत रहेको छ । २२ नाले वंशावली भएका कारण चेपाङहरूले भदौ २२ गते मुख्य पर्व न्वागी मनाउने चलन रहेको पाइएको छ ।

यस दिन छरछिमेक, नाताकुटुम्बलाई निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख-दुःख साट्ने गरिन्छ । चेपाङहरूले न्वागी पर्वलाई पान्देई घ्यासा पनि भन्छन् । भेला भएर उनीहरूले ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद समेत थाप्ने गर्छन् । चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्ने गर्छन् । उनीहरू जङ्गलका गिठा-भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजङ्गलसँग मिठो सम्बन्ध गाँसिएको हुन्छ ।

रातभरि झाँक्रीले पूजा गरेपछि पूजा विसर्जनमा झाँक्रीले चेपाङ जातिको देवता बोलाउने र ‘आयु हुनेलाई राम्रोसँग बाच्नदेऊ, नहुनेलाई आयु बढाइदेऊ’ भन्दै घरको सबै सदस्यलाई नयाँ घैया चामलबाट बनेको टिका लगाइ दिइन्छ । टिका लगाइ सकेपछि नयाँ अन्न तथा फलफूल खाएर रमाइलो गर्दै यो पर्व मनाइन्छ । यो दिन छोरीचेलीले ल्याएको कोसेली सगुन खाई सांस्कृतिक नाच र गीत प्रस्तुत गर्ने गरिन्छ । साथै रातभर दोहोरी गाउने केटाकेटी चिनजान गर्ने र मन मिले सोही रात भगाएर विवाह गर्ने प्रचलनसमेत रहेको छ ।

महाभारत पर्वत शृङ्खला वरपरको बासिन्दाको रूपमा रहेका चेपाङ समुदायको जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित रहेको हुन्छ । गणेशमान गुरुङ (१९८९) का अनुसार “चे“ भनेको कुकुर र “पाङ“ को अर्थ ‘धनुकाँड’ भन्ने हुन्छ । तसर्थ, जङ्गली शिकार तथा खानेकुरा बटुलबाटुल पार्न जाँदा कुकुर प्रयोग गर्ने समुदाय नै चेपाङ हुन । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ एक हो । २०६८ को जनगणना अनुसार चेपाङहरूको जनसङ्ख्या ६८,३९९ रहेको छ । यिनीहरू मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँ जिल्लाहरूमा छरिएका बसेका पाइन्छन् ।

चेपाङहरूको पहिचान आफ्नो संस्कार, भेषभूषा, भाषा, संस्कृति एवम् परम्परागत सीपको आधारमा बनेको छ । चेपाङहरूको मुख्य बसोबास क्षेत्रमा च्यूरीको रूख पाइन्छ । यसले उनीहरूको पहिचान बोकेको पाइन्छ । आफ्नै मातृभाषा रहेको उनीहरूको भाषा भोट–बर्मेली परिवारसँग मिल्दोजुल्दो छ । परापूर्व कालदेखि आफ्ना दैनिक व्यावहारिक चलनमा आफ्नै भाषा (लैको) भाषा प्रयोग गरिन्थ्यो । चेपाङको आफ्नै भाषा भए पनि लिपि भने भने पाइएको छैन ।

चेपाङहरूको परम्परागत धर्म प्राकृतिक धर्म हो । जस अनुरूप चेपाङहरूले सिमेभुमे देखि रूखलाई सम्म पूजा गर्छन् । खेतीबाली लगाउनुभन्दा अगावै भुईँ झ्यासा (भूमि पूजा) गर्ने गरिन्छ । यो पूजा प्रायः माघ र फागुनमा गर्ने गरिन्छ । लोकसंस्कृतिमा धनी चेपाङ सङ्गीत र गीतको हिसाबले थुप्रै विषयको लोकगीत र सङ्गीतको भण्डारी रहेका छन् । उनीहरू विवाह, चाडपर्व, सामाजिक जमघटमा विभिन्न भाकाका गीतहरू गाउँछन् । चेपाङहरू लोककथा, काव्य, उखान आदि जस्ता परम्परागत साहित्यमा समेत समृद्ध छन् । विन्राई लोककथाहरू परापूर्व कालदेखि पुर्खाले आफ्ना शाखा सन्तानहरूलाई सुनाइ आएका कथाहरू हुन् जुन पुस्तौँ पुस्तासम्म एकदेखि अर्कोमा हस्तान्तरण हुँदै सर्दै जान्छ । यी विन्राईहरूमा पृथ्वीको सृष्टि, मानिसहरूको पृथ्वी, वनजङ्गल, पहाड पर्वत, जीवजन्तु आदिसँगको अन्तरक्रिया, सम्बन्धको बारेमा उल्लेख गरिएको पाइन्छ ।

बागमती प्रदेश सरकार तथा मन्त्रिपरिषद्ले २०७८ साल चैत ९ गते गरेको निर्णयानुसार धादिङ, चितवान र मकवानपुरमा चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा भदौ २२ गते सार्वजनिक बिदा हुने गरेको छ ।

पश्चिमी क्षेत्रको न्वागी

नेपालको पश्चिमी क्षेत्रमा पनि मङ्सिर महिना आसपास न्वागी पर्व मनाउने गरिन्छ । सो क्षेत्रमा पनि स्थानीय रूपमा उत्पादन गरिएको नयाँ धान न्वागी खाएपछि मात्र खाने गरिएको छ । जर्डन प्रजातिको धानलाई दहीमा भिजाई, केरा, सिलाम, चिनी आदि राखेर न्वागी बनाई खाने गरिन्छ । अन्यत्र मङ्सिरताका ‘मुठ्ठी ल्याउने’ चलन छ ।

यस्तो छ इतिहास

नेपालको ऐतिहासिक अध्ययन गर्ने क्रममा १२ औँ शताब्दीको तत्कालीन अवस्थामा कर्णाली राज्यको स्थापना भएको १५ औ शताब्दीतिर उक्त राज्य टुक्रिएर स-साना टुक्रे राज्यहरू हुँदै गर्दा बागलुङको ग्वालीचौर ईस्मा राज्य अन्तर्गत पर्थ्यो ।

गुल्मीको नेटा, पौंदीअमराई, ईस्मा र ग्वालीचौरमा गरी जम्मा ८० घरहरू थिए । त्यसलाई ईस्मा राज्यले पौंदी क्षेत्र भनेर घोषणा थियो ।

बाईसे चौबीसे राजाको पालामा हालको गुल्मीमा पर्ने पौंदीअमराई, नेटा दर्लिङ, ईस्मा र बागलुङको ग्वालीचौर, जलजला र दगातुम्डाँडा क्षेत्रको मुसिकोट ईस्मा राज्य थियो । उक्त राज्यका राजाले सय मुरी धान उत्पादन हुने जमिनको गुठी बनाएका थिए । उक्त जमिनलाई छत्रभूमिको नामकरण गरिएको भन्ने चलन रहेको छ । छत्रभूमि छत्रगुठीको रूपमा स्थापित भएपछि त्यहाँको उब्जनी पहिलोपटक खाने विधिलाई न्यागी/न्वागीको नाम छ ।

सन्दर्भ सामग्री :  धरातल अनलाइन, खिम काजी लामिछाने (ब्लग), अनलाइन खबर, विकिपेडिया

सम्बन्धित समाचार