मंगलबार , साउन ८, २०८१

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा पाटन कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो

यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्दछन् ।

image

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटन कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि लामो लाइन छ । स्वयंसेवकहरुले उनीहरुलाई पालैपालो दर्शन गर्ने व्यवस्था मिलाएका छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको मान्यता अनुसार आजको दिन व्रत बस्ने र कृष्णको पूजा गर्ने चलन छ ।

आज कृष्ण मन्दिरको दर्शन गर्न राष्ट्र प्रमुख पनि जाने चलन छ । आज मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि चहलपहल छ । श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र घुम्न जानेहरुको मेला लागेको छ ।

यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्दछन् । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने र श्रीकृष्णका विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने गर्दछन् ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरू मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।

सम्बन्धित समाचार