बुधबार , साउन ९, २०८१

मातृसत्ताको छनक दिने खस सभ्यताको ‘अग्ग्रास’

कठ्ठर पुरुषवादी पृतिसत्ताको संरचनाभित्र कर्नाली भेगमा अलि अगाडिसम्म र अहिले पनि केही वृद्वाहरूले अभ्यास गरिरहेको अग्ग्रास अर्थात् अग्रग्राँस दिने चलनले महिलालाई पृति, देवीदेवतालाई जस्तै  सम्मान दिएको झझल्को भेटिन्छ ।

image

पृतिसत्ताको भाष्य हिन्दुवादी समाजमा एकात्मक जस्तो छ । बाहिरी-भित्री समाजिक आवरणमा पनि पुरुषवादको रजगज बढी देखिएको हुन्छ  । सती प्रथा, कन्यादान र दाइजो प्रथा जस्ता कुप्रथाले पृतिसत्ता कस्तो हो, महिलालाई के दिएको छ, महिलाको मुल्यांकन कसरी  गरेको रहेछ भन्ने तथ्य तथा इतिहास हाम्रै वरिपरि रहेका छन् । तर यहीँ कठ्ठर पुरुषवादी पृतिसत्ताको संरचनाभित्र कर्नाली भेगमा अलि अगाडिसम्म र अहिले पनि केही वृद्वाहरूले अभ्यास गरिरहेको अग्ग्रास अर्थात् अग्रग्राँस दिने चलनले महिलालाई पृति, देवीदेवतालाई जस्तै  सम्मान दिएको झझल्को भेटिन्छ ।

खस नेपाली शब्द अग्ग्रास अर्थात् अगाडिको गाँस वा सबैभन्दा अघिल्लो गाँस भन्ने बुझिन्छ । खस सभ्यताको थालनी भएको भेग कर्नालीमा अझैसम्म पुरुषले विशेषगरी सम्मान, माया स्वरूप चेलिबेटीलाई खानाको सबैभन्दा अघिल्लो अंश, चोखो अंश अग्ग्रास दिने चलन छ । चेलीबेटीलाई अग्रास दिएपछि मात्र खान खाने गरिन्छ । खाना खाने बेला छोरीचेली  साथमा नभए उनीहरूको लागि अग्ग्रास छुट्याइएको हुन्छ । पछि घरमा छोरी चेली  आएपछि ‘ल तिम्रो अग्ग्रास’ भनेर दिइन्छ ।

अग्ग्रास दिनुलाई पुण्यप्राप्ति पनि ठानिन्छ । संस्कार सभ्यता र अनुशासनको प्रतिकको रूपमा पनि हेरिन्छ । खस सभ्यताभित्र अर्को मातृसत्ता झल्किने रोचक पक्ष के थियो भने चेलीबेटीलाई माइती बसुन्जेल दाउरा बोक्न नदिने । चेलीबेटीले बोकेका दाउरा नबाल्ने, जुठा भाडा माझ्न नदिने र  यदि अन्जानमै चेलीबेटीलाई गराए वा चेलीबेटीको स्व-इच्छाले गरेको खण्डमा पुरुषले स्नान गरी गौत खाएर चेलीबेटीसँग माफी मागेर दक्षिणा दिने चलन थियो ।

त्यस्तै  प्रत्येक धार्मिक तथा सांस्कृतिक  गतिविधिमा चेलीबेटीलाई दान दक्षिणा दिएर मात्र कार्यक्रम सम्पन्न गर्ने चलन कर्नाली भेगमा अलि अगाडिसम्म अभ्यासमा थियो । अहिले आधुनिकताको प्रभावले कर्नालीका धार्मिक तथा सांस्कृतिक पक्षमा भने केही परिवर्तन देखिएको छ । विस्तारै यस्ता नमुना संस्कार लोपोन्मूख हुने सम्भावना दिनानुदिन बढ्दो छ ।

हिन्दुवादी पृतिसतात्मक समाजभित्र मातृसत्ताका छनक दिने चलन नेपाली समाजमा धेरै कम छन् । अझ विकट मानिएको क्षेत्रमा महिला अधिकार र उत्थानको इतिहास सकारात्मक भन्दा धेरै नकारात्मक रहेको छ । महिला हिंसाका घटनालैङ्गिक विभेद नेपाली समाजमा यत्रतत्र भेटिन्छन् । दाइजो प्रथा, लिङ्ग परिक्षण गरेर छोरी देखिए भ्रुण हत्या गर्ने, छोरोको अहंकार जस्ता  कुसंस्कारले भरिएका कुप्रथा र अहम्ता समाजमा विद्यमान छन् ।

तर, कर्नालीमा अभ्यास भएका धेरै नकारात्मकभित्रको सकारात्मक पक्ष अग्ग्रासले छोरी चेलीलाई विशेष स्थान दिएको छ । जसरी पूर्वीय सभ्यतामा तागाधारी समुदायका व्यक्ति खाना खानुभन्दा अघि देवीदेवता, पृतिलाई श्रद्धा पूर्वक अन्न चडाउँछन् । त्यस्तै खस सभ्यतामा चेलिबेटीलाई सम्मान र मायाको भाव अग्ग्रासले देखाउँछ । अग्ग्रास अन्य चलनभन्दा अग्रगामी र प्रगतिशील देखिन्छ पनि ।

कर्नाली भेगका केही उखान हेर्दा एवम् केही संस्कारको अध्ययन गर्दा, केही पक्षमा पृतिसत्ताभन्दा मातृसत्ता हावी भएको देखिन्छ ।  छोरालाई भन्दा छोरीलाई बढी स्नेह र सम्मान दिएको देखिन्छ । खस उखान ‘जुम्लीको छोरो नहुनु, हुम्लीको भेडो नहुनु’ ले  पुरुषको अवस्था चित्रण गर्दछ । माथि उल्लेखित उखान अनुसार ‘छोरो भएर जन्मनु दु:ख पाउनु हो’ भन्ने आशय दिएको छ । अर्कोतिर छोरो र पशुको अवस्था समान हुन् पनि भनेको छ ।

कर्नाली भेगमा माथि प्रस्तुत गरिएको उखान र चलन एउटा कोणबाट हेर्दामात्र महिलामैत्री देखिएको हो । तर यस्तो चित्रण गरिरहँदा कर्नालीमा महिलाको दाँजोमा  पुरुषको अवस्था नराम्रो छ भनिएको भने होइन । पृतिसत्ताभित्रका धेरै नकारात्मक विषयमध्ये  एउटा सकारात्मक पक्षको मात्र चित्रण गरिएको हो । अन्ततोगत्वा, पृतिसत्ताको रजगज, त्यसको असरले जति महिलालाई लिङ्गको आधारमा विभेद र बहिष्करण गरेको छ, त्यसको निन्दा जति गरे पनि कम हुन्छ ।

खस सभ्यताका जानकार प्रताप परियारका अनुसार, “अग्ग्रास चेलीबेटीलाई दिँदा मनमा शान्ति छाउँछ । चेलीबेटीलाई खुसी पार्नु नै घरलाई खुसी पार्नु हो । अग्ग्रास भलै अन्नको सानो अंश हो तर त्यो सानो अन्नको अंशले ठूलो अर्थ राखेको छ । जसरी देवीदेवतालाई चोखो खाना चढाइन्छ, त्यसरी नै छोरी चेलीलाई अग्ग्रास स्वरूप  चोखो अन्न दिइन्छ । यो छोरी चेलीप्रतिको मान र माया हो । यस्ता सांस्कृतिक पाटो बोकेका परम्पराको संरक्षण र प्रवर्द्धन गरिनुपर्छ । सारा विश्वले खस संस्कारको सिको गर्नुपर्छ । विडम्बना ! पछिल्लो समयमा हाम्रो खस सभ्यताका अग्ग्रास जस्ता  नमूना संस्कारलाई युवा जमातले अपहेलना गरेको देखिन्छ” ।

अग्ग्रास नामले अगाडि भन्ने जनाउँछ । तर पृतिसत्तात्मक सत्ताले पुलिङ्गलाई राज्य र समाजको सदैव केन्द्रमा राख्ने संरचना निर्माण गरेको छ । सदियौंदेखि महिलालाई लिङ्गको आधारमा किनारमा राखेको छ । जानी-जानी पछाडि पारेको छ, अझ धकेलेको छ । पुरुषवादी चिन्तनले  सामाजिक तथा  धार्मिक नीतिनियमले महिला अधिकार र प्रतिनिधित्वलाई ओझेलमा पारेको छ । कसरी हुन्छ घरको परिधिभित्र सिमित राख्ने प्रपञ्च रचेको छ ।

खस सभ्यताको अग्ग्रासले पनि विवाह अगाडि माइतीघरमा बसुन्जेल प्रेम सम्मान त दियो तर, अवसर भने दिएन । अधिकार र समाजिक प्रतिनिधित्व दिएन । जब त्यहीँ छोरीचेली माइतीमा हुन्छिन्, छुट्टै प्रकारको सम्मान र स्थान हुन्छ । विवाह गरेर नयाँ परिवारसँग जोडिन्छन् तब उसमा पृतिसत्ताका भार थपिएको हुन्छ । महिलाले के गर्ने, के नगर्ने कथित नीतिनियम कोरिदिएको हुन्छ ।

नारीवादलाई अग्ग्रास दिने चलनमा झैँ एकदम अगाडि राख्नुपर्ने देखिन्छ । सदियौंदेखि पुरुषले धर्म, देशको बागडोर सम्हाले तर परिवर्तन र रूपान्तरण जुन तरिकाले हुनुपर्थ्यो, त्यो भएन । अर्कोतिर, जति पनि ठूला बेथितिका घटना, भ्रष्टाचार र अत्याचारका मुद्दा छन् तिनमा पुरुषको सहभागिता धेरै रहेको छ । यस्ता उदाहरणले पृतिसत्ता दुरगामी र असफल भएको पुष्टि हुन्छ । महिलाले नेतृत्व गरेर  पृतिसत्तालाई पुनःस्थापना गर्नु अत्यावश्यक देखिएको छ । अन्यथा समाज भ्रष्टाचार अत्याचार दुराचारको चंगुलमा फस्ने पक्का छ ।

अन्ततः पृतिसत्ताको कालो बादललाई अब मातृसत्ताले विनिर्माण गर्नुपर्ने देखिएको छ । भ्रष्टाचार, लिङ्गवादको जालोमा फसेको समाजलाई अग्ग्रासको प्रतीक महिलाले सुधार्नुपर्ने देखिएको छ । भ्रष्टाचार र बेथितिबाट आक्रान्त समाजलाई कसरी हुन्छ विकास र विनिर्माणको सिद्धान्त लागु गर्दै रूपान्तरण गर्नुपर्छ । पृतिसत्ताको खोल ओडेर भालेवादबाट समाजले धेरै देखिसक्यो । अब विनिर्माण मार्फत् कथित संरचनालाई परिवर्तन गर्नुपर्ने छ । किनारमा राखिएका ओझेलका पात्रलाई राज्यको मुल बागडोर सम्हाल्ने अवसर दिनुपर्ने समय आएको छ ।

पृतिसत्ताको जालोमा रुमलिएर भालेवादको वर्चस्व भएको समाजमा, छोरी चेलीलाई वस्तुको रूपमा हेरिने कुसंस्कारमा, अग्ग्रास जस्ता सिमित भूगोलमा प्रचलित संस्कारलाई समग्र राष्ट्रमा चिनाउँनु पर्छ र अभ्यासमा ल्याउँनुपर्छ । चाहे विद्यालयका पाठ्यक्रममा राखेर हुन्छ कि राष्ट्रिय स्तरका भेलामा बहस चलाएर हुन्छ, अग्ग्रासलाई अगाडि मुलधारमा चिनाउनु पर्छ । अनि मात्र अग्ग्रासको खास अर्थले सार्थकता पाउनेछ । अग्ग्रासले नारीवादभित्र सक्रिय भूमिका खेल्नेछ ।

सम्बन्धित समाचार