२. तेसको साटो कमारा कमारि १ बक्स्यौं.
३. तांहा बैरिका जानबच्चा पक्रीकन सौंपिदेउ.
अर्थात् भीमसेन कार्कीसंग सर्कारले कामविशेषले एउटा राँगो लिएको थियो । त्यसको मोलको सट्टा एउटा कमारो वा कमारी दिने भयो । श्रीकृष्ण पाठक बसेको ठाउँको बैरी (शत्रुपक्षका राज्यका जनता ?)को जहानबच्चा पकडेर भीमसेन कार्कीलाई राँगोको मोलको रूपमा सुम्पिदिनु अर्थात् कमारो राख्नदिनु ।
कुरा यत्ति हो । म छक्कै परें । यो रूक्का जारी भएको गोरखाराज्य नेपालमण्डलको नुवाकोट जिल्लासम्म विस्तार भएको बेला हो । त्यसबेला काठमाडौं उपत्यकामा नाकाबन्दी तिव्र रूपमा रहेको थियो । नुवाकोट विजय (ई. १७४४.०९.२६.७)को २२ वर्ष भएको र काठमाडौं उपत्यका विजय (ई. १७६८.०९.२५.१) हुनु २ वर्ष अघि गोरखाराज्यको आर्थिक स्थिति अत्यन्त नाजुक रहेको अवस्थामा एउटा राँगोको पनि मोल तिर्न नसकी जनताका बच्चा जबरजस्ती पकडी कमारोको रूपमा तिर्नुपर्ने अवस्था रहेछ ।
अर्को वर्ष विसं १८२४ माघ बदि ४ रोज ७ (ई. १७६८ जनवरी)मा पनि युवराज प्रतापसिंह शाहले यसरी नै कुनै वस्तु लिएको साटो एउटी कमारी जयनन्द नेवारलाई सुम्पन श्रीकृष्ण पाठकलाई रूक्का जारी गरेको पाइएको छ । (दिनेशराज पन्त — युवराज प्रतापसिंह शाहले श्रीकृष्ण पाठकलाई लेखेको छ अप्रकाशित पत्र, पूर्णिमा, ५४/विसं २०३९ चैत्र, ४ संख्या, पृ. २–३, परराष्ट्र मन्त्रालय, खाम संख्या ४८)यसो हेर्दा यो प्रसंग जमिन र जनता राजाको अधिकारको हुने जमानामा सामान्य नै होला, तर यो मलाई पृथ्वीनारायण शाहमा मानवीय संवेदना नभएको उदाहरण जस्तो लाग्यो । अहिले पञ्चायतकाल (१९६०–९०) देखि पृथ्वीनारायण शाहलाई नेपालको एकीकरणकर्ता भनी व्याख्या गर्ने अभियानै चलेको छ । वास्तवमा उनले गोरखाराज्यको विस्तार गरेकोले नेपालराज्यको निर्माण हुन गएको हो ।
स्मरणीय छ पूर्वाधुनिक ऐतिहासिक लिखतहरुमा राजा र सरकारले (पृथ्वीनारायणदेखि पृथ्वीवीरविक्रम शाहसम्म) “नेपालराज्य” मानेकै छैन, उनीहरुले यसलाई गोरक्ष/गोरखा–राज्य भनी उल्लेख गर्ने गरेका छन् । उदाहरणका रूपमा “गोरखापत्र” नाम जिउँदै छ । विजित राज्यको नाम ‘नेपाल’ उनीहरूले पचाउन सकेको देखिंदैन ।जे होस् प्रस्तुत रूक्का लिखत पृथ्वीनारायण शाहको अँध्यारो पक्ष हो । उनको उज्यालो पक्षको मात्र चर्चा चलिरहेको अवस्थामा यो अर्को पाटो हो ।