शनिबार , भाद्र १३, २०८३

ऋण तिर्न नसकेपछि पृथ्वीनारायण शाहले एउटा बच्चो कमारोको रुपमा साहुलाई सुम्पिदिए

गोरखाराज्यको आर्थिक स्थिति अत्यन्त नाजुक रहेको अवस्थामा एउटा राँगोको पनि मोल तिर्न नसकी जनताका बच्चा जबरजस्ती पकडी कमारोको रूपमा तिर्नुपर्ने अवस्था रहेछ ।

image

  • काशीनाथ तमोट

विज्ञान तथा मानविकीविषयक हाइडलबर्ग प्रज्ञा–प्रतिष्ठान, जर्मनीअन्तर्गत काठमाडौंमा सञ्चालित पूर्वाधुनिक नेपालको धार्मिक तथा विधिविषयक इतिहास परियोजनाको लागि प्रकाशित लिखतको विवरणात्मक सूचीपत्र बनाउने अवसर मलाई मिलेको छ । सूची बनाउँदै गर्दा १६ मार्च २०१७ मा यस्तो एउटा प्रसंग आयो, जसले राजा पृथ्वीनारायण शाहलाई बुझ्ने मेरो दृष्टिकोण बदलियो ।

प्रसंग हो- “श्री ५ पृथ्वीनारायण शाहले श्रीकृष्ण पाठकलाई लेखेको अप्रकाशित पत्र”, प्राज्ञ दिनेशराज पन्तद्वारा प्रकाशित (पूर्णिमा, ६०/विसं २०४१ माघ, पृ. ३०)को चार हरफको पृथ्वीनारायण शाहको रूक्का । यो उहाँले सारिल्याएको परराष्ट्र मन्त्रालयको संग्रहमा खाम संख्या ६ मा रहेको पत्र हो । यो विसं १८२३ भाद्र बदि ९ रोज ५ (ईसं १७६६ अगस्त २८ बिहीवार) पृथ्वीनारायण शाहले श्रीकृष्ण पाठकलाई लेखेको पत्र हो । त्यसका तीन वाक्य हुन्;

१. भेमसेन कार्किको राँगो १ सर्कार लाग्योथ्यो.
२. तेसको साटो कमारा कमारि १ बक्स्यौं.
३. तांहा बैरिका जानबच्चा पक्रीकन सौंपिदेउ.

अर्थात् भीमसेन कार्कीसंग सर्कारले कामविशेषले एउटा राँगो लिएको थियो । त्यसको मोलको सट्टा एउटा कमारो वा कमारी दिने भयो । श्रीकृष्ण पाठक बसेको ठाउँको बैरी (शत्रुपक्षका राज्यका जनता ?)को जहानबच्चा पकडेर भीमसेन कार्कीलाई राँगोको मोलको रूपमा सुम्पिदिनु अर्थात् कमारो राख्नदिनु ।

कुरा यत्ति हो । म छक्कै परें । यो रूक्का जारी भएको गोरखाराज्य नेपालमण्डलको नुवाकोट जिल्लासम्म विस्तार भएको बेला हो । त्यसबेला काठमाडौं उपत्यकामा नाकाबन्दी तिव्र रूपमा रहेको थियो । नुवाकोट विजय (ई. १७४४.०९.२६.७)को २२ वर्ष भएको र काठमाडौं उपत्यका विजय (ई. १७६८.०९.२५.१) हुनु २ वर्ष अघि गोरखाराज्यको आर्थिक स्थिति अत्यन्त नाजुक रहेको अवस्थामा एउटा राँगोको पनि मोल तिर्न नसकी जनताका बच्चा जबरजस्ती पकडी कमारोको रूपमा तिर्नुपर्ने अवस्था रहेछ ।

अर्को वर्ष विसं १८२४ माघ बदि ४ रोज ७ (ई. १७६८ जनवरी)मा पनि युवराज प्रतापसिंह शाहले यसरी नै कुनै वस्तु लिएको साटो एउटी कमारी जयनन्द नेवारलाई सुम्पन श्रीकृष्ण पाठकलाई रूक्का जारी गरेको पाइएको छ । (दिनेशराज पन्त — युवराज प्रतापसिंह शाहले श्रीकृष्ण पाठकलाई लेखेको छ अप्रकाशित पत्र, पूर्णिमा, ५४/विसं २०३९ चैत्र, ४ संख्या, पृ. २–३, परराष्ट्र मन्त्रालय, खाम संख्या ४८)यसो हेर्दा यो प्रसंग जमिन र जनता राजाको अधिकारको हुने जमानामा सामान्य नै होला, तर यो मलाई पृथ्वीनारायण शाहमा मानवीय संवेदना नभएको उदाहरण जस्तो लाग्यो । अहिले पञ्चायतकाल (१९६०–९०) देखि पृथ्वीनारायण शाहलाई नेपालको एकीकरणकर्ता भनी व्याख्या गर्ने अभियानै चलेको छ । वास्तवमा उनले गोरखाराज्यको विस्तार गरेकोले नेपालराज्यको निर्माण हुन गएको हो ।

स्मरणीय छ पूर्वाधुनिक ऐतिहासिक लिखतहरुमा राजा र सरकारले (पृथ्वीनारायणदेखि पृथ्वीवीरविक्रम शाहसम्म) “नेपालराज्य” मानेकै छैन, उनीहरुले यसलाई गोरक्ष/गोरखा–राज्य भनी उल्लेख गर्ने गरेका छन् । उदाहरणका रूपमा “गोरखापत्र” नाम जिउँदै छ । विजित राज्यको नाम ‘नेपाल’ उनीहरूले पचाउन सकेको देखिंदैन ।जे होस् प्रस्तुत रूक्का लिखत पृथ्वीनारायण शाहको अँध्यारो पक्ष हो । उनको उज्यालो पक्षको मात्र चर्चा चलिरहेको अवस्थामा यो अर्को पाटो हो ।

सम्बन्धित समाचार