सोमबार , जेठ १४, २०८१

“घुम्न पैसा होइन, सपना चाहिन्छ”, –पुष्कर शाह (विश्व साइकलयात्री)

घुम्ने इच्छा त बढ्दै गयो तर आर्थिक हैसियत थिएन । उपाय खोज्ने क्रममा साइकल भेटाएँ । साइकलले चाहिँ मलाई सस्तोमा संसार घुमाउँछ भन्नेमा विश्वस्त भएँ अनि निस्किएँ ।

image

  • पुष्कर शाह 

… अनि मास्टर बन्न छोडेर संसार पढ्न निस्किएँ

म दोलखाको एउटा दुर्गम गाउँमा जन्मेको । मैले स्कुल पास गरिसकेपछि जतिबेला चरिकोटमा क्याम्पस कलेज थिएन । म उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएँ । र, काठमाडौं आइसकेपछि मेरो सपना चाहिँ मास्टर बन्ने थियो । त्यत्तिबेला आईएड विएड भन्ने हुन्थ्यो । त्यो पास गरिसकेपछि गाउँमा फर्केर मास्टर बन्ने सपना बोकेर म काठमाडौं आएको थिएँ ।

मैले शिक्षक नै बन्नुपर्ने बाध्यता किन थियो भने मैले एसएलसीमा ल्याएको नतिजाले अरू विषय पढ्न पाउने अवस्था नै थिएन । त्यत्तिबेला आइएससी, विएससी, आईकम, विकम भन्ने हुन्थ्यो । मैले आई एड विएड नै पढ्नुपर्ने भयो । अन्य विषय पढ्न कसैले भर्ना नै नलिने । मैले एसएलसीमा जम्मै सात वटै विषयमा ३२/३२ नम्बर ल्याएको थिएँ । मलाई लाग्छ, यदि दाबी गर्याे भने गिनिज बुक अफ वर्ल्ड रिकर्डमै दर्ता हुन्छ होला । सातवटै विषयमा ३२ नम्बर । एसएलसीको त्यो नतिजाले गर्दा मैले एजुकेसन बाहेक अन्य विषय पढ्न नै नपाउने थियो ।

मैले काठमाडौं बसेर आईएड, विएड पास गरेँ । तर, त्यत्ति पढिसकेपछि मेरो मास्टर बन्ने सपना फेरियो । पाँच सात वर्ष काठमाडौं बसेर पढ्न संसारको बारेमा थोरबहुत बुझेको थिएँ । संसारलाई अझै बुझ्ने अभिलाषा पलाएको थियो । तर, कसरी बुझ्ने तर आइडिया थिएन । मास्टर बन्न छोडेर संसार पढ्न मन लाग्यो । संसार पढ्ने विद्यार्थी बन्न मन लाग्यो । संसार घुम्न पैसा चाहिन्छ, त्यो मसँग थिएन । मेरो अंशमा आउने सम्पत्तिले दक्षिण एसियाका देशहरू घुम्न पनि नपुग्ने थियो । घुम्ने इच्छा त बढ्दै गयो तर आर्थिक हैसियत थिएन । उपाय खोज्ने क्रममा साइकल भेटाएँ । साइकलले चाहिँ मलाई सस्तोमा संसार घुमाउँछ भन्नेमा विश्वस्त भएँ अनि निस्किएँ ।

घुम्न पैसा होइन, सपना चाहिन्छ

कुनै समय लाग्थ्यो मलाई पैसा भयो भने संसार घुम्न सकिन्छ । अथवा कुनै ठाउँ घुम्न सकिन्छ । आजभन्दा पच्चिस वर्ष पहिले, २०५५ साल साउन १६ गते दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साइकलयात्रामा निस्कने बेला मेरी आमाले मलाई सय रुपैयाँ दिनुभएको थियो । त्यत्तिबेला पच्चिस रुपैयाँमा एक छाक भात पाइन्थ्यो । त्याे सय रुपैयाँले चार छाक भात खान पनि सकिन्थ्यो । तर, आमाको त्यो माया र स्नेहलाई साक्षी राखेर संसार घुमेर आएँ । संसार त नभनौँ । संसार घुम्न मानिसको एउटा जुनी काफी छैन । सम्भव पनि हुँदैन । संसारको धेरै भूभाग घुमेको भनौँ । मैले घुमेँ । मैले के प्रमाणित गरिदिएँ भने संसार घुम्नलाई पैसा होइन, सपना चाहिन्छ । र, त्यो सपनालाई पछ्याउने दृढ सङ्कल्प, इच्छाशक्ति चाहिन्छ ।

हामी हिरामाथि टेकेर हिरा खोजिरहेछौँ

नेपाल भनेको एक हजार किलोमिटर लम्बाइ र दुई सय किलोमिटर चौडाइको परिधिभित्र सांस्कृतिक, प्राकृतिक धार्मिक विविधताले यो विश्वकै उच्च कोटीमा छ । त्यो सँगसँगै हामीसँग सगरमाथा छ, अब यी यस्ता थुप्रै छन्, नाम लिएर साध्य छैन । त्यसकारण यो संसारकै सबैभन्दा सुन्दर हिरा हो के यो नेपाल भनेको । म आफैँ यहाँ जन्मेको भएर होइन, मेरो देश भएर भनेको होइन । मैले संसारका एकसय पचास वटा देश घुम्दा गरेको अनुभव हो यो । एउटा सामान्य मानिसको लागि संसार घुम्नु चानचुने कुरा होइन । मैले संसारको एकसय पचास वटा देश घुमेर हेर्दा नेपाल संसारकै सुन्दर हिरा हो । र, हामी हिरामाथि टेकेर हिरा खोजिरहेछौँ ।

अब देश कृषिप्रधान रहेन, विकल्प पर्यटन नै हो

हामीले हाम्रो देशलाई कृषिप्रधान देश भन्दै आयौँ । तर, पछिल्लो समयलाई हेर्ने हो भने अब कृषिप्रधान देश भन्ने अवस्था रहेन । खेतबारी बाँझै छन् । गाउँघर रित्तिँदै गए । कृषिमा श्रम पसिना पोखिन छाड्यो । अब त हामी रेमिट्यान्सले नै बाँचिरहेका छौँ भन्दा पनि हुन्छ । कृषिको विकल्प पर्यटन हुनसक्छ । किनभने पर्यटनका आकर्षणहरू केही पनि बनाउनुपर्दैन हामीलाई । हिमाल बनाउनु परेन, झरना बनाउनु परेन, ताल बनाउनु परेन, ती सल्लाघारीका जङ्गलहरू बनाउनुपरेन, ती खप्तडका फाँटहरू बनाउनुपरेन । प्रकृतिले हामीलाई यति विविधता, यति देन दिएको छ । त्यसलाई उपयोग गर्न मात्रै हामी चुकेका छौँ ।

नेपालमा जस्ताे आत्मीयता अन्त छैन

हाम्रो एउटा भनाइ नै छ नि, “अतिथि देवो भव:” भन्ने । नेपालमा पर्यटक एक पटक आइसकेपछि उसले कुनै पनि कुरालाई हतपती बिर्सन सक्दैन । अहिले उ त्यहाँ न्यूरोडमा उभिरहेको एक जना व्यक्तिलाई ठमेल जाने कता हो भनेर सोध्यो भने आफू हिँडेको छ थापाथली तर ठमेल पुर्‍याइदिन्छ त्यसले । हामीसँग त्यत्ति आत्मीयता छ । हामीले विदेशी पर्यटक भन्ने बित्तिकै दर्साउने व्यवहार, माया अलग्गै छ । नेपालमा जस्तो माया ममता विदेशीहरूले अन्य देशमा पाउँदैनन् । त्यसकारण हामीसँग अझै पनि त्यो आत्मीयता जीवित नै छ ।

रमाइलो प्रसङ्ग: सुन्दरी युवतीसँग प्रेम

घर छोडेर निस्केपछि हरेक दिन चुनौती थपिन्छन् हैन । रित्तो गोजी हिँडेको हरेका दिन मागेर, बिहान एक छाक भात यहाँ खाए भने साँझ मुग्लीन पुग्दा कसले भात ख्वाउलान् भन्ने चिन्ता बोकेर हिँडिरहेको बेलमा यात्राका चुनौतीहरू त असङ्ख्य छन् । त्यो एघार वर्ष, चार हजार पन्ध्र दिन, साइकलको पाइडिल घुमाउँदा, साइकलको पाङ्ग्राले दुई लाख एक्काइस हजार किलोमिटर नापेछ । हरेक दिन बदलिने वातावरण, हावापानी, प्रकृति, भाषा, खानपान, रहनसहन र मान्छेको व्यवहारले त्यो यात्रालाई चुनौती दिई नै रहन्छन् । चाहे म जस्तो विदेश घुम्ने होस् वा कन्चन (कन्चन राई उर्फ घुमन्ते) जस्तो आन्तरिक पर्यटक बनेर घुमिरहने होस्, चुनौती त हरेक दिन हुन्छ । रमाइलो कुरा गर्नुहुन्छ भने मेरो लागि त यसै रमाइलो भयो । संसार घुम्न पाएँ । कति धनाढ्य मान्छेहरूले पनि संसार देखेको छैन होला । संसारलाई आफ्नै पैतालाले टेकेर, आफ्नै हातले छोएर, आफ्नै आँखाले हेरेर, अनुभूति गरेर घुम्न पाउने संसारका थोरै भाग्यमानी मानिसमा म पनि पर्छु । ती चार हजार पन्ध्र दिनमा कैयन रमाइला घटनाहरू छन् । एउटा घटना तपाईँहरूलाई सुनाऔँ ।

म यात्राको क्रममा हङकङ पुगेको थिएँ । त्यहाँ पुगेपछि चिनियाँ पत्रिका द सन भन्ने पत्रिकाले मेरो अन्तर्वार्ता छापेछ । मध्येपृष्ठमा पाँच सात वटा फोटोसहित मेरो अन्तर्वार्ता छापेपछि भोलिपल्ट एक जना चिनियाँ युवती, एकदमै राम्री, मलाई भेट्न आइन् । मलाई भेट्न आइसकेपछि उनले मलाई साँझको खाना खाने निम्तो दिइन् । रेष्टुरेन्टमा खाना खान गयौँ ।

खाना खाइसकेपछि उनले भनिन्, “मेरो एउटा प्रस्ताव छ तिमीलाई ।”

“भन न के हो ?” मैले भनेँ ।

“म चाहिँ तिमीसँग बिहे गर्न चाहन्छु”, उनले भनिन् ।

म त छक्क परेँ । भर्खर खाना खाएको एक घण्टा भएको छ, मसँग बिहे गर्छु भन्छिन् ।

“किन बिहे गर्न चाहन्छौँ तिमी मसँग ?” मैले सोधेँ ।

उनले भनिन्, “मलाई तिमी जस्तो घुमन्ते, ट्राभलर, एउटा साहसिक एडभेन्चर मान्छे मन पर्छ ।”

वाफरे वाफ ! म पनि एडभेन्चरस मान्छे भएछु भन्ठानेर एकछिन मक्ख परेँ । अहिले कसैले पुष्कर शाहलाई एडभेन्चरर भन्छ हो भने हो के, एक सय पचास देश पृथ्वीलाई साढे पाँच फन्को यही साइकलले लगाएर आएको मान्छे, सगरमाथालाई पनि एकैछिन होचो बनाएको मान्छे म । एकैछिन सगरमाथा भन्दा पनि अग्लो भएको मान्छे म । अहिले साहसिक भन्छ भने हो अहिले चाहिँ साँच्चि नै ।

किन भने संसारलाई पाँच फन्को लगाएर सगरमाथा चढ्ने म तीन करोड नेपालीमा होइन के, संसारको सात अरब मान्छेमा एउटा हो । भएको कुरा भन्न त पायो नि फेरि, धाक लगायो भन्नुहोला । धाक लगाएको होइन, साँच्चै हो । हङकङ पुग्दा जम्मा १४ वटा देश घुमेको थिएँ । त्यत्तिबेलै ती युवतीले साहसिक मान्छे भनेपछि मेरो छाती फुलेको थियो ।

अनि मैले साेधेँ, “साँच्चै बिहे गर्ने हो ?”

“साँच्चै गर्ने हो”, उनले भनिन् ।

साँच्चै बिहे गर्ने भयौँ । यति सुन्दरी चिनियाँ केटी, पुतली जस्ती, हेर्दै बिहे गरौँ जस्तो लाग्ने, यतै अल्मलिउँ जस्तो लाग्ने ।

“बिहे गर्ने भए गर्ने तर, एउटा प्रस्ताव छ मेरो”, मैले भनेँ  ।

“भन न के हो ?” उनले सोधिन् ।

मैले भनेँ, “मसँग बिहे गर्ने हो भने एउटा साइकल किनेर दुई जनै सँगै संसार घुम्न जानुपर्छ ।”

“अँ ह, त्यसरी जान त म कहाँबाट सक्नु ?” उनले भनिन् ।

त्यसपछि मैले भनेँ, “म तिमीसँग बिहे गर्छु भनेर हङकङ आएको होइन । तिमीसँग अलमलिएर बस्यो भने मेरो लक्ष्य उद्देश्य यतै तुहिन्छ । म तिमीसँग बिहे गर्न सक्दिनँ”

“होइन होइन, म तिमीलाई फर्किन्छु”, उनले भनिन् ।

उनले पर्खिन्छु भनेपछि म फेरी खुसीले गदगद भएँ । उनी म साथी भयौँ । अनि मैले हङकङमा दुई हप्ता बिताएँ । दुई हप्ता हङकङमा बस्दाखेरि हरेक साँझ उनी आफ्नो अफिसबाट आउने, मलाई नयाँ रेष्टुरेन्टमा लैजाने । दुई हप्तामा मैले चौध थरीको रेष्टुरेन्टमा खाना खाएँ । हामी झनै नजिक भयौँ । माया बस्यो । सामिप्यता बढ्यो । अब, माया बसेपछि त्यस्तै त हो नि !

अनि त्यसपछि म चाहिँ हङकङबाट दक्षिण कोरियाको सिउल उड्दै थिएँ । उनी एयरपोर्टमा आइन् । आइ मिस यु भन्दै रुन थालिन् । उनले आफ्नो जात जनाइन् । फेरी जात जनाइन् भनेको महिलाहरू कोमल हुन्छन् भनेको हो है फेरी, अन्यता नसोच्नुहोला । म पनि कमलो मन भएको मान्छे । उनको आँसु पुछिदिएँ । नरोऊ नरोऊ हामी भेट भइहाल्छौँ भनेँ । त्यसपछि उनले मलाई अलिकति पैसा दिइन् । अलिकति पनि के भन्नु बिटो नै थियो । पैसा लिएँ, वालेटमा हालेँ । वालेट पुटुक्क भयो । मैले धन्यवाद भनेँ ।

अनि उनले भनिन्, “यो पैसा तिमीलाई होइन नि !”

अरे ! पैसा लिएर राखिसकेँ, मलाई होइन भन्छिन् । “यो पैसा किन दिएकी त ?” मैले सोधेँ ।

“तिमी जुनजुन देश पुग्छौ, त्यहाँबाट मलाई टेलिफोन गर्नु, त्यसको लागि दिएको हो पैसा ।” अनि म उडेँ सिउलतिर ।

साइकल र मानिसको लाइफ साइकल

म छोटकरीमा भन्छु, हामी जीवन चक्र भन्छौँ, लाइफ साइकल । मलाई कुनै बेला लाग्थ्यो, साइकल किन्न पायो भने म संसारकै सबैभन्दा खुसी मानिस हुन्छु । कुनै समयको कुरा । अहिले त म दुई तीन लाखको साइकल चढ्छु । मानिसले सबैभन्दा पहिला साइकल किन्छ । सुरुवातीका दिन । त्यसपछि उ आर्थिक उन्नति गर्छ, र मोटरसाइकल किन्छ । मोटरसाइकल पनि अहिले त विभिन्न भेराइटीमा बीसौँ लाख, तीसौँ लाख पर्नेहरू छन् । मोटरसाइकलपछि आर्थिक उन्नतिसँगै कार किन्छ । कार किनेपछि शारीरिक अभ्यास कम हुन्छ । शरीर बिग्रन थाल्छ । अस्वस्थ हुँदै जान्छ । अनि चिकित्सककोमा जान्छ । चिकित्सकले उसलाई शारीरिक अभ्यास गर्न सल्लाह दिन्छ । व्यायामशाला जान्छ । व्यायामशाला गएपछि त्यहाँको इन्सट्रक्टरले साइकल कुदाउन लाउँछ । हो, यो भनेको लाइफ साइकल हो । लाइफ साइकलसँग साइकलको सम्बन्ध छ ।

साइकलमैत्री सहर

काठमाडौं उपत्यका यसै पनि सानो छ । साइकल चढेर एक कुनाबाट अर्को कुनामा पुग्न बीस–पच्चिस मिनेटभन्दा बढी समय लाग्दैन । भूगोलको हिसाबले पनि साइकलको लागि सहज छ । काठमाडौं उपत्यकामा कहीँ पनि साइकलबाट ओर्लिनुपर्दैन । मजाले चलाउन सकिन्छ । हावापानीको हिसाबले पनि उपयुक्त छ । न गर्मी, न जाँडो । सबै मौसममा साइकल कुदाउन सकिन्छ । काठमाडौंमा मात्रै नभएर अन्य सहरहरू पनि साइकलमैत्री नै छन् । तर, नेपालमा साइकलमैत्री सडक छैन । काठमाडौंमा पनि साइकल सुरक्षित छैनन् । साइकलमैत्री बाटो बनाउने, साइकल लेन बनाउने, साइकल यात्रीलाई सुरक्षाको वातावरण बनाउन सकियो भने राम्रो हुन्छ । यस लागि सबै तहका सरकाले सोच्न जरुरी छ । साइकलमैत्री सहर बनाउन आवश्यक पनि छ ।

(विश्व साइकलयात्री एवम् सगरमाथा आरोही पुष्कर शाहले “नेपाल पर्यटन महोत्सव”मा व्यक्त गरेका यात्रा अनुभव तथा विचारहरूको सम्पादित अंश । नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर नेपाल पर्यटन बोर्डको सहयोगमा एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा काठमाडौंको वसन्तपुरमा वैशाख १ र दुई गते नेपाल पर्यटन महोत्सव सम्पन्न भएको हो । विश्व साइकलयात्री पुष्कर शाह “युवा पर्यटन अभियन्ता ट्राभलर एण्ड एक्स्प्लोरर” शीर्षकको सेसनका वक्ता थिए । शाहसँगै कञ्चन राई (घुमन्ते) पनि वक्ताको रूपमा थिए । सेसनको मोडरेटरको भूमिकामा पत्रकार टिपी भुसाल थिए ।)

 

भिडियो

सम्बन्धित समाचार