बिहिबार , कार्तिक २८, २०८२

राधा र कृष्णलाई प्रेमको आदर्श मानेर कतै हामीले गलत त गरिरहेका छैनौं ?

के कृष्णले विवाहलाई भन्दा प्रेमलाई महत्त्व दिएका हुन् ?

image

“राधाले कृष्णको सिन्दूर पाइनन् रुक्मिणीले सिन्दूर पाएर पनि कृष्ण पाइनन् । त्यसैले मलाई न राधा हुनु छ न त रुक्मिणी नै” भन्दै आफ्नो धारणा सामाजिक सन्जालमा राख्नेहरूको लर्को छ अहिले । कसैलाई लाग्छ, प्रेमको अन्तिम रूप विवाह हो अनि कसैलाई लाग्दो पनि रहेछ कि प्रेमको अन्तिम रूप विवाह होइन । प्रेम त प्रेम हो । यस्तै धारणा लिएर एक अर्का बीच टीकाटिप्पणी गर्नेहरूको बढ्दो जमात देख्दा तपाईंलाई चाहिँ कस्तो लाग्छ ? के कृष्णले राधा र रुक्मिणी माथि अन्याय नै गरेका हुन् त ? यदि उनले राधा र रुक्किणी माथि अन्याय गरेका हुन् भने उनलाई प्रेमको उदाहरणको रूपमा लिने कि नलिने ?

कृष्णको प्रेमिल रूप देखाउने ग्रन्थ भनेको भागवत हो । भागवतमा कृष्णको राधा सँग आठ-दश वर्षकै उमेरदेखि प्रेम भएको वर्णन छ । भागवतमा उल्लेखित यस वर्णनले के साँच्चै आठ-दश वर्षको उमेरमा प्रेम हुनु सम्भव छ भन्ने नयाँ प्रश्न पनि निम्त्याउन सक्छ ? अनि अर्को कृष्णले त्यो बेला बासुरी बजाउँथे अरे । उनको बाँसुरीको धुन सुनेर महिलाहरू आफ्नो श्रीमान् नै छोडेर युवतीहरू आफ्नो घर नै छाडेर आउने गर्थे अरे र ती सँग छुट्टा-छुट्टै बसेर प्रेम प्रसङ्गका कुरा गरेर उनी फर्कन्थे अरे । यसलाई भागवतले कृष्णको रासलीलाका रूपमा वर्णन गरेको छ । के आठ-दश वर्षको बालकलाई यसरी उभ्याउनु सही हो त ?

अझ भागवतमा अर्को प्रसङ्ग पनि छ-  नुहाउँदै हुन्छन् युवतीहरू, उनीहरूले आ-आफ्नो कपडा बगरमा राखेका हुन्छन् । कृष्णले बगरबाट उनीहरूको कपडा उठाउँछन् र आफ्ना नजीकैको वृक्षको हाँगामा झुण्ड्याउँछन् । उनीहरू पानीमा हुन्छन् त्यसैले दौडिएर बाहिर आउन पनि सक्दैनन् । उनीहरूले पानी बाटै भन्छन् कि हामीलाई हाम्रो कपडा फिर्ता गर । तर कृष्णले कपडा फिर्ता गर्नुको सट्टा उल्टै रूखमा झुन्ड्याएका कपडा पालैपालो आएर लैजाऊ भन्छन् ।

के यस्तो कुरा दस, एघार वर्षको उमेरको कृष्णले भन्न सुहाउँछ होला त ? यसरी कृष्णलाई कहिले रासलीला गरेर, कहिले गोपिनीहरूलाई जङ्गलमा नचाएर र त कहिले गोपिनीहरूका कपडा रूखमा झुन्ड्याएर उनीहरूलाई नाङ्गै रूख सम्म आउन बाध्य बनाएर भागवत र केही पण्डितहरूले उनलाई स्त्रीलम्पट त बनाइरहेका छैनन् ? यदि उनले यी सबै हर्कत गरेका होइनन् भने किन यस्तो लेखिने भनिने गरिन्छ त ?  यो प्रश्न पनि उत्तिकै बलियो छ ।

त्यसपछि भागवतले अझ भन्छ कि कृष्ण बाह्र वर्षको उमेरमा मथुरा फर्कन्छन् । त्यसपछि उनको कहिल्यै पनि राधा सँग भेट भएन । बाह्र वर्षको उमेरमा मथुरा फर्केको मान्छेको त्यो बालापनको उमेरमा राधा सँग भएको प्रेमलाई कत्तिको स्वाभाविक मान्ने ? अझ यस माथि विभिन्न कथा उपकथा जोड्दै यसलाई विस्तारिक रूप दिएर राधा र कृष्णलाई प्रेमको आदर्श मानेर कतै हामीले गलत त गरिरहेका छैनौं ?

राधा जसको विवाह अर्कै सँग गर्ने योजना बन्यो । तर त्यो विवाह गर्न उनले मानिनन् । उनलाई घरबाट बाहिर निस्किन दिइएन । घर भित्रै नजरबन्दमा राखियो । केटी मात्रै उनलाई भेट्न जान पाउँथे । तेस्तोमा कृष्ण केटीको रूप धारण गरेर उनलाई भेट्न पुग्छन् । र उनलाई मायाको आभास दिन्छन् ।

यी कुरा पढ्दै गर्दा कता कता नमिलेको जस्तो लाग्छ । पहिलो नमिले कुरा तेति सानी राधालाई विवाह गरेर दिन खोज्ने, उनलाई नजरबन्दमा राख्ने र कृष्ण सँग भेट हुन नदिने यी यावत् कुराहरू हेर्दा उनीहरू युवक अवस्थामा हुन पर्छ । कि त युवक अवस्थामा पुगेपछि मात्रै कृष्ण मथुरा फर्केको हुनु पर्छ नत्र किन उनीहरूलाई सानै उमेरमा भागवतले परिपक्व बनायो त ? यो त भयो ? भागवतको कुरा ।

कतिपयले यो पनि भन्छन् कि भगवान् श्रीकृष्णले राधासँग यसकारण पनि विवाह गरेनन् कि उनी प्रेम र विवाह दुई फरक कुरा हुन् भनेर साबित गर्न चाहन्थे । प्रेम एक निःस्वार्थ भावना हो भने विवाह एक सम्झौता हो वा अनुबन्ध हो । अझ कतिपयले यो पनि भन्छन् कि सामाजिक नियमको दलदलमा फँसेर राधा कृष्णको प्रेम कहानी अधुरो भएको थियो । उनीहरुको प्रेमका बीच पनि सामाजिक नियमले खलनायकको भूमिका खेल्यो । त्यसैले राधा र श्रीकृष्णलाई सामाजिक पृष्ठभूमिले उनीहरुको विवाहको अनुमति दिएन ।

नेपालको चर्चित उपन्यास ‘राधा’ मा प्रेममा राधाकृष्ण दुवैलाई एकदमै कमजोर बनाइएको छ । कृष्णले राधाको प्रतिरूप खोज्दै आठ वटा विवाह गरेर पनि सन्तुष्ट भएनन् भने राधाले कृष्णको खोजीमा आफ्नो घर, गाउँ, समाज नै छाडेर कृष्णमिलनको अभिलाषामा हिँडिन् । यस्तो गर्नुको सट्टा राधालाई नै विवाह गरेर कृष्णले आफ्नो प्रेमलाई अन्तिम रूप दिन सक्दैन थिए होलान् ? के प्रेममा त्याग देखाउनु पनि प्रेमको विकल्प हो र ?

कृष्णकी वास्तविक पत्नी रुक्मिणी हुँदाहुँदै पनि वर्तमानमा हामी जुन मन्दिर पुग्छौं त्यहाँ राधाकृष्णको मूर्ति प्रतिस्थापन गरेको पाउँछौं । अनि प्रश्न उठ्छ- के यो राधाकृष्णका बीचको प्रेमलाई सम्मान दिएर गरिएको हो ? के कृष्णले विवाहलाई भन्दा प्रेमलाई महत्त्व दिएका हुन् ? के यसो हुँदा सामाजिक व्यवस्थामा खलल पर्दैन ?

सम्बन्धित समाचार