'मन लाग्यो लेखेँ, लति भएँ लेखेँ । लेखे पछि कवि भने, चित्रकार भने, म यसैमा खुसी भएर बसेँ ।'
कवि एवं चित्र लेखक रमेश श्रेष्ठले हालसालै पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रदान गरिने शिरोमणि पुरस्कार २०७८ प्राप्त गरेका छन् । यो पुरस्कारबाहेक श्रेष्ठले अन्य पुरस्कार पाएका होलान् (नहोलान्), त्यो सूची मसँग छैन, बटुल्ने जाँगर पनि गरिनँ । मैले उनका कविता पढेका छु र कलाकृतिहरूको फोटो हेरेको छु । तिनै कविता र कलाकृतिले मलाई यियस्ता प्रश्न गर्न घच्घच्याएका हुन्, बाँकी कुरा तपसिलमै रहे;

रमेश श्रेष्ठको फेस्बुकबाट
बार्दली बाहिर झरी परिरहेको छ, काठमाडौंको लुतो पखालिरहेको छ । साउन त आइसकेको छैन । र, म कसरी बातचित सुरु गरौँ भनेर सोचिरहेको छु । भन्नुस् न, लुतो कन्याइरहको छु !.. आफूले भोगिरहेको दुनियाँमा उभिएर आफ्नो अगाडि भइरहने घटना, दुर्घटना, विकृति र विसङ्गतिहरुसँग प्रासङ्गिक कुनै पनि कुरा सुनाउनुहोस् यार दाइ !
मेरा प्रसङ्गहरू सबैका लागि नहुन पनि सक्छ भनेर म फेरी चिन्तित छु । आजको हाम्रो समयले मान्छे भन्दा बढी दासहरू खोजिरहेको छ भन्ने कुरा मनमा उठिरहन्छ, दास त मलाई बनाएरै छोड्छ तर कस्तो दास बनाउँछ होला भन्ने चिन्ता भित्रै पनि अर्को चिन्ता पनि लागिरहन्छ । म मालिककै दास बन्छु कि दासको पनि दास बन्छु, बनिरहेको छु ! साँच्चै भनौँ राम्रो सँग ऐना हेर्नै भ्याएको छैन यार भाइ यतिखेर मैले ।
तपाईँसँग प्रथमतः चित्रकलाका कुरा गर्छु । तपाईँका नयाँ/पुराना सिर्जनाका क्यानभासहरुबारे बताउनुहोस् न । रङ-बुरुस-चित्रपटहरूमा के लेख्दै हुनुहुन्छ ? कलालाई दैनिक उपयोगिताको ‘हलो-डाँडू-पन्यौं’ सम्झने, कलालाई धर्म, राजनीति र व्यक्तिगत कुण्ठाको ‘प्रचारप्रसार सामग्री’ सम्झनेहरूलाई केही भन्नु छ दाइ ? एउटा फाल्तु कुरा सोध्छु ल, तपाईँले शशी शाहका घोडाहरू भन्ने कविता किन लेख्नु भएको ? ‘जङ्गबहादुरको घोडा’ लेख्नुभएको भए संसद् भवनतिर कविता पढ्न पाइने थियो..।
कविता लेख्नु जस्तै चित्र बनाउनु पनि मेरो लागि लत हो । कवितामा खासै पैसा पाइँदैन, सन्तुष्टि मात्र बढी पाइने गर्छ । तर चित्रमा सन्तुष्टि सँगसँगै बिक्यो भने पैसा पनि राम्रै पाइन्छ त्यो आकर्षणले पनि एक हिसाबले तानिरहन्छ । अरूले के कसरी चित्र लेख्छन् सबैका आआफ्ना विचार तर्क होलान्, म उनीहरूलाई नै छोड्छु ।
शशी शाह मेरो देशको अग्रणी मेरा अग्रज हुनु हुन्छ । मलाई उहाँको चित्र मनपर्छ, चित्रले बोलेका कुरा मन पर्छ र उहाँले गर्ने मायाका कारण पनि आकर्षित छु म । त्यसैले मैले शशी शाहका घोडाहरू कविता उहाँको सम्मानमा लेखेको हुँ । जङ्गबहादुरसँग म मात्र किताबका अक्षरहरूमा परिचित छु, स्तुति योग्य मैले केही पनि भेटेको छैन, त्यसैले बालै छैन ।
मलाई कवितातर्फ आऊ कि भन्ने लागिसक्यो तर, एउटा प्रश्न बाँकी नै रहेछ । ‘हालसालै मोनालिसाको मुखमा केक फ्याँकेको खबर मैले नै लेखेँ ।’ तपाईँको आर्ट पिससँग रहेर कसैले कहिल्यै कुनै बदमासी गरेको छ ? कवितातर्फ पनि ?
छैन, म त्यति ठूलो कलाकार कवि पनि होइन । आफ्नै नङ्ग्रा खियाएर उठेको एउटा अस्तित्व मात्र हुँ । मेरा कोही फ्यान छैनन्, न त जत्था र गुट नै छ । त्यसैले सबैले मन पराएर माया गर्छन् ,त्यसैमा रमाएको छु । त्यस्तो केही छैन ।
अर्को प्रश्न पनि, जसरी न्यूयोर्कतिर सेल्फी खिच्नेहरूलाई नेपाली पूँजीवादी समाजले स्विकारी’राछ, उसैगरी इटालीतिर घुमेर आउनेहरू (वाङ्देल नै पनि) लाई नेपाली कला समाजले अत्यधिक स्वागत सहित स्विकार्छ । दक्षिण एसिया (अझ नेपाल नै) कला हब हुने सम्भावना कत्तिको देख्नुहुन्छ ? भनेको, भइरहेका चित्र प्रदर्शनीहरूले नेपाली कलालाई के दिइरहेका छन् ? (नाफाले त चोरिएको चित्रलाई पुरस्कृत नै गरिराछ क्यार !) कि हाम्रा कलासंग्रालयहरूमा ‘जङ्क आर्ट (फाल्तु कला, मनुजबाबु मिश्रको शब्द)’ थुप्रिन थालिसकेको छ ?
भाइ म तपाईँलाई प्रतिप्रश्न गर्छु– यतिखेर नेपाल र नेपालीलाई गाँस बास कपास र औषधीको खाँचो छ कि कलाको ? हिजो हाम्रा अग्रजहरूले निर्माण गरेका कलाकृतिहरूको संरक्षण गर्न त सकिरहेका छैनन् । नयाँ कलाकारहरूलाई प्रोत्साहनको ठोस रूपरेखा कसरी कोर्छन् । यही पाराले कलाको हब कसरी हुन सक्छ नेपाल ?
कुरा रह्यो चोरी र पुरस्कारको यसको जिम्मेवारी त सम्बन्धितले लिनु पर्यो नि । चोरी गरिएको चित्रलाई पुरस्कृत गर्नु राष्ट्रकै लागि कलाको कोणबाट हेर्ने हो भने दुःस्वप्न हो । सधैँ बिझाइ राख्ने दुःस्वप्न ।
सहरमा नाटकहरू चलिरहेका हुन्छन्, थिएटर आर्टिस्टहरू ३ महिनाको मिहेनतको ५ हजार लिएर दैनिकी गुजारिरहेका हुन्छन् । स्ट्रिट आर्टिस्टहरू घर फर्किने भाँडा कसले देला भनेर साँझपख वरपर नियालिरहेका हुन्छन् । नाम नचलेको कवि अन्तिम बेन्चमा बसेर प्रज्ञा कवि गोष्ठीको अमुक प्रमुख अतिथिको कविता नामको ‘मनुविष्टा’ बडो सकस मान्दै सुनिरहेको हुन्छ । कफी हाउसबाट धुरन्धार समीक्षकले भर्खरै रमेश श्रेष्ठलाई ‘वाहियात कवि’ को उपमा दिए । लौ दाजू, यो सबै इतिवृतान्तलाई तपाईं कसरी हेर्नुहुन्छ ? यसपश्चात् तपाईं कस्तो चित्र कोर्नुहोला मेरो उत्सुकता रह्यो !
म कविता र चित्रकलाको लति भई सकेको छु, जसरी दुर्व्यसनीहरू हुने गर्दछन् । मसँग मेरा कविता र चित्रकलाका बारेमा कसैले सोध्यो भने धेरै कुराहरू छन् । मैले मेरो समयको सबै इतिवृतान्तसँग सरोकार राख्नु पर्छ होला जस्तो मलाई लाग्दैन । कसैले तारिफ गरिदियो भने खुसी हुने र विरोध गरिदियो भने रिसाउने कमजोर मानिस म भित्र पनि छ, त्यो मलाई थाहा छ ।
मलाई अर्को कुरा पनि थाहा छ, सबै सुखहरू र दुःखहरू स्थायी हुँदैनन्, म धेरै तातिन पर्ने कुनै कारण पनि देख्दिन । प्रेम गर्नकै लागि छोटो यो जीवनमा म किन कसलाई कसरी घृणा गरिरहूँ ? बाँचुन्जेल चित्र कोरिरहन्छु, कविता लेखिरहन्छु । बरु कहिलेकाहीँ मृत्यु अघि उभिदिए भने उनलाई नै कविता लेखेर सुनाउन पाए हुन्थ्यो भन्ने अभिलाषा रहिरहन्छ ।

रमेश श्रेष्ठको फेस्बुकबाट
‘जति चित्र कोरे पनि दा भिन्चीलाई उछिन्ने होइन क्यारे’ भन्ने विचार गरेर एक धारले विद्रोह गर्यो । इटालीको म्यानरिष्टवर्ग सम्मिलित सो समूहले युरोपको अँध्यारोलाई आफ्नो सिर्जनामा ल्याई सर्वथा नयाँ सिद्धान्त र शैली प्रारम्भ गरेका थिए । नेपाली साहित्यमा पनि तेस्रो आयाम देखिएको हो । अरू अरू पनि ! अब फेरी नेपाली साहित्य ‘माओवादी द्वन्द्व, वर्गीय बिम्ब, लोकतन्त्र’मा आइपुगेर ‘दा भिन्ची’ हुन् खोजिरहेको छ । यसलाई कसरी हेर्नुहुन्छ ? कतैकतै ‘श्रवण मुकारुङ भर्सेस दिनेश अधिकारी’ भन्ने पनि सुनिन्छ नि ? तपाईँको लामो कविता ‘चोक र तमसुक’ लाई मोदनाथ पश्रितले ‘महाकाव्य’ भन्नु भएकाले ‘महाकवि’को प्रसङ्ग चुहाएको है ।..हेहे ।
नियोजित ढङ्गले कवि बन्छु कलाकार बन्छु भन्नु या कवि बनाउँछु, कलाकार बनाउँछु भन्नेहरुका लागि लागु हुन्छ होला यी प्रश्नहरू । मेरो जीवनको व्याकरणमा कलासाहित्यमा व्यापार र अनुष्ठान धेरै भिन्न कुराहरू हुन् । मैले कुनै बाङ्देल र शशी शाहहरूलाई जित्न वा उछिन्न चित्र बनाएको होइन । मैले कुनै भूपी र रिमाललाई उछिन्न वा जित्न पनि कविता लेखेको होइन । मन लाग्यो लेखेँ, लति भएँ लेखेँ । लेखे पछि कवि भने, चित्रकार भने, म यसैमा खुसी भएर बसेँ ।
अर्को कुरा प्रकृतिले मलाई एकसाथ कवि र चित्रकार बनायो, आमा जस्तो प्रकृति म उनैलाई धन्यवाद दिन्छु । कसैको तुलना कसैसँग नगर्दा राम्रो मान्ने मान्छे हुँ म । गुटले त मिलेर बसेको फूलबारीमा पनि विभाजन ल्याउँछ । म हरेक गुट्याहरूको निन्दा गर्छु । गुट्या हुनु भन्दा एकपल बढी सृजनशील हुनुहोस्, मेरो सानो सुझाव र शुभकामना यही छ । अग्रज मोदनाथ प्रश्रित सरले मेरो अग्नि नृत्यमा महाकाव्य भेट्नु भयो म आभारी छु, मेरो सिर्जनालाई हृदयले हेरिदिनु भयो ।
मनु ब्राजाकीले कतै भनेका थिए, “केही कुरा बटुल्न जानिनँ । छर्नु र छारिनु नियमित भयो ।’ रमेश श्रेष्ठको हकमा यो कुरा कति लागू हुन्छ ? तपाईँले कतै भन्नुभएको थियो, “–‘म राम्रो गायक वा म्युजिसियन हुन्थे होला । यद्यपि फुर्सदमा म थोरै थोरै गिटार बजाउन र गीत गाउन रुचाउँछु । फोटोग्राफी त मेरो सोख नै हो आज पनि गरिरहन्छु । फुटबल खेल्न पनि रुचाउँछु ।” आजभोलि कता छरिनुभएको छ ? के-के बटुल्दै हुनुहुन्छ ?
भाइ, म कविता लेख्ने चित्र बनाउने मान्छे हुँ भनेर कामै नगरि खाने मान्छे होइन । हरेक मान्छेले आफ्नो हैसियत अनुसारको काम गरेर खानु पर्छ। कवि कलाकारहरू व्यावहारिक उत्कृष्ट मानिसहरू हुन भनेर उदाहरण दिनु पर्दछ । उखु नै नखाई उखुको कविता लेख्ने हुनु हुँदैन । यति बेला घर कसरी चलाउने, जागिरको जिम्मेवारी कसरी निभाउने भन्ने कुरा त छँदैछ । नयाँ चित्र र नयाँ कविताको बारेमा सोची नै रहन्छु । समय मिलाएर गीत लेख्छु अरूका राम्रा गीतहरू गुनगुनाउने कोसिस गर्छु । फोटोग्राफी अलि कम भएको छ अचेल । फुटबल मलाई असाध्यै मन पर्ने खेल हो, जिल्ला लेभलसम्म त खेले कै हुँ । प्रत्येक हप्ता शनिवार बिहान रमाइलोका लागि फुटबल खेलिन्थ्यो तर केही समय भयो स्वास्थ्यको कारणले खेल्न बन्द भएको छ । मलाई थाहा छ मैले प्रत्येक दिन आफ्नो आयु छरिरहेको छु । अर्को कुरा पनि मलाई थाहा छ–तपाई जस्तो भाइहरूको माया पनि बटुलिरहेको छु नि त मैले !
गुस्ताकी माफ होस् तर, ईश्वर वल्लभले दिएका ‘बिम्ब कवि’ को बोझले कहिल्यै थकाएझैँ लाग्दैन ? या, यसैमा सुखानुभूति महसुस होइरहन्छ ? ‘बिम्ब कवि’ हुनु भनेको के रहेछ ? कस्तो रहेछ ? दाजू, बिम्ब एक उत्सुकता हो कि चमत्कारिता ? या अरू नै केही ? अक्षरको खेत, सरगमको मूल, गलाको नदी, सृजनाको आँखाबारे मलाई जान्न मन छ है (उत्कण्ठा बिम्ब कविता) !
आदरणीय अग्रज कवि ईश्वर वल्लभले मात्र होइन राष्ट्रकवि माधव घिमिरेज्यूले पनि मलाई बिम्बकवि नै भन्नु भएको छ । मैले पछि महसुस गरेँ यो त बोझ होइन– मैले गरेको कर्मको सिङ हो । आफ्नै कर्मले पलाएको सिङ कसैलाई पनि भारी हुँदैन जस्तो लाग्छ मलाई । भाइ तपाई आफै कविता लेख्नु हुन्छ, मैले भन्दा बढी देशी विदेशी कविहरूको कविता पढ्नु हुन्छ, तपाईलाई के हो जस्तो लाग्छ बिम्ब ? मेरो लागि त बिम्ब कविताको आत्मा हो, जसले हिँडिरहेको बाटोलाई कलात्मक बनाउँछ । पखालेर स्निग्ध र फराकिलो बनाउँछ । बालकहरूले चन्द्रमा देखेर समाउन प्रयत्न गरेर खुसी भएको जस्तो बनाउँछ । धेरै कुरा बनाउँछ ।
अलि एब्स्ट्रयाक्ट नै सही, एउटा प्रश्न सोध्न मन छ । तर, भूमिका यस प्रकार छ- ‘राष्ट्रिय प्रकृति संरक्षण कोष- अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना’ मा जागिर खानुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको परिषद् सदस्यमा नियुक्त पनि हुनुभयो । नेपाली कविताको इतिहासमा पहिलोपटक (वि.सं. २०६२ जेठ २२ गते पोखरा) टिकटमा एकल कविता वाचन कार्यक्रम पनि थालनी गर्नुभयो । पोखरा पानीरङको सहर हो पनि भन्नुभयो ।’ अब जोन एलियाको एउटा शेर सुनाउँछु, “और तो हम ने क्या किया अब तक, ये किया है कि दिन गुजारें है ।’ यतिखेर मलाई तपाईँको ‘जिन्दगी एक यात्रा’ कविता याद आइरहेछ । प्रश्न त बिर्सिएँ, उत्तर चाहिँ दिनु ल !
यी सबै जुन कुराहरू तपाईँले उल्लेख गर्नुभयो– मैले मेरो जन्म देखि मृत्यु भित्र पर्ने समयको यात्रा नै गरिरहेको छु । कसैको यात्रा सादा र रुखो हुने गर्दछ भने मेरो यात्रा अलि मखमली र कलात्मक छ फरक यत्ति हो । जुन कुरा गर्दा मलाई सम्झनेहरूले सम्झिरहने छन्, नसम्झनेहरुले बिर्सिगए पनि मेरो कुनै गुनासो रहने छैन ।

‘धेरै अध्यायमा विभाजित हुन् सक्ने जीवनको आफ्नै जस्तो लाग्ने जीवनको लासमाथि आगोको जिब्रोले थुक्न प्रयत्न गर्ने’ तपाईंलाई कहिलेकाहीँ ‘हजार सपनाहरू माया लागेर आउँछ, बाच्ने रहर जस्तो फेरी भएर आउँछ ।’ हाउ दाइ, यो पनि एउटा ‘नवीन बिम्ब’ भएन र ?
यी अभिव्यक्तिहरू र मन पर्ने गीतका हरफहरू समय समयमा आउने मनका भुल्काहरू हुन् । आगोको जिब्रोले थुक्न प्रयत्न गर्ने– मैले निर्माण गरेको बिम्ब हो भने, हजार सपनाहरूको माया लागेर आउँछ मेरो अग्रज कृत बिम्ब हो । त्यो तपाईँले नै मिलाएर बुझ्न जरुरी देख्छु ।
दाजू, ‘चलो इक बार फिर से, अजनबी बन जाएं हम दोनों’ गीत सुन्नु छ । झरी रोकिएकै छैन । कफी चिसिएको छ ।.. ‘वो अफ़साना जिसे अंजाम तक लाना ना हो मुमकिन, उसे इक खूबसूरत मोड़ देकर छोड़ना अच्छा’ । गीत सकिनै पो लाग्यो ।..
भाइ, म धेरै दुःख र सङ्घर्षले उठेको मान्छे हुँ । तपाई एकचोटी मसँग आएर भेट्नुहोस्, मेरो जीवनयापन हेर्नुहोस्, र मेरो जीवनमा लिखित र अलिखित पानाहरू पल्टाउने प्रयत्न गर्नुहोस् । मलाई विश्वास छ, तपाई एउटा पुस्तकको आवरण आफै आत्तिएर कोर्नुहुने छ । समय दिनु भएकोमा धन्यवाद छ ।