बिहिबार , मंग्सिर २१, २०८०

नेपालमा ‘सोलो ट्रेकिङ’ बन्द गर्नुको कारण के हो ? (भिडियाे)

तपाईँ आफैँ भन्नु न, पर्यटकहरू असुरक्षित हुँदा बढी आउँछन् कि सुरक्षाको ग्यारेन्टी हुँदा ? अफकर्स, सुरक्षाको प्रत्याभूति भएपछि पर्यटकको सङ्ख्या बढ्नेछन् । नयाँ टिम्स नीतिले पर्यटककाे सुरक्षाकाे प्रत्याभूति गरेकाे छ ।

image

सन् २०१९ को अन्त्यतिर सुरु भएको विश्वव्यापी कोभिड महामारीका कारण थला परेको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्किन सकेको छैन । विगत एक वर्षदेखि जारी रुस र युक्रेनबीचको द्वन्द्व, बीचमा देखिएको डेङ्गु, ई-भोला भाइरस लगायतका महामारी आदिले विश्व पर्यटन क्षेत्रलाई प्रभावित पारिरहेकै छ । यसका बाबजुद पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिन थालेको छ ।

महामारी कम हुँदै गएसँगै सन् २०२२ मा नेपालमा करिब साढे ६ लाख पर्यटक भित्रिए । सन् २०२३ को तीन महिनाको पर्यटक आगमनको तथ्याङ्कले भने निकै राम्रा सङ्केतहरू देखाएका छन् । यस वर्षको जनवरीमा करिब ५५ हजार पर्यटक नेपाल भित्रिएका छन् भने फेब्रुअरीमा ७३ हजारभन्दा बढी पर्यटन भित्रिएका छन् । मार्च महिनामा करिब एक लाख पर्यटक भित्रिएका छन् । निरन्तर उकालो चढ्दै गरेको पर्यटक आगमनको ग्राफले पर्यटन व्यवसायीहरू निकै हौसिएका छन् ।

हालसालै नेपाल सरकार, नेपाल पर्यटन बोर्डले नयाँ “पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) निर्देशिका २०७९” जारी गरेको छ । यसले “नो ट्रेकिङ विदाउट गाइड अर गाइड एण्ड पोर्टर” अर्थात् विना गाइड वा गाइड र पोर्टर दुवै विना पदयात्रा गर्न नपाइने नियम लागु गरेको छ । यसको अर्थ पर्यटक एक्लै पदयात्रामा जान नपाइने भन्ने हो । नयाँ निर्देशिका जारी भएसँगै टिम्स कार्ड पनि अनलाइन माध्यमबाटै जारी गर्न सुरु गरेको छ ।

यस्तो व्यवस्थाले पर्यटन व्यवसायी, मजदुर र पर्यटकलाई नै लाभ हुने दाबी गरिएको छ । यद्यपि, पर्यटक एक्लै पदयात्रामा जान (साेलाे ट्रेकिङ) प्रतिबन्ध लगाएको, पर्यटकको खर्च बढ्दा पर्यटक आगमनमा कमी आउने जस्ता विभिन्न खालका टीकाटिप्पणीहरू पनि भइरहेका छन् ।

नेपालको पर्यटन क्षेत्रको वर्तमान अवस्था, पर्वतीय पर्यटनका गतिविधिका साथै हालसालै नेपाल पर्यटन बोर्डले जारी गरेको “पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) निर्देशिका २०७९” लगायत विषयमा पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान)का कार्यसमिति सदस्य एवम् युवा पर्यटन व्यवसायी रामप्रसाद बन्जारासँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ:

नेपालको पर्यटन क्षेत्रको हालखबर कस्तो छ ?

चन्द्र जी, विश्वव्यापी कोभिड महामारीबाट थला परेको पर्यटन क्षेत्र बिस्तारै उठ्दै छ । महामारी कम भएपछि सन् २०२२ मा पचास प्रतिशत भन्दा बढी रिकभर भएको थियो । सन् २०२३ को जनवरी र फेब्रुअरीको तथ्याङ्कलाई हेर्ने हो भने निकै आशालाग्दौ देखिएको छ । जनवरीमा करिब ५५ हजार पर्यटक नेपाल भित्रिएका छन् भने फेब्रुअरीमा ७३ हजारभन्दा बढी पर्यटन भित्रिएका छन् । अफ सिजनमा पनि त्यतिको सङ्ख्यामा पर्यटक भित्रिनुलाई निकै सुखद सङ्केतको रूपमा लिएका छौँ । मार्च महिना भर्खरै सकिएको छ । तथ्याङ्क सार्वजनिक भएको छैन । वसन्त ऋतुको पर्यटन सिजन पनि सुरु भएकाे हुनाले पर्यटक आगमनमा वृद्धि भएको अपेक्षा गरेका छौँ । तपाईँलाई थाहा छ, पछिल्लो समय नेपाल सरकारले पनि पर्यटनलाई विशेष प्राथमिकता दिन थालेको छ । यो निकै खुसीको कुरा हो । जे होस् नेपालको पर्यटन क्षेत्र उठ्दै छ चन्द्र जी, वी आर कमिङ ब्याक स्लोली ।

पर्वतीय पदयात्रा पर्यटनको अवस्था चाहिँ कस्तो छ ?

पदयात्रा पर्यटनको कुरा गर्नुपर्दा सबैभन्दा महत्त्वपूर्ण चाहिँ भर्खरै हिजो अप्रिल फर्स्टदेखि नै नेपाल सरकार, नेपाल पर्यटन बोर्डले “नो ट्रेकिङ विदाउट गाइड अर गाइड एण्ड पोर्टर” को नयाँ नियम लागु गरेको छ । पदयात्रा पर्यटनका लागि यो ठुलो उपलब्धि हो । हामी (टान) लगायत विभिन्न पर्यटन सम्बद्ध सङ्घसंस्था तथा व्यवसायीहरूले विगत एक दशकदेखि यसका लागि पहल जारी राखेका थियौँ । अहिले माग पुरा भएको छ । नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) निर्देशिका २०७९ जारी गरेको छ र हिजो (अप्रिल १) देखि नै लागु भएको छ । यो भनेको चाहिँ पर्वतीय क्षेत्रमा जाने पर्यटकहरूको लागि सेफ्टी मेजर हुन् । पर्वतीय पर्यटनका गतिविधिहरू पनि बढ्दै छन् । समग्रमा पर्वतीय पर्यटन क्षेत्रको अवस्था राम्रो हुँदै गएको छ ।

भर्खरै नयाँ टिम्स लागु भएको छ । यसले ट्रेकिङ कम्पनीहरूलाई फाइदा हुने र गाइड पोर्टरहरूले पनि रोजगारी पाउने, पर्यटकहरू पनि सुरक्षित हुने भनिएको छ । तर, खर्च बढ्ने भएपछि नेपाल आउने पर्यटकको सङ्ख्या घट्ने विश्लेषणहरू पनि भइरहेका छन् नि ?

हो, यस्तो टिप्पणीहरू पनि सुनिएका छन् । तर, यस्ता खालका विश्लेषणले नेपालको पर्यटनको विकासमा बाधा उत्पन्न गर्न सक्छ । हाम्रो पहलमा अहिले नेपाल सरकारले लागु गरेको नयाँ टिम्स पर्यटकहरूको सुरक्षाको लागि हो । पर्यटकहरूको सेफ्टी मेजरमेन्टको रूपमा हामीले यो अवधारणा ल्याएका हौँ । यसले यहाँका पर्यटन व्यवसायीहरू, मजदुरहरू पनि बाँच्ने र पर्यटकलाई पनि बचाउने काम गर्दछ । अझ भन्ने हो भने हामी क्वालिटी टुरिजम (गुणस्तरीय पर्यटन)को कुरा गर्दै छौँ नि । हो, यो नयाँ टिम्स नीतिले क्वालिटी टुरिजमको अभिवृद्धि गराउने छ । पर्यटकहरूले राम्रो सेवा सुविधा र सुरक्षा पाउने छन् । हो, स्वाभाविक रूपमा पर्यटकहरूको खर्च बढ्ने छ । तर, त्यो खर्चले उनीहरूको सुरक्षाको प्रत्याभूति हुने छ । अहिले अनलाइनबाट अनुमति जारी हुन्छ । यसले कतैपनि अनियमितता हुन दिने छैन । हामीलाई थाहा छ, अस्ति एक हप्ता अगाडी मात्रै खुम्बु क्षेत्रमा स्लोभाकियाका एक नागरिकको लेक लागेर मृत्यु भएको । पर्यटकहरूले साथमा गाइड अथवा सहयोगी नहुँदा सामान्य ज्वरो आउँदा समेत ज्यान गुमाइरहेका छन् । केहिदिनअघि मात्रै कमलापास क्षेत्रमा एक जापानी पर्यटकले लडेर ज्यान गुमाए । यसले नेपालमा पर्यटकहरू सुरक्षित छैनन् भन्ने नराम्रो सन्देश गइरहेको छ । साथमा गाइड तथा पोर्टर भयो भने यस्तो अवस्था आउने छैन । चन्द्र जी, तपाईँ आफैँ भन्नु न, पर्यटकहरू असुरक्षित हुँदा बढी आउँछन् कि सुरक्षाको ग्यारेन्टी हुँदा ? अफकर्स, सुरक्षाको प्रत्याभूति भएपछि पर्यटकको सङ्ख्या बढ्नेछन् । अनि अर्को कुरा, अहिलेको नियमले नेपालको पर्यटन प्रवर्द्धनमा पनि स्वतः टेवा पुग्ने छ । किनकि गाइडहरूले नेपालको हावापानी, संस्कृति, इतिहास, सम्पदाहरूबारे ब्रिफिङ गर्नेछन् । यसबाट पर्यटकहरूले नेपालबारे थुप्रै जानकारी लिनेछन् र उनीहरूको देशमा फैलाउनेछन् । यसले पर्यटकको सङ्ख्या बढाउने छ ।

टानका पछिल्ला गतिविधिहरू के-के छन् ?

टानमा हाम्रो टिम निर्वाचित भएर आएको आठ महिना भयो । यस अवधिमा हामीले थुप्रै कामहरू गरेका छौँ । भर्खरै जारी भएको नयाँ टिम्स हाम्रो उपलब्धि हो । विगत एक दशक अघि देखिको प्रयासले सार्थकता पाएको छ । अन्य नयाँ पदमार्गहरूको सम्भाव्यता अध्ययन गर्ने, पदमार्गहरूको अवस्थाको अध्ययन तथा सुधारका प्रयासहरू, टानको आन्तरिक व्यवस्थापन र सेवा प्रवाह लगायतमा काम गरिरहेका छौँ । नेपालको पर्वतीय पर्यटनको विकास र विस्तारका लागि प्रयासहरू गरिरहेका छौँ । पर्यटक, पर्यटन व्यवसायी र मजदुरहरूको हकहितमा गरिने कार्यहरू त छँदै छन् ।

नेपालको पर्यटन क्षेत्रका चुनौतीहरू के-के छन् ?

यहाँ थुप्रै चुनौतीहरू छन् । नीतिगत समस्याहरू थुप्रै छन् । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन भएपनि सरकारले त्यसअनुरूप प्राथमिकता दिन सकेको छैन । पर्यटन पूर्वाधारहरूको अवस्था लाजमर्दो खालको छ । विमानस्थललाई नै हेर्नुन, कस्तो भताभुङ्ग, लथालिङ्ग छ । सेवा प्रवाह त्यस्तै खत्तम खालको छ । यद्यपि पछिल्लो समय नयाँ पर्यटन मन्त्रीज्यूले केही प्रयासहरू थाल्नुभएको छ । तर, दुःखद के भन्दाखेरी कतिबेला सरकार परिवर्तन हुन्छ, भन्न नै सकिँदैन । परिणाम देखिनेगरी कसैले कामै गर्न पाउँदैनन् यहाँ । बाटोघाटोको अवस्था त्यस्तै छ । पर्वतीय पर्यटनको चुनौतीहरू पनि थुप्रै छन् । जस्तो कि रेष्ट्रिक्टेड एरियाहरूमा जानको लागि पर्यटकले अनुमति पाउनै गाह्रो छ । टिम्स कार्ड लिएर पनि पुनः सम्बन्धित निकायसँग अनुमति लिनुपर्ने बाध्यता छ । यसले पर्यटकहरूलाई स्वतन्त्र र सहज घुमफिर गर्नबाट वञ्चित गरेको छ ।

तपाईँ टानको इन्टरनेशनल डिपार्टमेन्ट कोअर्डिनेटर पनि हुनुहुन्छ, नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्न के कस्ता प्रयास भए ? नेपाल र नेपालको पर्यटनबारे विदेशी पर्यटकहरू के भन्छन् ?

म टानको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको संयोजक भएको हिसाबले मैले नेपालमा रहेका सबै देशका एम्बासेडरहरूसँग मिटिङ राख्ने योजना बनाइरहेको छु । त्यसैगरी भारतमा एम्बेसी रहेका देशका एम्बासेडरहरूसँग पनि भेट्ने योजना बनाइरहेका छौँ । र, त्यसका लागि हामी सिङ्गो टान लागिरहेको अवस्था छ । मैले डेनमार्कको एम्बासेडरसँग नेपाल आउनुभएको बेला एक चरण कुराकानी पनि गरिसकेको छु । हामीले छलफल गरेको विषयवस्तुलाई लागु गर्छु भनेर वचन दिनुभएको छ । एम्ब्यासीहरूले नेपालको बारेमा नेपाल पर्यटकहरूका लागि सुरक्षित छ, “नेपाल इज् अ सेफ कन्ट्री, इट इज अ बकेटलिस्ट डेस्टिनेसन” भनेर मात्रै उहाँहरूको वेबसाइटमा राख्दिने हो भने पनि नेपालको इमेज अर्कै बन्छ । पर्यटकहरू आउँछन् । हामीले त्यसो गर्दिनका लागि, नेपालको सकारात्मक प्रचार गर्दिनका लागि अनुरोध गरिहरेका छौँ । चन्द्र जी, तपाईँले उठाउनुभएको अर्को प्रश्नमा विदेशीहरू नेपाल र नेपालको पर्यटनबारे के भन्छन् भने “नेपाल यति राम्रो छ, माउन्टेनियरिङदेखि, हाइकिङ, र्याफ्टिङ लगायत एडभेन्चर, डे-टुर लगायत गतिविधिहरू सबै छन्, त्यस्तै कल्चर, पिपुल सबै राम्रा छन् ।” तर, उहाँहरूको रियाक्सन कस्तो पनि हुन्छ भन्दाखेरि नेपालमा कतै न कतै सिस्टममा समस्या छ । नीतिगत कुराहरूका समस्या छ । कतिपय सिस्टमहरू यस्ता छन् कि जुन पर्यटकहरूलाई दुःख पिडा दिनका लागि मात्रै बनाएका छन् । झन्झट मात्रै पैदा गर्ने खालका छन् । हो, यस्ता समस्याहरू सुल्झाउँदै अझै पर्यटकमैत्री नितिनियमको निर्माण गर्न विलम्ब गर्न हुँदैन ।

तपाईँ एक युवा पर्यटन व्यवसायी पनि हुनुहुन्छ, युवाहरूलाई केही सन्देश दिन चाहनुहुन्छ ?

सबैभन्दा ठुलो कुरा चाहिँ प्यासन हो । मेरो सवालमा पनि भन्ने हो भने मैले पर्यटन क्षेत्रमा लागेको एक दशक भयो । १६ वर्षको उमेरदेखि लागेको अहिले २६ वर्षको भइसकेँ । मेरो चाहिँ सानैदेखि पर्यटन क्षेत्रमा नै केही गर्छु भन्ने योजना थियो । प्यासन थियो । त्यही प्यासन अहिले प्रोफेसन बनेको छ । सबैभन्दा ठुलो कुरा इच्छा हुनुपर्‍यो । पर्यटन क्षेत्र अत्यन्तै विशाल क्षेत्र हो । सम्भावना बोकेको क्षेत्र पनि हो । त्यसैले यो क्षेत्रमा रुचि छ भने मव्जाले लाग्न सक्नुहुन्छ, भन्न चाहन्छु ।

अन्त्यमा, तपाईँलाई भन्न मन लागेका तर, मैले सोध्न भुलेका केही छन् ?

अन्त्यमा के भन्न चाहन्छु भने नेपालको आर्थिक विकास र समृद्धिको आधार पर्यटन नै हो । यसको विकास र विस्तारका लागि सबै क्षेत्र, तह र तप्काका व्यक्ति तथा निकायले सोच्न विलम्ब गर्न हुँदैन । अहिले हाम्रो दशक लामो प्रयासको प्रतिफल स्वरूप नयाँ टिम्स लागु भएको छ । यसले नेपालको पर्यटनमा निकै सकारात्मक परिणाम दिनेछ । हामी टान र व्यवसायीहरूको लामो समयदेखिको मागलाई सम्बोधन गरिदिनुभएकोमा नेपाल सरकार, विशेषगरी पर्यटनमन्त्री सुदन किराती ज्यू, मन्त्रालयका सचिव ज्यू, पर्यटन बोर्डका कार्यकारी निर्देशक, निर्देशज्यूहरू, टानका आदरणीय अध्यक्ष निलहरी बास्तोला ज्यू, अन्य सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरू, पर्यटन क्षेत्रका अन्य सङ्घसंस्था, व्यवसायी सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । मेरा विचारहरू सबैमाझ पुर्‍याउने अवसर दिनुभएकोमा तपाईँ र तपाईँको टिमलाई पनि धन्यवाद ।

भिडियो

सम्बन्धित समाचार