मुगुको पश्चिमी गाउँपालिका खत्याड क्षेत्रको जलाधारका लागि मुख्य प्राकृतिक स्रोत नै रारा ताल हो । रारा ताल प्राकृतिक रूपमा सुन्दर त छँदै छ । त्यस बाहेक रारा तालले उक्त क्षेत्रको जैविक विविधतालाई कायम राख्न केन्द्रीय भूमिका पनि खेल्ने गर्दछ ।
रारा तालले हरेक वर्ष यसको मौलिक सौन्दर्यको आनन्द लिन अनेकौँ पर्यटकहरूलाई आकर्षित गर्ने गर्दछ । बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको रारा तालमा हिमाली ट्राउट माछा तथा हाँस, जलेवाजस्ता चराहरू डुबुल्की मारेको दृश्यले राराको वातावरण नै भिन्न देखिन्छ । जेठदेखि आश्विन महिनासम्म विभिन्न फूलहरूले सजिएर रारा क्षेत्र स्वर्गकी अप्सरा जस्तै देखिन्छ । तालको वरिपरि फन्को लगाउन गोरेटो बाटो रहेको छ । रारा राष्ट्रिय निकुञ्जबीच घना जङ्गलको काखमा बसेको रारा ताल नेपालको मुख्य पर्यटकीय क्षेत्रका रूपमा पनि परिचित छ ।

रारामा बसेर मुगु सिस्ने, पातारासी र कान्जिरोवा हिमालहरूको दृश्यावलोकन गर्दाको क्षण शब्दमा वर्णन गर्न सकिँदैन । राराबाट पश्चिमतर्फ तीन घण्टा हिँडेपछि पुगिने मुर्माटपबाट राराको मनोरम दृश्य र सैपाल हिमालको अवलोकन गर्न सकिन्छ । नेपालको कर्णाली प्रदेश, मुगु जिल्लामा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठुलो र प्रसिद्ध ताल हो ।
रारा क्षेत्र मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्दछ । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाइमा अवस्थित छ । यसको वरिपरि १०६ वर्ग किलोमिटर क्षेत्रफलमा रारा राष्ट्रिय निकुञ्ज फैलिएको छ । उक्त निकुञ्ज भित्र पर्ने यस तालको लम्बाइ ५ किलोमिटर र चौडाइ करिब ३ किलोमिटर र गहिराइ १६७ मिटर रहेको छ । रारा तालको औसत गहिराइ नै १०० मिटर रहेको छ । ताल वरपर पाइने चट्टानहरू शिष्ट (Schist) र य्याम्फिबलाइट (Amphibolite) ले बनेका छन् ।
तालको दक्षिण-पूर्व कुनामा ठाकुरनाथको मन्दिर छ । ठाकुरनाथले आवश्यकता अनुसार बन्द गरेर वा खोलेर तालको सतह नियन्त्रण गर्ने गरेको स्थानीय बासिन्दाहरूमा विश्वास रहेको पाइन्छ । रारा तालमा बिसवटा सानातिना खोला कुलेसा मिसिन्छन् । तर रारा तालको पश्चिम छेउमा एउटा मात्र निकास छ । यही निकासबाट निस्केर पश्चिमतर्फ बग्ने क्रममा अन्य खोलाहरू मिसिए पछि उक्त खोला खत्याड खोलाको नामले चिनिन्छ । खत्याड खोला रारा तालबाट पश्चिमतर्फ बग्छ तथा अन्त्यमा कर्णाली नदीमा मिसिन पुग्छ ।
मुगुको पश्चिमी गाउँपालिका खत्याड क्षेत्रको जलाधारका लागि मुख्य प्राकृतिक स्रोत नै रारा ताल हो । रारा ताल प्राकृतिक रूपमा सुन्दर त छँदै छ । त्यस बाहेक रारा तालले उक्त क्षेत्रको जैविक विविधतालाई कायम राख्न केन्द्रीय भूमिका पनि खेल्ने गर्दछ । पानीमा तैरिने सानातिना वनस्पति, जीवाणु तथा लेउको विस्तृत जालो रारा तालमा रहेका माछा र जीवजन्तुहरूका लागि पोषणको आधार बन्ने गर्दछन् । रारा ताल कोणधारी (conifer) जङ्गलले घेरिएको छ । यस तालमा हिमाली ट्राउटका स्थानीय प्रजातिका तीन थरी माछाहरू पाइन्छन् । यस तालमा विश्वमा अन्यत्र कहीँ पनि नपाइने असला जातको हिमाली माछा पाइन्छ ।

तालको किनाराहरू नर्कट प्रजातिका बिरुवाहरू, झाडीहरू र दलदलमा हुने प्रजातिका बिरुवाहरूले घेरिएका छन् जसले पानीको सतहलाई कायम राख्न मद्दत गर्दछन् । रारा राष्ट्रिय निकुञ्जमा मात्रै १७० प्रजातिका वनस्पतिहरू पाइन्छन् । विभिन्न प्रजातिहरू मध्ये गुराँस, खैरो बाँज तथा सल्लाका धेरै प्रजातिहरू लोठसल्ला, गोब्रे सल्ला, धुपी चन्दन, आदि रहेका छन् । त्यसैगरी यहाँ धेरै औषधीय जडीबुटीहरू पनि पाइन्छन् जुन स्थानीयहरूले बिक्री र व्यक्तिगत प्रयोगको लागि जम्मा गर्ने गर्दछन् ।
रारा राष्ट्रिय निकुञ्ज धेरै दुर्लभ र लोपोन्मुख प्रजातिका वन्यजन्तुहरू जस्तै: हिमालयन कालो भालु, रातो पाण्डा, कस्तुरी मृग, चितुवा, आसामी बाँदर, खैरो ब्वाँसो आदिको वासस्थान पनि हो । नेपालका धेरै भागहरू झैँ रारा क्षेत्र पनि विविध पंक्षीहरुको समृद्ध वासस्थान हो । यहाँ २३० भन्दा बढी प्रजातिका चराहरू पाइन्छन् । जसमध्ये करिब ४९ थरी प्रवासी तथा स्थानीय चराहरू रहेको विश्वास गरिन्छ ।
रारा पुग्न हवाईमार्गको पनि सुविधा रहेको छ । नेपालगन्जबाट जहाजमा मुगुको ताल्चा विमानस्थल झरेपछि करिब २ घण्टा हिँडेर पनि रारा पुग्न सकिन्छ । रारा पुग्न काठमाडौँबाट जिप, बस तथा मोटरसाइकलमा करिब तीन दिन लाग्छ । काठमाडौंबाट नारायणघाट झरेर पूर्व पश्चिम राजमार्ग भएर पश्चिम लागे पछि बुटवल, दाङ हुँदै कोहलपुर पुगेर पहिलो रात बस्न सकिन्छ । कोहलपुरबाट पूर्व पश्चिम राजमार्ग छाडेर उत्तर लागे पछि बाँके बर्दिया सीमा, बर्दिया सुर्खेत सीमा पार गर्दै सुर्खेतका छिन्चु, वीरेन्द्रनगर, दैलेखका तल्लो डुङ्गेश्वर, रामघाट, शाहीज्युला, राकम कर्णाली, दैलेख कालिकोट सीमा दहीखोला हुँदै जितेगाडा, तिला नदी पार गरेर उक्ले पछि कालिकोटको सदरमुकाम मान्म बजारमा दोस्रो रात बिताउन सकिन्छ । मान्मबाट जुम्ला सडक समातेर पश्चिम लागे पछि पिली, तिलागुफा हुँदै कालिकोट जुम्ला सीमामा हिमा र तिला नदीको दोभानमा रहेको सानो नाग्म बजार पुगिन्छ ।
नाग्मबाट जुम्ला छाडेर नाग्म गमगढी सडक समातेर हिमा नदीको किनार हुँदै उत्तर लागे पछि जुम्लाको सिञ्जा उपत्यका, कनकासुन्दरी, भुलभुले तथा मुगुको पिना ताल्चा विमानस्थल पुग्न सकिन्छ । ताल्चा विमानस्थलबाट दायाँ ओरालो लागि सदरमुकाम गमगढी पुगेर वा बायाँ लागेर रारा ताल क्षेत्र भित्र नै वा विमानस्थल क्षेत्रमा तेस्रो रात बास बिताउन सकिन्छ । मुगु जिल्लाको सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करिब ४ – ५ घण्टाको पैदल यात्रा गरेपछि रारा ताल पुगिन्छ । नेपालगन्जबाट जहाजमा जुम्ला सदरमुकाम खलङ्गा विमानस्थल झरेपछि त्यहाँबाट करिब दुई दिन पैदल यात्रा गरेर रारा पुग्ने प्रचलन पनि निकै लोकप्रिय रहेको छ । जुम्लाबाट पैदल यात्रा गरी मुगु पुग्ने धेरै यात्रीहरू बाटोमा भेटिन्छन् ।