बुधबार , साउन ९, २०८१

पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको ऋषि पञ्चमी के हो ?

रजस्वलाका समयमा छाइछुई लगायत कुनै त्रुटि भएको अवस्थामा अरुन्धती सहित सप्तषिर्को पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइने शास्त्रीय वचन रहेको छ ।

image

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु (विशेष गरेर नारीहरू) ले मनाउँछन् । बिहानै उठेर स्नानादि नित्यकर्म सकेर ब्राह्मणलाई निमन्त्रणा दिई पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई १०८ वा ७ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो, पीना र खरानी आदि लगाई स्नान गर्ने गर्छन् ।

नेपालमा बिहानै नुहाउने र ३ सय ६५ वटा दत्तिवन टोक्ने चलन छ । रजस्वलाका समयमा छाइछुई लगायत कुनै त्रुटि भएको अवस्थामा अरुन्धती सहित सप्तषिर्को पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइने शास्त्रीय वचन रहेको छ । हरितालिका (तीज)को व्रत एवं पूजा आजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ ।

नेपाली र भारतीय हिन्दू समाजमा रजस्वला हुँदा भाँडा छुन नहुने, निश्चित प्रकारका काम गर्न नहुने, मन्दिरमा जान नहुने, सजिएर हिँड्न नहुने, उत्सव र धार्मिक कार्यहरूमा भाग लिन नहुने लगायतका प्रतिवन्ध छन् । ज्ञान, चेतना, हिम्मत र उत्प्रेरणाको अभावमा महिलाहरूले आफ्नै अपमानलाई जारी राखेका छन् ।

यदाकदा ‘यो हाम्रो गौरवपूर्ण संस्कृति हो’ भन्दै आफ्नै अपमानको बचाउ गर्ने महिलाहरू समेत देखिने गरेका छन् । र, महिनावारी हुँदा ‘प्रतिवन्धित’ कामहरू गरे अनर्थ होला, दुर्घटना या मृत्यु नै होला अथवा अर्को जन्ममा पशुयोनीमा जन्मन पर्छ भन्ने त्रासकै कारण अहिले पनि महिलाहरू आजका दिनमा महिनावारी बार्छन्। तिनका अघि विज्ञान सम्मत तर्कहरू हार्छन् । र, यसका पछाडि ‘अर्को जन्ममा पाप भोग्नुपर्छ’ भन्दै यस्ता तर्साउने रद्धी कथाहरू जिम्मेवार छन्:

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ ।  सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो ।  यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिए । यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास छ ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको छ ।

सम्बन्धित समाचार