अझै पनि पाठेघर खस्नुलाई लाजको विषय मानिन्छ ।
बुटवल, मुगु, सल्यान — ओमसतिया गाउँपालिका पड्खौलीकी ७२ वर्षे जानकी यादव भीम अस्पताल भैरहवाको स्त्री तथा प्रसूति रोग उपचार कक्षबाहिर पल्टिरहेकी थिइन् उनकाे सारीभरि रगत लतपतिएको थियो । उनी आफ्नाे नाति जयप्रकाश यादव र नातिनी बुहारी सिमानाकाे साथमा थिइन् भने यादव लामो समयदेखि बिरामी थिइन् ।
तर, उनको बिरामबारे उनकाे आफ्नै परिवार नै बेखबर थियो । ‘महिला रोग हो पेट दुख्छ भनेपछि सोधेनौं,’ नाति जयप्रकाशले भन्छन्, ‘आइतबारदेखि निरन्तर गन्हाउने पानी बगेपछि अस्पताल ल्याएका हौं ।’
उनको पाठेघर खसेर चौथो श्रेणीमा पुगेको रहेछ । लामो समय पाठेघर बाहिर भएकाले ठोसिएर रगत बगेको स्वास्थ्यकर्मी बताउँछन् । ‘शल्यक्रिया गरेर पाठेघर फाल्नुपर्छ । पाकेको भए अन्य जटिलता पनि हुन सक्छ,’ उनीहरू भन्छन्, ‘लामो समयदेखि रोग लुकाएका आमाहरू यस्तै जटिल अवस्थामा मात्रै आउनुहुन्छ ।’ मधुमेह र उच्च रक्तचाप भएकी उनलाई कसरी शल्यक्रिया गरेर निको बनाउने चिकित्सक आफैं अलमलमा छन् ।
सुत्केरी अवस्थामा धेरै गाह्रो काम गर्दा, गह्रुँगो भारी बोक्दा, खानपिनमा ख्याल नपुर्याउँदा पाठेघर खस्ने (आङ खस्ने) समस्या देखिने चिकित्सकहरू बताउँछन् । उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी समयमा यौनसम्पर्क राख्ने, पटकपटक गर्भपतन गर्दा पनि धेरै महिलाको पाठेघर खस्छ । पछिल्लो समय गर्भनिरोधक औषधिको अनियमित र मनपरी प्रयोगले पनि पाठेघर खस्ने समस्या हुने सक्ने चिकित्सक बताउँछन् ।
अझै पनि पाठेघर खस्नुलाई लाजको विषय मानिन्छ । धेरै परिवारले लाजकै कारण उपचारमा सहयोग गर्दैन । परिवारले सहयोग नगर्दा उपचारमा जानेको संख्या निकै कम छ । त्यसमध्येकी हुन्, रूपन्देहीको रोहिणी गाउँपालिका पोखरभिन्डीकी ओमकला हरिजन । उनले पाठेघर खसेको समस्या ३७ वर्षसम्म लुकाइन् । उनको १२ वर्षमा बिहे भयो । १४ वर्षमै आमा बनिन् । ३१ वर्षकी हुँदा ८ सन्तान जन्माएकी उनको त्यसबीचमै पाठेघर खसेको थियो ।
सुरुवातमा हिँडडुल गर्न समस्या भयो । त्यसपछि सहवासमा पनि गाह्रो हुन थालेको उनी बताउँछिन् । महिनाबारी बाहेकको समयमा पनि रगत चुहिने र डल्लो नै बाहिर देखिन थालेपछि पतिलाई सुनाइन् । उनलाई उपचार गर्नुको साटो अर्को बिहे गरे । गन्हाउने पानी बगेर नजिक मान्छे जानै नसक्ने भएपछि बुहारीले अघिल्लो जेठमा धकधई प्राथमिक स्वास्थ्य चौकीमा उनलाई लगेकी थिइन् ।
तराईका पाका महिला मात्र होइन उमेर छँदै पाठेघर खस्ने पनि धेरै छन् । लोकलाजका कारण उनीहरू भरसक शारीरिक पीडा सहेर पनि रोक लुकाउँछन् । त्यसको उदाहरण हुन्, मायादेवी गाउँपालिका मधुवनकी ३३ वर्षे बिन्दावती कहार । चार सन्तानकी आमा उनले कुनै बेला सुत्केरी हुँदा पनि कामबाट आराम र मिठोमसिनो खान पाइनन् । त्यसैबेला पतिले सहवास पनि गरिरहे । दोस्रो सन्तान जन्माएपछि नै उनलाई पाठेघरमा अप्ठेरो महसुस हुन थाल्यो । यही कारण, चौथो पटकको सुत्केरीका बेला उनको पाठेघर बाहिरै निस्क्यो । सहवासमा सकस हुन थालेपछि पतिले बारम्बार यातना दिन थाले ।
१० वर्ष रोग सहेर बसेकी उनी गत वर्ष छिमेकीको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पताल आइन् । वैशाख पहिलो साता अस्पतालमा उनको पाठेघरको शल्यक्रिया भयो । ‘दुई दिन अस्पताल बसें सबै उपचार भयो । अहिले किन मैले यति वर्ष रोग सहेकी हुँला जस्तो लाग्छ,’ बिन्दावतीले भन्छिन् ।
चिकित्सकहरूका अनुसार पाठेघर खसेका बिरामीका चार श्रेणी हुन्छन् । पहिलो र दोस्रो श्रेणीको भए रिङ पेसरी लगाउने काम हुन्छ । तेस्रो र चौथोमा शल्यक्रिया गरिन्छ । पाठेघर खसेका महिलालाई उपचारमा सहजताका लागि सरकारले अस्पतालमा तोकेर निःशुल्क शल्यक्रिया र उपचारको व्यवस्था समेत गरेको छ ।
रोग लुकाउने भएकाले पाठेघर खस्ने समस्या भएका महिला कति छन् त्यसको तथ्यांक कसैसित छैन । तथ्यांक पत्ता नलागेकै कारण पाठेघर विरुद्धको चेतनामूलक कार्यक्रम गर्न पनि समस्या छ । पछिल्लो ५ वर्षयता बिरामी महिलाको पहिचानका लागि क्षेत्रक्षेत्रमा जनचेतनामूलक तथा पाठेघर उपचार शिविर राख्ने गरिएको छ ।
छायानाथरारा नगरपालिकास्थित रोवाकी ३७ वर्षीया बेलधरा बडुवालले १० सन्तानलाई जन्म दिइन् । १५ वर्षमा विवाह गरेकी उनका ५ छोरा र २ छोरी जीवित छन् भने अरू बाँचेनन् । १६ वर्षदेखि २५ वर्षसम्म बर्सेनि सन्तान जन्माउँदा लामो समयदेखि उनी तल्लो पेट दुख्ने, योनीबाट सेतो पानी बग्नेलगायत समस्याबाट पीडित छिन् । ‘एक गाग्री पानी बोक्दा पनि जीउ फत्रक्क गल्छ,’ उनले भनिन्, ‘रोगले शरीर सुकिसक्यो, पैसा पनि छैन, कसरी उपचार गराउने ?’
उनकी छिमेकी ३७ वर्षीया अइजेली ऐडीले त झन् १३ वर्षमै पहिलो सन्तान जन्माइन् । उनका पनि बर्सेनि १० सन्तान लगातार जन्मिए । तर ७ सन्तान बाँचेनन् । पतिको मृत्यु र ३ वटै छोराहरू मजदुरी गर्न भारत गएपछि घरमा उनी एक्लै छिन् ।
‘खाना पकाउने, खाने र सुत्ने काम मात्र भइरहेको छ,’ उनले भनिन्, ‘अरू केही काम गर्न सक्दिनँ ।’ आफ्ना लागि छोराहरूले खर्च पठाउने भएकाले अरू काम गर्नु नपरेको उनले बताइन् । उनमा ढाड दुख्ने, टुक्रुक्क बस्दा कठिनाइ हुने, दिसा–पिसाब गर्न गाह्रो हुने, योनिमा केही निस्केर बसेको जस्तो महसुस हुने, योनिबाट सेतो पानी बग्नेलगायत समस्या देखिन लागेको झन्डै डेढ दशक बित्यो । ‘मेरो भित्री व्यथाले शरीर सुकिसक्यो,’ उनले भनिन्, ‘छोराहरूलाई भन्न सरम लाग्छ, भने त इलाज गर्थे होलान् ।’
सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–१२ निगालचुलाकी ३८ वर्षीया एक महिलाले १६ वर्षको उमेरमा विवाह गरिन् । २१ वर्षको उमेरसम्म २ छोरा र २ छोरी जन्माइन् । पाँचौं सन्तान गर्भमै रहँदा उनको ४ महिनाको गर्भ तुहियो र पाठेघर बाहिर निस्केजस्तो अनुभव भयो । ‘त्यसपछि रक्तस्राव पनि भएको भयै,’ उनले भनिन्, ‘पति मजदुरीका लागि भारत गइसकेका थिए, लुकेर जँचाउन जाँदा आङ खस्ने समस्या रहेछ ।’ उनका पति अहिले पनि भारतबाट फर्किएका छैनन् । ‘पति उतै बेपत्ता भए, बूढा सासूससुरालाई कसरी भन्नु ?’ उनी भन्छिन्, ‘छोराछोरी हेरेर भए पनि रोग लुकाएर बसेकी छु ।’
जिल्ला स्वास्थ्य सेवा कार्यालयले पाठेघरको समस्याबाट पीडित महिलाका लागि वर्षमा कम्तीमा एकपल्ट शिविरको आयोजना गरिरहेको छ । तर गत वर्ष सञ्चालन गरिएको ३ दिने शिविरमा ३४ जनामात्र उपचारका लागि आए । ‘यहाँका महिलालाई श्रीमान्ले थाहा पाए अर्की श्रीमती विवाह गर्ने र सामाजिक घृणाको डर अहिले पनि छ,’ कालीमाटी गाउँपालिकाका स्वास्थ्यकर्मी भन्छन्, ‘महिलाहरूमा रोगसम्बन्धी गलत छाप पर्दा शिविरमा उपचार गराउन जानेहरूको संख्या न्यून भएको छ ।’