साझा प्रकाशनको प्रकाशन सङ्ख्या २०२५ सालमा २५२ भइरहेकोमा बढ्दै २०२६ सालमा २६६, २०२७ मा ३०७ र २०२८ सालमा ३७१ पुर्याएको पाइन्छ ।
वि.सं. १९७० सालमा भाषा, साहित्य, कला–संस्कृति र शिक्षाको विकासका लागि सरकारीस्तरमा स्थापना भएको गोरखा भाषा प्रकाशिनी समिति र पछि वि.सं. १९९० सालमा नेपाली भाषा प्रकाशिनी समितिको रूपान्तरित उत्तराधिकारी संस्था साझा प्रकाशन २०२१ साल मङ्सिर १७ गते स्थापना भएको हो ।
साझा प्रकाशन प्रकाशनको माध्यमबाट शैक्षिक विकास तथा बौद्धिक विस्तारमा लगभग शताब्दीऔँ अघिदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको साहित्यिक संस्था भएकाले यसले भाषा, साहित्य र वाङ्मयको श्रीवृद्धिका लागि राज्यलाई उल्लेखनीय सहयोग गर्दै आइरहेको छ । खास गरी शैक्षिक विकास र विस्तारका क्षेत्रमा प्रकाशन तथा वितरणको कार्य व्यवस्थित ढङ्गले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक बनाउँदै आइरहेको यस संस्थाले लेखक र पाठकका बीच सुमधुर सम्बन्ध स्थापित गर्ने सेतुको काम गरेको छ । २०२१ सालमा स्थापना भए पनि २०२४ सालबाट आफ्नो प्रकाशन कार्य सुरु गरेको साझा प्रकाशनले २०३५ सालदेखि आफ्नै छापाखानाको व्यवस्थापन गरी सेवा सुरु गरेको थियो ।
पठन संस्कृति विकासको सुरुवात :
शैक्षिक, वैज्ञानिक, संस्कृति सङ्गठनको सन् १९७० को वार्षिक साधारण सभाले सन् १९७२ लाई ‘पुस्तक वर्ष’ को रूपमा मनाउने निधो गरेको थियो । पुस्तक वर्षको नारा थियो –‘सबैको निम्ति किताब ।’
अन्तर्राष्ट्रिय स्तरमा आएको शैक्षिक जागरणसँगै अन्तर्राष्ट्रिय क्षेत्रका सङ्घसंस्थाले शिक्षामा पछाडि परेका मुलुकलाई सहयोग गर्ने तथा शैक्षिक गतिविधिलाई बढाउन अन्तर्राष्ट्रिय पुस्तक वर्ष सन् १९७२ को अवसर पारी युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगले पुस्तक वर्षसम्बन्धी एउटा बेग्लै समिति गठन गर्यो । उक्त समितिले नेपाल अधिराज्यभित्र ‘पुस्तक वर्ष’ मनाउन एउटा विस्तृत कार्यक्रम तयार पार्यो । यसै कार्यक्रमअन्तर्गत काठमाडौंमा ‘पुस्तक–प्रवर्द्धन तथा अध्ययनशीलतासम्बन्धी गोष्ठी’ को आयोजना साझा प्रकाशनबाट गराउने निर्णय गरेअनुसार उक्त गोष्ठीको आयोजनासम्बन्धी सम्पूर्ण व्यवस्था साझा प्रकाशनबाट गरिएको देखिन्छ ।
सन् १९७२ लाई पुस्तक वर्षको रूपमा मनाउनुको मुख्य उद्देश्यहरू निम्नानुसार रहेका छन् ।
१. लेखन र अनुवाद व्यवसायलाई बढवा
२. किताबहरूको प्रकाशन र वितरणका साथै पुस्तकालयहरूको विकास
३. पढ्ने बानीको विकास
४. शिक्षा, अन्तर्राष्ट्रिय समझदारी र शान्तिमय सहयोगमा योगदान गर्न पुस्तकहरूको उपयोग ।
सरकार पुस्तकको नीतिका सम्बन्धमा प्रस्ट नभएको अवस्थामा माथि उल्लेख भएका उद्देश्य र लक्ष्यलाई हासिल गर्नका लागि युनेस्कोले केही गहकिला सुझावसमेत पेश गरेको देखिन्छ ।
(क) पुस्तकहरूका सम्बन्धमा सरकारी नीति प्रस्ट प्रभावकारी र सुनियोजित हुनुपर्छ ।
(ख) पुस्तक–व्यवसायलाई उद्योगको रूपमा मानिनुपर्छ र यस उद्योग फस्टाउने सबै अवसर प्रदान गर्नुपर्छ ।
पुस्तकसँग सम्बन्धित लेखक, प्रकाशक, विक्रेता, पुस्तकाध्यक्ष आदिका अन्तर्राष्ट्रिय सङ्गठनहरूले युनेस्कोको सहयोगमा पुस्तक बडापत्र तयार गरेको देखिन्छ । नेपाल अधिराज्यसमेत सम्मिलित भएको युनेस्कोको साधारण सभामा अनुमोदन भएको पुस्तकको बडापत्रले
(क) हाम्रो देशको पुस्तकसम्बन्धी नीति प्रस्ट, प्रभावकारी र सुनियोजित पार्न र
(ख) पुस्तक व्यवसायलाई प्रवर्धन तथा संवर्धन गर्नुपर्ने उद्योगका रूपमा लिन बाटो पहिल्याउने आशा गरिएको थियो ।
सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक, सांस्कृतिक, औद्योगिक, वैज्ञानिक कुनै पनि क्षेत्रको विकास खालि शिक्षाको सहाराले मात्र हुन सकेको कुरा सर्वविदितै छ । शिक्षाको महत्त्व माने शिक्षाप्राप्तको साधन पुस्तक, पुस्तिका, अखबार पत्रिका यस्तै अरू सामग्रीहरूको महत्त्व पनि हो । खास शिक्षा त बुद्धि, ज्ञान र अनुभवका सामग्रीहरूको अध्ययन र मननबाट मात्र हुन्छ । कुनै देश विदेशमा घटेका घटना, संसारका कुनै कुना काप्चाबाट भएका नव आविष्कार कुनै अन्वेषकको नवभावना, नवविचार आदि थाहा पाउन पाठ्यसामग्रीहरूको अध्ययन र मननबाट मात्र सम्भव हुन्छ ।
इलोक्ट्रोनिक्सको प्रार्दुभावबाट आमसञ्चारको साधनको ठूलो र द्रुत विस्तार भए पनि पुस्तकलाई भरपर्दो, सजिलोसँग उपलब्ध गर्न सकिने र सङ्ग्रह पनि गर्न सकिने ज्ञानको भण्डार मानिन्छ ।
यस्तो उपयोगी र महत्त्वपूर्ण भएर पनि पुस्तकको उद्योग त्यत्ति बलियो र भरपर्दो व्यवसायको रूपमा नलिएकाले अवस्थामा पुस्तकको प्रवर्द्धन हुन सक्ने कुरै थिएन । कुन किताब कति बिक्ला भन्ने कुराको ठहर गर्न सकिने अवस्था नरहेको लाखौँ बिक्ने समृद्ध देशहरूमा पनि पुस्तक व्यवसायलाई अरू व्यवसायको तुलनामा धेरै पिछडिएको थियो । भनिन्छ, ‘राम्ररी बिक्ने एक पुस्तकले असफल भएका अन्य दस पुस्तकको नोक्सानी उपर गर्नुपर्छ ।’ त्यस स्थितिमा किताबलाई सस्तो र गुणात्मक पार्ने काम निकै चुनौतीपूर्ण देखिएको थियो ।
त्यस्तो चिन्ताजनक अवस्थामा किताब किनेर पढ्नुपर्ने र यो पनि दैनिक दिमागी कुरा हुन भनेर बुझ्ने नगण्य नै थिए । त्यस सन्दर्भमा सन् १९८० सम्म प्रतिव्यक्ति १८० पृष्ठ पाठ्यसामग्री प्रकाशित गर्ने लक्ष्य राखी युनेस्कोले नेपालमा पुस्तक प्रवर्द्धन तथा अध्ययनशीलताका क्षेत्रमा साझा प्रकाशनसँग सहकार्य गरी कार्य अगाडि बढाएको पाइन्छ ।
पुस्तकको मुद्रण र प्रकाशन सन्दर्भमा वि.सं. २०२९ सालसम्म पुस्तकहरू बाहिर मुद्रित भई नेपाल आउने गरेका तथा बाहिरका प्रकाशकहरूबाट आयत भई आउने गरे पनि नेपालमा देशभित्र मुद्रित हुन थालेका तथा देश भित्रकै प्रकाशकहरूबाट प्रकाशित पाठ्यपुस्तक प्रयोग गर्नेको सङ्ख्या विस्तारै बढ्दै गएको देखिन्छ । साझा प्रकाशनको प्रकाशन सङ्ख्या २०२५ सालमा २५२ भइरहेकोमा बढ्दै २०२६ सालमा २६६, २०२७ मा ३०७ र २०२८ सालमा ३७१ पुर्याएको पाइन्छ ।
पुस्तक लेखन र छपाई कार्य सम्पन्न भए तापनि त्यसको वितरणको कार्य यति संवेदनशील कार्य हो, जसमा उनान्सय प्रतिशत सफल भए तापनि एक प्रतिशतले ‘पल्टा’ ख्वाइदिन्छ । पुस्तक लेखन र प्रकाशनबाट प्राप्त हुने आम्दानी भनेको वितरण कार्य सम्पन्न भएपछि हो । नेपालमा अहिले पनि धरै स्थानहरूमा सडक राम्रो पहुँच नभएको अवस्थामा २०२९ सालतिर नेपालको भौगोलिक अवस्थाको अध्ययन गर्दा त्यस समयमा पुस्तक बिक्री वितरण कार्य गर्नु निकै चुनौतीपूर्ण थियो । पहाड र तराईको कुनाकाप्चासम्म पाठ्यसामग्री पुर्याउन राष्ट्रव्यापी वितरण व्यवस्था तयार गर्न त्यस परिस्थितमा मुनाफा खोज्ने संस्थाबाट हुन सक्ने कुरै थिएन । एकातिर कमाएको नाफाको पैसाले, अर्कोतिर नोक्सान राफसाफ पर्ने निस्वार्थी भाव राखी वितरण गर्ने संस्थाको अर्थात् संयन्त्रको आवश्यकता भयो । त्यसैले साझा प्रकाशनजस्तो संस्थाले वितरणको क्षेत्रमा पाइलो हाल्नु परेको देखिन्छ ।
नेपालका सबै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउनेदेखि देशका लेखक, साहित्यकार र प्रकाशकहरूका कृतिलाई सबै पाठकसामु सहज बिक्रीवितरणको कार्य अगाडि बढाएको पाइन्छ । नत्र प्रकाशनको मात्र काम गर्ने नेपाल भाषा प्रकाशिनी समितिको उत्तराधिकारी संस्था साझा प्रकाशनले वितरण जस्तो बोझिलो काममा हात हाल्ने कारण थिएन । हाम्रो जस्ता अविकसित देशहरूमा वितरण ठूलो समस्या देखेर ने युनेस्कोले प्रत्येक यस्ता देशमा एउटा ‘न्यासनल होलसेलर फर बुक्स’ (पुस्तकका लागि राष्ट्रिय स्तरको थोक विक्रेता) को परिकल्पना गरेको हो । नेपालमा त्यसै भूमिकामा साझा प्रकाशनले आफूलाई प्रस्तुत गरी मान्यता प्राप्त गरेको छ । यसैले अधिराज्यका धेरै प्रकाशकहरूले साझालाई आफ्नो वितरकको रूपमा अगाडि सारी लाभ प्राप्त गरेको छन् ।
पुस्तक सम्पदाको संरक्षण, संवर्द्धन र विकास आवश्यक मात्र नभई अपितु अनिवार्य ठानी पुस्तकको महत्त्वपूर्ण भूमिकाप्रति सबैको ध्यान आकृष्ट गर्न अन्तर्राष्ट्रिय पुस्तक वर्षको प्रमुख नारा ‘सबैको लागि पुस्तक’ सफल पार्न नेपालमा युनेस्कोले साझा प्रकाशनसँग सहकार्य गरी नेपाल सरकार तथा सरकारी निकाय र विभिन्न प्रकाशन संस्थालाई एकै थलोमा ल्याई गोष्ठी आयोजना गरेको थियो । २०२९ मङ्सिर ४ गतेदेखि ७ गतेसम्म भएको गोष्ठीमा विभिन्न उपसमितिहरूले तयार गरेको प्रतिवेदनहरू स्वीकृत गरेको थियो ।
नेपालमा लेखक, पुस्तक प्रकाशन र वितरण तथा पुस्तकालयको सन्दर्भमा भइरहेको अवस्थाको मूल्याङ्कन गरी भावी कार्यनीति बनाउन आवश्यक सहयोग तथा सहकार्य गर्नका लागि र साक्षरताको वृद्धि गर्न गरिएको उक्त गोष्ठी सन्देशमूलक र दिशाबोधक रहेको थियो ।
साँच्चै नै साझा प्रकाशनले आफ्नो स्थापनाकालदेखि नै नेपालको शैक्षिक क्षेत्र तथा देशका सर्जक जन्माउन गरेको कार्य निकै मर्मस्पर्शी र सोचनीय छ, यो लेखकहरूको आफ्नै घर भएको छ । शैक्षिक चेतनाको खासै प्रभाव नपरेको बखत भएको त्यस गोष्ठीमा प्रस्तुत विचारहरू निकै पथप्रदर्शक तथा अहिलेसम्म पनि देशलाई हिँडाउने बौद्धिक वर्गको लागि प्रेरणाको स्रोत बनेको कुरा दई मत छैन ।
प्रथम राष्ट्रिय पुस्तक प्रदर्शनी
एकातिर गोष्ठीको आयोजना भयो भने अर्कोतिर मिति २०२९।८।४।१ देखि २०२९।८।७।४ सम्म राष्ट्रिय सभागृह काठमाडौं, विराटनगर, नेपालगन्ज, पोखरा वीरगन्ज, भैरहवा, जनकपुर, राजविराज, बागलुङ, महेन्द्रनगर, जुम्ला र दाङमा एकैसाथ सम्पन्न भएको पुस्तक प्रदर्शनी साझा प्रकाशनले सानो अवधिमा नै गरेको निकै प्रशंसनीय काम हो । यो नेपालमा शैक्षिक जागरण ल्याउने कामको सुरुवाती जड हो । राष्ट्रिय सभागृह काठमाडौंमा भएको उक्त पुस्तक प्रदर्शनी भने निकै खोजमूलल र अन्वेषणात्मक रहेको पाइन्छ । उक्त प्रदर्शनी कक्षलाई चार भागमा विभाजन गरिएको थियो ।
क. पहिलो कक्ष
दुर्लभ नेपाली पुस्तकहरू र केही प्रसिद्ध लेखकका पाण्डुलिपि प्रदर्शित गरिएका थिए । यस कक्षका सबै सामग्रीहरू मदन पुरस्कार पुस्तकालयबाट प्राप्त भएका थिए ।
ख.दोस्रो कक्ष
यस कक्षमा अत्यन्त प्राचीन एवम् दुर्लभ हस्तलिखित लिपिहरू, स्वर्णाक्षर, रजताक्षर आदि प्रदर्शित थिए । पुस्तक र लिपिको विकासम्बन्धी सामान्य ज्ञानको लागि उक्त कक्ष राखिएको थियो । यस कक्षका समस्त सामग्रीहरू पुरातत्त्व विभाग अन्तर्गत राष्ट्रिय अभिलेखालयबाट प्राप्त भएका थिए ।
ग.तेस्रो कक्ष
यस कक्षको पनि आफ्नो विशेषता थियो । नेपालका सम्बन्धमा बाहिरका लेखक र प्रकाशकबाट प्रकाशित पुस्तकहरूको ठूलो सङ्ग्रहमा थियो । यस सङ्ग्रहमा मुख्यतया हिन्दी, अङ्ग्रेजी, र फेन्च भाषाका नेपालसम्बन्धी पुस्तकहरू थिए । यस कक्षमा प्रदर्शित सबै पुस्तकहरू श्री शिवप्रसाद श्रेष्ठबाट प्राप्त भएका थिए ।
घ.चोथो कक्ष
यस कक्षमा आधुनिक नेपाली साहित्यको बृहत् प्रदर्शनी गरिएका थियो । यस प्रदर्शनीमा प्रायः सबैजसो प्रकाशकहरूले आ–आफ्ना साहित्यिक प्रकाशनहरू प्रस्तुत गरेका थिए । यस अतिरिक्त प्रवासबाट प्रकाशित केही नेपाली साहित्य पनि प्रदर्शित गरिएका थिए ।
नेपाली पाठक र प्रकाशकहरूको आपसी सहयोग र श्रमले नै पुस्तक प्रदर्शनी रुचिकर र सफलतापूर्वक सम्पन्न भएको देखिन्छ ।
साझा प्रकाशनले पठन संस्कृति विकास गर्नमा र देशको समग्र शैक्षिक उत्थान गर्न गरेका काम निकै ऐतिहासिक र अहिलेको समाजलाई डोर्याउने कडीको रूपमा लिन सकिन्छ भने स्रष्टालाई आफ्नो प्रतिभा देखाउन र त्यसको संरक्षण गर्ने काम गर्दै आएको छ । त्यसैको फलस्वरूप अहिले नेपालमा जुन रूपमा पुस्तकको विकास भइरहेको छ, त्यस महत्त्वपूर्ण श्रेय साझाको हो । साझा प्रकाशनका त्यत्ति वेलाका पदाधिकारीहरू हुनुहुन्छ, उहाँहरूको त्यत्ति वेलाको दृष्टिकोण, त्याग तथा कार्यसम्पादनमा देखिएको गहकिला जिम्मेवारी तथा योजनाबद्ध कार्यक्रमको उपज नै नेपालको भाषा साहित्यको उत्थानका लागि त्यति धेरै काम भएको हो ।
त्यसै समयदेखि नै साझा प्रकाशनले विभिन्न प्रकाशन संस्थासँग समन्वय गरेको हरेक वर्ष पुस्तक प्रदर्शनी आयोजना गर्दै आएको छ । साझा प्रकाशन लेखक, साहित्यकार, पाठक, बुद्धिजीवी, विद्यार्थी वर्गलाई एकै थलोमा प्राज्ञिक जमघट गराउने व्यवस्था मिलाएको छ । लेखक र पाठक बीच साक्षात्कार गराउने मेसो मिलाएको छ । यसबाट नेपालमा पठन संस्कृतिको विकासमा केही मात्रामा भए पनि टेवा पुगेको छ ।
हुन त साझा प्रकाशनले पुस्तक दिवसको अवसर पारी कुनै पनि अपौचारिक कार्यक्रम गरेको पाइँदैन । तथापि पनि यसै क्रममा यसले शैक्षिक क्षेत्रमा गर्दै आएका विभिन्न सेवाका साथै पठन संस्कृति निर्माण वा पढ्ने बानीको विकास, पुस्तकमा जनताको पहुँच, चेतना अभिवृद्धि र ज्ञानको स्रोत सङ्कलनमा अवसर, पाठक र लेखकबिचको सम्बन्ध विस्तारका लागि विगतझैँ यस पटक २०७९ वैशाख १ गतेदेखि १५ गतेसम्म काठमाडौंमा केन्द्रीय कार्यालय पुलचोक ललितपुर, प्रदर्शनीमार्ग र प्रज्ञा भवन कमलादी (नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा) तथा साथै देशभर रहेका साझा प्रकाशनका कार्यालयहरूमा विशेष पुस्तक प्रदर्शनी भइरहेको छ ।
पठन संस्कृति निर्माण र व्यवसाय प्रवर्द्धनकै सिलसिलामा साझा प्रकाशनले ‘ज्ञान आर्जन आफ्नो अधिकार पुस्तक माथि पहुँच’ का लागि पाठकहरूको यस्तो सेवा प्रदान गर्ने काम गर्नु साझा प्रकाशन निकै प्रशंसनीय काम हो । तर, पुस्तक प्रदर्शनीलाई जुन रूपमा व्यवस्थित र बढीभन्दा बढी स्तरीय पुस्तकहरू राख्नु पर्ने हो ,त्यसमा केही कमी भएको छ । यस्ता कमीकमजोरीलाई आगामी वर्ष सुधार गर्दै लैजानु नितान्त आवश्यक देखिन्छ ।
अन्तमा, यसरी साझा प्रकाशनले पठन संस्कृति विकास गर्न गरेको यो महत्त्वपूर्ण कार्यका लागि नेपाल सरकार शिक्षा मन्त्रालय, संस्कृति मन्त्रालय, स्थानीय विकास मन्त्रालय तथा नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका निकायले साझा प्रकाशनसँग सहकार्य गरी साझा अझ प्रवर्द्धन गरी भाषा साहित्य तथा संस्कृति क्षेत्रमा अझ बढी काम गर्न सकिन्थ्यो । पुस्तक प्रति युवा पाठक सङ्ख्या बढिरहेको छ । साझा प्रकाशनले आफ्ना सबै कृतिको संरक्षण र सबै स्रष्टाका पुस्तक प्रकाशन कार्यलाई व्यवस्थित सबैका लागि ज्ञान आर्जनको बौद्धिक खुराक उपलब्ध गराउने कार्यमा अगाडि बढ्नु पर्छ ।
सन्दर्भ सामग्री:
पुस्तक प्रवर्द्धन तथा अध्ययनशीलता सम्बन्धी गोष्ठीको कार्यपत्र २०२९ ।
साझा प्रकाशनबाट प्राप्त विभिन्न टिपोटहरू ।
सुशीलचन्द्र अधिकारी