काठमाडौं । सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गर्ने क्रममा उक्त जानकारी दिएका हुन् ।
नेपाली सेना, प्रहरी, शिक्षकलगायतका सबै राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन गर्न तलब वृद्धि गरिएको अर्थमन्त्री शर्माले बताए ।
साथै राष्ट्रसेवक कर्मचारीले यसअघि पाउँदै आएको महँगी भत्तालाई पनि निरन्तरता दिएको उनले जानकारी दिए ।
आगामी साउनदेखि लागू हुने गरी सरकारले तलब बढाएको हो ।
त्यसैगरी सरकारले वृद्धभत्ताको उमेरहद घटाएको छ । यसअघि ७० वर्ष पुगेकाले मात्रै वृद्ध भत्ता पाइरहेकोमा अव ६८ वर्षमै वृद्ध भत्ता पाउने भएका छन् । सरकारले ६८ वर्ष पुगेकालाई वृद्ध भत्ता दिने बजेट कार्यक्रममा उल्लेख गरेको छ ।