बिहिबार , जेठ २१, २०८३

सर्दारको आँखा

image

– रबर्ट जोशी (रुबन)

चाहनालाई मूड चल्यो भने ऊ अल्यांग ढल्यांग गरेर बस्छे – क्लिनिक बन्द गर्ने सुरसार गर्दिन ।

बिगत एक महिनादेखि मैले उसलाई मेरो अप्रेशनमा सहयोग गर्ने नर्समा लिएको हूँ । काम गर्न थालेको एक हफ्ता भित्रै उनी क्लिनिकमा ‘ओभरटाइम’ गर्न राजी भईन् अर्थात् क्लिनिक सकिएपछि अप्रेशन टेबलमै प्यास र प्यारको चिरफार ।

नैतिकताको लेक्चर अहिले नै नदिनु होला । अलिक पछि एसको झन् जरुरत पर्ने छ ।

‘मूडमा छौ नि?’ मैले सोधें ।

चाहना मस्केको देख्नुभयो भने तपाईं विश्वामित्र भएपनि धोती फेरी अर्कै किसिमले कस्नु पर्ने हुन्छ ।

तर येस्पाली उनले मलाई धकेली दिईन् र आफ्नो काममै लागिन् ।

ढोका बन्द गरेरमात्रै रियल ट्राइ गर्छु भनेर म बाहिरी क्लिनिक कोठामा निस्किए । तर यौटा आश्चर्य पर्खिरहेको थियो मेचमा । ओह् दुइटा मेचमा । एउटामा एउटी सुन्दरी र अर्कोमा एउटा दारीवाला, अनुहार खतैखतले बिछ्यत भएको हेर्दै डरलाग्दो अधबैंसे पुरुष ।

‘कसरी छिर्नु भयो? क्लिनिक त बन्द भै सक्यो ।’ मैले भने ।

‘हो, तेही भएर छिरेका हौँ ।’  दारीवालाले भन्यो ।

हठात् मलाई शंका भयो कि इनिहरु लुटेरा वा एक्स्टोर्शन वालाहरु हुन् । शहरका माफियाहरुलाई हफ्ता त बुझाएकै थिएँ । तर यो शहरमा नया गुण्डाहरुको कमी थिएन ।

‘किन छिर्नु भयो?’ मैले पनि कडाइका साथ् सोधें । मेरा पनि सूत्रहरू थिए यस्तालाई ठाउँमा ल्याउन सक्ने । हेर्नुस, यो बदनाम शहरमा डाक्टरलाइ पनि गुण्डाको सहयोग चाहिने रहेछ । तैपनि सानो तिनो रकममात्रै हो भने लामो पंगा लिनु जरुरी छैन । ‘के खोज्नुभएको हो? पैसा?’

‘ओ, तेस्तो हैन डाक्टरसाब ।’ हेर्दा डरमर्दो भएपनि आवाज नरम गरेर त्यो पुरुष बोल्यो । ‘पैसा त म दिनेवाला छु हजुरलाई ।’ मलाई झन् शंका लाग्न थाल्यो । कुनै फसाउने किसिमको कुरा पो गर्दै होला यो मान्छे । ‘सुन्नुहोस डाक्टरसाब । मेरो नाम सर्दार ।’ उसले भन्यो अनि त्यहि एउटा वाक्यले सबै थोक भन्यो ।

अब भने यो व्यक्तीको सम्पूर्ण परिचय आँखा अगाडी नै आयो । सर्दार भेटिनु पर्ने व्यक्ति हुँदै होइन । ‘एकाबिहानै सर्दार भेटियोस्’ भन्ने त यौटा गालीको फ्रेज जस्तै थियो सभ्रान्त धनीहरुको ग्रुपमा । कुनै पनि ग्रुपमा आबद्ध नभएको भाडाको हत्यारा थियो सर्दार । एकछिन गौर गरेर हेरें – अनि मलाई निश्चय भयो कि मान्छे उही हो । सुन्नमा आएको थियो कि यो सर्दार एक्लै काम गर्छ र – नेपाल र भारत गरेर करीब दुई, तीन सय जनालाई आफ्नो अचुक निशानाको शिकार बनाइसकेको थियो ।

सुपारी लिएर हत्या गर्ने सबभन्दा खतरनाक मान्छे थियो । बजारमा हल्ला थियो कि उसले तिमीलाई सिध्याउन सुपारी लिएको तिमीलाई थाहा भयोभने तिमी सीधै भीरबाट हाम्फाल्न गए हुन्छ । आज सम्म कोही उसको हमलाबाट बचेको छैन । मेरो पैताला मुनिबाट जमीन खस्कन थाल्यो । कसले दियो सुपारी र किन भन्ने कुरामात्र घुम्न थाल्यो दिमागमा ।

‘कसले दियो सुपारी?’ मैले कामेको स्वरले सोधें । यो जनाउ दिन कि म एक्लो छैन – मैले चाहनालाई बोलाएँ ।

‘नाइँ नाइँ, पुरै गलत सोच्नु भयो डाक्टर साबले । ‘ सर्दारले आफ्नो गरुङ्गो सुटकेश बिसाउदै भन्यो । ‘तेस्तो

नसोच्नुस । कृपया सोच्दै नसोच्नुस्  । म त हजुरको सेवा लिन आएको हूँ । हजुर आरामले बस्नुस् र सुन्नुस् मेरो समस्या । बरु डबल शट कफी पिउनुस् । मलाई थाहा छ हजुर कफीको पारखी हुनुहुन्छ । ‘

अब भने अर्को छुट्टै समस्या के खडा गर्ने भो भन्ने सोच्दै थिएँ । सर्दार आफैं कफी मेशिनमा गएर एक कप कफी ल्याइहाल्यो । ऊ अचम्मसंग मेरो क्लिनिकमा एकदम परिचित भए जस्तो गरी पेश आइरहेथ्यो । बाध्य भएर म सोफामा बसें । तेतिन्जेलमा चाहना पनि आइन् र झन्डै बोकेको ट्रे खसालिन् ।

‘तिमि हौ नर्स?’ सर्दारले घुरेर उनलाई हेर्यो र उनले टाउकोमात्र हल्लाइन् । ‘तिमी पनि तेहाँ बस । ‘ सर्दारले आदेश दियो ।

‘मेरो कथा सुन्नुस् अब । सायद मलाई चिन्नु भयो नै होला । ‘ उसले मलाई अलिकति व्यंगात्मक हेर्यो । ‘भयो के भने – ओके – पचास बर्ष ठ्याक्कै पुगेँ हिजो ।’

‘ह्याप्पी बर्थ डे’ मैले पनि व्यंगको जवाफ दिनु उचित सम्झें ।

‘के ह्याप्पी हुनु । तर पनि धन्यबाद । ‘उसले आफ्नो एउटा पाउच उसकै त्यो केटीलाईदियो ‘अब तिमी राख यो काम नसकुन्जेल ।’ भन्यो उसले । कुनै पिस्तोल जस्तो आकारको वस्तु थियो भित्र । ‘एक हफ्ता अघि, जिन्दगीमा पहिलो पल्ट निशानामा चुकें म । सेठ हरिशरण । पढ्नु भयो होला नि । ‘ सर्दारले यसरी बोल्यो -मानौं सिनेमा हलमा टिकेट नपाको गुनासो जस्तो ।

मेरो पैताला फेरी चिसो भयो । सेठ हरिशरणको खबर सेलाएको कहाँ थियो र तर उसको हत्या त गोलीले हैन छुरीले भएको थियो – बिभत्स तरीकाले । हुन त कुन चाहिं हत्या बीभत्स नहुँदो हो र तर चौसठ्ठी पल्ट छुरी घोपिएको रिपोर्ट थियो ।

‘त्यो त स्ट्याबिङ्ग थियो नि । चौसठ्ठी पल्ट ! बिभत्स । ‘मैले बोलें ।

‘त्यहि त भन्दै छु । सुपारी लिएपछि काम त फत्ते गर्नै पर्यो । हजुर के बीचमै अप्रेशन छोडेर हिड्नु हुन्छ र? अलि अलि मेरो आँखाको पावर गडबडी जस्तो लागिराथ्यो केही समयदेखि । देख्नु भो नि – मेरो येही एउटा बायाँ आँखा त छ ।

दायाँ आँखा बच्चैमा अन्धो । निशाना सोधें – त्यो पनि नजीकैबाट । म जहिले पनि टाउकोमा निशाना लिन्छु । छातीमा भर हुँदैन । पढेको छु कि कसै कसैको मुटु दाहिनेपटि हुन सक्छ रे । ‘

‘हे भगवान । तेसो भए ती सेठलाइ …..’ के भन्ने भनेर म अलमलिएँ ।

‘मार्ने पनि मै हूँ । गोलि उनको कान पनि नछोई गयो । अलि बहिरा रेछन – केही सुनेनन् । तर जिन्दगीमा पहिलो पल्ट आफूलाई हत्यारा भएको महसुस गरेँ । गोलिले ढाल्दा – अर्कै कुरा थ्यो । मुख थुनेर चाकु पटकौं पल्ट वार पार गर्ने –

त्यो मेरो बशको काम हैन रेछ । अहिले पनि रिंगटा लाग्छ । माफ गर्नुस् यो भयानक चित्रणको लागि । ‘पसीनाले मेरो घांटीसम्म लथ पथ भयो । अब यो भन्दा अरु यो बिषयमा के जान्नु पर्यो र । अनि सोधें ‘अनि म बाट के चाहनुहुन्छ?’

‘तेही त । तेस्पछि सुपारीवाला पार्टिसंग पैसा लिएर घर गएँ । एकजना आँखाको डाक्टरलाइ देखाएँ । उसले भन्यो कि आँखामा मोतिबिन्दु छ । क्याटार्याक्ट । ‘ अनि दुइटै कुम उचाल्यो । ‘तेसैको लागि म आएको हूँ । ‘

‘लौ ! उही डाक्टरसंग किन गर्नु भएन त?’ मैले पनि अचम्ममान्दै सोधें ।

‘हे हे हे । डाक्टरसाब नहसाउनुस् न । कसैलाई सिध्याउनु छ भने तपाईं कसलाई सुपारी दिन जानु हुन्छ? त्यो

हवल्दारभाइलाई? दसवटा सुपारी लियो भने बढीमा छ वटा फोर्छ होला । पैसा त बढी लिन्छु म पक्कै – तैपनि तपाईं मै कहाँ आउनु हुन्छ – जसरी नि खोज्दै । तेस्तै हो । बुझ्नुभो होला ।’

‘हे भगवान्,’ सायद पहिलोपल्ट होला यो शब्द समेत निस्क्यो मेरो मुखबाट । ‘म डाक्टर हूँ महासय, भला म कसलाई मार्न चाहुँला?’

सर्दारले पहिलो पल्ट कन्ट्रोल गुमाए जसरी क्वारक्वार्ती हेर्यो – तेही मोतिबिन्दु भएको यौटा आँखाले । अर्को आँखा पनि हेर्दा सग्लो थियो – तर गौर गरेर हेर्यो भने अन्धो भन्ने थाहा हुन्थ्यो । ‘ओहो । ‘ अनि टाउको हल्लायो । ‘पेशाले फरक पार्दैन मार्ने चाहना वा आबश्यकता । मलाई थाहा छ । ‘

मलाई भने फेरी अर्को कालो शंकाले अँठ्यायो । सर्दार किन एक्कासी बदलिए जस्तो भयो । के कुनै अर्को डाक्टरले मेरै लागि त सुपारी दिएको छैन? साला सर्दारले गलत पक्कै भनेको छैन । मैले डाक्टरको एथिकल धमास दिए पनि मलाई कतिपय बेला त्यो डाक्टर पाठकलाई कसैले टप्काइदिये हुनी भन्ने नलागेको हैन । अब यसको पछाडीको कुरा नखोलूं – आफ्नै बेइजती हुन्छ ।

तेता बाट कुरा अब काम तिरै मोडें ।

‘सर्दार ज्यु । ‘ एकदम नरम भएर भनें ‘मोतिबिन्दुको अप्रेशन यसरी एक्कासी कसरी हुन सक्छ? फेरी तपाईंको एकमात्र देख्ने आँखा । यस्तो प्रेसरमा म कसरी गर्न सक्छु र?’

‘नो प्रेसर । कूल भएर गर्ने । हजुर भन्दा अर्कोले पनि त येस्तै भन्ने वाला छ । अनि फेरी मेरो परिस्थितिमा सोच्नुस् -समय लिएर सामान्य किसिमले कुन कुरा गर्न सकिन्छ र । ‘

‘कम्प्लिकेशन भयो भने तपाईं मलाई छोड्नुहुन्न । ‘ डराउँदै भनें ।

‘अब त्यो भन्ने समय गइसक्यो त । अप्रेशन नगराई त म तेसै पनि छोड्दिन हजुरलाई । सुन्नुस्-आफ्नो सीपले भ्याए जति गर्नुभएको छ भने दुर्भाग्यबश तेस्तो केही भएछ भने म बुझ्नेछु । हजुरलाई केही हुन्न यो कुराले । ‘

‘यो बुझ्नुस सर्दार ज्यु । यसको मतलब तपाईं पुरै अन्धो हुन सक्नु हुन्छ । जिन्दगि भरिलाई । ‘

‘बुझेको छु । तपाईंको मोतिबिन्दुको अपरेशनको मेजर कम्प्लिकेशन दर जम्मा पांच हजारमा एक । डाक्टर पाठकको दुई हजारमा पांच । ठिक छ -मान्छे डेस्परेट छ, अलिक जवान हजुर भन्दा – रिस्की केस लियो होला । तैपनि, उही त हो दोस्रो बेस्ट । यो सोच्नै नपर्ने कुरा हो डाक्टर । ‘

अब क्वारक्वार्ती हेर्ने पालो मेरो भयो । भाडाको हत्यारा हो जम्मा जम्मी – तर यो मूला कोहि तथ्यांक शास्त्री जस्तै कुरा गर्दै छ । अनि फेरी त्यो डाक्टर पाठकको कुराले घाउ बल्झाइदियो । राम्रो डाक्टर – कम्प्लिकेशन दर कम भएको डाक्टर म हुँदाहुँदै मेरी श्रीमतीभने त्यो पाठकसंग लसपस गरेको कुरा नसम्झी रहन सकिनँ  ।

सर्दारले पनि तेस्को नाम लिई छाड्यो । के छ येस्मा रहस्य?

यसरी सोच्दै जाने हो भने कुनै पनि राती निद्रा पर्ने वाला छैन । तेसैले मैले मेरो दिमागलाई हठात् बन्द गरे त्यो भुमरी बाट । बरु यो सर्दारकै मामिलाको कुरा गर्नु बेश ।

‘सुन्नुस – तपाईंको लेन्स झिकेपछि राख्नुपर्ने कृत्रिम लेन्स सकिएको छ । ‘ उसको आँखामा गहिरो हेर्दै मैले भनें ‘तपाईंलाई चौध मिलिमिटरको लाग्छ । मसंग साढे तेरको मात्रै छ । के गरूँ? आज आउनुपर्ने डेलिभरी आएको छैन । ‘

सर्दारले आकस्मिक रुपले चाहनातिर हेर्यो । मलाई अघि पनि उसले चाहनालाई ‘तिमि’ भनेको अलिक अप्ठ्यारो लागिरहेको थियो । चाहना बोलिन ‘ओह डाक्टर – मैले मगाएको थिएँ – सकिन लागेको भनेर । दुइ दिन अघि नै आएको छ । ‘ अनि घबराएको दृष्टिले सर्दारतिर अनि मतिर हेरिन् ।

‘आहा – बाठी रेछिन यिनी । तलब बढाइदिनु । ‘ सर्दारले हाँस्दै भन्यो ।

मलाई चाहिं यिनी बाठी भन्दा पनि डबल क्रस गर्ने जासुस जस्तो पो लाग्न थाल्यो । कसरी मलाई थाहै नदी सामान अर्डर गरिछन् । के हो – सायद तनाबले हो कि मलाई जो पनि शत्रु जस्तो लाग्न थाल्यो ।

अब अरु उपाय सकिए पछि – खतरा मोलेरै भए पनि यो हत्याराको आँखाको अप्रेशन गर्दैनै पर्यो । मैले चाहनालाई सामान ठिक गर्न भनें । यिनीसंग अब मलाई अलिक असजिलो लाग्न थालेको थियो । अब यो काम निप्ट्याउ तेस्पछि अरु कुरा गरुम्ला भनेर म पनि सामान जुटाउन तिर लागें ।

‘मलाई लोकल एनेस्थेसिया भए पुग्छ डाक्टर । नो सेडेटिभ । ‘ सर्दारले भन्यो जुन म अपेक्ष्या नै गरिरहेको थिएँ ।

अब गर्न पर्ने भएपछी तनावपूर्ण वातावरणमा किन गर्नु – झन् असफल हुन सक्ला – तेसैले वातावरणलाई अलिक हल्का बनाउन अलिक डिस्ट्र्याक्सन हुने खालका कुरा झिक्न मन लाग्यो । डाक्टरहरुको ब्यबसायमा समेत माफियाको बिगबिगी भैरहेको बेला सर्दार जस्तो मान्छेलाई कुनै गुन लगाउन सक्नु आखिरमा फाइदै हुन्थ्यो ।

‘एउटा कुरा सोधुँ?’ मैले भने-

‘उत्तर दिन हुने प्रश्न भए । ‘

‘यो काममा कुनै धक लाग्दैन? भगवान् मान्नु हुन्छ भने पापको डर लाग्दैन?’

सर्दारसंग आएकी युवती र चाहनाले उतर्सियेर म तिर हेरे । मनोविज्ञानको केही पक्ष्य मलाई पनि थाहा थियो नै ।

‘तपाईं पनि यौटा कुरा बुझिहाल्नुस् । ‘ सर्दारले कुटिल किसिमले मुस्कुराउन्दै भन्यो । ‘म तेसै मान्छे मार्दै हिन्दिन । एकदमै धेरै पैसा असुल गर्छु सुपारी दिने सित । ‘

‘सो?’ मैले अचम्भित भएर सोधें । ‘मबाट मारिनको लागि अमुक व्यक्ति कि त एकदमै धनी हुन पर्छ कि त एकदम मूल्यवान । तपाईं नै भन्नुस् कुनै नैतिकवान मान्छे तेस्तो हुन सक्ला?’

‘अनैतिक मान्छे चाहिं मारिनै पर्छ?’ यो मुलाको धारणा अनुसार त मलाई पनि टप्काउन योग्य मान्दो रहेछ । डाक्टर हूँ – तर नैतिकताको एउटा पाटो त चाहनाले उधारि सकेकी छ – भलै ऊ आफैं सर्दारको पो मान्छे हो कि भन्ने लागिरहेको छ ।

‘हा हा ! मलाई के थाहा? मेरो आफ्नै बिचारले संचालित छु म । मलाई उचित नलागेको केस म लिन्न । अब तपाईं

कालिमाटीको सडकको तरकारी पसलेलाई टप्काउन सुपारी दिनुहुन्छ भने – म दुई पल्ट सोच्छु । ‘

अनपेक्षित रुपमा डा. पाठकको सम्झना आयो । तरकारी पसलेलाई म किन सिध्याउन चाहन्थें र ! तर यो फेरी ल्याउन नहुने सोच हो । तेसैले मन अन्तै मोडें ।

‘ओहो’ मैले भने ‘दुइ पल्ट सोचे पछि के गर्नु हुन्छ?’

‘छोडिदिनुस डाक्टर । सोच्नै परेको छैन त किन टाउको दुखाउने? ‘ सर्दार हास्न थाल्यो । ‘तेती पैसा खर्च गरेर भला तपाईं किन तरकारी पसलेको पछि लाग्नुहुन्थ्यो । कोहि अर्कैमाथि खर्छ गर्नुहुन्थ्यो होला । ‘

‘कोमाथि?’ झसंग भएर सोधें

‘के जान्नु?’ उसले कुम उचाल्यो । सर्दारले पक्कै केही लुकाई रहेको छ – मलाई भान भयो । यद्यपी ऊ भन्ने वाला त छैन पक्कै ।

‘चाहना – उहाँलाई लुगा फेरिदियेर भित्र ल्याऊ त । ‘ सामान तयार भए पछि मैले भनें । आँखाको एउटा कुनाबाट हेर्दै थिएँ कि यो चाहना सर्दारसंग कसरी पेश आउञ्छिन ।

सर्दारले भने बमोजिम उसले ल्याएको ती महिलालाई समेत गाउन लगाइदिएर अपरेशन कक्ष्यमा गयौं ।

फटाफट तयार पारियो सब थोक । उसलाई टेबलमा सुताउनु अघि स्लिट्ल्याम्पमा उसको आँखा जांच गरेँ । ह्वास्स सुर्ती वा चुरोटको गन्ध आयो । अलिक नर्भस त भएकै हो म । यहि आँखा हो – त्यो पनि यौटैमात्र आँखा – जुन आँखा सयौं व्यक्तिको जीबनकै ज्योति बन्द गर्ने प्रमुख हतियार थियो । बन्दुक त यौटा साधन न हो । र बास्तबमै त्यो आँखाको नानीमा जानिदो मोतिबिन्दुले ढाकेको थियो । एउटा कस्तो मिश्रित भाब आयो भने – साला यो आँखा मैले

फेरी दुरुस्त पारेपछि यो दुर्दान्त हत्याराले कतिको ज्यान लिने होला? माथि चित्रगुप्त हुदा हुन् त तेस्मा मेरो समेत पापको भाग लगाउने होलान । उसो त मैले नगरे पनि कसैले त पक्कै गरि दि हाल्थ्यो – डा पाठक फेरी सम्झनामा आयो । उमात्रै आएन, मेरो श्रीमतीको तम्तामाउँदो चेहरा साथै लिएर आयो ।

भन्नुहोला म आफैं पनि कुन चोखो पुरुष हूँ र – सधै जसो चाहनासंग प्यास मेटायेरै घर पुग्ने हूँ – अनि तारा – मेरी श्रीमती – जता फर्केकी छिन् तेस्को उल्टोपटि फर्केर सुत्ने हूँ । तर तपाईंलाई थाहै छ – अदालतमा त आफ्नो बिरुद्ध बयान दिन कोहि बाध्य हुँदैन । अब यस्तोमा कसले आफूलाई गलत उभ्याउँछ?

टेबलमा सुत्न आँट्दा सर्दारले मेरो हात समाउन खोज्यो । ‘नछुनुस !’ मैले लगभग हकारें ‘म स्टेराइल भैसकेको छु । के भन्न खोज्नु भएको हो?’ ‘डाक्टर’ सर्दारले भन्यो – वा भनू धम्कि जस्तै दियो । ‘मैले बिस्वास गरेको हूँ – भ्रम हैन । ‘ ‘उसो त म पनि भगवान् हैन । ‘ मैले प्रष्टै भनें ।

‘भगवान् भाको भए किन आउंथे हा हा हा । मलाई अहिले हतार छैन तेता जाने । ‘ सर्दार हाँस्यो ।

सर्दार अप्रेशन टेबलमा सुत्यो । ‘गफ गर्दै गर्नुहोला अप्रेशन यदी डिस्टर्ब हुदैन भने । ‘ उसले भन्यो । सामान्य अवस्थामा गफ त के कुहिनोले चाहनाका पोटिला मकालुमा ‘आकस्मिक’ स्पर्श भैरहदा पनि कुनै असरबिना अप्रेशन सफल भै जान्थ्यो ।

चाहनाले सबै सामान मिलाएर अप्रेशनमा सहयोग गर्न तयार भईन । म फेरी अलिकति झस्किएँ – त्यो सेटअप अरु सामान्य दिनको भन्दा निकै फरक थियो । उनले यसरी मिलाएकी थिईन किमानौ निकै दिन देखि अभ्यास गरिरहेकी

छिन । मेरो उनि माथिको शंका झन् बढ्न थाल्यो ।

खैर चाहना यदी सर्दारको लागि काम गर्ने भए मलाई के हुन सक्छ – तिर सोच गयो ।

सर्दारको आखा वरीपरि लोकल एनेस्थेटिकको सुइ हाल्दा पनि खासै दुखेको जस्तो गरेन । कठोर अपराधी जो हो ।

‘कति लिनु हुन्छ भन्नुस न त । एकजनालाइ टप्काउन । ‘ मैले सुरु गरें येतिखेरको गफ ।

‘कुन एकजना?’ सर्दारले बोल्यो – र ड्रेपिङ्ग मुन्तिरबाट उसको ओठ चलेको देखियो पनि ।

‘ओहो । तेसो भए मुल्य फरक छ । मेनु नै होला कतै तपाईंसंग । ‘ मैले पनि थोरै हास्य मिसायें जुन निमेष भरमै गायब भैहाल्यो । ‘मानि लिउँ हाम्रा प्रधानमन्त्रिको । ‘

‘हा हा हा । विचरा प्रधानमन्त्रि । किन तेतातिर जानु हुन्छ । उदाहरण पनि काम लाग्ने नै होस् न । जस्तै – उही डा. पाठक । ‘

साला सर्दार पनि तेती दुरदर्शी जस्तो त लागेन । धारीलो चक्कु लिएर उसको एकमात्र दृष्टियुक्त आँखाको कर्निया काट्न छोएकोमात्रै थिएँ – ऊ चाहिं यस्तो कुरा गर्छ ।

उसलाई थाहा हुन पर्ने हो कि मेरो हात अलिकति धस्कियो भने ऊ सदाको लागि अन्धो हुन्छ ! रिभल्भर जस्तो केही मतिर सोझ्याएर उसकी त्यो एकदमै कमै बोल्ने तरुनी बसेकी थिई – तर ऊ दुर्घटनाको लागि बसेको हैन – मैले नै जानीजानी केही गरेजस्तो लाग्यो भने प्रतिक्रिया गर्ने होलि ।

‘डा. पाठक नै किन?’ मैले पनि सोधें – तर मलाई अप्रिय जवाफ सुन्नु पर्छ कि भन्ने कत्रो पीर थियो ।

‘अचम्म — किन अब – यौटा उदाहरण । हजुरले प्रधानमन्त्री किन भन्नुभएको त? कुनै व्यक्तिगत दुश्मनी त छैन होला ।’

फेरी झस्किएँ । व्यक्तिगत दुश्मनीको कुरा आइसक्यो ।

साँची भन्नु पर्दा – यदी मेरो दृष्टिकोणबाट हेर्ने हो भने डा. पाठक नै संसार छोड्न योग्य नम्बर एक हुन्थे ।

म त्यो दिन अस्पतालबाट तारालाई सुचना नदिकनै घर पुगेको थिएँ । तेस्तो ‘रंगे हात’ त पक्डेको हैन – तर चुकुल लगाएको घर भित्र तारा र डा पाठक रातो गुलाबी अनुहार लिएर बसेका थिए । गल्लीमा हल्ला त मैले पनि सुनेकै थिएँ ।

अब योभन्दा अरु ठुलो प्रमाण के खोज्न जान पर्थ्यो र । छोडी दिउँ यस्ता कुराहरु । अहिंसा भन्ने हतियार प्रयोग गरेर आफ्नो मनोविज्ञान जोगाएँ । नत्र कि त पागल कि त हत्यारा मद्धॆबाट एउटा छान्न पर्थ्यो आफूलाई ।

मलाई फसाउने खालको कुरा त हैन भन्ने लाग्दालाग्दै पनि डा. पाठकलाई धर्तीबाट बिदा गर्ने स्वैरकल्पनाले एकछिनलाई भए पनि मजा लिन मन लाग्यो ।

‘तपाईं जोर नै गर्नु हुन्छ भने भन्नुस् उनको सुपारी कति मुल्यको छ?’ आफैंलाई विश्वास लागेन कि म एस्तो बोल्दै थिएँ । डाक्टर हूँ । लुकेर अलि अलि मजा लिन्छु – अरुलाई खासै हानी नहुने गरी । मान्छे मार्ने परिकल्पना अहिलेसम्म गर्न सकेको गत देखिन थालिसकेको थियो ।

‘हाँ !! अब हुइ न बात !’ सर्दारले हिन्दि सिनेमाको स्टाइलले बोल्यो । ‘एक करोडको बाचा गर्नुस । पच्चीस अहिले बाँकी काम सकेपछि । तर पहिले आँखा ठिक हुन दिनुस् हा हा हा !!’

‘तेसरी नहास्नुस्’ मैले झिक्न लागेको लेन्सलाई अड्याउन्दै भनें । साँचै के खालको मुर्ख पो हो कि । तर उसको कुराको चुरो म बिस्तारै समाउदै थिएँ । सायद ऊ मलाई लोभ्याउँदै छ । लेन्स झिकेर एउटा प्लास्टिकको डिस्कमा राखेँ ।

‘एकदमै अपारदर्शी भैसकेको रहेछ त । कसरी देख्नुहुन्थ्यो – एताउती हिड्न समेत?’

‘मलाई हिड्नको तेती चिन्ता छैन । ‘ ऊ बोल्यो । ‘अब? पाठकको मोल ठिक लागेन?’

‘के जानु म’ मैले भने । एक करोड ! महँगो रेछ त साला हरामी पनि, मन मनै सोचें ।

एक्कासी हात खुट्टा चीसो हुने यौटा सोच जबर्दस्ती मनमा पस्यो । मेरो आफ्नै मुल्य पो कति होला? पाठकभन्दा त

निश्चय नै धेरै होला । कोहि त होला नि मलाई पनि धर्तीको बोझ ठान्ने । कोहि भनेर किन आफैंलाई ढाट्नु? पाठक नै छ अगाडी । म रहिन भने त उसको प्राक्टिस समेत चौगुना हुने! मेरो सुपारीको मूल्य त छ महिनामै उठाउँछ बजियाले । अनि बोनसको रुपमा तारा । शिट !! ताराको नामले अर्को उल्झन ल्यायो । स्वयम् तारा नै पनि त एस्तो कदम उठाउन सक्छे नि? पैसा ऊ संग छंदैछ – मेरो कमाइको अतिरिक्त पनि ।

सोच्दै जाँदा करीब-करीब आधाजति मेरा चिनेकाहरु मलाई येहाँ नराख्नु मै राम्रो हुने सोचका छन जस्तो लाग्यो ।

मनलाई दरिलो बनाएर सोधें सर्दारलाई । ‘नढाटि भन्नुस् – मेरो चाहिं कति छ? अनि कसैले कुनै पनि बेला तपाईंलाई मेरो सुपारी दिन आएको त छैनन्?’

ठिक तेती बेला म उसको लेन्स झिकेर कृत्रिम लेन्स अड्काउने ठाउँ सफा गर्दै थिएँ । नजानिदो किसिमले कुहिनु उसको छातीमाथि हल्का अड्याएर उसको धड्कन फील गर्दै थिएँ – झूठ पकड्ने यन्त्रको रुपमा ।

नभन्दै – जस्तै दुर्दान्त हत्यारा भएपनि सायद मुटुलाई ढाँटन गारो छ । जानिदो रुपमा उसको धड्कन तेज हुदै थियो । संगसंगै मेरो मुटु चिसो ।

सायद उसको रक्तचाप पनि बढ्यो – लेन्स राख्न पर्ने आखाको पाउचमा अलिअलि रगत आयो जुन चाहनाले सक्सनको मदतले तान्दै थिईन ।

‘डा. साहेब – तपाईंको सुपारीको मोल त तपाईं आफैंले पनि दिन सक्नु हुन्न होला !!’ ऊ हाँस्यो तर पहिलेको जस्तो उन्मुक्त हाँसो हैन ।’ अनि तपाईं जस्तो असल मान्छेलाइ को सुपारी दिन आउने?’

‘कोही आयो नै भने के गर्नु हुन्छ?’

‘अगि भने नि । नभएको कुरामा म चिन्ता लिदै लिन्न । अनि ढुक्क भएर काम गर्नुस डाक्टर साहेब । ‘

सर्दार एक्कासी मथ्थर भएको मैलेमात्र हैन चाहनाले समेत महसुस गरिन जस्तो लाग्यो । घरीघरी मेरो आखामा हेरेर केही भन्न खोजे जस्तो गर्दै थिईन । उनको यो डबल रोलको त म पछि हिसाब किताब गर्ने नै सोचमा थिएँ । यिनले फेरि ‘फ्लोर क्रस’ गरेर मेरो कित्तामा आउन लागेकी त हैनन् यो सब सुनेपछि?

‘ठिक छ सर्दार जी । ‘ कुरा अलिकति मोडेर मैले भने । अब आफूलाई नै सर्दारको निशाना बनेको कल्पना के गर्नु । ‘भन्न मिल्छ भने यो भन्नुस कि कसैको लागि कनट्र्याक्ट लिए पछि के गर्नुहुन्छ? सिधै गएर सिध्याउनु हुन्छ?’ सर्दार अलिकति चलमलायो – अर्थात यो प्रश्नले उसको सायद इगो घाइते गरायो ।

‘तेस्तो चाहिं कप्तानले गर्छ । ‘ सर्दारले छोटो हाँस्दै भन्यो । ‘के लाग्छ? तेती सजिलो हुन्छ यो काम? हतारमा गर्नुपर्ने काम म लिदै लिन्न । कम्तिमा एक महिना अध्ययन गर्छु मेरो निशानालाई । यो समय कामको प्रविधि मिलाउन मात्रै हैन ।

मेरो मान्यता यो छ कि उनीहरु यहाँबाट जानु अघि कुनै धोको छ भने पुरा गरुन् । तेस्को लागि समय दिने मात्रै हैन म परिबन्द समेत मिलाई दिन्छु ।’

‘के हो? गफ दिनुभएको?’ पत्याउन गाह्रो भएर सोधिहालें । भाडाको हत्यारा पनि निकै रबिन हुड गेम खेल्न खोज्दै छ जस्तो लाग्यो ।

‘त्यो सेठलाई काशी जाने धोको थ्यो । हुन्छन कोइकोइ अनौठो इच्छा राख्नेहरु । तर धेरैको धोको एउटै हुन्छ ।’

ठिक यही बेला अनपेक्षित रुपले चाहनाले फोर्सेप्स खसालिन । भाग्यबस अर्को सेट तयार राखेकि रहिछन् । उनको आँखा पनि छट्पट भए जस्तो अस्थीरसंग यता उता गरिरहेकी थिईन् – मेरो आँखामा हेर्न मानेकी थियिनन् ।

अहिले सम्मको भयानक लक्ष्यण मेरो आँखा अगाडी प्रष्टसंग खुल्न लाग्यो । सर्दारले भनेको कुरा बुझिहालें तेती त – धेरै जसोलाई एउटै कुरा अर्थात यौन तिर्सना हुन्छ । माफ गर्नुस – म पनि यो मामिलामा ‘एभरेज’ मान्छे हूँ ।

तेही सिलसिलामा एक महिनाअघि चाहनालाई उसले मेरो क्लिनिकमा पठायो । मेरो अन्तिम इच्छा पुरा गर्दै छ यो जनाब । शिट । कथाको पहेलीहरु एक-एक मिल्दै गए ।

हेर्नुस् – मैले अधिक सोचेको पनि हुन सक्छ तर सर्दारको आंडे दर्शन र चाहनाको अनपेक्षित क्रियाकलापले कुरा अलिक पेचिलो भएको थियो ।

एकछिन दिमाग सुन्य जस्तै भयो । कृत्रिम लेन्स हालिसकेको थिएँ । कर्नियालाई ग्ल्यु लगाएर जोडेपछि अप्रेशन सकियो पनि ।

मलाई लाग्दै थियो म आफ्नै चिहान पो खन्दै छु । हुन त अरु उपाय पनि के नै थियो र? बन्दुक तानेर अगाडी सर्दार कि सुन्दरी बसेकी थिई – यद्दपी मेचमा ऊ सायद उङ्ग्दै थिई । हबाइजहाज क्र्याश ल्याण्ड गर्ने पाइलटले जसरी होश गुमाउन मिल्दैन तेसरी नै मैले अपरेशनका अन्तिमका केही स्टेपहरु होशपूर्वक नै गरेँ । अनि एक महिनादेखि यौनकै सहारामा होस् – साथी बनेकी आफ्नै नर्स समेत सर्दारकै तलब खाने भएपछी षड्यन्त्र गहिरो र भाग्य सतही बनेको महसुस गरेँ ।

यद्दपी चाहना भने अलिक फरक हर्कत गर्दै थिई । सामानहरु मेरो हातमा राखिदिदा च्याप्प औंला वा हत्केला नै समाउँदै थिई । पहिले कहिले एस्तो गरेकी थियिनन । प्रायश दिनको अन्त्यमा पुरै नाङ्गै भएर सबैथोक समाउने हाम्रो रोमाञ्च छदै थियो अरु दिन त । यो तनाबको मिनेटमा उसलाई तातो चढेको त पक्कै हैन । एकपल्ट पुलुक्क फर्केर सर्दार कि उघिरहेकी केटीलाई हेरिन् चाहनाले अनि मेरो हात चिमोटी नै दिईन् । अब भने मैले केही बुझ्नै पर्यो ।

सर्दार तेतिखेर नै बोल्यो । ‘सब ठिक त छ डाक्टर?’ सायद केही बेरको सुन्यताले उसलाई शंका भयो कि? ‘तिमि निदायौ कि पोजिशनमै छौ माया?’ माया रेछ ती केटीको – नाम हो कि काम हो । झसंग भएर तिनले पनि ‘छु सर्दार’ भनिन ।

‘अन्तिम स्टेप अलिक नाजुक हुन्छ सर्दार जी ‘ मैले बोलें – आफ्नो स्वरलाई सकभर नकमायेर ।

‘ठिक छ ।’ ऊ बोल्यो ।

माया बिउझेर सतर्क भएकी थिई । तेसैले चाहनाले उति इशारा गर्न सकिन । तैपनि एउटा अर्को ड्रेप गरेको पोकोबाट अचम्मको सानो डिश निकाली । शिट । पेट्रि डिश । त्यो भाँडोमा स्टाफ़ाइलोकोक्कसको कोलोनी काठमाडौँ असन टोलको घरहरु भन्दा बाक्लोसंग हुर्की रहेको थियो । म विस्फारित नेत्रले उसलाई हेर्दै थिएँ । मैले – कारण नबुझे पनि –

कुरा त बुझी हालें । चाहना सर्दारसंग बदला लिन चाहन्छे – जे सुकै कारणले होस् । अप्रेशनको अन्त्यमा आँखाको भिट्रस ह्युमर भित्र त्यो ब्याक्टेरियाको कोलोनीले भरिएको इन्जेक्शन हालिदियेपछी सर्दारको काम तमाम हुन्थ्यो । यो त एकदमै सुझ – बुझ पुर्ण षड्यन्त्र थियो – मानेँ मैले चाहनालाई । इन्फेक्सन एउटा हुनसक्ने नै कम्प्लिकेशन थियो अनि यसरी खासै तयारी नगरी गर्न परेको अपरेशन ।

एकमात्र देख्न सक्ने आँखा भएको कसैमाथि आँखाको डाक्टरले यसो गर्नु भनेको हत्याभन्दा धेरै गुणा बढी अपराध हो । अनैतिक हुँला यौनको मामिलामा, अलि अलि पैसा कमाउने मामिलामा तर यस्तो अपराध कसरी गर्न सक्छु?

डाक्टरले लिने हिप्पोक्र्याटिक ओथको कुन धज्जी उड्छ? तेस्पछि म सायद बाँचुला तर कुनै रात निदाउन सकुँला?

तर के नैतिकता निरपेक्ष्य हुन्छ र? तीन सय भन्दा बढी मान्छे त एसले मारिसक्यो अनि अझै कतिलाई पो मार्ने हो ।

मेरो अप्रेशनको ट्रयाक रेकर्ड – दृष्टि ६ / ६ भिजन । के थाहा अब उप्रान्त एसले गर्ने हत्याको पापको अंश मलाई पो आउने हो कि? त्यो भन्दा पनि अर्जेन्ट कुरा त आफ्नै ज्यान । लगभग निश्चित नै भएको थिएँ कि सर्दार केही पछि मलाई नै निशाना साँध्दै छ ।

हेर्नुस् – यदी सर्दार मैबाट दृष्टि पाएर मलाई नै शिकार बनाउनुलाइ उसको इथिक्स भित्रै सम्झन्छ भने यो पुरानो भैसकेको हिप्पोक्र्याटिक ओथको डर मैले मान्न पर्ने छैन । भाइ – अब यो अहिलेको समय सेवाबाट युद्धमा परिणत भै सकेको छ । लडाइंमा सबथोक जाहेज हुन्छ – प्यारमा जस्तै – हैन र?

चाहना मेरो हातमा त्यो कोलोनीवाला सिरिन्ज जबर्दस्ती थमाउँदै थिईन । मेरो हात लगलग काम्न पो थाल्यो । ‘हैन डाक्टरको हात पो कामेको हो कि के हो?’ अनभिग्य सर्दारले सोध्यो ।

फेरी मैले आफूलाई अर्कै खालको निद्राबाट बिउझायें । ये के पो सोच्दै छु । म तेत्ती गिरी सकेको रहेछु? खैर सर्दारको आँखा बच्योभने सायद ऊ संग डील गर्न सकिएला । साला जसले सुपारी दिएको हो उसलाई नै उठाउने अर्को कनट्र्याक्ट गर्न कसो नसकिएला?

मेरो आफ्नै मन महाभारतको मैदान भैसकेको थियो – फरक के भने पक्ष्य र बिपक्ष्य दुइटै योद्धाहरु स्वयम् आफैं ।

सर्दार अलिक बेचैन हुन थाली सकेको थियो । समय अब धेरै थिएन निर्णय गर्ने ।

अन्त्यमा, मैले एउटा निर्णय लिएँ । र हातलाई स्थीर बनाएर त्यो निर्णय कार्यन्वयन पनि गरेँ ।

यती छट्पटि र नैतिकताको महायुद्धको पछि लिएको निर्णय म यती सजिलै हजुरहरुलाई कहाँ भन्छु र? बरु हजुरहरुले भन्नुहोस् आफू मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो? सबभन्दा खुंखार हत्याराको दृष्टि झन् राम्रो बनाएर अन्य कैयनको हत्याको भागेदार बन्नुहुन्थ्यो? अनि आफनै ज्यानमा दाउ खेल्नु हुन्थ्यो?

वा सो हत्याराको बचेको एकमात्र आँखालाई जानी जानी जिन्दगीभर अन्धो बनाएर पठाइदिनु हुन्थ्यो? हो नैतिकतालाई पिकनिकमा पठाउनु त पर्थ्यो – तर आफ्नै नैतिकताको मूल्यमा आफ्नो र सयौं अरुको पनि ज्यान बाँच्ने हुन्थ्यो भने नैतिकतालाई तिलान्जली दिनुहुन्थ्यो कि नाइँ?

अब हजुरलाई नै गाह्रो परेको यो निर्णय मैले भनिनँ भनेर चित्त नदुखाउनु होला ।

सम्बन्धित समाचार