पुरुषप्रधान समाजमा पत्नीको प्रयोजन भनेकै पतिको कुलाका लागि छोरा जन्माइदिनु हो ।
पुरुषप्रधान समाजमा पत्नीको प्रयोजन भनेकै पतिको कुलाका लागि छोरा जन्माइदिनु हो । पत्नीबाट जन्मिएको छोरो आफ्नै रहेको सुनिश्चित गर्न स्त्रीको यौनजीवनलाई कठोर अनुशासनमा राख्न पतिहरुले आवश्यक ठाने। यसका लागि पातिव्रत्यको महिमा गाएर पत्नीलाई सिर्फ पतिप्रति बफादार बन्न पे्ररित गरियो। प्रतिव्रता धर्मको कठोरतम रुप हो सतिप्रथा । यसले पत्नीलाई जन्मजन्मान्तरसम्म पतिको अनुगामिनी बन्न उक्साउने र बाध्य पार्ने दुवै काम गर्छ। पतिको मृत्युपछि पनि पत्नीलाई परपुरुषगामिनी बन्न नदिन उसको हत्या गरिदिन्छ।
यी नै विषवस्तुमा आधारित भएर लेखिएको सती पुस्तकका लेखक सुजित मैनाली हुनुहुन्छ। जसमा आठ अध्यायमा आधारित रहेर सतीप्रथा बारे विवेचना गरिएको छ भने सुरुको खण्डमा सती प्रथाको परिचय खुलाइएको छ । जुन निम्नानुसार रहेका छन्।
संस्कृत शब्द सत्को स्त्रीलिङ्ग रुप हो ‘सती’ । सतीको अर्थ पतिबाहेक अन्य पुरुषको कामना नगर्ने स्त्री, पतिव्रता, साध्वी भनी शब्दकोशमा उल्लेख छ । यसको अर्को अर्थमा पतिको शवसँगै चितामा जल्ने स्त्री पनि भनिएको छ । यो प्रथा कति प्राचीन हो कसैले किटेर भनेको छैन । तर हिन्दू धर्मशास्त्रमा उपलब्ध विवरण र अभिलेखीय प्रमाणका आधारमा अनुमान लगााउन चाहिँ सकिन्छ पनि भनिएको छ ।
पति बिनाकी युवती निरन्तर दुःखमा डुबिरहने भएकाले उनी वस्तुतः बाँचेकी हुँदिनन्, मरेतुल्य भएकी हुन्छिन्। त्यसैले पतिको मृत्यु भएपछि आफ्नो पनि मृत्यु हुनुमै नारीको हित छ भन्दै विभिन्न धर्मशास्त्रहरुले परिभाषा दिएका छन् । यस पुस्तकमा जति पनि सती प्रथा बारे परिभाषा दिइएका छन्, जति पनि धर्मशास्त्रहरुले तीनलाई उल्लेख गर्न खोजेका छन् ती पढ्दै गर्दा प्रायः सबै बकवास लाग्छन् ।
पत्नीलाई परपुरुषगामी बन्न नदिने पुरुष–कुन्ठाकै उत्कर्ष हो, सतिप्रथा । यसले पतिव्रता धर्मको महिमा गाएर स्त्रीलाई आजीवन पतिप्रति निष्ठामा रहन प्रेरित गर्छ । पतिको मृत्युपछि ऊ सँगै जलाएर वा उसकै नाममा पत्नीको हत्या गरिदिएर स्त्रीलाई परपुरुषगामी बन्नबाट पनि रोक्छ । तर वास्तवमा प्रेम र भक्तिकै कारण विधवाहरु सती गएका हुन्थे त उनीहरुलाई जबरजस्ती चितामा धकेलिएका उदाहरण इतिहासमा थुप्रै हुँदैन थिए होला ।
तर, इतिहासमा त्यस्ता विवरण थुप्ररै घटना पनि छन् जहाँ सतीहरुले राजीखुसीमै चितारोहन गरेका छन्। खासमा त्यो राजीखुसी भन्दा पनि स्त्रीहरुलाई युगौंदेखि पिलाइँदै आएको प्रतिव्रता धर्म नामक अफिमको प्रभाव थियो। त्यसको नशाले स्त्रीहरुलाई सानैदेखि यसरी लट्ठ्याइन्थ्यो कि उनीहरुको दिमाग केवल यिनै चार कुरामा एकोहोरिएको हुन्थ्यो- ‘पति, परिवार, सन्तान अनि चिता ।’
त्यसैले महिला माथि उनीहरुको इच्छा विपरीत यस्तो हर्कत गर्ने व्यक्ति, समाज आज पनि भइदिएको भए तेस्ता अपराधीहरुलाई सजाय हुन्थ्यो कि हुँदैनथ्यो होला ? आगोले सास फेर्ने प्राणी सबैलाई पोल्छ, पीडा दिन्छ । चाहे ती चिताबाट उम्किन् सकेका सती हुन् या बाँसले ठेलेर त्यहीँ दबाइएकाहरु । चाहे ती स्वेच्छाले चितामा सुतेका नारी हुन् या वा भौतिक दबाबले त्यसमा जबरजस्ती धकेलिएकाहरु।
सतीप्रथाले कालान्तरमा जे–जस्ता हाँगा हाले पनि यसको मुख्य नियत पत्नीलाई पतिप्रति निष्ठावती बनाउने नाममा उसको यौन–स्वतन्त्रतालाई सीमित गर्नु हो। प्रतिव्रता धर्मका नाममा स्त्रीलाई बँधुवा बनाउनु हो । यो किताबले यही विषयलाई जोड दिएको छ । अझ यस पुस्तकले गहिरिएर भन्न खोजेको छ कि महिनावारी अछुतीको प्रयोजन पनि नारीको यौन–जीवनको नियन्त्रण नै हो । महिलालाई छाउगोठमा राख्दा र अनिवार्य अलग्गै बस्नुपर्ने स्थिति बसाउँदा महिनावारीकै माध्यमबाट उनीहरुको यौनजीवन निगरानी गर्न सकिने पुरुषप्रधान समाजले ठानेको कुरालाई पनि प्रस्टाएको छ।
किशोरीहरुको शरीर छरितो र सुन्दर पार्न कम्मरदेखि वक्षस्थलसम्म काम्रो बाँधिदिने भेनेजुएलाको चलन, नारीको घाँटी लामो देखाइदिन धातुको चक्का लगाइदिने बर्माको चलन, नाकमा साना चक्का राखिदिएर पोरा ठूला बनाइदिने भारतको अरुणाचल प्रदेशतिरको चलन, अफ्रिकाका केही समुदायमा सौन्दर्य बढाउने विश्वासले नारीको ओठ काटेर बीचमा सानो चक्का राखिदिने चलन, नाजायज शारीरिक सम्बन्ध राख्ने नारीलाई ढुङ्गाले हानेर मार्ने वा परपुरुषलाई छोएबापत अविवाहिता नारी माथि कोर्रा बर्साउने मुलमान समुदाय भित्रका केही चलन, स्तन पुष्ट देखाउन गरिने कस्मेटिक सर्जरी आदि लगायत दाइजोको नाममा बुहारी जलाउने प्रवृत्ति, बोक्सीप्रथा, वेश्यावृत्ति, बुर्का–प्रथा, घुम्टो–प्रथा, बालविवाह, महिला बेचबिखनजस्ता नारीविरोधी चलन र अभ्यासमा पनि सतीप्रथाकै भाव सन्निहित रहेको यस पुस्तक बाट थाहा पाउन सकिन्छ ।
सम्रगमा पुस्तक धेरै नै पठनीय र फाइदाजनक छ । यति हुँदाहुँदै पनि पुस्तक पढ्दै गर्दा पछाडी पछाडीका खण्डहरुमा भने पहिले नै व्याख्या गरिएका कतिपय वाक्यहरु, घटनाहरु दोहोरिएको हो कि भन्ने भान हुन्छ । पुस्तक पढ्दै जाँदा पुस्तक लेखनमा धेरै मिहिनेत गरिएको प्रस्ट देखिन्छ । नारीका हरेक समस्या, पुरुषवाद र पित्तृसत्ताले हाम्रो समाजलाई कसरी लादिरहेको छ भन्ने कुरा पनि देखिएको छ तर यस पुस्तकले त्यसको विरोध गर्न भने कुनै शब्द खर्च नगरेको हो कि भन्ने पनि लाग्छ ।