सिमरौनगढलाई अहिले पनि प्राग ऐतिहासिक पर्यटनको केन्द्र मान्न सकिन्छ । भग्नावशेष मात्र छ, उपलब्ध प्रमाण आँसुमा डुबेको छ । अहिले सो क्षेत्र पहिले झैं व्यापक रूपमा आवाद गुलजार भएको छ ।
सुगौना वंश र मधुवन
तिब्बती यात्री धर्मस्वामी ई.सं. १२२६ मा भ्रमणको क्रममा सिमरौनगढ पुगेका थिए । उनले आफ्नो यात्रा वृतान्तमा सिमरौनगढको व्यवस्था, नागरिकको रहन सहन आदिको बारेमा धेरैकुरा लेखेका छन् । वीरोचित कार्यको अपेक्षा सिमरौनगढले राख्दथ्यो, दुस्मनसँग मोर्चा लिएर आवश्यकता पर्दा ज्यानको आहुति दिएर भए पनि मिथिला राज्यको उत्थान गर्ने चाहना राख्दथ्यो, यसैले त भन्ने गरिन्छ कर्णाटकवंशले मिथिला राज्यलाई चरम उत्कर्षमा पुर्याएको थियो । शुरवीरहरूको अभाव नभएको हुँदा कौशिकीदेखि पश्चिम, सदानीरादेखि पूर्व, शिवालिक पर्वतदेखि दक्षिण र गङ्गानदीदेखि उत्तरको विशाल भू–भाग नमुनाको रूपमा प्रगति पथमा लम्केको थियो । उहिलेका कुरा खुइले— ‘यो पुरानो भयो ।’
शब्दले नयाँ पुरानो बन्दैन । धर्मस्वामीको यात्रा वृतान्तअनुसार सिमरौनगढको सुरक्षा व्यवस्था निकै राम्रो, उत्तम तालिम प्राप्त सैनिक, अत्यधिक उत्पादन हुने गरेको उल्लेख छ ।
आज मधेशको मुद्दा, क्षेत्रीयताको नारा, जातीयताको अभिमान बोलिरहेको समयमा आजका स्वार्थी आँखाले विगतको यथार्थता बदल्न सक्दैन । बदलिन्छ तब, जब मानव मानव बीचको मूल्य बदलिने छ । नान्यदेवले आफ्नो राज्यको राजधानी सिमरौनगढको सशक्त किल्लाबन्दी गरेका थिए । आजपनि त्यसको अवशेष छ । यस्तो बलियो व्यवस्था युक्त राज्यमा रहने शूरवीरहरू वीरोचित कार्य प्रदर्शन गर्न अरिङ्गालको गोलामा पनि हात हाल्न पुग्थे । मलाई यता आएर के अनुभव भएको छ भने अरिङ्गालको गोलामा हात हाल्दा, सुखी–सम्पन्न–समृद्ध सिमरौनगढ ध्वस्त भयो । त्यसमा म लोभले लाभ, लाभले विलाप भएको पाउँछु । तिरहुत कलाको केन्द्र निश्चय नै थियो सिमरौनगढ । संस्कृति र कला जनताको निधि हो, तर जनताको निधि दायित्त्वमा नभएर खुसीयालीमा बाँच्ने गर्दछ ।
आज के छ सिमरौनगढमा ? तुर्क आक्रमणको चोटको परिचय दिने अवशेष छ । तुर्क आक्रमणको चर्चाबिना सिमरौनगढको कथा पूरा हुन सक्दैन । यानी ई.सं. १३२६ मा कसले कसरी आक्रमण गर्यो, चर्चा गर्नै पर्दछ । सिमरौनगढको नाम उच्च छ र यसको गुदी पत्ता लगाउने कुरो नै चासोको कारण बनेको छ ।
यता वर्तमान बाह्य स्वरूपको आँकलन गरी मनगढन्त कथा कथिँदै पनि छ । यसै क्रममा तिरहुत राज्य विनाशको कथा पाठक समक्ष राख्दै छु । परिणामतः तिरहुत राज्य शिथिल र दुर्वल हुनु र तुर्क सेनाको पहिलो प्रहार पनि झेल्न नसक्नुमा राज्य र जनता वीचको सम्बन्ध सुमधुर नहुनु नै हो भन्ने अनुभव भएको छ । दिल्लीका तुर्क बादशाह गयासुद्दिन तुगलकको फौज बंगाल विजयी भई फर्किरहेको थियो । उनीहरूसँग बंगाल लुटेको अथाह धनसम्पत्ति थियो । लस्कर निकै लामो थियो र गङ्गा नदीको किनारको बाटो दिल्ली फर्किदै थियो । यता तिरहुतका सेनाले अथाह धन–सम्पत्तिको कुरो थाहा पाए, मर्यादा परम्परा बिर्सिए र लुट्न चाहे । खुला क्षेत्र थिएन । लुकेर आक्रमण गरे, जे हात लाग्यो लिएर कुलेलम ठोके । निर्धक्कसँग बढिरहेको लस्करको एक छेउमा आक्रमण गरी लुट्न सजिलो हुन्छ । धेरै समस्या झेल्नु पर्यो तुर्क बादशाह गयासुद्दिनले । लुटेराहरू कहाँबाट आउँछन्, कुन ठाउँमा आक्रमण गर्छन् र कहाँ बिलाउँछन् जादु झैं लाग्दथ्यो । घना जङ्गल भएको हुनाले केही सोच्न सक्दैनथे । तुर्क बादशाह गयासुद्दिनले लुटेराहरूको भेद थाहा पाउन गुप्तचर पठाउने विचार गर्यो । गङ्गा नदीको किनारमा उपयुक्त स्थान खोजेर शिविर राख्न लगायो । धनलाई जोगाउन शिविर राखेपछि तिरहुतका लुटेराहरूको आक्रमण सहजै विफल तुल्याइदियो । मुद्रा–रत्न–धातु धन लुट्न पल्केकाहरू अवसरको खोजीमा थिए । गुप्तचर त दुबैसँग थिए । महान बंगाल विजयी तुर्क बादशाहका उम्दा गुप्तचरले साम–दाम–भेद नीति अनुसार लुटेराहरू सिमरौनगढ राज्यका भएको पत्ता लगाए र यो लुट राज्यको तर्फबाट नै नियोजित भएको जानकारी तुर्क बादशाहलाई गराए । साथै सो राज्य सम्पन्न हुनको साथै सामाजिक संस्कृति पनि उन्नत भएको जनाए ।
सिमरौनगढलाई ध्वस्त नपार्ने हो भने उनीहरूले आक्रमण गरी तुर्क सेनाको मार्ग अवरुद्ध गरी हानि पुर्याइरहने सत्य पनि गुप्तचरले प्रकट गरे । कुरा दिल्लीका तुर्क बादशाहको शिविरमा भइरहेको थियो । तुर्क बादशाह र वजिर बीच ।
बादशाह— “अँ त कुरा के भने, सिमरौनगढमा आक्रमण गर्ने योजना प्रस्टसँग भन ।”
वजिर— “अहिले म यसै भन्न सक्दिनँ ।”
बादशाह— “आक्रमणको लागि, त्यहाँको सामरिक स्थिति र जाने बाटो पूर्ण रुपेण थाहा गरेकै होलाऊ ।”
वजिर— “गुप्तचरले जति जानकारी गराएको छ, त्यतिमात्र थाहा छ । त्यहाँको सामरिक स्थिति र बाटो पहिल्याउन गुप्तचर पठाइसकेको छु ।”
बादशाह— “गुप्तचरलाई पनि धोका हुन सक्छ, यो तिमीलाई पनि थाहा छ । गुप्तचरको बारेमा शत्रु पक्षले थाहा पाएमा भ्रममा पार्न छल गर्न सक्छन् । कुन दिशामा छन् शत्रुहरू ? त्यो पत्ता लगाएर स्फूर्ति साथ आक्रमण गर्ने जिम्मा तिम्रो । हामीले कठोर लडाइँ लडेर बंगाल विजय गर्यौँ, केही दिन यहाँ सुस्ताऔं, शक्ति संचय गरौं, र यी जंगली तिरहुतलाई ठेगान लगाऔं । यो लडाइँ हाम्रो बाध्यता हो । हाम्रो थोरै नोक्सानीमा शत्रुको समूल नाश भने हुनै पर्छ ।”
वजिर— “गुप्तचरहरू फर्किएपछि म योजना बनाएर बादशाहलाई जानकारी गराउँछु । हाम्रो विशाल सेनालाई चार भागमा विभाजित गरी एक समूह बागमती नदीको किनारै किनार अघि बढी मधुवन भन्दा दक्षिण तर्फबाट पश्चिम जाने, दोस्रो समूह मगध जाने पुरानो बाटोबाट अघि बढी सिमलवन पुगी पूर्व लाग्ने, तेस्रो समूहमा म आफै हुनेछु र दक्षिण तर्फबाट आक्रमण गर्नेछु, अनि चौथो समूहमा यही शिविरमा रही शुभ समाचार सुनेर बादशाह बस्ने अनि नयाँ कुरा भए गुप्तचर मार्फत जानकारी गराउने यो उपाय नै मलाई सम्भव लागेको छ ।”
यो आक्रमणको योजना दुवैलाई उत्तम लाग्यो । गुप्तचरले दिएको जानकारी अनुसार समृद्ध राजधानी सिमरौनगढको वरिपरि ७ वटा सुरक्षात्मक पर्खालहरू छन् । यो पनि जानकारी गरायो कि लडाइँको लागि तिनीहरू पनि तयारी अवस्थामा छन् र सुरक्षा पर्खाल बाहिरका गाउँहरू विस्थापित हुने क्रम दिनहुँ बढ्दो छ ।
वास्तवमा विशाल तुर्क सेनालाई जिस्काउनु तिरहुतहरूको भुल थियो । सम्पूर्ण व्यवस्था मिलाएपछि योजनालाई मूर्त रूप दिन तुर्क सेना अघि बढ्यो । अघि बढेको तुर्क सेनाले जङ्गलमा बीस पच्चीस दिन भौँतारिँदा पनि सिमरौनगढ राजधानी भेट्न सकेनन् । यसो भनौ तुर्क सेनाले पहिलो सुरक्षात्मक घेरा घनारूपमा बाक्लो र लाइनबद्ध गरी लगाएको जङ्गल पनि भेदन गर्न सकेनन् यानि त्यहाँको बाटो पहिल्याउन सकेनन् । यसैको लागि व्यूह रचना गरिएको थियो । ढुङ्गा खोज्दा देउता भेट्टिए भने झैं तिरहुत राजा हरिसिंह देवबाट बेइज्जती गरी राज्य निष्कासन गरेका सुगौना (आइतियार) वंशी कामेश्वर ठक्कुर (ब्राहमण) र उनका परिवार तुर्क बादशाह गयासुद्दिनको सेवामा पुगे । तब बादशाहले तत्काल छरिएका तुर्क सेनालाई एकत्रित हुन खबर पठाए, अनि कामेश्वर ठक्कुरले बताएको बाटोबाट सेना लगी सिमरौनगढ आक्रमण गर्ने योजना बनाए । तुर्क सेना जम्मा भइसकेपछि कामेश्वर ठक्कुरको निर्देशनमा अघि बढ्यो । सजिलैसँग घना जङ्गलरूपी सुरक्षात्मक घेरा पार गरे । दोस्रो पर्खालको रूपमा राखिएको काँडादार झाडी आगोले डढाएर खरानी पारियो । भ्रममा पार्न बनाइएको ढिस्कोसँग कामेश्वर ठक्कुर परिचित थिए । त्यस ढिस्कोको बारेमा पूर्ण जानकारी राखेका थिए, श्रम खर्च नगरिकनै गुप्त स्थानबाट विशाल तुर्क सैनिक घेरा भित्र लगे । तीनवटा सुरक्षात्मक घेरा श्रमशक्ति र कामेश्वर ठक्कुरको स्मरण शक्तिको भरमा मात्र पार भए । चौथो घेराको रूपमा जङ्गलवीचमा गहिरा गहिरा खाल्टा खनिएको जानकारी कामेश्वर ठक्कुरलाई थियो तर त्यो कस्तो छ सो भने थाहा थिएन । चौथो घेरा पार गर्न केही तुर्क सेनाले बलिदान दिए । विशाल सेना पत्ता लागेका जति गहिरा खाल्टा पुर्दै राजधानी तर्फ बढ्यो । पाँचौ घेराको रूपमा ठूला ठूला २१ वटा पानी पोखरीहरू थिए ।
विशाल सेना पोखरी छेउबाट अघि बढाउनु त्यो पनि घनारूखहरू फँडानी गर्दै युद्ध सामग्री लैजानु पक्कै पनि सहज थिएन । यसकारण काँडायुक्त, लहरायुक्त रुख फँडानी गर्नु आवश्यक थियो र भयो पनि । पाँचवटा सुरक्षात्मक पर्खाल फतह गरुन्जेल कुनै पनि प्रतिरोध भएन । प्रतिरोध नहुनुको दुइटै अर्थ हुन सक्छ, डराएर चुपचाप भागेको या कुनै रणनीति अन्तर्गत शक्ति संचय गरी कठोर मुकावला या पछाडिबाट छपामार युद्ध ।
जङ्गलको बीच ठूला र झ्याम्म परेको रूखहरूलाई समेत बुर्जाको रूपमा प्रयोग गरिएको थियो ।
त्यहाँ सुझबुझ भएका मानिसहरू थिए–आफ्नो राज्यलाई उत्सर्गमा पुर्याउने महत्वाकाङ्क्षाको प्रेरणा स्वरूप गुप्त वुर्जाहरू बनाइएको थियो ।
साविकको स्थायी वुर्जाको बारेमा त कामेश्वर ठक्कुरलाई थाहा थियो, यस्तो गुप्त दुर्गको बारेमा भने कुनै जानकारी थिएन । गुप्त दुर्गबाट तिखा तीरहरू बर्सन थालेपछि तुर्कसेना पछाडि हट्न बाध्य भयो ।
यस्तो परिस्थितिको सामना कसरी गर्न सकिन्छ भन्ने प्रश्न बडो अप्ठेरो थियो । युद्ध मोर्चाका सेना नायकहरूले समाधान चाहेका थिए । निकैबेरको छलफल पछि निष्कर्ष निस्कियो । तुर्क सेनाले जङ्गललाई घेरेर आगो लगाउने । जङ्गल डढाउँदा दुईटा कुराको फाइदा हुने भो (१) गुप्त वुर्जाको अस्तित्व लोप हुने भो, र (२) तिरहुतहरूको ध्यान र शक्ति जङ्गली आगो निभाउन तर्फ लाग्ने भो । जङ्गलमा आगो लगाइयो, तुर्क सेनातर्फ बढ्न सक्ने आगो र सोबाट हुन सक्ने खतराको पहिले नै विचार गरिएको थियो ।
डढेलो बढ्दै गएपछि, सम्भव भए जति निभाउँदै तुर्क सेना पनि विस्तारै विस्तारै बढ्दै थिए । दैवको अगाडि कसको के ? जङ्गलको डढेलो गुप्त वुर्जाले छेक्न सकेन, त्यो आगो लागेको घेरा भित्र १० वटा पोखरी पानीले लवालव भरिएको भए पनि आगोको रापले गर्दा तिरहुतहरू पुग्न सकेनन्, यसो भनौं यस किसिमको नीति तुर्क सेनाले अपनाउँछ भन्ने सोचेकै थिएनन् । हरिसिंह देवले भने— “पतन हुन्छ, तर समाप्त हुनु भन्दा अघिसम्म बहादुरीसाथ लड्नै पर्दछ । यो सत्य हो कि म स्वयम् तुर्क सेनालाई जिस्क्याउने पक्षमा थिइनँ । हाम्रो रक्षा पङ्क्ति सुदृढ छ, कसैले भेद्न गर्न सक्दैन यो विश्वास हामीलाई थियो, तर ‘घरका भेदी लङ्का ढाए’ तिरहुतका शत्रु, हाम्रै जुठो पुरोमा दरबारमा हुर्किएको दगावाज कामेश्वर ठक्कुरको धर्मविरोधी, संस्कारविरोधी, संस्कृतिविरोधी र मातृभूमिविरोधी कुत्सित मनसायले यो खुसहाल समृद्ध राज्यको भविष्य के हुन्छ भन्न सकिन्न ।”
कुरो त्यही भयो । सिरौनगढमा परिवर्तन भयो । भन्न सक्दछौँ खुसहाल र समृद्ध सिमरौनगढ हेर्दा–हेर्दै भष्म भयो । पूर्व कौशिकी, पश्चिम गण्डकी सम्मको व्यवस्थामा परिवर्तन आयो, तिरहुतकाललाई समृद्ध भनी सङ्केत दिने मन्दिर, मूर्ति, महल सम्पूर्ण तुर्कका कोप भाजन भए । चामल राखिएको गोदाम घर डढेर चामलको ढिस्कोको रूपमा परिणत भयो । पहिले तिरहुत राज्यमा रहेकाहरू भाग्न थाले ।
सिमरौनगढलाई अहिले पनि प्राग ऐतिहासिक पर्यटनको केन्द्र मान्न सकिन्छ । भग्नावशेष मात्र छ, उपलब्ध प्रमाण आँसुमा डुबेको छ । अहिले सो क्षेत्र पहिले झैं व्यापक रूपमा आवाद गुलजार भएको छ । दिल्ली टाढा थियो त्यहाँबाट शासन गर्नु पक्कै सजिलो थिएन । गयासुद्दिन तुगलकलाई एउटा गतिलो मानिसको आवश्यकता थियो । एक मन त आफ्नै वंशका कुनै सेना नायकलाई जिम्मेवारी सुम्पिने विचार पनि उठ्यो । यो नयाँ क्षेत्र त्यो पनि पृथक धर्मका बिच जनता कज्याउन, हुन सक्ने सम्भावित विद्रोह रोक्न ठूलो सङ्ख्यामा सेना र सोही अनुपातमा रसद पानी समेतको व्यवस्था गर्नुपर्ने हुन्छ । जीवन–प्रवाह युद्धमय भएको तुर्क बादशाह मन्द बुद्धिका थिएनन् । केन्द्रीय शक्तिलाई विभाजन गर्दा अप्ठारो पनि पर्न सक्छ भनी सशङ्कित थिए । र उनी इस्लाम धर्मावलम्बीहरूको पनि यस क्षेत्रमा बस्ती बसोस् भन्ने पनि चाहन्थे । तुर्क शासनको आधिपत्य पनि बनिरहोस् र सालसालै आम्दानी पनि होस् भन्ने बाटो अपनाउने इच्छा राखे ।
आपसमा छलफल गरी बंगाल हमला गरी त्यहाँबाट बन्दी बनाई त्याएका काबुली मुसलमानहरूलाई आजाद गरिदिए र यसै क्षेत्रमा घरजम गरी बस्न उर्र्दी जारी गरे । र सहयोगी सुगौना (आइनियार) वंशका ब्राम्हण कामेश्वर ठक्कुरलाई दिल्लीको तर्फबाट राजा घोषणा गरे । करद राजा कामेश्वर ठक्कुरको आग्रहमा १५० को संख्यामा तुर्क सेना त्यहाँ रह्यो ।
हिन्दु राजा कामेश्वर ठक्कुरको राजसिंहासन उत्सवमा अपार जनसमुदाय एकत्रित भएको थियो । तिरहुतको इतिहासमा सुगौना वंशको शासन अवधिलाई अन्धकार युग भन्ने गरिन्छ । एउटा त्यो युग थियो देव नामधारी राजाहरू धर्मग्रन्थ अनुसार सबैको संस्कृतिलाई सम्मान गर्ने गर्थे, यसर्थ त्यस काललाई स्वर्णकाल भन्ने गरिन्छ ।
स्पष्ट छ आफ्नो सुझ बुझले, पराक्रमले बनाएको राज्यको कुरै अर्को । अरूले टिको लगाएर, दानमा दिएको राज्य–कसरी संचालन गर्ने ? अनुभव नहुनु स्वाभाविकै हो । तुर्क सेना र काबुली मुसलमान एउटै धर्मका थिए, केन्द्रीय सत्ता उनीहरूको भएको हुँदा छाडा साँढेजस्ता थिए । राज्य करको बहानामा चर्को शोषण गर्थे । पहिलेको जस्तो धर्मपूर्वक राज्य संचालन हँुदैनथ्यो । परिणामत, राज्यमा चोर, डाकु, लुटेराहरूको विगविगी बढ्नथाल्यो, जनताको हात पर्यो घोर अवसाद र क्लान्ति । दिल्लीका तुर्क बादशाह गयासुद्धिन तुगलक पनि मरे, कामेश्वर ठक्कुर र तुर्क सेनाहरू पनि मरे, तर सिमरौनगढ भने विरानको विरानै रह्यो । कामचोर सुगौना वंशमा को को राजा भए भन्दा पनि त्यस वंशलाई चिनाउने कुरो केही छ भने त्यसको खोजी गरौं । मेरो आफ्नो अध्ययनको भरमा समनपुर गाँउमा रहेको राजदेवी मन्दिरको छेउको इनारमा प्रयोग भएका इँटाहरू हेर्दा सोमा कुदिएको लिपि अरबी छ र सो इनार सम्भवत सुगौना वंशको पालामा निर्माण भएको हुनुपर्छ । जतिखेर राजदेवी मन्दिर छेउमा इनार बनाइँदै थियो, त्यतिखेर सो ठाँउको नाम, समनपुर नभएर मधुवन थियो ।
मधुवन र समनपुर नाममा के राखेको छ र ? तर मधुवन जस्तो ग्राम थियो, स्वादिलो मधुको लागि मधुवनले निक्कै नाम कमाएको थियो । आज त प्राचीन मधुवन वागमतीको गर्भमा बिलाउँदै जाँदैछ । त्यतिखेर वागमती ३ कि. मि. भन्दापनि पूर्वबाट बग्ने गरेको हुँदा मधुवनवासी निश्चिन्त भएर आफ्नो कर्ममा जुटेका थिए ।
तर सुगौना वंशको शासनकालमा मधुवन माथि पनि कालो बादल मडारियो । “राजाको अगाडि र घोडाको पछाडि” नजाने नीति लिएका मधुवनवासी मिठो महले अतिथिको सत्कार गर्न सदा तत्पर रहन्थे । कालो बादल पन्छाउन अठार दिनसम्मको विरोध गरेपछि करद राजा सुगौनाका लुटेराहरू अन्तमा पराजय बेहोरेर मधुवनबाट राज्य कर बाहेक अन्य कुनै कर पनि नलिने सहमतिमा विवाद सुल्झियो । सम्भव छ, सोही सहमति अनुसार अथवा मधुवनवासीलाई विश्वासमा लिन राजदेवी थान नजिक इनार बनाएको हुनसक्छ । ई.स. १५२५ तिर उक्त इनार निर्माण भएको समय अट्कलेको छु । मधुवनमा थुप्रै जातिका मानिस थिए । सबै मिलेर सद्भावपूर्वक एकै परिवारझैं रहेको कुरा आज पनि अनुभव गर्न सकिन्छ । (गरिमा ०६५ असोज)