त्यसताका सबैलाई थाहा थियो, आर्मीले लगेको मान्छे विरलै घर फर्किन्छ भन्ने । धेरै बेपत्ता भएका थिए । कोही शङ्काकै आधारमा सुतेकै अवस्थामा मारिएका थिए । कोही भात खाँदाखाँदै ज्यान गुमाएका थिए । कति उतै ब्यारेकमा गायब भएका थिए ।
देशमा संकटकाल थियो । सरकारलाई संकट थियो । सेनालाई थामिनसक्नु आपत् थियो । गाउँ सहरमा माओवादी युद्धको प्रभाव थियो । विकट भेग विद्रोही शक्तिको कब्जामा थियो । सहर रनभुल्लमा थियो । कतिपय दिनदु:खीलाई जनयुद्धले आशा देखाएको थियो । समता, समानता सम्पन्नता र सामाजिक स्वतन्त्रताको बाटो सिकाएको थियो । कतिलाई डरत्रास बढाएको थियो । सहर बजारका चोक चोकमा कम्ब्याट ड्रेस लगाएका हतियारधारी गुजुक्क थुप्रिएर बसेका हुन्थे । आकाशमा हरियो रङ्गको हेलिकप्टर दिनरात घुमिरहेको हुन्थ्यो । सडकमा देखिने ती हतियारधारीका ताँती अरू कोही नभएर देशका रक्षक थिए । सहरिया बचाउने सेना थिए । गस्ती-गस्तीमा सहर बजारका गल्ली चोक र सडक किनारमा लस्कर लागेर डुलिरहेका हुन्थे । मुहारभरि मोसो, हेल्मेटमा रुखको झार पात, दायाँबायाँ गोली गठ्ठा, काँधमा बन्दुक भिरिरहेका सिपाहीहरू कोही भेट्यो कि मारौँला भनेर डुलिरहेका हुन्थे । उनीहरूको हेराइ, सोधाइ र बोलाइ एकदम भयानक देखिन्थ्यो ।
उता गाउँमा त्यस्तै कम्ब्याट लगाएका, गोडामा गोल्ड स्टार कसेका, निधारमा तारे पट्टी बाँधेका जनमुक्ति सेना डुल्थे । कसैले क्रान्तिकारी भन्थे । राज्यले आतंककारी घोषणा गरेको थियो । उनीहरू धेरै भाषण दिन्थे, तालिम दिन्थे, नाचगान देखाउँथे, गाउँगाउँ घुम्थे । जनतालाई आफ्नो बनाउन कम्मर कसेर लागिपरेका थियो । कति रहरले उनीहरूसँग एक हुने जान्थे, कति करकापले । सामन्ती शासन विरुद्ध लडौँ भन्थे । देश बनाऊँ, जनयुद्ध जिन्दाबाद भनी गाउँगाउँ डुल्थे ।
रेडियो, टिभी, पत्रपत्रिकामा यति मरे उति मारिए, फलानो ठाउँमा हमाल भयो, हलानाेले आत्मसमर्पण गर्याे भन्ने समाचार मात्र बच्थ्यो र छापिन्थ्यो । त्यसताका देश त मार्ने र मर्नेको मात्र थियो । कोही सहरमा घुम्थे, कोही गाउँमा, कोही जङ्गलमा । मान्छे देख्नै नहुने ठाउँ ठाउँमा मानिसलाई लाइनमा राखेर सोधपुछ खोजतलास हुन्थ्यो । झोला देख्नै नहुने, खोलिहाल्ने । सुकिला मुकिलालाई त खासै दुःख दिँदैन थिए । अलि मैला, दुब्लो पातलो शरीर भएका मानिसको घुँडा र कुइनामा विशेष जाँच गर्थे । अझ दलितलाई झन् धेरै खानतलासी हुन्थ्यो । ताकि विद्रोही हो कि भनेर । ती हतियारधारीका भाषा कुनै कुमान्ठकाे भन्दा कम हुँदैन थियो । मा***, मु*, त उनीहरूको थेगो जस्तै थियो । प्रत्येक शब्दपछि मा… मु.. झुन्डिएको हुन्थ्यो । ती शाही सेना र लाल सेना, आम मानिसको लागि कुनै कालभन्दा कमका थिएनन् । उनीहरूको काम मार्ने र मर्ने थियो ।
यता रवि नेपालीको घरमा भने उत्साह थियो । रवि परिवारमा पहिलोपटक ३ बाट ४ पुग्ने पहिलो पात्र थियो । बा, आमा सबै खुसी थिए । घरको जेठो सन्तान रविले कक्षा तीन उत्तीर्ण भएर चार प्रवेश जो गरेको थियो । अङ्क पनि गतिलै प्राप्त गरेको थियो । उसले प्राप्त गरेको अङ्कले रविमा बेग्लै सान जोडिदिएको थियो । परिवारको मुहारमा नवीन खुसी प्रदान गरेको थियो ।
अब रवि सिसाकमलबाट बढुवा भएर ‘मसी कलम’मा पुगेको थियो । अक्सर, तीन कक्षा पढ्ने विद्यार्थीको पहिलो सपना कलमले लेख्ने हुन्थ्यो । बुस्कटकाे अघिल्लो गोजीमा, जोडी कलम राख्ने रहर, हातमा निलो, कालो मसीको दाग, सेता पानामा निलो रङ्गकाे मसीले लेख्ने रविकाे सपना अब पूरा हुँदै थियो । चिलपार्क र सुगा नाम गरेका मसीका ससाना डब्बा कोठाका कुनामा राख्ने उसको रहर पूरा हुँदै थियो । रविका सपना, रहर त्यसताका सबै एकसाथ साकार हुँदै थिए ।
मसी कलम र सिसाकलममा धेरै भिन्नता हुन्छ । सिसाकलमभन्दा मसी कलम अलि सानदार मानिन्छ । सरकारी कामकाजदेखि प्रशासनिक काममा मसी कलमको प्रयोग हुन्छ । सिसाकलमकाे दाँजोमा मसी कलम अलि परिपक्व हुन्छ पनि । सिसाकलमले कोरेका शब्दलाई सजिलै मेटाउन सकिन्छ । तर मसीले लेखेका शब्दलाई मेटाउन मुस्किल हुन्छ । अक्षर मेटाउन कि कोर्नुपर्छ कि त च्यात्नुपर्छ, अन्य विकल्प हुँदैन । रविकाे बुबाको चाहाना पनि जतिसक्दो रविले कलमले लेखोस् भन्ने थियो । ताकि रविले लेखेका शब्द कहिल्यै नमेटिउन् । उसका शब्द सधैँ बाँचिरहुन्, इतिहास बनुन् भन्ने चाहाना र सपना थियो । समयले पनि रविका शब्द मेटाउन मुस्किल बनाएको थियो । यस्ता कथा, विचार सुन्दा र सम्झिँदा रवि नेपालीको परिवार हर्षले गद्गद् भएको देखिन्थ्यो । विशेषगरी उसको बुबा विश्वनाथ नेपालीको मुहारमा बेग्लै चमक झल्किन्थ्यो ।
विश्वनाथ पेशाले कृषक थिए । बेलाबखत जातकाे पेशा पनि गर्थे । गाउँकाले मास्टर दाइ भन्थे । स्वभावैले उनी एकदम मिजासिला, सबैका प्रिय जो थिए । छोरो रविकाे पढाइले उनमा केही सपना र सम्भावना थपिदिएको थियो । भलै रवि ४ कक्षामा पुगेको थियो तर, उनको लागि छोराले ४ खुड्किला पार गरेको थियो । सम्भावनातिर चार कदम अगाडि लम्कँदै थियो । उनको चाहाना आफ्नो सन्तानले कथित जातभन्दा माथि गएको हेर्ने रहर थियो । पिता पुर्खाभन्दा भिन्न देखिनु र देखाउनु उनको मिसन, भिजन र उद्देश्य थियो ।
वैशाख ५ गते नयाँ शैक्षिकसत्र सुरु हुन्थ्यो । सहर बजारका स्टेसनरी पसल, नयाँ कापीकलम किताबले भरिएका हुन्थे । विद्यार्थी अभिभावकको घुइँचो पनि कम हुँदैन थियो । किताब किन्न, छान्न, रोज्न विद्यार्थी अभिभावकको मुख्य काम हुन्थ्यो । विशेषतः कक्षा तीनबाट चार उक्लेका विद्यार्थीमा बेग्लै सान र उत्साह देखिन्थ्यो । किनकि उनीहरू सिसाकलम छाडेर कलमधारी भएका हुन्थे । नव कलमधारीकाे पहिलो काम पसलमा कलम छान्ने हुन्थ्यो । सर्टको अघिल्लो गोजीमा कलम राख्ने ठुलो रहर देखिन्थ्यो । प्रायः सबै चार कक्षाका विद्यार्थीले सर्टको गोजीमा जोडा कलम राखेको भेटिन्थे । निलो मसीको दागले गोजी रङ्गिएको हुन्थ्यो । रवि बुबासँग एकाबिहानै मसी कलम किन्न, बाकाे हात समातेर बजार हिँडेको थियो । ऊ धेरै खुसी थियो । घरीघरी सर्टको गोजी हेर्थ्यो । बा’लाई हेर्थ्यो ।
बजार नपुग्दै राम्दीकाे पुलमा रवि र बुबालाई आर्मीले रोक्यो । हात ठड्याउनु भने, दुवैले माने । शरीरको एकएक भाग छामे । नाम साेधे, रविलाई ‘पर बस्’ भने । विश्वनाथ नेपाली सुन्ने बित्तिकै सेना थप सशङ्कित भयो । आवाजको तह एक्कासि बढायो । रवि सुनेर झन् आत्तियो । विश्वनाथलाई चारतिरबाट आर्मीले घेरा हाल्यो । बन्दुक तेर्साएर ‘ल भन् आतंककारी कति मान्छे मारिस्, बम कहाँ राख्या छस्, तेरा साथी खै ?’ भनेर प्रश्न गर्न थाले । रवि रोयो । ‘चुपचाप बस्’ भन्यो छेउको जवानले । रविले मानेन, ऊ बुबातिर जान खोज्थ्यो । जवानले चपक्क समात्यो । अर्को जवानले रविकाे बुबाको आँखामा पट्टी लगाइदियो । गाडीमा राखेर कता लग्यो, लग्यो ।
रवि कुद्दै गाडीको पछाडि पछाडि कुद्छ । ‘बुवा बुवा’ भनी चिच्याउँछ । तर, उसका ती कमाेल पाइलाले गाडीको रफ्तारलाई भेटाउन सकेन । सेनाको निर्दयी सनकलाई जित्न सकेन । क्षणभरमै सडकबाट गाडी विलीन भयो । विश्वनाथ रविबाट विलीन भए । ऊ रुँदै घर फर्कियो । आमाले सोधिन्, ‘बा खै ? किन रोइस्’ भनिन् ! उसले भन्यो, ‘आर्मीले बुबालाई लग्यो ।’
‘के रे, किन लग्यो त !’ सुन्नेबित्तिकै आमा पनि रोइन्, ‘लाैन यो के भयो ?’ कुद्दै मुखियाको घरतिर गइन । मुखियाको घरमा कोही थिएनन् । रुँदारुँदै राम्दीकाे पुलमा पुगिन् । त्यहाँ पनि कोही थिएनन् । पुलिस चौकी गइन्, आफ्नो श्रीमानलाई आर्मीले बिनाकारण लग्यो भनिन् । प्रहरीले आर्मीको केश हामीलाई थाहा हुन् जवाफ दियो ।
गाउँमा ठुलै हल्ला चल्यो । गाउँले छक्क परे । किन इमानदार सोझो मान्छेलाई आर्मीले अपहरण गर्याे, सबैको प्रश्न थियो । तर आर्मीलाई सोध्न सक्ने कसैको आँट थिएन । संकटकालमा आर्मीसँग वादविवाद गर्नु भनेको काललाई बोलाउनु थियो । उसै त आर्मी त्यसमाथि बन्दुक, अझ संकटकाल थियो । संकटकालमा आर्मीले धेरैलाई अपहरण गरेको थियो । कति निर्दोष मान्छेलाई शंकाको आधारमा लग्थे । कतिलाई जातको आधारमा लग्थे । थारु, मगर, तामाङ, दमाई, कामी नागरिकतामा देख्नेबित्तिकै खानतलासी सुरु हुन्थ्यो । घुँडा, कुइनाँमा मज्जाले हेर्थे । डाइरीमा नम्बर देख्यो कि कुन आतंकवादी हो भन्ने सोध्थे । लात, चड्कन, मा*, मु* सामान्य थियो । तर प्रतिरोध गर्ने ती गरिब मजदुर किसानमा के हुन्थ्यो र । धेरै कुटिए मारिए ठाउँको आधारमा, जातको आधारमा ।
त्यसताका सबैलाई थाहा थियो, आर्मीले लगेको मान्छे विरलै घर फर्किन्छ भन्ने । धेरै बेपत्ता भएका थिए । कोही शङ्काकै आधारमा सुतेकै अवस्थामा मारिएका थिए । कोही भात खाँदाखाँदै ज्यान गुमाएका थिए । कति उतै ब्यारेकमा गायब भएका थिए । धेरैका छातिमा आर्मीका शङ्काका बन्दुकले छियाछिया परेको थियो । कति गणका कुनामा चरम यातना भोग्दै जीवन र मृत्युको दोसाँधमा बसेका थिए । कयौँ अज्ञात बेपत्ता भएकाको किरिया आफन्तले वर्षौँपछि कुशकाे पुतलालाई पृति मानेर गाउँमै गरेका थिए । सायद अब रविकाे बुबा पनि फर्किन्न होला । कुन जङ्गलकाे खाल्टोमा कहिल्यै नफर्किने गरी सुतेका होलान् । बिचरा रवि र आमा अब एक्लै हुने भए ! उनको बुबाको अवस्था के होला ? उनीहरूको अवस्था कस्तो हुनेहाेला ?
दिन बित्दै गए !
कहीँ कतैबाट रविकाे बुबाको अवस्था पत्ता लागेको थिए । न श्वासको अवस्था थाहा थियो, न लासको अवस्था । घरमा रविकी आमा दिनहुँ रुन्थिन् । रविकाे बुबा कहिले आउनुहुन्छ भन्दै बर्बराउँ थिइन् । धेरै मन्दिरमा भाकल राखेकी थिइन् । घरका कुखुरा, बोका पहिल्यै बुक भइसकेका थिए । दिनहुँ छिमेकीसँग बिलौना गर्थिन् । छिमेकी पनि सान्त्वना दिन्थे, आँसु थप्थे । चिन्ता नगर्नु, राम्रा मान्छेलाई भगवानले साथ दिन्छन् भन्थे । रवि पनि बेलाबेला राम्दी पुलमा जान्थ्यो । एकछिन त्यहीँ पुल वरपर बस्थ्यो । लामो सुस्केरा हाल्थ्यो । निराश हुँदै घर फर्किन्थ्यो । सायद उसको मन मस्तिष्कमा बुबाको अभाव थियो होला ! बुबा जीवित या मृत्युको अन्योल थियो होला ।
एकदिन गाउँमा क्रान्तिकारी पसे । एकजना झुस्स दारी पालेको, निधारमा पट्टी बाँधेको, दुब्लो मान्छेले, ‘गाउँले हो भोलि १२ बजे सबै जनता स्कुल भेला हुनु है । यो भेला अधिकारको भेला हो, सामन्तका विरुद्ध हो, आम नेपाली गरिब मजदुरको आवजकाे भेला हो’ भन्दै घरघरमा निम्तो छ है भन्दै पर्चा बाँड्दै थियो । ‘आमा दिदीबहिनी, बुबा, दाजुभाइ, हामी नेपाल आमाका सन्तानको अनुरोध स्विकार्नु है । हामीले नगरे कसले गर्ने ? जसरी हुन्छ आउनु है ! भेलामा नआउनेलाई भाटे कारबाही हुन्छ’ भनी माइकिङ गर्दै थियो । बिस्तारै, गाउँलाई छिचोल्दै क्रान्तिकारीको लस्कर जङ्गलतिर विलीन भयो ।
उनीहरू जानेबित्तिकै गाउँमा हल्लाखल्ला सुरु भयो । भोलि को को ले अबिर लगाउने हुन् ? को को क्रान्तिकारी बन्ने हुन् ? कतिमा त्रास थियो त कतिमा उत्साह थियो । कतिका बा आमा भोलि रुने हुन् या हाँस्ने हुन् ? अस्ति तल्ला घरे भगवान् मिजार, कुमार राई, जुनकला विक र अजय थापा क्रान्तिमा सामेल भएका थिए । भगवान् र कुमारका बा आमाले फूलमाला लगाएर बिदाइ गरेका थिए । उन्मुक्तिको शुभकामना दिएका थिए । अजय थापाका बा आमा भने बेखुसी थिए । मृत्युको डर थियो होला । छोरोको अवस्था के हुने हो भन्ने पिर थियो होला ।
बिहानै स्कुलमा गीत बज्न सुरु भयो । क्रान्तिकारी गाउँमा देखिन थाले । ‘माइक चेक.., माइक चेक’को आवाज सुरु भयो । गाउँले पनि बिस्तारै स्कुलतिर गए । रवि र उसकी आमा पनि गए । सुरुमै “क्रान्ति कहाँ त्यसै आउँछ, सामन्तको सत्ता त्यसै कहाँ जल्छ” गीतमा छ जना कलाकारले नृत्य प्रस्तुत गरे । त्यसपछि जनवादी नाटक सुरु भयो । सुरुमै सेनाको जठ्ठा देखियो । छिन् मै एक व्यक्तिलाई नाम सोध्छ, पात्रले जित रम्तेल भन्छ । नाम थाहा पाएपछि दलित पात्रलाई सेनाले घेरा हाल्छ, आतंककारी रहेछ, ल कालो पट्टी लगाऊ, हात पछाडि बाँध्’ भन्दै लछारपछार गर्दै जङ्गलतिर लैजान्छन् ।
एकाएक रवि रुन थाल्छ । आमा बुबालाई यस्तै गरी लगे भन्दै अँगालो हालेर रुँदै सुनाउँछ । बालाई आँखामा कालो पट्टी बाँधे, हात पछाडि पारेर बाँधेका थिए, वरिपरि घेरेर कहाँ लगेलगे आमा । ती पापीलाई म छोड्दिन । मेरो बुबाको हत्यारा तिनै हुन्, भन्दै रुँदै थियो । नाटक चल्दै थियो । युद्धको दृश्य सुरु भएको थियो । दायाँबायाँ मान्छे गोली लागेर बचाउ बचाउ भन्दै लडेका थिए । रवि जुरुक्क उठ्छ, अकंल म पनि तपाईँहरू सँगै हिँड्छु । मेरो बुबा खोज्छु । मलाई टीका लगाइदिनुस् । रविकाे आमा केही बोलिनन्, रुँदै थिइन । कार्यक्रम एकछिन मौन रह्यो । बाबु तिम्रो उमेर पुगेको छैन । अहिले तिमी सानै छौँ । पछि ठूलो भएपछि सामन्ती शासनका विरुद्ध लड्नुपर्छ । अहिले घर जाऊँ, राम्रोसँग पढ्नु, कमान्डरले भन्यो ।
त्यतिकैमा सात जना लस्करै रातो टीका लगाउन तयार भए । ‘हार्दिक अभिवादन कमरेड, यो महान् क्रान्तिमा यहाँलाई स्वागत छ ।’ भेलाले जोडतोडका साथ ताली बजायो । सात जना अबीरले रङ्गिए । रवि टुलुटुलु हेरेर बस्यो । टाउकोमा सुमसुम्याउँदै पुनः जाऊ बाबु, अहिले होइन कमान्डरले फेरि सम्झायो । कमरेडहरू जाऊँ अब । सबैलाई धन्यवाद । जनयुद्ध जिन्दाबाद …, नारा एकछिन लाग्यो । क्रान्तिकारीहरू जङ्गलतिर लागे । रवि उनीहरूलाई हेर्दै मैदानमा बसेको थियो ।
सबै घर गइसकेका थिए । स्कुलको मैदान खाली थियो । झमक रात पर्ने आँटेको थियो । मैदानमा रवि र आमामात्र थिए । रविलाई ‘जाऊँ हिँड् घर, ढिला भयो, सबै गइसके’ आमाले भनिन् । रवि आमाको हात समात्दै पछिपछि मुन्टो फर्काउँदै जङ्गलतिर हेर्दै थियो । सायद क्रान्तिकारी कता बस्छन् भनी हेर्दै थियो ।
राति रविले आमालाई सोध्छ, ‘आमा ती मान्छेले बुबालाई भेटाउँछन् त ? उनीहरू गाउँमा किन आएका ? मलाई किन टीका नलगाई गए ? म पनि उनीहरूसँग बुबालाई खोज्थे नि ? बुबा घर नआएको धेरै भयो । ती आर्मीले मारेकी बुबालाई ? अघि नाटकमा देखाएझैँ गरेर ।’ आमाले केही बोलिनन् । आँसु पुछिन् । ‘ल खाना खा ! बा आउनुहुन्छ छिटै’ भनिन् ।
भोलिपल्ट,
रविकाे मावलकाे हजुरबुबा बिरामी भएको खबर आयो । रविकाे आमा माइतीघर जानुपर्ने भयो । उनका बुबा सिकिस्त बिरामी थिए । ठुली छोरी भन्दै तड्पिरहेका थिए रे । रविलाई घर बस्नु, चाैपायकाे रेखदेख गर्नु भनेर बिहानै माइती हिँडिन् । रवि दिनभर घरमै बस्यो । बेलुकीपख, ढोका छेउमा सानो कागजको टुक्रामा ‘आमा म बालाई खोज्न हिँडे । मेरो चिन्ता नलिनु, म बालाई लिएर चाँडै फर्कन्छु’ लेखिएको कागज ढोकाको चेपमा राख्यो । रवि अस्तिका क्रान्तिकारी हिँडेको बाटोतिर आफ्नो बुबा खोज्न गयो । रवि घर हेर्दै, आँसु पुछ्दै, बुबालाई मस्तिष्कमा राखेर, बिस्तारै गाउँबाट जङ्गलमा विलीन भयो ।
एक्कासि रातो पट्टी निधारमा बाँधेको क्रान्तिकारीले रविलाई रोक्यो, ‘किन यहाँ तिमी, सुराकी त हैनौँ?’ भनेर सोध्यो । रविले केही भनेन । एकछिनपछि ‘म मेरो बुबा खोज्न हिँडेको’ भन्यो । ‘कमरेड अटल, को हो यो राति यहाँ आउने?’ टर्च देखाउँदै अस्तिकै कमान्डरले सोध्यो । ठ्याक्कै उनले रविलाई चिन्हे । ‘ओहो बाबू किन तिमी आएको यहाँ । हामी त क्रान्तिकारी हौँ । हामी लडाइँमा छौँ । तिम्रो उमेर भएको छैन, जाऊँ घर ।’ रविले पुनः ‘म मेरो बुबा खोज्न तपाईँसँग आएको । अस्तिको नाटकले ठ्याक्कै मेरो बुबाको कथा भनेको थियो । मेरो बुबालाई आर्मीले लगेर गयो । मार्याे कि राख्यो केही थाहा छैन ।’
कमान्डर एकछिन मौन बसे । आँखा वरिपरि आँसु देखिन्थ्यो । रविकाे टाउको सुमसुम्याए । आफ्नो छोरालाई सम्झिए, उनको छोरो पनि रविकै उमेरको हुँदो हो । सायद जिउँदै भएको भए उनलाई पनि खोज्न आउँथ्यो होला । बैरीले नाबालकलाई पनि छोडेनन् । अचानक ‘कमरेडहरू दुश्मनले माथिबाट आक्रमण गर्न सक्छ । परबाट नाइट भिजन आउँदै छ । सतर्क रहनु । दुश्मनले घेरा हालेको हुनुसक्छ । सबै आआफ्नो पाेजिसनमा बस्नु ।’ कमान्डर झस्किए, रविलाई हेरे, बकंरमा बस भने । रविले मानेन, आफ्नै साथमा राखे ।
ऐ हानहान.., गोलीको आवाज सुरु भयो । माथिबाट नाइटभिजनले टर्च बालेको थियो । जङ्गल झलाकार देखिन्थ्यो । मरेमरे, भटटटट.., ड्याङ.., ड्याङ.. सुनिन्थ्यो । कमान्डर आत्तिए , रविकाे डर थियो । रवि ए मेरो बुबाका हत्यारा हो भन्दै ढुङ्गा अन्धाधुन्ध हान्न थाल्यो । कमान्डर गोली हान्दै थिए, अर्कोतिर रविलाई हेर्दै थिए । कमान्डरका अगाडिका दुई जना मरे , एकजनाकाे खुट्टामा गोली लागेको थियो । शरीर पुरै रगतले लतपतिएको थियो । रवि ढुङ्गा हान्दै थियो । आर्मी झन् नजिकनजिक आउँदै थिए । एसएलआर टाढैबाट टल्किन्थ्यो । हेलिकप्टर तलमाथि गरेको गर्यै थियो । कमान्डरले अवस्था बुझे, कोड भाषामा क्रान्तिकारीलाई आ-आफ्नो ठाउँ सबैलाई जान भने । एकछिन शान्त भयो ।
कमान्डरले रविलाई बोके, कुद्दै आफ्नो गुप्त एरियामा लगे । साेधे, ‘बाबु तिमी भोलि घर जानुपर्छ । म अर्को छोरो गुमाउन चाहन्न । मेरो छोरो पनि तिमी जस्तै: थियो । मलाई खुब माया गर्थ्यो । आफैँ खाना खुवाउँथ्यो । आज छैन बाबू ऊ मसँग ।यो युद्ध हो । तिम्रो बुबालाई म खोज्छु । देशमा संकटकाल छ । जाऊ घर, म पुनः अर्को छोरो गुमाउन चाहन्न ।’ रविले कमान्डरको आँसु पुछिदियो ।
लगत्तै रविलाई लिएर कमान्डर गाउँ फर्किए । ढोकामा बसेर आमा रुँदै थिइन् । रविले आमाको गालामा म्वाइँ खायो । दुवै जना रुन थाले । क्रान्तिकारी जङ्गलतिर गए । रविले आँसु पुछ्दै ‘आमा, बा अब आउँदैनन् । मैले हिजो धेरै देखे । बा अब कहिल्यै फर्कने छैनन् । धेरै बा आमा कहिल्यै घर फर्कने छैन ।’
आमाले ढोका बन्द गरिन् ।